M’Cheyne Bible Reading Plan
याकूबको साहस प्रदर्शन
33 याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसँग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा। 2 याकूबले कमारीहरू र तिनीहरूका नानीहरूलाई आगाडि राख्यो। त्यसपछि तिनीहरूको पछि उनले लेआ र उसका नानीहरूलाई राख्यो। अनि अन्तमा याकूबले राहेल र यूसुफलाई राख्यो।
3 याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुन्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो।
4 एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए। 5 त्यसपछि एसावले हेर्यो अनि स्त्रीहरू र नानीहरूलाई देखेर भने, “तँसित यी को हुन्?”
याकूबले भने, “यी नानीहरू परमेश्वरले तिम्रा दासलाई दिनु भएको हो। परमेश्वरले मलाई दया गर्नु भएको छ।”
6 त्यसपछि ती दुइ कमारीहरू र नानीहरू एसाव नजिक पुगे अनि उसकोअघि निहुरिए। 7 त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे।
8 एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?”
याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।”
9 तर एसावले भने, “भाइ, तैंले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।”
10 याकूबले भने, “होइन, म तिमीलाई बिन्ती गर्छु, यदि तिमीले मलाई स्वीकार गर्छौ भने यो मेरो उपहार पनि दया गरी स्वीकार गर्नु पर्छ। तिमीलाई दोस्रो पल्ट देख्न पाउँदा म अत्यन्तै आनन्दित छु। मलाई परमेश्वरले अनुग्रहले मिलाए जस्तै लागेको छ। म अन्यन्तै खुशी छु तिमीले मलाई स्वीकार्यौ। 11 यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।
12 त्यसपछि एसावले भने, “अब तैंले आफ्नो यात्रा जारी राख्न सक्छस् र म तँसँगै जानेछु।”
13 तर याकूबले भने, “तिमीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेंडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिंडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्। 14 यसकारण तिमीअघि जाऊ र म बिस्तारै-बिस्तारै तिम्रोपछि आउँछु। म पशुहरू अनि तिनीहरूका बच्चाहरू बचाऊँको लागि बिस्तारैसित आउँछु, अनि म अत्यन्तै बिस्तार आउँछु कारण मेरा नानीहरू धेरै नथाकून् म तिमीलाई सेइरमा भेट्नेछु।”
15 यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।”
तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।” 16 यसकारण त्यो दिन एसाव सेइर फर्कियो। 17 तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।
18 यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो। 19 उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो। 20 त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल इस्राएलका परमेश्वर राख्यो।”
बिऊ छर्ने खेतीवालको वारेमा दृष्टान्त
(मत्ती 13:1-9; लूका 8:4-8)
4 अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढ्नु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे। 2 येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,
3 “सुन! एकजना किसान बीऊ छर्न गयो। 4 जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए। 5 केही बीऊहरू चट्टान भएको भूईँमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे। 6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन। 7 कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढ्न दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन। 8 केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”
9 अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”
येशू भन्दछन् उहाँले किन दृष्टान्तहरू उल्लेख गर्नुभयो
(मत्ती 13:10-17; लूका 8:9-10)
10 अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।
11 येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु। 12 किनकि,
‘तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्,
तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन्।
यदि तिनीहरूले देखे र बुझे भने,
तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन्।’”(A)
येशू बीऊको व्याख्या गर्नुहुन्छ
(मत्ती 13:18-23; लूका 8:11-15)
13 येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सक्छौ? यदि तिमीहरूले बुझ्न सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ? 14 यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ। 15 कहिलेकाहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।
16 “अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्। 17 तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।
18 “अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन्, तिनीहरू वचनहरू सुन्छन्। 19 अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।
20 “अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्छन् ग्रहण गर्छन् अनि वचनहरू तिनीहरूमा बढ्छन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”
तिमीमा जे जति छ त्यो प्रयोग गर
(लूका 8:16-18)
21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ। 22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरू प्रकाशमा आउनेछन्। 23 तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।” 24 तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरूमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिँदछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। 25 तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफूसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”
येशू बीऊको बारेमा भन्नु हुन्छ
26 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ। 27 बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ। 28 कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ। 29 जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”
राज्य रायोको दाना जस्तै हो
(मत्ती 13:31-32,34-35; लूका 13:18-19)
30 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौं? 31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ। 32 तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।”
33 येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो। 34 मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।
येशूले आँधी थाम्नु भयो
(मत्ती 8:23-27; लूका 8:22-25)
35 त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।” 36 येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए। 37 समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो। 38 येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के तपाईं हाम्रो वास्ता गर्नुहुन्न?”
39 तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस! शान्त हो!” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
40 येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?”
