M’Cheyne Bible Reading Plan
परमप्रभु इस्राएलीहरूलाई साथ दिनुहुन्छ
9 “हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्। 2 त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जान्दछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्न सक्तैन’ भनेको सुनेका छौ। 3 आज तिमीहरूले त्यो निश्चय गर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अघि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अघि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडै तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंश पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो।
4 “परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। तर तिमीहरू आफैं यस्तो नभन, ‘तिमीहरू धार्मिक मानिसहरू हौ!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याँउनु हुँदैछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दुष्ट भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिंदैछ। 5 तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ। 6 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल भूमि दिनु हुँदैछ, तर तिमीहरूले जान्नु आवश्यक छ परमप्रभुले यसो गर्नुको अर्थ यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ। सत्य यो हो कि तिमीहरू हठ्ठी मानिसहरू हौ।
परमप्रभुको रीस सम्झना गर
7 “नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरुभूमिमा रीस उठाएका थियौ। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुगुन्जेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ। 8 होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो। 9 म चेप्टा ढुङ्गाहरू लिनु पहाडमा गएँ जसमा परमेश्वरले गरेको करार लेखिएको थियो। म त्यहाँ पहाडमाथि चालीस दिन अनि चालीस रात केही नखाइ अथवा पानीसम्म न पिइ बसें। 10 ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो।
11 “यसकारण चालीस दिन चालीस रातको अन्तमा परमप्रभुको करार लेखिएका दुइवटा च्याप्टो शिला-पाटीहरू उहाँले मलाई दिनु भयो। 12 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चाँडै तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैं नष्ट भइरहेका छन्। यति चाँडै तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’
13 “परमप्रभुले मलाई यसो पनि भन्नुभयो, ‘यी मानिसहरू अति हठी छन्, मैले निरीक्षण गरें। 14 मलाई यी मानिसहरू नष्ट पार्न दिइयोस् जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।’
सुनको बाछो
15 “पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें। 16 अनि मैले देखें कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्ध पाप काम गरिरहेका थियौ। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखें। तिमीहरूले यति चाँडै परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ। 17 यसकारण मैले ती पाटीहरू तल फ्याँकी दिएँ अनि मेरो आँखाअघि नै ती टुक्रा-टुक्रामा परिणत भए। 18 त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ। 19 उहाँ यति साह्रो क्रोधित हुनुहुन्थ्यो तिमीहरूलाई ध्वंश पार्न सक्नु हुन्थ्यो, यसकारण म अति भयभीत थिएँ। तर परमप्रभुले मेरो विन्ती फेरि सुन्नुभयो। 20 परमप्रभु हारूनसित पनि साह्रो क्रोधित हुनुहुन्थ्यो र तिनलाई ध्वंश पार्न सक्नु हुन्थ्यो। यसकारण त्यस बेला मैले हारूनको निम्ति पनि प्रार्थना गरें। 21 तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाएँ, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।
मोशा इस्राएलीहरूलाई क्षमा दिनु भनी परमप्रभुलाई भन्दछन्
22 “तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किब्रोथ हत्तावामा पनि क्रोधित बनायौ। 23 अनि जब परमप्रभुले तिमीहरूलाई कादेशबर्ने छोड्ने आज्ञा दिनु भएको थियो तर तिमीहरू मानेनौ। उहाँले भन्नुभएको थियो, ‘जाऊ, मैले दिएको भूमि लेऊ।’ तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँलाई अविश्वास गर्यौ अनि उहाँको आज्ञा मानेनौ। 24 मैले तिमीहरूलाई जानेको दिन देखि तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
