Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 42

सपना साँच्चो भयो

42 कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकूबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकूबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन यसरी बसिरहेका छौं। बेच्नको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैंलाई अनिकालबाट बचाउनेछौं।”

यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए। याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए।

कनानमा अनिकाल औधी नै लगेको थियो, मिश्र देशमा अन्न किन्न जानेहरूमा कनानबाट धेरै मानिसहरू थिए। तिनीहरू मध्ये इस्राएलका छोराहरू पनि थिए।

त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे। यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?”

ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”

यूसुफले चिने तिनीहरू तिनका दाज्यू-भाइहरू हुन् तर तिनी को हुन् तिनीहरूले चिनेनन्। यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे।

यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जासूसहरू हौ, अन्न किन्न आएकाहरू होइनौ। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौ।”

10 तिनीहरूले उत्तर दिए, “हे महाशय तपाईंका सेवकहरू यहाँ खाद्यान्न किन्न मात्र आएका छन्। 11 हामीहरू सबै दाज्यू-भाइहरू हौं, हामी सबैका बाबु एउटै हुन्। हामी ईमानदार मानिसहरू हौं। हामी खाली अन्न किन्न आएका छौं।”

12 तब यूसुफले तिनीहरूलाई भने, “होइन। हामी कहाँ दुर्बल छौं त्यो जान्न तिमीहरू आएका हौ।”

13 अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारह्रजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअघि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।”

14 तर यूसुफले भने, “होइन। म बुझ्नसक्छु म भूलमा छैन। तिमीहरू जासूसहरू हौ। 15 तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन। 16 तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई झ्यालखानमा राख्नेछु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जासूसहरू हौ।” 17 त्यसपछि यूसुफले तिनीहरूलाई तीन दिनसम्म झ्यालखानमा राखे।

शिमोनलाई बन्धक झैं राख्यो

18 तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु। 19 यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्। 20 तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँच्चो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।”

दाज्यू-भाइहरू यसमा सहमत भए। 21 तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”

22 त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।”

23 आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के-के कुरा गरे तिनले सुने र बुझे। 24 तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे। 25 यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए।

26 यसर्थ ती दाज्यू-भाइहरू अन्नको बोरा गधामा लादेर त्यहाँबाट हिंडे। 27 त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउँनु आफ्नो थैलो खोल्यो। अनि त्यस थैलोमा उनले तिरेको पैसा पायो। 28 उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदैछ?”

दाज्यू-भाइहरूले याकूबलाई बताए

29 कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए। 30 तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने। 31 तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं। 32 हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ।

33 “तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क। 34 त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँच्चो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।’”

35 त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए।

36 याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्‌याउन चाहन्छौ।”

37 तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।”

38 तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”

मर्कूस 12

परमेश्वरले आफ्नो पुत्र पठाउँनु भयो

(मत्ती 21:33-46; लूका 20:9-19)

12 येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।

“केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो। तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए। फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्। फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।

“अब त्यस मानिससँग खेतीवालहरूकहाँ पठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्।

“तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुन्छ। यसकारण हामी यसलाई मारौं तब यो दाखबारी हाम्रै हुनेछ। तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए।

“यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ। 10 निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौला:

‘निर्मातहरूले अस्वीकार गरेका ढुङ्गाहरू नै,
    कुनाको ढुङ्गा बनेको छ।
11 परमप्रभुले नै यस्तो गर्नु भएको हो,
    अनि हाम्रो निम्ति यो अचम्म भएको छ।’”(A)

12 ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए।

यहूदी प्रमुखहरूद्वारा येशूलाई छक्क्याउने चेष्टा

(मत्ती 22:15-22; लूका 20:20-26)

13 त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रन चाहन्थे। 14 फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनुभएको छ। हामीलाई भन्नुहोस्: के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”

15 तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।” 16 तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।”

17 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे।

केही सदुकीहरूद्वारा येशूलाई छक्याउने चेष्टा

(मत्ती 22:23-33; लूका 20:27-40)

18 तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे। 19 तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाइले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ। 20 एउटा परिवारमा सातजना दाज्यूभाइ थिए। पहिलो दाज्यूले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन। 21 त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। ऊ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घट्ना घट्यो तेस्रो भाइसँग पनि। 22 सबै सात दाज्यू-भाइले त्यस स्त्रीलाई विवाह गरे अनि सबै मरे। कुनै पनि सात दाज्यू-भाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी। 23 तर सबै सातजना दाज्यू-भाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब त्यस स्त्री मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने को चाँहि हुने छ?”

