M’Cheyne Bible Reading Plan
सलहहरू
10 परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनकहाँ जाऊ। मैले फिरऊन र उसका अधिकारीहरूलाई जिद्दी बनाएको छु। मैले मेरा शक्तिशाली चमत्कारहरू प्रदर्शन गर्न यसो गरें 2 अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”
3 यसर्थ मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले उसलाई भने, “परमप्रभु, हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मलाई अस्वीकार गर्छौ? मेरो मानिसहरू मेरो आराधना गर्न जाऊन्।’ 4 यदि तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो भूमिमा सलहहरू ल्याइ दिनेछु। 5 सलहहरूले जमीन ढाक्नेछन्। जमीनमा धेरै सलहहरू हुनेछन्। तिमीले जमीन देख्न सक्ने छैनौ। सलहले खेतका प्रत्येक कुरा अनि रूखहरू खानेछन्। 6 मिश्रमा भएका सबै घरहरू, तपाईंका कर्मचारी र तपाईंका घर सलहहरूले छोप्नेछन्। त्यहाँ तपाईंका पिता-पुर्खाहरूले देखेको भन्दा अधिक सलहहरू हुनेछन। त्यहाँ यति धेरै सलहरू देखियो की मिश्रदेशमा मानिसहरू बसो-वास गर्न लागेयता त्यति कहिल्यै देखिएका थिएनन्।” त्यसपछि मोशाले फिरऊनबाट विदा लिए।
7 त्यसपछि कर्मचारीहरूले फिरऊनलाई सोधे, “कहिलेसम्म हामी यी मानिसहरूको फन्दामा परिरहने छौं? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न मानिसहरूलाई जान दिनुहोस्। यदि तपाईंले जान दिनु भएन भने, तपाईंले चाल पाउनुअघि नै मिश्र ध्वंश हुनेछ।”
8 यसकारण फिरऊनका सेवकहरूले मोशा अनि हारूनलाई फिरऊनकहाँ फर्काएर ल्याए। फिरऊनले तिनीहरूलाई भने, “जाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर साँच्चै को जाँदै छन् मलाई भन?”
9 मोशाले उत्तर दिए, “हाम्रा केटा-केटी, बूढा-बूढी जति छन् सबै जानेछन्। हामी हाम्रा छोरा-छोरीहरू, हाम्रा भेंडा तथा गाई वस्तुहरू पनि लिएर जानेछौं। हामी सबै जानेछौं कारण परमेश्वरको भोज हामी सबैको निम्ति हो।”
10 फिरऊनले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूको केटा-केटीहरूसमेत जान दिंदा मेरो लागि परमप्रभु साँच्चै नै तिमीहरूसित हुनुपर्छ। तिमीहरूले केही नराम्रो योजनाहरू बनाइरहेका छौ। 11 होइन! मात्र तिम्रा मानिसहरू परमप्रभुको आराधना गर्न लान सक्छौ।” अनि फिऊनले मोशा र हारूनलाई पठाए।
12 परमप्रभुले मोशालाई भन्नुभयो, “तिम्रो पाखुरा मिश्र देशमाथि उठाऊ र सलह आउनेछन अनि मिश्रको समस्त भूमिमा फैलिनेछन्। असिनाले नष्ट नपारेको सबै उद्भिदहरू सलहले खाईदिने छन।”
13 यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो। 14 सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन्। 15 ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए।
16 फिरऊनले मोशा र हारूनलाई झट्टै बोलायो फिरऊनले भन्यो, “मैले परमप्रभु तिमीहरूका परमेश्वर र तिमीहरूका विरोधमा पाप गरेको छु। 17 अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।”
18 मोशाले फिरऊनबाट विदा लिएर परमप्रभुलाई प्रार्थना गरे। 19 यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमा[a] पुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन्। 20 तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन।
अँध्यारो
21 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।”
22 मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो। 23 त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन।
24 फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसँगै लान सक्छौ, तर तिमीले भेंडा र गाई-वस्तुहरू यहीं छोडेर जानु पर्छ।”
25 मोशाले भने, “तपाईंले हामीलाई परमप्रभु हाम्रो परमेश्वरलाई बलिदानहरू अनि होमबलिहरू चढाउनु जानु दिनुपर्छ। 26 जब हामी परमप्रभुलाई आराधना गर्न जान्छौ। हामीले हाम्रा पशुहरू पनि लाने छौं। एउटै पनि भाग छाड्ने छैनौं। परमप्रभुको आराधनामा के कुराहरूको आवश्यक पर्छ, त्यो हामी पनि जान्दैनौं। हामीले आफ्नो आवश्यकता त्यस समयमा मात्र बुझ्नेछौं जति बेला हामी हाम्रो गन्तब्य स्थानमा पुग्छौं।”
27 परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे। 28 तब फिरऊनले मोशालाई भने, “जाऊ, यहाँबाट। तिमी फेरि कहिलै आउनु पर्दैन यदि तिमी मलाई हेर्न आयौ भने, मर्नेछौ।”
29 तब मोशाले फिरऊनलाई भने, “एउटा विषयमा तिमी सही छौ, कारण म तिमीलाई हेर्न फेरि कहिल्यै आउने छैन।”
तिम्रो हृदय परिवर्तन गर
13 त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए। 2 येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घट्ना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ? 3 होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ। 4 सिलोआमको धरहरा तिनीहरूमाथि झरेर अठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ? 5 तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”
अनुपयोगी रुख
6 येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन। 7 त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन वर्ष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने? 8 तर नोकरले उत्तर दियो, ‘मालिक फलको लागि अझ एक वर्ष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्। 9 हुनसक्छ, आउँदो वर्ष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।’”
येशूले विश्रामको दिन एउटी स्त्रीलाई निको पार्नु हुन्छ
