M’Cheyne Bible Reading Plan
7 परमप्रभुले मोशालाई भन्नु, भयो, “म तिमीसँग हुनेछु, फिरऊनको अघि तिमी एकजना देवता जस्तै हुनेछौ अनि हारून तिम्रो अगमवक्ता हुनेछ। 2 तिमीले प्रत्येक चीज हारूनलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउँनेछ। 3 तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र 4 यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु। 5 तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”
6 परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे। 7 तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 बर्ष र हारून 83 बर्षका थिए।
मोशाको टेक्ने लहुरो सर्प बनिन्छ
8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 9 “फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।”
10 यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।
11 तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके। 12 तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरू निली दियो। 13 तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।
पानी रगत बनिन्छ
14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन। 15 बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ। 16 उसलाई यसो भन, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यो भन्नु पठाउनु भएको छ: मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरुभूमिमा पठाऊ। अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।’ 17 यसर्थ परमप्रभु भन्नुहुन्छ, ‘उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउँछु र नदी रगतमा परिवर्तन हुनेछ। 18 नदीका माछाहरू मर्नेछन् अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउनु सक्ने छैनन्।’”
19 परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”
20 यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो। 21 पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो।
22 जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो। 23 फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्।
24 मिश्र देशका मानिसहरूले नदीको पानी खान सकेनन्। यसकारण तिनीहरू नदीको वरिपरि पिउने पानीका लागि कुवाहरू खन्न लागे।
भ्यागुत्ताहरू
25 परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो।
येशूले बहत्तर जनालाई पठाउनु भयो
10 त्यसपछि, प्रभु येशूले 72[a] जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुइ-दुइ जनाको दल बनाई आफू जुन-जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो। 2 येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।
3 “अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेंडा़ जस्तै हुनेछौ। 4 पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंड्दा मानिसहरूसँग बोल्न नछाड। 5 कसैको घरमा पस्न अघि भन, ‘यस घरमा तिमीहरूलाई शान्ति होस्।’ 6 यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसँग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ। 7 शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।
8 “यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ। 9 त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’
10 “तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन, 11 ‘तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौं। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’ 12 म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ।
येशूद्वारा विश्वास नगर्नेहरूलाई चेतावनी
(मत्ती 11:20-24)
13 “ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे। 14 तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ असहनीय हुनेछ। 15 ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौं? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।
16 “ऊ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ। तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
शैतान झर्दछ
17 जब ती 72 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”
18 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें। 19 सुन, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन। 20 तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।”
येशूको पितामा प्रार्थना
(मत्ती 11:25-27; 13:16-17)
21 त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।
22 “मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुन्, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।”
23 त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसँग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि फर्कनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ। 24 म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”
असल सामरीको कथा
25 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
26 येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?”
27 त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ।(A) अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’(B)”
28 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”
29 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”
30 यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भूईँमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।
31 “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे। 32 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।
33 “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। 34 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। 35 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’”
36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”
37 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।”
येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”
मरियम र मार्थ
38 जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्। 39 मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्। 40 मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मद्दत गरोस्।”
41 अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ। 42 एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”
24 “यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन,
तर को आँउदैछ भनेर उनका अनुवाईहरूलाई थाहा हुँदैन।
2 “मानिसले आफ्नो जमीन बढाउन सिमाना सार्छन्,
अनि अर्काको बगाल चोरेर टाढा खर्कमा चराउँछन्।
3 तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन।
तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ, जबसम्म उसले ऋण तिर्न सक्तिनँ।
4 तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्।
तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमि हिँड्न बाध्य गराउँछन्।
सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।
5 “गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरुभूमिमा घुमिरहेका छन।
भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुन्जेलसम्म काम गर्छन्।
6 गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन्
अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।
7 गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ।
जाडोबाट जोगिनँ तिनीहरूसित केही हुँदैन्।
8 तिनीहरू पर्वतहरूमा बर्षाले निथ्रुक्क भिज्छन्।
चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीने कुनै उपाय छैन।
9 खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन।
तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।
10 गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन यसैले तिनीहरू नाङ्गै छन्।
तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सधैँ भोको हुन्छन्।
11 गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्।
मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन
12 शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ।
ती पीडित मानिसहरू गुहार माग्दै चिच्याउँछन् तर परमेश्वरले सुन्नुहुन्न।
13 “कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन।
तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ।
तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।
14 हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ।
अनि रातमा त्यो चोर हुन्छ।
15 एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ।
उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’
तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।
16 जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन,
अनि मानिसहरूको घरहरू फोर्छन्।
तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ
अनि प्रकाशलाई मन पराउँदैन।
17 ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो।
हो, तिनीहरू डरलाग्दो अँध्यारो रात मन पराउँछन्।
18 “तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्।
तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।
19 तिनीहरूको निम्ति हिउँदको हिउँबाट पानी आउँछ तर गरमको सुख्खा मौसमले सुकाइदिन्छ।
अनि ती पापीहरू चिहानमा लगिन्छन्।
20 त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे।
कीराहरू उसको प्रियसी हुन्छन् जसले शरीर खान्छन्।
मानिसहरूले उसलाई सम्झने छैनन्।
त्यो दुष्ट मानिस कुहेको लट्ठी जस्तै भाँचिएको छ।
21 दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन्।
अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
22 दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्।
दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।
23 दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्।
उसले आफैंमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।
24 नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन।
तिनीहरू बाली काटे जस्तै काटिन्छन्।
25 “म कसम खान्छु कि ती कुराहरू सत्य हुन्।
कसले प्रमाणित गर्ला मैले ढाँटे भनेर?
कसले देखाउन सक्छ म गल्ती छु भनेर?”
11 मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु।
मालिकको अधीनमा हुनु
2 म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ। 3 म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।
4 हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ। 5 तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छे। तब ऊ शिर खौरेकी स्त्री जस्तै हुन्छे। 6 कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ।
7 पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किनकि ऊ परमेश्वरको प्रतिरूप हो ऊ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो। 8 पुरुष स्त्रीदेखि आएको होइन, तर स्त्री पुरुषदेखि आएको हो। 9 अनि पुरुष स्त्रीको लागि बनिएको होइन तर स्त्री पुरुषको लागि बनिएकी हो। 10 र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ।
11 तथापि प्रभुमा स्त्री पुरुषकोलागि महत्वपूर्ण छ र पुरुष स्त्रीको लागि महत्वपूर्ण छ। 12 यो साँच्चो हो कि स्त्री पुरुषदेखि आएकी हो तर पुरुष पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ।
13 यो आफैं निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला? 14 लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ। 15 तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ। 16 यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन।
प्रभुको भोज
17 अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ। 18 पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु। 19 तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।
20 जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ। 21 किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्। 22 तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा गर्दिन।
23 तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो। 24 र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।” 25 उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गर।” 26 जब-जब तिमीहरू यो रोटी खाँदछौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउन्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ।
27 त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ। 28 हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ। 29 यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैंमा न्यायाकोलागि दण्ड निम्त्याउछ। 30 त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए 31 तर हामीले आफैंलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन। 32 तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस् भनी उहाँले यसो गर्नु हुन्छ।
33 यसैले मेरा दाज्यू-भाइ, दिदी-बाहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ एका-अर्कालाई पर्ख। 34 कोही भोकाएको छ भने आफ्नै घरमै खाओस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्याओस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु।
© 2004, 2010 Bible League International