M’Cheyne Bible Reading Plan
बलिदानहरू अनि भेटीहरू
1 परमप्रभुले मोशालाई भेट हुने पालबाट भन्नुभयो, 2 “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेंडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।
3 “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ। 4 उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।
5 “पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्। 6 तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्। 7 तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्। 8 हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउकाका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्। 9 त्यसपछि पूजाहारीले त्यस पशुको खुट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।
10 “यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ। 11 उसले वेदीको उत्तरपट्टि परमप्रभुको सामुन्ने त्यो काटेर मारोस् अनि पूजाहारी हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि सबैतिर छर्किउन्। 12 तब त्यो बलि टुक्रा-टुक्रा पारेर काटोस् आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पखालोस् अनि वेदीको दाउराको आगोमा पूजाहारीहरूले ती टुक्राहरू, बोसो र टाउको जलाओस। 13 त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरोस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ।
14 “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ। 15 पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोठेर चुँडाओस् र वेदीमा जलाओस्, अनि त्यस परेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्। 16 त्यसपछि उसले त्यसको गलामा भएको खाद्य थैली[a] निकालोस् अनि वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्। 17 त्यसपछि त्यसलाई पूजाहारीले नटुक्र्यइकन परेवाको बीचबाट चिरोस् अनि पूजाहारीले त्यो बलि वेदीमा राखिएको आगोको दाउरामाथि जलाउन राखोस्। यो पनि परमप्रभुको निम्ति सुगन्धित होमबलि हो।
केही चेलाहरूले येशूको चिहान रित्तो पाए
(मत्ती 28:1-10; मर्कूस 16:1-8; लूका 24:1-12)
20 हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुङ्गा हाटाइएको थियो। 2 यसैले मरियम शिमोन पत्रुस र अन्य चेलाहरूकहाँ गई (जसलाई येशूले धेरै माया गर्नुहुन्थ्यो।) मरियमले तिनीहरूलाई भनिन, “तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौ तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।”
3 यसकारण पत्रुस र अर्को चेला चिहानमा जानलागे। 4 तिनीहरू दुबैजना दगुरे, तर अर्को चेला पत्रुस भन्दा छिटो दगुरे। यसैले अर्को चेला चिहानमा पहिले पुगे। 5 चेलाले निहुरिएर तलतिर हेरे। तिनीहरूले सूती लुगाको टुक्राहरू मात्र त्यहाँ रहेको देखे, तिनीहरू भित्र झरेनन्।
6 त्यसपछि शिमोन पत्रुस आइपुग्यो। पुत्रस चिहान भित्र गयो। उसले सूती लुगाको टुक्रा मात्र त्यहाँ रहेको देख्यो। 7 उसले येशूको टाउँको बाँधिएको लुगा पनि देख्यो। त्यो लुगा पट्याएर सूतीको कपडाका टुक्रादेखि अलग्गा राखिएको थियो। 8 त्यसपछि अर्को चेला पनि पस्यो। यो मानिस अघि चिहानमा पहिलो पुग्ने चेला थियो। तिनले भित्र पुगेर जे देखे त्यो विश्वास गरे। 9 ती चेलाहरूले अझ बुझेका थिएनन कि धर्मशास्त्रले भनेकोछ कि येशू मृत्युबाट जागी उठ्नै पर्छ।
येशू मरियम मग्दलिनीकी अघि देखा पर्नु भयो
(मर्कूस 16:9-11)
10 त्यसपछि चेलाहरू आफ्ना घर फर्के। 11 तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोई रहेकी थिइन् चिनहान भित्र हेर्नु तिनी निहुरिन्। 12 मरियमले सेतो वस्त्रमा दुइ स्वर्गदूतहरू देखी। तिनीहरू जहाँ येशूको टाउकोपट्टी र अर्को स्वर्गदूत येशूको खुट्टापट्टी बसिरहेका थिए।
13 स्वर्गदूतहरूले मरियमलाई सोधे, “हे! नारी! किन रोईरहेकी छौ?”
मरियमले जवाफ दिइन, “कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन।” 14 मरियमले यति भनिसकेर जब फर्किन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशू भनेर चिनिनन्।
15 येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?”
