M’Cheyne Bible Reading Plan
ऋण मुक्त हुने विशेष बर्ष
15 “प्रत्येक सात बर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ। 2 तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किनभने परमप्रभुले यस बर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ। 3 तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ। 4 तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ अनि तिमीहरूलाई धेरै-धेरै आशीर्वाद दिनु हुनेछ। 5 तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ। 6 तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपियाँ हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन।
7 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर। 8 त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।
9 “सातौं बर्ष जो ऋण माफ गरिने बर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।
10 “तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिंदा नराम्रो नसम्झ। किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ। 11 त्यो भूमिमा सधैँ गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।
कमारा-कमारीहरूलाई मुक्ति
12 “यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रू मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ बर्षसम्म राख्न सक्छौ तर सातौं बर्षमा उसलाई मुक्त गर्नै पर्छ। 13 तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन। 14 तिमीले उसलाई तिम्रो केही गाई-बस्तु, तिम्रो केही अन्न र तिम्रो केही मद्य दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ। 15 तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु।
16 “तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन।’ उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बित्दैछ। 17 त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस्न लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेंड पारिदेऊ। त्यो सधैँको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु।
18 “कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, बर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।
पहिले जन्मेको पशुहरूको विषयमा नियमहरू
19 “तिमीहरूको बगालमा पहिला जन्मेका पशुहरूका साना बाछाहरू विशेष हुन्छन्। तिनीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरका निम्ति चढाउनै पर्छ। ती पशुहरू मध्ये कुनैलाई पनि काममा नलगाऊ अनि पहिला जन्मेको तिमीहरूका भेंडाहरूबाट ऊन कात्नु हुँदैन। 20 प्रत्येक बर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।
21 “तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ। 22 तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो। 23 तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूईँमा पानी खन्याए जस्तै पोख्नु पर्छ।
पीडित मानिसको भजन। ऊ पीडित भएर, परमप्रभुलाई दुःख पोख्छ।
1 हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्।
सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्।
2 परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्।
जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्।
जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु,
मलाई झट्टै जवाफ दिनुहोस्।
3 मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ।
मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
4 मेरो शक्ति क्षीण हुँदै गईसक्यो
म सुख्खा, ओइलिँदै गई रहेको घाँस जस्तै छु।
मैले खान समेत भूली सकेको छु।
5 आफ्नो उदासीनताको कारणले गर्दा,
मेरो ओजन घटिरहेछ।
6 म मरुभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु।
भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु।
7 म सुत्न सक्दिनँ।
म छानामा भएको एउटा एक्लो चरो जस्तो छु।
8 मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्।
तिनीहरूले मलाई खिसी गरे अनि सरापे।
9 मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो।
मेरो आँसु मेरो पिउने बस्तु हो।
10 किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ,
परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई फ्याँकी दिनुभयो।
11 दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो।
म सुख्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु।
12 तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
तपाईंको नाउँ सदा-सर्वदा र अनन्त सम्म रहनेछ।
13 तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ।
तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
14 तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ,
तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।
15 मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्।
परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।
16 परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ।
मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
17 परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।
परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
18 यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख
अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।
19 परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ।
परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।
20 अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ।
उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
21 तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्।
तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्।
22 जातिहरू परस्परमा भेला हुनेछन्।
राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।
23 मेरो बलले मलाई नै असफल तुल्यायो।
मेरो जीवन छोटो भएर घट्यो।
24 यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्।
परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
25 धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो।
तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।
26 संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ।
तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्,
अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ।
तिनीहरू सबै परिवर्तन हुनेछन्।
27 तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न।
तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ।
28 हामी आज तपाईंका दासहरू हौं।
हाम्रा नानीहरू यहाँ छन्।
अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”
परमप्रभुको खास दास
42 “मेरो दासलाई हेर!
म उसलाई सम्हाल्नेछु,
उसलाई मात्र रोजेको हुँ।
अनि म उसँग एकदम खुशी छु।
मैले मेरो आत्मा उसमा हालीदिए।
उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।
2 उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्,
उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्।
3 ऊ भद्र हुनेछ, उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन।
उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्।
उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।
4 उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन, तबसम्म ऊ कमजोर हुने छैन।
नत शिथिल नै हुने छ अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।”
परमप्रभु नै संसारका शासक र निर्माणकर्त्ता हुनुहुन्छ
5 परमप्रभु, साँच्चो परमेश्वरले यी कुराहरू भन्नुभयो। (परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।)
6 “म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु।
म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु।
तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ।
मानिसहरूसँग मेरो करार भएको।
तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।
7 तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ,
अनि तिनीहरूले देख्न सक्नेछन्।
धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ,
धेरै मानिसहरू अन्धकारमा बस्दछन्,
तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।
8 “म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो।
मेरो महिमा म अरूलाई दिने छैन्।
म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन,
जुन मेरो हुनुपर्नेछ।
9 शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए
अनि ती घटनाहरू भए।
अनि अब, यी घटनाहरू हुनु अघि नै,
केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”
परमेश्वरलाई एक स्तुति गान
10 परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ:
टाढा देशहरूमा भएका सारा मानिसहरू,
समुद्रमा यात्रा गर्ने सारा मानिसहरू,
सागरहरूमा भएका सारा पशु-प्राणीहरू,
टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!