24 येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ। 25 जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्। 26 मरेका मानिसहरूको पुनरूत्थानको बिषयमा मोशाले लेखेको जलेको पोथ्राको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।’(B) 27 परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”

कुन आज्ञा सबभन्दा महान हो?

(मत्ती 22:34-40; लूका 10:25-28)

28 शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसँग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?”

29 येशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः ‘इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्। 30 तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।’(C) 31 दोस्रो महान आज्ञा यस्तो छः ‘तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’(D) यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”

32 शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यू, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्। 33 अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”

34 येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्।

के ख्रीष्टनै दाऊदको पुत्र हुन्?

(मत्ती 22:41-46; लूका 20:41-44)

35 येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्? 36 पवित्र आत्मामा दाऊद आफैंले भन्नुभएको छ,

‘परमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः
मेरो छेउमा दाहिनेपट्टि बस,
    अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।’(E)

37 दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भन्नु हुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?” धेरै मानिसहरूले येशूले भनेको कुरा खूबै आनन्दित भएर सुने।

येशूद्वारा शास्त्रीहरूको आलोचना

(मत्ती 23:6-7; लूका 11:43; 20:45-47)

38 येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिँड्न मन पराउँछन्। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्। 39 सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्। 40 तिमीहरू विधवाहरूसँग कप्ट्याइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैंले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।”

विधवाद्वारा भेटी चढाएको अर्थ बुझाउने चेष्टा

(लूका 21:1-4)

41 येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो। 42 तब एउटी गरीब विधवा आई अनि दुइवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।

43 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई। तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई। 44 ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मद्त पुर्याउनको लागि नै हो भन्ने ठानी।”

अय्यूब 8

बिल्दद अय्यूबसँग बोल्दछ

तब शुहाबाट आएका बिल्ददले उत्तर दिए:

“कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ?
    तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।
परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ।
    सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बद्लनु हुन्न जुन ठीक छन्।
यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने
    तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने छ।
तर अब अय्यूब, परमेश्वर पट्टिहेर,
    अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।
यदि तिमी निर्दोष अनि ईमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ।
    उहाँले तिम्रा घर पुनःर्निर्माण गरिदिनुहुनेछ।
तब तिमीसँग पहिले जति थियो
    त्यो भन्दा अझ ज्यादा हुनेछ।

“बूढा-प्रधानहरूलाई सोधखोज गर,
    तिनीहरूका पिता-पुर्खाहरूले के सिके।
हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ,
    त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं।
यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।
10 हुनसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्।
    हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”

11 “बिल्ददले भन्यो, ‘के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ?
    के निगालाहरू पानीबिना उम्रन सक्छ?’
12 अँहँ! यदि पानी सुकाइयो भने,
    तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।
13 मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन,
तिनीहरू मसिना र सुख्खा निगालाहरू जस्तो हुनेछन्।
    जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।
14 त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन।
    उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।
15 यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने
    त्यो जालो फाट्छ।
माकुराको जालमा झुण्डिन्छ
    तर त्यसले उसलाई थाम्न सक्तैन।
16 त्यो मानिस एक उद्भिद् जस्तो छ
जसमा प्रशस्त पानी र घामको किरण छ
    त्यसको हाँगाहरू सबै बगैंचा भरि फैलिएको छ।
17 त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ।
    ढुङ्गामा बढ्नका निम्ति ठाउँहरू खोजिरहन्छ।
18 तर यदि उद्भिदलाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ,
    र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
19 तर उद्भिद् खुशी थियो
    अनि यसको ठाउँमा अर्को उम्रिनेछ।
20 परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न।
    उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
21 परमेश्वरले सधैँ तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ
    अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
22 तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ
    अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”

रोमी 12

परमेश्वरलाई तिमीहरूको जीवन देऊ

12 यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।

परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर। हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।

हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ। यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ। यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।

तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर। 10 एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ। 11 परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर। 12 खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर। 13 परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

14 ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप। 15 जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ। 16 परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।

17 यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर। 18 सबैसँग शान्तिसित बस्ने चेष्टा गर। 19 हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। धर्मशास्त्रमा परमप्रभु भन्नुहुन्छ,

“दण्ड़ दिने काम मेरो हो,
    म साटो फेर्ने छु।”(A)

20 यसर्थ तिमीहरूले यसो गर्नुः

“यदि तिम्रो शत्रु भोको छ भने,
    उसलाई खुवाऊ।
यदि तिम्रो शत्रु प्यासा छ भने,
    उसलाई पानी देऊ।
यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”(B)

21 दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International