Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 46

इस्राएललाई परमेश्वरको विश्वसनीयता

46 यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे। त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।”

अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”

तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु। म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”

इस्राएल मिश्र जान्छन्

त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे। तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए। तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।

याकूबको परिवार

तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनः

रूबेन याकूबका जेठो छोरो थिए। रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।

10 शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)

11 लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।

12 यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।

13 इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।

14 जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।

15 रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।

16 गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

17 अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

18 यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।

19 याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)

20 मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।

21 बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।

22 यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।

23 हुशीम दानका छोरो थियो।

24 नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।

25 याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।

26 याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।) 27 त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।

इस्राएल मिश्रमा पुग्छ

28 याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए। 29 यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।

30 तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”

31 यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्। 32 यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले सधैँ भेंडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’ 33 जब फिरऊनले बोल्ने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’ 34 तिमीहरूले उनलाई भन्नु, ‘हामी भेंडा गोठालाहरू हौं। जीवनभरि हामी भेंडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेंडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।”

मर्कूस 16

येशू मृत्युबाट बौरी उठेको समाचार

(मत्ती 28:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)

16 विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे। हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहानमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन। ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”

जब स्त्रीहरूले देखे, तिनीहरूले ढुङ्गा हटाईएको पाए। त्यो ढुङ्गा अति ठूलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो। तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।

उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो। अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”

ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्ना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।

(प्रस्तुत पुस्तकमा मर्कूसको केही पुराना यूनानी प्रतिलिपीहरू यहाँ शेष हुन्छ।)

केही चेलाहरूले येशूलाई देख्छन्

(मत्ती 28:9-10; यूहन्ना 20:11-18; लूका 24:13-35)

हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापर्नु भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो। 10 जब उनले येशूलाई देखिन्, तिनी गईन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुःखी भएर विलाप अनि रोई-कराई गरिरहेका थिए। 11 मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।

12 त्यसपछि ती दुइ बाहिर खेतमा हिंडिरहेका बेला उहाँ तिनीहरूकहाँ अघि अर्को रूपमा देखा पर्नुभयो। तर उहाँलाई मारिनु अघिको समयको जस्तो देखिनुहुन्थेन। 13 ती चेलाहरू फर्केर गए, अनि अरू चेलाहरूलाई यी कुराहरू वर्ण गरे। तर तिनीहरूले पनि विश्वास गरेनन्।

येशूले प्रेरितहरूसँग कुराकानी गर्नु भयो

(मत्ती 28:16-20; लूका 24:36-49; यूहन्ना 20:19-23; प्रेरित 1:6-8)

14 त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो।

15 येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर। 16 जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ। 17 अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूतहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्। 18 तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”

येशूको स्वर्गारोहण

(लूका 24:50-53; प्रेरित 1:9-11)

19 यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो। 20 चेलाहरू पृथ्वीको सबै कुनामा गए, अनि सु-समाचार प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्यकर्म गर्ने शक्ति चेलाहरूलाई दिइएकाले सुसमाचारको प्रमाण भयो।

अय्यूब 12

अय्यूबले सोपरलाई जवाफ दिंदछ

12 तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः

“निःसन्देह तिमी सोच्छौ,
    तिमी मात्र ज्ञानी पुरूष हौ,
तिमी सोच्छौ जब तिमी मर्छौ,
    ज्ञान पनि तिमीसँगै जानेछ।
तर मेरो मन तिम्रो जस्तै नै छ।
    तिमी जतिकै होशियारी म पनि छु।
कसैले पनि यो सत्यलाई देख्न सक्छ।

“मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ।
    तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि
उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’
    म एक असल मानिस हुँ, म निर्दोष छु।
    तर तिनीहरू अझ ममाथि हाँस्छन्।
दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन।
    जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।
तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन।
    मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ,
    अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।

“तर पशुहरूलाई सोध,
    तिनीहरूले तिमीहरूलाई सिकाउने छन्।
अथवा हावामा उड्ने चराहरूलाई सोध,
    तिनीहरूले तिमीहरूलाई भन्नेछन्।
अथवा पृथ्वीसँग बोल,
    त्यसले तिमीलाई भन्नेछ।
अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान
    तिमीलाई बताउनेछ।
प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।
10 प्रत्येक प्राणीहरू जो बाँच्दछन्,
अनि प्रत्येक मानिस जसको प्राण छ,
    सबै परमेश्वरकै शक्तिको अधीनमा छ।
11 तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै,
    कानहरूले शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?
12 हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ
    लामो जीवनले बुद्धि ल्याउँछ।’
13 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो।
    राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।
14 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने
मानिसहरूले यसलाई फेरि बनाउँन सक्दैन।
    यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने
    मानिसले त्यसलाई मुक्त पार्न सक्दैन।
15 यदि परमेश्वरले बर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ।
    यदि परमेश्वरले बर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।
16 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैँ जित्नु हुन्छ।
    एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।
17 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ
    अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।
18 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन,
तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ
    अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
19 उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ
    अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।
20 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ।
    उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।
21 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ।
    उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।
22 परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ।
    उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ।
23 परमेश्वरले जाति-जातिहरूलाई ठूला र शक्तिशाली बनाउनुहुन्छ,
    अनि तिनीहरूलाई ध्वंश पार्नुहुन्छ।
उहाँले जातिहरूलाई विस्तार गराउनु हुन्छ
    त्यसपछि त्यहाँका जनसमूहलाई छरपष्ट पार्नुहुन्छ।
24 परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ।
    उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ।
25 ती मुखियाहरू त्यस मानिस जस्ता हुन,
जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ।
    तिनीहरू मताहा मानिस जस्ता हुन्छन जसलाई कहाँ गइरहेछु भन्ने होश हुदैन।”

रोमी 16

अन्तिम शब्दहरू

16 म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्। परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्।

प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए। तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्।

अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार।

मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्।

मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्।

एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए।

परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार। उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्।

मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार। 10 अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँच्चो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए।

अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार। 11 हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्।

नर्सिसस परिवारलाई पनि नमस्कार जो प्रभुमा छन्। 12 त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्।

मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्।

13 रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्।

14 अर्सिक्रितस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यू-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार।

15 फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार।

16 जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर।

ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउँछन्।

17 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस। 18 त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्। 19 सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।

20 परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ।

हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्।

21 तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।

22 म तर्तियस हुँ, पावलले जे बोले ती कुराहरू म लेख्दैछु। अनि परमप्रभुमा म तिमीहरूलाई नमस्कार गर्दछु।

23 गायसले यहाँ मलाई साथै सम्पूर्ण मण्डलीलाई आफ्नो घर चलाउनु दिइराखेका छन्। उनले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्तस अनि हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्टस यस शहरका खजाञ्ची हुन्। 24 [a]

25 परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ। 26 त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ। 27 येशू ख्रीष्ट मार्फत एक मात्र सर्वज्ञानी परमेश्वरको महिमा होस्। आमिन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International