10 विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो। 11 सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह वर्षबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी। 12 जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।” 13 येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।
14 विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसँग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।”
15 प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ? 16 यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह्र वर्षसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?” 17 जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।
परमेश्वरको राज्य के जस्तो होला?
(मत्ती 13:31-33; मर्कूस 4:30-32)
18 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? 19 परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”
20 येशूले फेरि भन्नु भयो, “म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ? 21 त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठूलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।”
साँघुरो ढोका
(मत्ती 7:13-14,21-23)
22 येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो। 23 कसैले उहाँलाई भने, “हे प्रभु कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?”
येशूले भन्नुभयो, 24 “साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन। 25 यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?” 26 तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो। 27 अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।
28 “तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ। 29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिन्छन्। 30 अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”
यरूशलेममा येशूको मृत्युको भविष्यवाणी
(मत्ती 23:37-39)
31 त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”
32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, ‘आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’ 33 तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ।
34 “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउँछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 35 यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड़ हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि, ‘स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।’”
ज्ञानले के गर्छ
28 “त्यहाँ सुन र चाँदीका खानीहरू छन्
र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।
2 मानिसहरूले जमीन खनेर फलाम निकाल्छन
ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।
3 कर्मीहरूले गुफामा प्रकाश लैजान्छन्।
तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्।
ऊ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!
4 मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा,
अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा,
कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्।
तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।
5 जमीन माथि अन्न उम्रन्छ।
तर जमीन मुनि भिन्नै छ,
मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ।
6 जमीन मुनि बहुमूल्य धातुहरू
अनि काँचो सुनको कणहरूछन।
7 जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मुनिको बाटोहरूको बारेमा जान्दैनन्।
बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।
8 जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिँडेका छैनन।
सिंहले पनि त्यो बाटो हिडेको छैन्।
9 कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्।
तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन्।
10 कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्।
तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
11 कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन्।
तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।
12 “तर मानिसहरूले ज्ञान कहाँ पाउनँ सक्छन्?
बुद्धि पाउन हामी कहाँ जान सक्छौं?
13 हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो।
पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।
14 गहिरो महासागरले भन्छ, ‘ज्ञान यहाँ मसित छैन।’
समुद्रले भन्छ ‘ज्ञान यहाँ मसित छैन।’
15 तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ।
यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।
16 तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा
अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।
17 ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो।
सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिंन्दैन।
18 ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो।
ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।
19 कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन।
तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।
20 “यसकारण ज्ञान कहाँबाट आउँदछ?
हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?