11 मरुभूमि र शहरहरू,
केदारका गाउँहरू परमप्रभुको प्रशंसा गर।
सेलामा बस्ने मानिसहरू, खुशीको गीत गाओ।
तिम्रो पर्वतको चुचुरा देखि गाओ।
12 परमप्रभुलाई महिमा प्रदान गर,
सबैले उहाँको प्रशंसा गर, जो टाढा टाढामा छन्।
13 परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ।
उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ।
उहाँ साह्रै उत्तेजित हुनुहुनेछ।
उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ
अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।
परमेश्वर अत्यनतै सहनशील हुनुहुन्छ
14 “धेरै लामो समय देखि मैले केही पनि भनेको छैन्।
मैले स्वयलाई नै नियन्त्रण गरें अनि केही पनि भनिनँ।
तर अब म शिशुलाई जन्म दिइरहेकी स्त्री जस्तै कराउनेछु,
म तेज जबरजस्ती गरेर सास फेर्नेछु।
15 म पहाड र पर्वतहरूलाई उजाड पारिदिनेछु
म त्यहाँ उम्रिने सारा वनस्पतिहरूलाई सुकाइदिनेछु।
म नदीहरूलाई सुख्खा धर्तीमा परिर्वतन गर्नेछु।
म पानीका इनारहरू पनि सुकाइदिनेछु।
16 तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा,
म अन्धा मानिसहरूलाई डोराउनेछु।
म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु
जहाँ तिनीहरू पहिला गएका थिएनन्।
म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु
अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु।
मैले वचन दिएका ती कुराहरू म गर्नेछु,
अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।
17 तर कतिपय मानिसहरूले मलाई पछ्याउन छाडे।
ती मानिसहरूसँग मूर्तिहरू छन् जुन सुनै सुनले ढाकिएको छ।
तिनीहरूले ती झूटा मूर्तिहरूलाई, ‘तपाईं मेरो देवताहरू हुनुहुन्छ’ भन्छन्।
ती मानिसहरू आफ्ना झूटा देवताहरूमा भरोसा गर्छन्,
तर ती मानिसहरू निराश हुनेछन्।
इस्राएलले परमेश्वरलाई ध्यान दिनु अस्वीकार गरे
18 “हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ!
हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नपर्छ।
19 सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्।
सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ।
मैले छानेका मानिसहरू अत्यन्त अन्धा छन्।
जोसँग मैले करार गरे ऊ अत्यन्त अन्धो छ।
20 मेरो दासले निकै हेर्छ
तर उसले मेरो आज्ञा पालन गर्दैन्।
उसले आफ्नो कानले सुन्न सक्छ
तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”
21 परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ।
परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट,
उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।
22 तर मानिसहरूमा हेर!
अन्य मानिसहरूले तिनीहरूलाई परास्त गरेर तिनीहरूका सम्पत्तिहरू लुटे।
सारा जवान मानिसहरू डराएका छन्।
तिनीहरू झ्यालखानामा बन्द छन्,
मानिसहरूले तिनीहरूका रूपियाँ पैसा लगेर गए
अनि त्यहाँ उनीहरूलाई बचाउने कोही छैन।
अन्य मानिसहरूले तिनीहरूका पैसामा ध्यान दिए।
“यो फर्काई देऊ” भन्ने त्यहाँ कोही पनि थिएनन्।
23 के तिमीहरू मध्ये कसैले पनि परमेश्वरका वचनहरूमा ध्यान दियौ? अँहँ! तर तिमीहरूले उहाँको वचनहरूलाई अत्यन्त गहिरो प्रकारले ध्यान दिनुपर्छ अनि के हुने हो भन्ने कुरा सोच्नुपर्छ। 24 याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनु भयो! हामीले परमेश्वरको विरूद्धमा पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँच्न चाहेनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्। 25 यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनुभयो। परमप्रभुले तिनीहरूका विरूद्ध शक्तिशाली युद्धहरू गराउनु भयो। इस्राएलका मानिसहरू जस्तै उहाँले तिनीहरूका वरिपरि आगो लगाइदिनु भयो तर के भइरहेको थियो भनेर तिनीहरूले जानेनन्। तिनीहरू जलिरहेका जस्तै थिए। तर ती भएका घटनाहरू बारेमा तिनीहरूले जान्न चाहेनन्।
स्त्री अनि विशाल सर्प
12 त्यसपछि स्वर्गमा एक आश्चर्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक स्त्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मुनि थियो। उसको शिरमा बाह्रवटा तारा लगाइएको मुकुट थियो। 2 ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्।
3 त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरू थियो। 4 त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरूको एक तिहाईं अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खड़ा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।
5 त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छडीद्वारा सम्पूर्ण राष्ट्रहरूमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो। 6 त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ।
7 त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल[a] अनि तिनका दूतहरू त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरू प्रतिकारमा लडे। 8 तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरूले स्वर्गमा आफ्ना स्थान गुमाए। 9 त्यो विशाल सर्प त्यसका दूतहरू सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरू पनि उसँगै पृथ्वी तल फालियो।
10 तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरूलाई दोषलगाउने फ्याँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो। 11 हाम्रा भाइहरूले तिनलाई भेंडा़को पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्। 12 यसर्थ तिमी स्वर्गहरू अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको निम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरूकहाँ गएको छ। जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।”
13 त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फ्याँकिएको छ। यसर्थ उसले त्यस स्त्रीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई। 14 तर त्यस स्त्रीलाई विशाल गरुड़को दुइ पखेंटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिन् जो मरुभूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन वर्षसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस्न सक्थिन। 15 तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो। 16 तर त्यस स्त्रीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्यो अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो। 17 तब त्यो विशाल सर्प त्यस स्त्री प्रति खूबै क्रोधित भयो। त्यो सर्प त्यस स्त्रीको अन्य बालकहरूको विरुद्ध लडाईं गर्न हिँड्यो। त्यस स्त्रीका बालकहरू तिनीहरू थिए जसले परमेश्वरको आदेशको पालन गर्थे। येशूले सिकाएको सत्य तिनीहरूसित थियो।
18 त्यो विशाल सर्प समुद्र किनारमा खडा भयो।
© 2004, 2010 Bible League International