41 चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”
यहूदीहरूको बिजय
9 बाह्रौ महीना (अर्थात आदरको महीना) को तेह्रौ दिनमा राजाको आदेश कार्यान्विन् गर्ने दिन आइपुग्यो त्यसदिन तिनीहरूमाथि यहूदीका शत्रुहरूले प्रभुत्व हासिल गर्ने दिनथियो, त्यसलाई उल्टाइयो जब यहूदीहरूले आफूलाई विरोध गर्नेहरू माथि प्रभुत्व हाँसिल गरे। 2 राजा अहासूरसको सवै प्रान्तहरूलाई प्रहार गर्न आफ्ना शहरहरूमा भेला भए। अनि तिनीहरूलाई चोट पुर्याउनेहरूको विरूद्ध युद्ध गर्न भेला भए। कसैले तिनीहरूलाई बाधा दिएनन् किनभने तिनीहरू सित भयभित थिए। 3 अनि प्रान्तहरूका समस्त अधिकारीहरू, हाकिमहरू र राज्यपालहरू अनि ती सबै जसले राजाको निम्ति काम गर्थे। यहूदीहरूलाई सहयोग गरेका थिए। 4 तिनीहरू मोर्दकैसित डराएका थिए। किनभने मोर्दकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए।
5 तब यहूदीहरूले तिनीहरूका शत्रुलाई मारेर नष्ट गरिदिए, तिनलाई तिनीहरूको तरवारहरूले नष्ट गरे। अनि तिनीहरूको विरोध गर्नेहरूसित तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गरे। 6 अनि शूशनको प्रासाद जिल्लामा यहूदीहरूले 500 मानिसहरूलाई मारे। 7 तिनीहरूले पर्शन्दाता, दल्पोन, अस्पाता, 8 पोराता अदल्या, अरीदाता, 9 पर्मश्ता, अरीशै, अरीदै अनि बैजाता। 10 हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्।
11 त्यस समयमा शूशनको प्रासाद जिल्लामा मारीएका मानिसहरूको संख्या राजालाई बताइयो। 12 अनि राजाले रानी एस्तरलाई भने, “शूशनको प्रासाद जिल्लामा यहूदीहरूले दशजना हामानको छोराहरू लगाएत 500 जना मानिसहरूलाई मारे। राजाका अन्य प्रान्तहरूमा तिनीहरूले के गरे तिमी सुन्न चाहन्छौ? जे सुकै तिमी माग्छौ त्यो दिइने छ। अनि तिमीले अरूनै कुराहरू चाहे पनि त्यो पूरा गरिनेछ।”
13 अनि एस्तरले भनिन्, “यदि राजालाई असल लाग्छ भने शूशनमाबस्ने यहूदीहरूलाई आज तिनीहरूले जे गरे भोली फेरी त्यसै गर्ने अनुमति दिनुहोस् अनि हामानका दशजना छोराहरूलाई फाँसीमा झुण्डयाइयोस्।”
14 फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए। 15 अनि शूशनमा भएका यहूदीहरू फेरी भेला भए आदात महीनाको चौधौं दिनमा शूशनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्।
16 अनि बाँकी अन्य यहूदीहरू, जो राजाका प्रदेशहरूमा बस्थे, आफ्नो जिवनको सुरक्षा गर्न, शत्रुहरूबाट विश्राम पाउन, आफ्ना विरोधीहरू जम्मा 75,000 लाई मार्नका निम्ति एकत्रित भएका थिए। तर तिनीहरूले केही लुट-पाट गरेनन्। 17 यो घटना प्रदेशहरूमा अदार महीना को तेह्रौ दिनमा घट्यो अनि चौधौं दिनमा तिनीहरूले विश्राम लिए। अनि तिनीहरूले त्यस दिन भोज अनि समारोहको दिन तुल्याए।
पूरीमको उत्सव
18 तर यहूदीहरू जो शूशनमा थिए तिनीहरू महिनाको तेरौं अनि चौधौं दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्धौं दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए।
19 यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको हर्षित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे।
20 अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए। 21 तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई बर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे। 22 यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्त्तन भयो अनि त्यो दिन तिनीहरूको रूवाई खुशीयालीको दिनमा परिर्वतनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदन-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो।
23 यसर्थ तिनीहरूले भर्खरै शुरू गरेको विदाको दिनलाई मोर्दकैले जे गर्नु भनि तिनीहरूलाई लेखेर दिएका थिए, त्यही रूपले मनाउन यहूदीहरू सहमत भए।
24 अगामी हम्मादाताका छोरा, समस्त यहूदीहरूका शत्रु हामानले यहूदीहरूको अस्तित्व मेटाउने षड्यन्त्र गरेका थिए। अनि तिनले “पुरीम” अर्थात चिट्ठा पनि गरेका थिए, तिनीहरूलाई धम्किदिन र तिनीहरू को अस्तित्व मेट्टाऊन। 25 तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।”
26-27 त्यसर्थ मानिसहरूले ती दिनहरूलाई “पूरीम” भने “पूरीम” नाउँको कारण किनभने मोर्दकैले पठाएको पत्रहरूमा भएका प्रदर्श-रेखा, यस घटनासँग सम्बन्धि थिए। तिनीले देखे र तिनीहरूमाथि प्रायके घटयो त्यस कारण यहूदीहरूले आफू स्वंयमका निम्ति अनि आफ्ना कुलहरूका निम्ति र तिनीहरूका समस्त सन्तानहरूका निम्ति अनि जो जति व्यक्ति तिनीहरूसित मिल्छन् विदाको प्रदर्श-रेखालाई अभि पुष्टिगरे र स्वीकार गरे। प्रत्येक बर्ष निर्धारित समयमा व्यवस्थाद्वारा तोकिएका यी दुइ दिन विदा मनाउन कोही पनि चुक्नु पाउने छैनन्। 28 यो दिन प्रत्येक प्रान्त, प्रत्येक शहरभरि प्रत्येक वंश तथा पुस्ताले सम्झना गर्छन अनि मनाउँछन्। यी दुइ दिन मनाउनु कहिल्यै पनि रोकिनु हुँदैन। यी दुइ विशेष दिनको महत्व यहूदीहरूले आफ्ना सन्तानहरूलाई भन्न बिराउनु हुँदैन्।