मरियमले उहाँलाई त्यहाँ बगैंचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लग्यौ, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यही जानेछु र उहाँलाई लानेछु।”
16 येशूले उसलाई भन्नुभयो, “हे मरियम।”
मरियम येशू तर्फ फर्की र यहूदी भाषामा उसलाई भनी, “रब्बोनी”, अर्थत “हे गुरुज्यू।”
17 येशूले उसलाई भन्नुभयो, “मलाई नछोऊ। म अझ्झ सम्म पिताकोमा गई सकेको छुइन। तर मेरा दाज्यू-भाइहरू भएकोमा जाऊ, र तिनीहरूलाई यसो भनः ‘म मेरो पिता र तिमीहरूका पिताकहाँ फर्की जाँदैछु। म मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ फर्की जाँदैछु।’”
18 मरियम मग्दलिनी चेलाहरूकहाँ गईन् अनि उनीहरूलाई भनिन, “मैले प्रभुलाई भेटें।” अनि येशूले जे भन्नु भएको थियो ती सब भनिदिइन्।
येशू चेलाहरूकहाँ देखा पर्नु भयो
(मत्ती 28:16-20; मर्कूस 16:14-18; लूका 24:36-49)
19 हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बेलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।” 20 येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।
21 त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।” 22 यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। 23 यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”
येशू थोमासँग देखापर्नुभयो
24 थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए। 25 अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”
26 एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसँग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।” 27 त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ। मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।”
28 थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”
29 येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।”
यूहन्नाले यो पुस्तक किन लेखे
30 येशूले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन। 31 तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं।
17 प्रत्येक मानिसले झगडा़ गर्दै अन्नले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।
2 एकजना बुद्धिमान नोकरले एकजना हड़बडाउँने छोरामाथि शासन गर्छ, अनि उसले एउटा दाज्यू-भाइ झैं पैतृक धन प्राप्त गर्छ।
3 सुन अनि चाँदीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाँचिन्छ।
4 दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनि
ढँटुवाहरूले अरूको निन्दा सुन्छ।
5 जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।
6 नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छोरा-छोरीका गौरव हुन्।
7 मूर्ख मानिसले धेरै बोल्नु असल हुँदैन, त्यसरी नै शासकले झूटो बोल्नु सुहाउँदैन।
8 घूस ग्रहण गर्ने मानिसलाई घूस महा-मन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ त्यहीं उसले सफलता पाए जस्तो लाग्छ।
9 जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरि-घरि ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ।
10 विवेकी मानिसलाई एउटा वचनले जति असर पार्छ, मूर्खलाई एक सय कोर्राले पनि असर पार्दैन।
11 एउटा दुष्ट मानिस सधैँ नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्ठूरी मानिस पठाइन्छ।
12 मूर्खको सामुने पर्नु भन्दा बच्चाहरू खोसिएको भालूको सामने पर्नु असल हुन्छ।
13 यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैँ कठिनाइहरूको सामना गर्नेछ।
14 झगडा़ शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।
15 जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ र जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।
16 एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्न उसको दिमाग नै छैन।
17 असल मित्रले सधैँ माया गरिरहेको हुन्छ। त्यसरी नै साँच्चो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।
18 समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ।
19 लडाईं-झगडा़ मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।
20 कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ।
21 मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन।
22 आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।
23 एकजना दुष्ट मानिसले न्याय बिगार्नको लागि गोप्य तरिकाले घूस दिन्छ।
24 ठीक विचार भएको मानिसले सधैँ ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैँ टाडा-टाडा ठाउँको सपना देख्छ।
25 मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।
26 अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।
27 एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।
28 चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुर्खतालाई बन्द राख्छ ऊ विवेकशिल देखिन्छ।
गर्न पर्ने कामहरू
4 मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पार्यौ अनि तिमीहरूमाथि गर्वित तुल्यायौ। मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।
2 मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु। 3 मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुइ स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा[a] तिमीहरूको नाउँपनि राखिएकोछ।
4 सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।
5 मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। 6 कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। 7 परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।
8 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर। 9 जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ
फिलिप्पीका विश्ववासीहरूलाई पावलको धन्यवाद
10 प्रभुमा म खुबै प्रसन्न छु कि म प्रति तिमीहरूले फेरि चासो देखायौ। वास्तवमा तिमीहरूको चासो त थियो तर देखाउने मौका पाएका थिएनौ। 11 म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु। 12 म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु। 13 म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।
14 तरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्यौ, उत्तम गर्यौ। 15 मैले पहिले-पहिले सुसमाचार प्रचार गरेको तिमी फिलिप्पीहरूलाई थाहा छ। जब म म्यासिडोनिया हिंडें त्यस बेला तिमीहरूकै मात्र एउटा मण्डली थियो जसले मलाई सहायता गर्यो। 16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ। 17 म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटक्कै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ। 18 आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बढ्तै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटी त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ। 19 मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ। 20 हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन।
21 ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु। 22 जम्मै मसित जो भाइहरू छन् तिनीहरू पनि नमस्कार पठाउँछन्। परमेश्वरमा हुनेहरूबाट विशेष जो सिजरको महलमा छन्, तिमीहरूलाई नमस्कार भनेका छन्।
23 हाम्रा प्रभु येशू ख्रीष्टको महिमा तिमीहरू प्रत्येकमा रहोस्।
© 2004, 2010 Bible League International