Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 6

तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महा-शक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि ऊ आफैंले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”

तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ, अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सद्दाई[a] भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने। मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन। इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु। यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा-शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु। तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ। मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’”

यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।

10 तब परमप्रभुले मोशालाई भन्नुभयो, 11 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”

12 तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”

13 परमप्रभुले मोशा र हारूनसँग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसँग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।

इस्राएलका केही परिवारहरू

14 इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः

हनोक, पल्लू, हेस्रोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।

15 शिमोनका छोराहरू हुन्: यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।

16 लेवी एक सय सैंतीस बर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

17 गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।

18 कहात एक सय तेत्तिस बर्ष बाँचे अनि तिनका छोराहरू हुन्: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।

19 महली अनि मूशी मरारीका छोराहरू थिए।

यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।

20 अम्राम एक सय सैंतीस बर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 बर्ष बाँचे।

21 यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।

22 मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।

23 हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।

24 कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।

25 हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे।

यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।

26 हारून र मोशा यही परिवारका हुन्। अनि यी दुइ जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल-दलमा मिश्र बाहिर ल्याउनु पर्छ।” 27 हारून र मोशा नै ती मानिसहरू हुन् जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोड्न फिरऊनलाई भने।

परमेश्वर मोशालाई फेरि बोलाउनु हुन्छ

28 मिश्र देशमा परमप्रभुले मोशासँग कुरा गर्नुभयो र 29 उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले तिमीहरूलाई जो भनें त्यो मिश्रको राजा फिरऊनलाई भन।”

30 तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”

लूका 9

येशूले बाह्रजना प्रेरितहरूलाई पठाए

(मत्ती 10:5-15; मर्कूस 6:7-13)

येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो। येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो। उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिँड्छौ, साथमा लौरो, खानेकुरा, झोला र रूपियाँ पैसा केही नलैजाऊ। कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस। यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”

त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।

येशूको बारेमा हेरोद अन्योल

(मत्ती 14:1-12; मर्कूस 6:14-29)

शासक हेरोदले यी सब घट्नाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।” अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।” हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे।

येशूद्वारा पाँच हजार भन्दा अधिक मानिसलाई भोजन

(मत्ती 14:13-21; मर्कूस 6:30-44; यूहन्ना 6:1-14)

10 जब प्रेरितहरू फर्कि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानुभयो। 11 तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।

12 साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”

13 तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”

प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुइ टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?” 14 त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए।

उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”

15 त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईंमा बसे। 16 येशूले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकुरा टुक्रा-टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँड्न प्रेरितहरूलाई आह्राउनु भयो। 17 सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो।

पत्रुस भन्छन् येशूनै ख्रीष्ट हुन्

(मत्ती 16:13-19; मर्कूस 8:27-29)

18 एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”

19 चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”

20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हुँ?”

पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”

21 येशूले यो कूरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।

येशू भन्नुहुनछ उहाँ मर्नु पर्छ

(मत्ती 16:20-28; मर्कूस 8:31–9:1)

22 त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”

23 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्‌याउनु पर्छ। 24 जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ। 25 किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैंलाई नोकसानमा पार्छ अथवा हराउँछ? 26 यदि कुनै मानिस म र मेरो वचनसँग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु। 27 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”

मोशा, एलिया र येशू

(मत्ती 17:1-8; मर्कूस 9:2-8)

28 प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो। 29 जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो। 30 दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए। 31 मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो। 32 पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो। 33 जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।

34 पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए। 35 बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”

36 जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।

येशूद्वारा दुष्टात्मा लागेको ठिटो निको

(मत्ती 17:14-18; मर्कूस 9:14-27)

37 भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो। 38 भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो। 39 शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफूमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट-आत्माले सधैँ कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन। 40 मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट-आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।”

41 येशूले उत्तर दिनुभयो, “अविश्वासी र भड्किएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसँग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”

42 जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूईँमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई निको पारेर बाबुलाई सुम्पि दिनु भयो। 43 परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए।

येशूद्वारा आफ्नै मृत्युको विवरण

(मत्ती 17:22-23; मर्कूस 9:30-32)

येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, 44 “अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।” 45 तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए।

सबभन्दा मुख्य मानिस

(मत्ती 18:1-5; मर्कूस 9:33-37)

46 येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले। 47 येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो। 48 अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ सानो छ, ऊ नै सब भन्दा महान हो।”

जो तिमीहरूको विरूद्धमा छैन, त्यो तिमीहरूपट्टि छ

(मर्कूस 9:38-40)

49 यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”

50 येशूले यूहन्नालाई भन्नु भयो, “त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ।”

शामरिया शहर

51 येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो। 52 येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए। 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो। 54 याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?”

55 तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो। 56 त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।

येशूको अनुशरण

(मत्ती 8:19-22)

57 उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसँगै जान्छु।”

58 येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”

59 येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।”

तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”

60 तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाड्न देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”

61 अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”

62 येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”

अय्यूब 23

अय्यूबले जवाफ दिंदछ

23 तब अय्यूबले जवाफ दिएः

“म थाकेर कमजोर भएता पनि
    अझै म विद्रोही कुरा गरिरहेको छु।
म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनुहुन्छ,
    तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए।
    म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथिएँ।
अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ।
    अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ?
के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ?
    होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
उहाँसँग मेरो ईमान्दार त्यहाँ छलफल हुनेथियो,
    अनि म मेरो मामला जित्ने थिएँ।

“यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन।
    यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।
अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिनँ।
    अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।
10 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ,
    उहाँले मलाई जाँच्न सक्नुहुन्छ अनि म त्यो जाँचमा शुद्ध सुन जस्तो उत्तीर्न हुनेछु।
11 म परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिँडे।
    परमेश्वरको बाटोबाट म भड्किनँ।
12 मैले सधैँ परमेश्वरको आज्ञाको पालन गरे।
    परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।

13 “तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न।
    परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्।
    परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
14 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो
    अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।
15 यसकारण म परमेश्वरसँग डराउँछु।
    म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
16 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो।
    सर्वशक्तिमान परमेश्वरले मलाई त्रासित पार्नुभयो।
17 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो,
तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्।
    तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।

1 कोरिन्थी 10

यहूदीहरू जस्तै नहोऊ

10 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे। तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए। तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए। अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो। तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।

यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ। तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।” ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे। जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ सर्पहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन। 10 अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्‌-गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।

11 तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्। 12 यसैले त्यो जो दह्रिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्। 13 हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्। तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौं। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ़ता परीक्षा लिनुदिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।

14 यरकारण, मेरा प्रिय मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस। 15 तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफैं जाँच। 16 आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँच्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र? 17 त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।

18 इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बली खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र? 19 मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो। 20 तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न। 21 तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ। 22 के तिमी प्रभूलाई रिस उठाउनु चाहन्छौ? हामी उहाँ भन्दा बलिया छौं र? छैनौं।

आफ्नो स्वतन्त्रा परमेश्वरको महिमाको लागि प्रयोग गर

23 तिमीहरू भन्छौ, “सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर ती कुराहरूले सबैलाई बलियो बनाउँदैन। 24 तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ।

25 मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खाओ। 26 तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”(A)

27 यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अघिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर। 28 तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ, जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानु अनुचित मान्छन्। 29 तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसको सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन। 30 यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिंदा किन मेरा निन्दा हुने?

31 यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर। 32 त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली। 33 म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिष गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिष गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International