29 तब अबीहेलकी अनि यहूदी मोर्दकैकी छोरी रानी एस्तरले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन्। 30 अब मोर्दकैले सबै यहूदीहरूलाई जो राजा अहासूरसका 127 प्रान्तहरूमा बस्थे शान्ति र सुरक्षाको बधाई पत्रहरू पठाए। 31 मोर्दकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहूदी मोर्दकै अनि एस्तरले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरूका सन्तानहरू माथि उपवास बस्ने अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए। 32 अनि एस्तरको वचनले पूरीमा उत्सवको प्रदर्श-रेखा निर्धारित गर्यो अनि ती पुस्तकमा लेखिए।
मोर्दकैलाई इज्जत गरे
10 त्यसपछि राजा अहासूरसले भुमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासूरसले गरे। 2 अनि मोर्दकैका महानकार्यको विवरण, जसलाई राजाले पदोन्नति प्रदान गरेका थिए ती मेदिया अनि फारसका राजाहरूका इतिहासमा लेखिएका छन्। साँच्चै यहूदी अनि मोर्दकै राजा अहासूरसका दोस्रो राजा थिए। 3 तिनी प्रभावशाली अनि तिनलाई सबै यहूदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको संन्देश प्रदान गर्न चाहन्थे।
अब्राहामको उदाहरण
4 यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निष्कर्षमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके? 2 यदि उनले गरेकै कर्मबाट धार्मिक बनाइएको हो भने, तब उनले घमण्ड गर्ने कारण थियो। तर अब्राहामले परमेश्वरको सामु घमण्ड गर्न सकेनन्। 3 धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”(A)
4 जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ। 5 कसैले त्यस्तो काम गर्न सक्दैन जसले उसलाई धर्मी बनाउनेछ। यसैले मानिसले परमेश्वरमा विश्वास गर्नु पर्दछ जसले उसलाई धर्मी बनाउनुहुन्छ। तब परमेश्वरले उसको विश्वास ग्रहण गर्नुहुन्छ र उसलाई धर्मी बनाउनु हुन्छ। 6 त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेश्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भनेः
7 “धन्य हुन तिनीहरू
जसका दुष्कर्महरू क्षमा भए र पापहरू ढाकिए।
धन्य हुन ती जसको पापको लेखा परमेश्वरले लिनु हुन्न।
8 अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ,
त्यो मानिस साँच्ची नै खुशी हुँदछ।”(B)
9 यस्ता आशिष त्यस्ता मानिसहरूलाई मात्र हो जसले खतना गरेका छन्? अथवा ती खतना नगर्नेहरूलाई पनि हो? हामीले भनिसेकेका छौं अब्रहामको विश्वास एउटा धर्मीको रूपमा गनिएको थियो। 10 यो कसरी हुन गयो? के परमेश्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेश्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो। 11 परमेश्वरले स्वीकार गर्नुभयो भनेर देखाउनाका लागि अब्राहामले पछि खतना गरे। परमेश्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेश्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ। 12 अनि अब्राहाम ती खतना गर्नेहरूका पनि पिता हुन्। तर तिनीहरूका खतनाले गर्दा मात्र अब्राहाम उनीहरूका पिता भएका होइनन्। उनी तिनीहरूका पनि पिता हुन् यदि तिनीहरू हाम्रा पिता अब्राहामको विश्वास जस्तै अनुशरण गर्दछन् जुन उनले आफ्नो खतना गर्न भन्दा अघि देखाए का थिए
विश्वासद्वारा परमेश्वरको प्रतिज्ञा पाउन सकिन्छ
13 अब्राहाम र उनका भावी सन्तानहरूले परमेश्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेश्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए। 14 यदि मानिसहरूले व्यवस्था पछ्याएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो। 15 किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन।
16 यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्। 17 धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ”(C) यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।
18 अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।”(D) 19 अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन। 20 परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे। 21 आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए। 22 यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।”(E) 23 ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन। 24 ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो। 25 येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।
© 2004, 2010 Bible League International