21 ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ।
आकाशमा उड्ने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
22 मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन।
हामीले त्यसका विषयमा उड़न्ता कुराहरू मात्र सुनेका छौं।’
23 “केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ।
परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।
24 परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ
परमेश्वरले आकाश मुनि सबै थोक देख्नुहुन्छ।
25 परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ।
र समुद्रको सीमाना बाँधि दिनुभयो।
26 पानी कहाँ बर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ।
अनि कहाँ चट्याङ्गहरू फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।
27 त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो।
ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।
28 अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, ‘परमेश्वरको डर र सम्मान नै ज्ञान हो।
खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।’”
आत्मिक वरदानहरूलाई मण्डलीको मद्दतमा लगाऊ
14 प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान। 2 किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर ऊ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। ऊ आत्माद्वारा गुप्ती सत्य बोल्छ। 3 तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ। 4 जसले अन्य भाषामा बोल्छ आफूलाई मात्र मद्दत गरिहेको हुन्छ। तर जसले अगमवाणी बोल्छ उसले सारा मण्डलीलाई मद्दत पुरयाइरहेको हुन्छ।
5 म तिमीहरू सबैलाई विभिन्न भाषा बोल्ने वरदान मिलोस् भन्ने चाहन्छु। तर अझै, म तिमीहरूले अगमवाणी गर्नु पर्छ भन्ने चहान्छु। विभिन्न भाषाहरूमा बोल्न सक्ने भन्दा जसले अगमवाणी गर्छ त्यो ठूलो हो। तर ती भाषाहरूको उल्था पनि गर्न सक्ने भए त्यो विभिन्न भाषाहरूमा बोल्ने पनि अगमवाणी गर्ने जत्तिकै हो। त्यसो हो भने उसले जे भन्छ त्यसबाट मण्डली पनि उपकृत हुन्छ। 6 दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाईदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ। 7 त्यो खाली निर्जीव चीजहरूबाट निकालेको आवाज जस्तो मात्र हुनेछ, बाँसूरी अथवा साराङ्गी। यदि सँगीतको आवाज स्पष्ट छैन भने के गीत बाजाइँदैछ तिमीहरूले बुझ्ने छैनौं। गीत बुझ्नुको लागि प्रत्येक आवाज स्पष्ट हुनु पर्छ। 8 युद्धमा यदि तुरहीले स्पष्ट स्वर निकालेन भने युद्धको लागि को तयार हुनेछ?
9 तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौ भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ। 10 त्यो साँच्चो हो, संसारमा घेरै किसिमका भाषाहरू छन् अनि ती सबै अर्थ हुन्छन्। 11 यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म संझन्छु उसले विदेशी कुरा गर्दैछ र उसले मलाई विदेशी संझन्छ। 12 तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।
13 यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्। 14 यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन। 15 तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नेछु र मेरो मनले पनि प्रार्थना गर्नेछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ। 16 तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन। 17 परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन।
18 म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु। 19 तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।
20 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन। 21 व्यवस्थामा लेखिएको छः
“विभिन्न भाषा बोल्ने मानिसहरू लिएर,
अनि विदेशीहरूकै ओठ चलाएर,
म तिनीहरूसित बोल्छु।
तथापि तिनीहरूले मलाई सुन्दैनन्।”(A)
प्रभु त्यसै भन्नुहुन्छ।
22 यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन। 23 मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्? 24 तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबुझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट ऊ जाँचिन्छ। 25 त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”
तिम्रो सभाहरूले मण्डलीको मद्दत गरोस्
26 यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो। 27 जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन् अथवा तीनजना भन्दा वेशीले नबोलुन्। तिनीहरू एक पछि अर्को पालैसित बोलुन्। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ। 28 तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस्। त्यस मानिसले खाली आफैंसित र परमेश्वरसित मात्र बोल्नु पर्छ।
29 अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ। 30 अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ। 31 तिमीहरू सबैले एक पछि अर्काले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्यानु सक्छौ। 32 अगमवक्ताहरूको आत्मा अगवक्ताहरूकै अधीनमा हुन्छ। 33 किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।
34 मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ। 35 यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।
36 के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ। 37 यदि कसैले आफू अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो। 38 यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन।
39 यसैकारण मेरा प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँच्चो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड। 40 तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढङ्गले गरिनु पर्छ।
© 2004, 2010 Bible League International