Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 1

मिश्रदेशमा याकूबको परिवार

याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोराहरूका आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्: रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून, बिन्यामीन, दान, नप्ताली, गाद र आशेर। याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)

यूसुफ, उनका दाज्यू-भाइहरू अनि त्यस पुस्ताका सबै मानिसहरूको मृत्यु भयो। तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।

इस्राएलका मानिसहरूको दुःख

तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए। त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्। 10 यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुशे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।”

11 मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्ने निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरू चीजहरू राख्न प्रयोग गरे।

12 मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसँग अझै डराउन थाले। 13 यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए।

14 मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै अप्ठयारोमा पारे।

सेविकाहरू जसले परमेश्वरलाई पछ्याए

15 हिब्रू स्त्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पूआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसँग कुरा गरे। 16 राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मेछ भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”

17 तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए।

18 तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?”

19 सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।” 20-21 परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिनीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो।

हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए। 22 यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”

लूका 4

शैतानद्वारा येशूको परिक्षा

(मत्ती 4:1-11; मर्कूस 1:12-13)

येशू यर्दन नदीदेखि फर्किनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थ्यो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो। त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।

शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।”

उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छः

‘रोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।’”(A)

तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो। तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसँगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु। यदि तपाँईले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।”

उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ,

‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ।
    अनि उहाँको मात्र सेवा गर्नुपर्छ!’”(B)

तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फालहान्नु होस्! 10 किनभने धर्मशास्त्रमा यो लेखिएको छ,

‘उहाँले तिम्रो रक्षाको लगि
    आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’(C)

11 यो पनि लेखिएको छ,

‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्,
    जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’”(D)

12 येशूले उत्तर दिनु भयो, “यो पनि धर्मशास्त्रमा भनिएको छ,

‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।’”(E)

13 शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।

येशूद्वारा मानिसहरूलाई शिक्षा

(मत्ती 4:12-17; मर्कूस 1:14-15)

14 येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो। 15 उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।

येशू आफ्नो शहरमा जानुहुन्छ

(मत्ती 13:53-58; मर्कूस 6:1-6)

16 येशूले आफू हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो। 17 यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुराहरू लेखिएको भेट्टाउनु भयोः

18 “परमप्रभुको आत्मा ममाथि छ।
    परमेश्वरले मलाई गरीबहरूलाई सु-समचार सुनाउन,
बन्धनमा परेकाहरूलाई स्वतन्त्र गर्न,
    अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न पठाउनु भएकोछ।
अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।
19     अनि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ,
    भनिघोषणा गर्न पठाउनु भएकोहो।”(F)

20 उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए। 21 येशू तिनीहरूसँग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, “मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।”

22 सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?”

23 येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैध! आफैंलाई निको पार। तिमीले आफ्नै शहरमा पनि त्यही गर।’” 24 त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन। म जे भन्दैछु त्यो साँच्चो हो।

25-26 “एलियाको समयमा साढे तीन वर्षसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए। तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।

27 “अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”

28 सबै मानिसहरू जो सभा-घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए। 29 मानिसहरू उठे अनि येशूलाई शहर छाड्न वाध्य गराए। तिनीहरूको शहर एउटा टाकुरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुर्याए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे। 30 तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो।

येशूद्वारा दुष्टात्मा लागेको मानिस निको भएको

(मर्कूस 1:21-28)

31 गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो। 32 तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउँनुहुन्थ्यो।

33 सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो। 34 “हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनु भएको हो? म तपाईंलाई जान्दछु तपाईं परमेश्वरका एक पवित्र जन हुनुहुन्छ।” 35 तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूईँमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।

36 सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।” 37 त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।

येशूद्वारा पत्रुसकी पत्नीको आमा निको भएकी

(मत्ती 8:14-17; मर्कूस 1:29-34)

38 येशूले सभा घर छाड्नु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। 39 येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।

येशूद्वारा धेरै मानिसहरू निको भएको

40 घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो। 41 धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।

येशूको विभिन्न शहरहरूमा प्रस्थान

(मर्कूस 1:35-39)

42 अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीड़ले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए। 43 तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरू भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”

44 तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।

अय्यूब 18

बिल्ददले अय्यूबलाई जवाफ दिंदछ

18 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः

“अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ?
    चुपलाग अनि सुन, हामीलाई केही भन्नदेऊ।
किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?
अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ।
    के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ?
    के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?

“हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ।
    उसको आगो जल्न छाड्नेछ।
उसको घरको प्रकाश अँध्यारो हुनेछ।
    उसको छेउको बत्ती पनि निभ्ने छ।
उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्।
    उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।
उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ
    उ पासोमाथि हिँडनेछ र फँस्नेछ।
पासोले उसको एढी पक्रने छ।
    पासोले उसलाई कस्सेर समात्ने छ।
10 भूईँमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ।
    पासोले उसको बाटो पर्खनेछ।
11 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ।
    त्रासले त्यसको बढ्दो प्रत्येक पाईलालाई पछ्याई रहेछ।
12 भोकले उसको शक्ति दुर्बल पार्छ।
    जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।
13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ।
    त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।
14 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ।
    उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।
15 उसले आफ्नो घरमा केही पनि छाडने छैन।
    किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।
16 उसको मुनिका जराहरू सुकेर जानेछन्
    अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।
17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्।
    कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।
18 मानिसहरूले उसलाई
    उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।
19 उसको न छोरा-छोरीहरू हुनेछ,
    न त नाति-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।
20 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ,
जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा,
    पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।
21 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ।
    त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”

1 कोरिन्थी 5

मण्डलीमा नैतिक समस्या

तिमीहरू माझ यौन पाप छ भन्ने कुरो मानिसहरूले गर्दैछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको। अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो। म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु। हामी हाम्रा प्रभु येशूको नाउँमा एकत्रित होंऊ। मेरो आत्माले म तिमीहरूसित हुनेछु र तिमीहरूको प्रभु येशूको शक्ति तिमीहरूसित हुनेछ। अनि त्यस मानिसलाई शैतानको हातमा सुम्पिदेऊ, जसमा कि त्यसको पापी शरीर नष्ट होस् र उसको आत्मा चाँहि प्रभुको दिनमा बचाउन सकियोस्।

तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ। बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो। यसैले हामी निस्तार भोजन खाउँ, तर बासी खमीर भएको रोटी चाँहि होइन। बासी खमीर पाप र दुष्कर्मको खमीर हो। तर हामी बिना खमीरको रोटी खाऊँ। पवित्रता र सच्चाइको रोटी यही हो।

मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको सँगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ। 10 तर यस संसारका पापीहरूको सँगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ। 11 म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि सँगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।

12-13 ती जो मण्डली बाहिरका हुन् तिनीहरूलाई जाँचिरहने मेरो काम होइन। तिनीहरू त परमेश्वर आफैं द्वारा जाँचिने छन्। तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्नै पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।”(A)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International