M’Cheyne Bible Reading Plan
परमप्रभुको सम्झना
8 “आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ। 2 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस बर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो। 3 परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्। 4 बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो। 5 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।
6 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुशरण गर्नुपर्छ। उहाँलाई अनुशरण गर अनि सम्झना गर। 7 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ। 8 त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। 9 त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने प्रत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ। 10 तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।
परमप्रभुले जे गर्नु भयो नबिर्स
11 “सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर। 12 तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ। 13 तिमीहरूसित गाई, भेंडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। 14 जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। 15 परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूख्खा मरुभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो। 16 मरुभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो। 17 यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’ 18 परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ।
19 “परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेतावनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ। 20 तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंश पार्नुहुँदैछ र यदि तिमीहरूले अरू देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंश पारिने छ। किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।”
1 तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ।
तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
2 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ।
मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
3 परमेश्वरले तिमीलाई लुप्त विपदहरू
र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।
4 तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ।
उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ,
जसरी एउटा चराले आफ्ना पखेंटाहरू फिँजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ।
परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
5 तिमीहरू राती व्यर्थमा डराउने कामै छैन
अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।
6 तिमी राती चल्ने रूढीदेखि डराउने छैनौ।
र दिउँसो क्षय गर्ने नाशदेखि पनि डराउने छैनौ।
7 तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ।
तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ।
ती शत्रुहरूले तपाईंलाई छुँदैनन् पनि।
8 हेर मात्र, अनि तिमीले देख्ने छौ
ती दुष्ट मानिसहरू दण्डित भएको।
9 किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ।
तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10 तिमीलाई केही नराम्रो हुनेछैन।
त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11 परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ,
अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्।
12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्,
त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13 तिमीहरूले सिंहहरूमाथि
र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने,
म उसलाई बचाउँने छु।
जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्।
अनि म तिनीहरूलाई जवाफ दिने छु
म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु,
म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु
अनि तिनीहरूलाई बचाउँनेछु।”
अश्शूरहरूले यहूदामा आक्रमण गर्दछ
36 हिजकियाह राजा भएको चौधौं बर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका मुख्य शहरहरूको विरूद्ध लडाईं लड्न गए। सनहेरीबले ती शहरलाई पराजित गरे। 2 सनहेरीबले आफ्ना कप्तानसँग विशाल सेनाहरू यरूशलेममा राजा हिजकियाहकहाँ पठाए। कप्तान र उनका सेनाहरू लाकीश छाडेर यरूशलेम तिर गए। तिनीहरू माथिल्लो झाडीको जलमार्ग नजिक रोकिए। (माथिल्लो पोखरी धोबीको खेत जाने बाटोतर्फ पर्छ।)
3 यरूशलेमबाट तीन जना पुरूषहरू कप्तानसँग कुरा गर्न गए। तिनीहरू हुन हिल्कियाहको छोरो एल्याकीम, आसापको छोरो योआ अनि शेब्ना। एल्याकीम राजदरबारका प्रशासक थिए। योआ लेखापाल थिए। अनि शेब्ना दरबारको सचिव थिए।
4 कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, महाराज, अश्शूरका राजाले यसो भन्छन्,
“‘तिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ? 5 म तिमीहरूलाई भन्दछु यदि तिमीहरूले शक्ति र युद्धको योजनामा भरोसा गर्दछौ, यो व्यार्थ हो। तिनीहरू खोक्रा शब्दहरू बाहेक केही होइनन्। अब म तिमीहरूलाई सोध्दछु, तिमीहरूकोमाथि भरोसा गरेर मेरो विरूद्धमा विद्रोह गरिरहेका छौ? 6 के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्।
7 “‘तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू नष्ट पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।”
8 “‘यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु। 9 तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौ?
10 “‘अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र नष्ट पार।”’”
11 तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्यौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।”
12 तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।”
13 तब रबशाके यहूदी भाषामा साह्रो चिच्याए अनि यसो भने, 14 “अश्शूरका महाराजाको यो सन्देश सुन:
“‘हिजकियाहले तिमीहरूलाई मूर्ख नबनाओस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउँन सक्दैन्। 15 हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, “परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।”
16 “‘हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ। 17 जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।”
18 “‘हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अश्शूरका राजाबाट बचाउन सक्यो? अँहँ। 19 हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? अँहँ। 20 के अन्य देवताहरूले अरू देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अँहँ! के परमप्रभुले मबाट यरूशलेम बचाउन सक्नुहोला त?’”
21 तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, “उसलाई केही पनि नभन।”
22 त्यसपछि राजदरबारका व्यवस्थापक (हिल्कियाहको छोरो एल्याकीम), राजकीय सचिव शेब्ना अनि धर्मशास्त्री आसापको छोरो योआ हिजकियाह कहाँ गए। तिनीहरूले शोकव्यक्त गर्न आफ्ना लुगाहरू च्याते अनि हिजकियाहलाई प्रत्येक कुरा भने जो अश्शूरका कप्तानले भनेका थिए।
भेंड़ाको पाठोले चर्म-पत्र खोल्दछन्
6 तब, भेंडा़को पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरू मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”। 2 अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।
3 भेंडा़को पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। 4 तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरूलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।
5 त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो। 6 तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।”
7 त्यो भेंडा़को पाठाले चौथो मोहर खोल्यो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुनें। 8 मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो।
9 त्यो भेंडा़को पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरू देखें। ती आत्माहरू ती मारिएका मानिसहरूका थिए किनभने तिनीहरू परमेश्वरको सन्देश अनि तिनीहरूले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए। 10 यी आत्माहरूले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरूको न्याय गर्नमा अनि उनीहरूलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?” 11 त्यसपछि ती आत्माहरू प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरूलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरूका अझ कोही भाइहरू जसलाई तिनीहरू जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरूसित थिए। ती आत्माहरूलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।
12 तब, त्यो भेंडा़को पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो। 13 आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे। 14 आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे।
15 तब समस्त मानिसहरू गुफाहरूमा अनि पर्वतका चट्टानहरूमुनि लुके। त्यहाँ संसारका राजाहरू, शासकहरू, सेनाध्यक्षहरू, अनि शक्ति सम्पन्न मानिसहरू थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए। 16 मानिसहरूले पर्वत अनि चट्टानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडा़को पाठाको क्रोधबाट बचाऊ। 17 तिनीहरूको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?”
© 2004, 2010 Bible League International