Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 30

इस्राएलीहरू आफ्नो भूमिमा फर्कन्छन्

30 “मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ। त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ। तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ। यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ। जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।

“अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे। अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मान्ने छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ। परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ। 10 व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौ र नियमहरूको अनुशरण गर्यौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ। यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ।

जीवन र मृत्यु

11 “आदेश जो म तिमीहरूलाई आज दिंदैछु त्यो पालनगर्न न अप्ठयारो छ न टाढा नै छ। 12 यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सक्छौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सक्छौ।’ 13 यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सक्छौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सएने हुन्छौ।’ 14 होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सक्छौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ।

15 “आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु। 16 म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुशरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिँजिनेछन्। 17 तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने, 18 तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेतावनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउँन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।

19 “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सक्छौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाँच्ने छन्। 20 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनुहुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”

भजनसंग्रह 119:73-96

योद्

73 हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो।
    मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
74 हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्।
    तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें।
75 हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्।
    अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।
76 अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्।
    तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्।
77 हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँच्न दिनुहोस्।
    म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु।
78 मानिसहरू ज-जसले तिनीहरू म भन्दा असल हुँ भनेर सोचे,
र मेरो बारेमा झूटो बोले।
    ती मानिसहरू लज्जित होऊन् परमप्रभु,
    म तपाईंको व्यवस्था सिक्छु, पढछु।
79 भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन।
    यसकारण तिनीहरूले तपाईंको करार-वचनहरू सिक्न सक्छन्।
80 परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ,
    ताकि म लज्जित हुने छैन।

काफ्

81 म मर्न आँटेको छु।
तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु।
    तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
82 मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु।
    तर मेरो आँखाहरू शिथिल भइरहेछन्,
    परमप्रभु कहिले मलाई सान्त्वना दिनुहुन्छ?
83 म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि,
    तपाईंको नियमहरू भुल्ने छैन।
84 म कहिले सम्म बाँच्ने छु?
    हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?
85 कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको
    उपदेशहरूको विरूद्ध हुन् तीद्वारा मलाई प्रहार गरे।
86 हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्,
    ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे, मलाई सहायता गर्नुहोस्!
87 ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके।
    तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ।
88 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस्
    अनि मलाई बाँच्न दिनुहोस् र तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।

लामेद्

89 हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्।
तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
90 तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ।
    हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो,
    अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।
91 तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ
    किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।
92 यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए,
    मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
93 हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन
    किनभने तिनीहरूले मलाई बाँच्न दिए।
94 हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्।
    किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें।
95 दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे।
    तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।
96 तपाईंको नियमहरू बाहेक
    प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।

यशैया 57

इस्राएलले परमेश्वरलाई पछ्याउँदैन

57 धर्मी मानिसहरू गइसकेकाछन्,
    तर यसमा कसैले पनि ध्यान दिएन्।
मानिसहरू बुझ्दैनन के हुँदैछ।
    धर्मी मानिसहरू भेला भईरहनेछन्।

मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्।
    तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि,
    धर्मी मानिसहरू भेला गरिएकोछ।
तर ती मानिसहरूमा शान्ति आउनेछ,
    अनि तिनीहरू आफ्नौ ओछ्‌यानमा आराम गर्नेछन्,
    किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।

“बोक्सीहरूका छोरा-छोरीहरू, तिमीहरू यता आऊ।
    तिम्रो पिता व्यभिचारका दोषी छन्।
    अनि तिम्रा आमाले शारीरिक सहवासको निम्ति आफ्नो शरीर बेच्छे।
तिमीहरू पापी र झूटो बेच्ने नानीहरू हौ।
    तिमीहरूले मसँग ठट्टा गर्यौ।
तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो।
    तिमीहरूले जिब्रो देखाउँदै मलाई खिसी गर्यौ।
तिमीहरू सबै हरियो रूख मुनि
    झूटा देवताहरू पूज्न चाहन्छौ।
तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा
    अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।
तिमीहरू नदीहरूमा चिल्लो ढुङ्गाहरू पूज्न मन पराउँछौ।
    तिमीहरू दाखमदद्य चढाएर तिनीहरूलाई पूज्छौ।
तिमीहरू तिनीहरूलाई बलि चढाउँछौ।
    तर तिमीहरूले ढुङ्गाहरू मात्र पाउँनेछौ।
के तिमीहरू सोच्छौ ती कुराहरूले मलाई खुशी पार्छ? अँहँ!
    तिनीहरूले मलाई खुशी पार्दैनन्।
तिमीहरू प्रत्तेक पहा़ड,
    र अग्ला डाँडाहरूमा आफ्नो ओछ्यान लगाउँछौ।
तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ,
    र ती ठाँहरूमा बलि चढाउँछौ।
तब तिमीहरूले ती विछ्यौनाहरू बीचमा जान्छौ,
    र ती देवताहरूलाई प्रेम गरेर मेरो विरूद्ध पाप गर्छौ।
तिमीहरूले ती देवताहरूलाई प्रेम गर्छौ,
    तिमीहरू तिनीहरूका नाङ्गो शरीरहरू हेरेर खुशी हुन्छौ।
तिमीहरू मसँग थियौ, तर तिनीहरूले मलाई त्याग्यौ,
    तिनीहरूका हुनको लागि मलाई सम्झन सहयोग पुर्याउने कुराहरू तिमीहरूले लुकायौ।
तिमीहरूले ती कुराहरू ढोका र चौखटहरू पछाडी लुकायौ।
    त्यसपछि तिमीहरू गयौ र ती झूटा देवताहरूसँग करार बाँध्यौ।
तिमीहरूले आफ्नो झूटा देवता मोलेक अघि सुन्दर देखिनलाई
    आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ।
तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ,
    तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।
10 तिमीहरूले ती कामहरू गर्नलाई पूरा परिश्रम गर्यौ,
    अनि कहिल्यै थाकेनौ।
तिमीहरूले अतिरिक्त बल प्राप्त गर्यौ,
    किनभने तिमीहरू निराश र थकित भएनौ।
11 तिमीहरूले मलाई सम्झना गरेनौ।
    तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ।
यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ?
    कससँग डराएका थियौ, किन झूट बोल्यौ?
हेर, म लामो समयदेखि चुपचाप छु
    अनि तिमीहरूले मलाई सम्मान गरेनौ।
12 म तिमीहरूका असल कार्यहरू बारेमा
    अनि सम्पूर्ण धार्मिकताका बारेमा बोल्न सक्थें,
    तर ती सबै निरर्थक हुन्छन्।
13 जब तिमीहरूलाई सहायताको खाँचो पर्यो,
    तिमीहरूले ती झूटा देवताहरूलाई गुहार मग्यौ,
    जुन मूर्तिहरू तिमीहरूले आफ्ना वरिपरि भेला गरेका थियौ।
तिमीहरूलाई त्यही मूर्तिहरूले सघाओस्।
    तर म तिमीहरूलाई भन्छु बतासले तिनीहरू सबैलाई उडाई लैजानेछ।
बतासको एक वेगले तिनीहरूलाई उडाई लैजानेछ।
    तर त्यो मानिस जो ममाथि आश्रित छ,
त्यसले त्यो जमीन पाउनेछ, त्यो म वचन दिन्छु।
    त्यस मानिसले मेरो पवित्र पर्वत पाउनेछ।”

परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ

14 बाटो शुद्ध पार, बाटो शुद्ध पार!
    मेरा मानिसहरूका लागि बाटो शुद्ध पार।

15 परमेश्वर उच्च हुनुहुन्छ र माथि उठ्नु भएको छ।
    परमेश्वर सदा सर्वदा जीवित हुनुहुने
परमेश्वरको नाउँ नै पवित्र हो।
    परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु,
साथै ती दु:खी र नम्र मानिसहरूसँग बस्दछु।
    जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु।
जो हृदयमा पश्चाताप गर्छन
    तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।
16 म सधैँ लडाईँ गर्ने छैन।
    म सधैँ नै क्रोधित भई रहने छैन।
यदि म लगातर क्रोधित भई रहें भने
    मैले प्रदान गरेका मानिसहरूका आत्माहरू मेरो समक्ष मर्नेछन्।
17 ती मानिसहरूले पाप काम गरे
    अनि त्यसैले मलाई क्रोधित बनाए।
यसैले मैले इस्राएललाई दण्ड दिएँ,
    उबाट मैले मुख फर्काएँ किनभने म रिसाएको थिएँ।
अनि इस्राएलले मलाई त्यागेर गयो,
    उसले जता इच्छा गर्यो उतै गयो।
18 इस्राएल कहाँ गयो, मैले देखें।
    यसकारण मैले उसलाई क्षमा दिएँ।
मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने।
    त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्।
19 तिनीहरूलाई मैले एक नयाँ वचन सिकाएँ “शान्ति”।
    मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु,
म ती मानिसहरूलाई क्षमा दिनेछु।”
    परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

20 तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्।
    तिनीहरू शान्त र चुपचाप बस्न सक्तैनन्।
तिनीहरू क्रोधित छन् छाल उठेका समुद्र जस्ता
    त्यसले हिलो माटोहरू उछिटाउँछ।
21 मेरा परमेश्वर भन्नुहुन्छ,
    “दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”

मत्ती 5

येशूद्वारा मानिसहरूलाई शिक्षा

(लूका 6:20-23)

येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्,
    किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
अहिले शोक गर्नेहरू धन्यकाहुन्,
    किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
धन्य नम्र हुनेहरू,
    किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू,
    किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
धन्य अरू प्रति दया देखाउनेहरू,
    किनभने तिनीहरूले दया पाउनेछन्।
धन्य हृदयमा शुद्ध हुनेहरू,
    किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
धन्य मेल-मिलाप गराउनेहरू,
    किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
10 धन्य धार्मिकताको निम्ति सताइएकाहरू,
    किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।

11 “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। 12 सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

तिमीहरू पृथ्वीका नून र ज्योति जस्तै हौ

(मर्कूस 9:50; 4:21; लूका 14:34-35; 8:16)

13 “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।

14 “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। 15 त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। 16 त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

येशू अनि पुरानो नियमको लेखाई

17 “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। 18 म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।

19 “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। 20 म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।

येशूद्वारा रीस बारे शिक्षा

21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्।(A) जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ 22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।

23 “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, 24 त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।

25 “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। 26 म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।

येशूद्वारा व्यभिचार बारे शिक्षा

27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’(B) 28 तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। 30 यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

येशूद्वारा सम्बन्ध बिच्छेद शिक्षा

(मत्ती 19:9; मर्कूस 10:11-12; लूका 16:18)

31 “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’(C) 32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।

येशूद्वारा शपथ बारे शिक्षा

33 “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’[a] 34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। 35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। 36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। 37 यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।

येशूद्वारा बद्ला लिने बारे शिक्षा

(लूका 6:29-30)

38 “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’(D) 39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ। 40 यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। 41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। 42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।

सबैलाई प्रेम गर

(लूका 6:27-28,32-36)

43 “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर(E) र तिम्रो शत्रुलाई घृणा गर।’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। 45 यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। 46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। 47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। 48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International