Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 5

मोशा र हारून फिरऊनको सामुन्ने

मानिसहरूसँग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।’”

तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”

तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरुभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”

तर फिरऊनले तिनीहरूलाई भने, “हारून र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरहेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर। हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।”

फिरऊनले मानिसहरूलाई दण्ड दिन्छन्

त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने, “अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैंले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ। तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्। यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।”

10 यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्। 11 तिमीहरू आफैं गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”

12 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशको प्रत्येक ठाउँमा गए। 13 कमाराका मालिकहरूले मानिसहरूलाई झन् कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए। 14 मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सक्थ्यौ भने अहिले बनाउन सक्छौ?”

15 त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौं, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ? 16 तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”

17 फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाँहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढ़ाउन खोज्छौ। 18 अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौं। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”

19 हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्।

20 जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए। 21 यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चै गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोड्ने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”

मोशा परमेश्वरसित शिकायत गर्छन्

22 तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो? 23 म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”

लूका 8

येशूसँग एउटा समूह

अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसँगै थिए। त्यहाँ उहाँसँग यस्ता स्त्रीहरू पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो। अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिँया पैसा दिएर मद्दत पुर्याए।

येशूद्वारा बीऊ छर्नेको कथा प्रयोग

(मत्ती 13:1-17; मर्कूस 4:1-12)

येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो:

“एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए। केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए। कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो। अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।”

चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?”

10 येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारण,

‘तिनीहरू हेर्नत हेर्छन्,
    तर देख्दैनन्,
अनि तिनीहरू सुन्दछन्,
    तर तिनीहरू बुझ्दैनन्।’(A)

येशूद्वारा बीउको दृष्टान्त व्याख्या

(मत्ती 13:18-23; मर्कूस 4:13-20)

11 “यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो। 12 बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्। 13 तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसँग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोड्छन् अनि परमेश्वरदेखि टाढा बस्छन्।

14 “काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन। 15 अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसँग राम्रो फलहरू पनि फलाउँछन्।

आफूले बुझेजति बुझाऊ

(मर्कूस 4:21-25)

16 “कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्। 17 लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ। 18 यसर्थ कसरी सुन्न पर्ने हो सर्तक होऊ। जसले केही बझ्न सक्छ त्यसले अरू धेरै जान्न पाउँछ। तर जसले बुझ्दैन, उसकोमा जति छ त्यो पनि हराउँछ।”

येशूकोलागि चेलाहरूनै साँच्चो परिवार

(मत्ती 12:46-50; मर्कूस 3:31-35)

19 येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो। 20 कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”

21 येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”

चेलाहरू येशूको शक्ति हेर्दछन्

(मत्ती 8:23-27; मर्कूस 4:35-41)

22 एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिँड्न थाले। 23 जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए। 24 चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्यूँझाए। तिनीहरूले भने, “गुरूज्यू! गुरुज्यू! हामी डुब्न लाग्यौं।”

येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो। 25 उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?”

चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कुरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”

दुष्टात्मा लागेको मानिस

(मत्ती 8:28-34; मर्कूस 5:1-20)

26 तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे। 27 जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भूत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।

28-29 त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सधैँ साङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भूतले एकान्त ठाँउतिर खेद्थ्यो। तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो। त्यो मानिस येशूको अघाडी घोप्टेर ठूलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।”

30 येशूले त्यसलाई सोध्नु भयो, “तेरो नाम के हो?”

त्यस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्। 31 ती भूतहरूले तिनीहरूलाई अनन्त अँध्यारोमा नपुर्याइयोस् भनी याचना गरे। 32 त्यस पहाडमा एउटा ठूलो बथान सुँगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुँगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो। 33 तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुँगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुँगुरहरू पानीमा डुबे।

34 जब सुँगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घट्ना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए। 35 मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए। 36 मानिसहरू जो त्यस घट्ना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए। 37 गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए।

अनि उहाँ एउटा डुङ्गामा चढ्नु भयो अनि गालीलतर्फ जानु भयो। 38 त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसँगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो, 39 “घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।”

त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्‌यो।

येशूद्वारा मृतयुवतीलाई जीवनदान अनि बिमारी स्त्रीलाई चङ्गाई

(मत्ती 9:18-26; मर्कूस 5:21-43)

40 येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए। 41 एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे। 42 याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई।

जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो। 43 एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्। 44 त्यो आइमाई पछि पट्टि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो। 45 अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?”

सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”

46 तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।” 47 जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई। 48 येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसँग जाऊ।”

49 जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, “तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ।”

50 जब येशूले यो कुरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्छे।”

51 येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन। 52 सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, ऊ सुतिरहेकी छे।”

53 मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो। 54 तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!” 55 त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।” 56 त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घट्नाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।

अय्यूब 22

एलीपजले जवाफ दिन्छ

22 तेमानीबाट आएका एलीपजले जवाफ दिए;

“के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अँहँ।
    ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।
यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अँहँ!
    यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अँहँ।
अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो?
    के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”
होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो।
    अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।
हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ,
अनि तिमीलाई उसले केही देओस् भनेर बाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो।
    हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो।
    हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।
हुन सक्छ तिमीले ती थकित
    र भोकोहरूलाई पानी र भोजन दिएनौ।
अय्यूब, तिमीसँग खेती गर्ने थुप्रै जमीनहरू छन्।
    अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।
हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठायौ।
    अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।
10 यसकारण तिम्रो वरिपरि पासै-पासो छन्
    अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।
11 यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ,
    अनि बाढीले तिमीलाई बगाउँछ।

12 “परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ।
हेर ताराहरू कतिमाथि छन्।
    परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।
13 तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ?
    के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?
14 बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ,
    यसैले जब उहाँ आकाशको उच्च भागमा हिँड्नु हुन्छ,
    माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’

15 “अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिँडिसकेका थिए,
    तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।
16 ती दुष्टहरू नष्ट भए
    तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।
17 ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्,
    सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’
18 उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो।
    अँहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।
19 धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन,
अनि ती धर्मी मानिसहरू खुशी हुनेछन।
    निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।
20 ‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए।
    आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’

21 “अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस।
    त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।
22 उहाँबाट शिक्षा लेऊ।
    उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।
23 अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःर्स्थापित हुनेछौ
    तर अहिले तिमीले आफ्नो घरबाट दुष्ट-आत्मालाई खेदी हाल।
24 सोंच, तिम्रो जति सुनहरूछन् तर ती धुलो हुन्
    अति उत्तम सुन खोलाका स-साना ढुङ्गाहरू जस्ता।
25 अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।
26 तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ।
    तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।
27 तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ।
    अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।
28 यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ
    अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।
29 परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ।
    तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
30 तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्।
तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ
    अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ।
    किनभने तिमी एकदमै पवित्र हुनेछौ।”

1 कोरिन्थी 9

पावलले प्रयोग नगरेको अधिकार

म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हौ। अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लान् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हौ।

कसै-कसैले मेरो अधिकारको विषयमा प्रश्न गर्छन्। तिनीहरूका निम्ति मेरो जवाफ यही हुन्छः खाने र पिउने हाम्रो अधिकार छ। छैन र? यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिँड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरितहरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्। तर के बर्णाबास र मैले मात्र आफ्नो जीविकाका निम्ति काम गर्नै पर्छ? आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अङ्गुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेँड़ाको दुध पिउँदैन?

यी सब कुराहरू मानव विचार मात्र हुन? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन? मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।”(A) के परमेश्वर गोरूहरूमा मात्र चासो राख्नु हुन्छ? 10 होइन, वास्तवमा परमेश्वर हाम्रै बारे बोल्दै हुनु हुन्थ्यो। हो, धर्म शास्त्र हाम्रै लागि लिखिएको हो, “जोत्दा र दाँईँ गर्दा खेतीवालाले केही अन्न पाउने आशा गर्छ।” 11 हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र? 12 जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तैनौ? तर हामी अधिकार माग्दैनौं। हामी सबै चीज सहन गर्छौ ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस्। 13 के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्? 14 सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो।

15 तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु। 16 म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने। 17 यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु। 18 यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन।

19 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। 20 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ। 21 ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु। 22 कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ। 23 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ।

24 तिमीहरू सबैले जान्दछौ, दौड़मा धेरै जना दगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दगुर ताकि तिमीले पुरस्कार जित्न सक। 25 खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ। 26 यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन। 27 नियन्त्रणको लागि म आफ्नै शरीरलाई कठोर व्यवहार गर्छु। मैले यसो गरेको खण्डमा अरू मानिसहरू माझ प्रचार गरे पछि म आफैं परमेश्वरबाट तिरस्कृत हुने छैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International