25 “यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो। 26 मैले परमप्रभुलाई प्रार्थना गरें र भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन् र यिनीहरूलाई नष्ट नगर्नुहोस्। 27 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकूबलाई दिनु भएको प्रतिज्ञा सम्झनु होस्। तिनीहरू कति हठ्ठी छन् त्यो बिर्सनु होस् अनि तिनीहरूले गरेको पाप तिर नहेर्नु होस्। 28 यदि तपाईंले तिनीहरूलाई सजाय दिनुभयो भने मिश्र देशवासीहरूले भन्ने छन्, “परमप्रभु आफूले दिनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई भूमि दिनु सक्षम हुनु भएन। उहाँले तिनीहरूलाई घृणा गर्नु भयो र मार्नुको निम्ति मरुभूमिमा लैजानु भयो।” 29 हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।’
विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।
1 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
2 बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
3 परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
तपाईंको लागि बजाउनु असल कुरा हो।
4 हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
5 हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो।
तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
6 हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्।
हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।
7 दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्।
तर तिनीहरू सधैँको निम्ति नष्ट हुनेछन्।
तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
8 तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।
9 हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्।
सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
10 तर तपाईंले मलाई बलियो बनाउनु भयो।
म दरिलो सींङहरू भएको साँढे जस्तै हुनेछु।
तपाईंले खास कामको लागि मलाई रोज्नुभयो,
तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
11 मैले मेरो शत्रुहरू वरिपरि भएको देखें।
तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्।
मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।
12 असल मानिसहरू लेबानेनमा
परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।
1 परमप्रभु राजा हुनुहुन्छ।
उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
2 परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।
हिजकियाहले परमेश्वरलाई सहयोग मागे
37 राजा हिजकियाहले ती कुराहरू ध्यानपूर्वक सुने। त्यसपछि उनले आफ्ना लुगाहरू च्याते अनि आफ्नो शोक प्रकट गरे। त्यसपछि उनले शोक वस्त्रहरू लगाए, अनि परमप्रभुको मन्दिर गए।
2 हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बूढा-प्रधानहरूलाई आमोसको छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लुगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो। 3 ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दु:ख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्। 4 सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”
5 राजा हिजकियाहका अधिकारीहरू यशैयाकहाँ गए। 6 यशैयाले तिनीहरूलाई भने, “यो सन्देश तिमीहरूका मालिक हिजकियाहलाई देऊ। परमप्रभु भन्नुहुन्छ, ‘कप्तानहरूका कुराहरू सुनेर तिमीहरू नडराऊ! अश्शूर राजा बाट मेरो बारेमा आएका ती “केटाहरूले” जुन अनिष्ट चीजहरू भने त्यो विश्वास नगर। 7 हेर, म अश्शूरको विरूद्ध एउटा आत्मा पठाउने छु। अश्शूरका राजाले चेताउनी स्वरूप उसको देश कष्टमा पर्नेछ। यसकारण ऊ आफ्नो देशमा फर्केर जानेछ। त्यसबेला, म उसलाई उसको आफ्नो देशको तरवारले मार्नेछु।’”
अश्शूरका सेनाले यरूशलेम छोड्दछन्
8 अश्शूरका राजाले एक विवरण प्राप्त गरे। विवरणमा भनिएको थियो, “तिर्हाकाह, कूशका राजा, तिमीहरूसँग लडाईं गर्न आइरहेछ।” यसर्थ, अश्शूरका राजाले लाकीश त्यागेर लिब्नामा गए। 9 कप्तानले त्यस्तो सुने, अनि ऊ लिब्ना शहरमा गए जहाँ अश्शूरका राजा युद्ध गरिरहेका थिए।
उनले हिजकियाहकहाँ दूतहरू पठाए। 10 उनले भने, “तिमीले यहूदाका राजा हिजकियाहलाई यी कुराहरू भन्नै पर्छ:
‘तिमीहरूले विश्वास गर्ने ईश्वरद्वारा मूर्ख नबन। यसो नभन, “परमेश्वरले अश्शूरका राजाद्वारा यरूशलेमलाई परास्त गराउनु दिनु हुने छैन।” 11 अश्शूरका राजाहरूले अन्य सारा देशहरूलाई के गरे भनेर सुनेकाछौ। तिनीहरूले तिनीहरूलाई पूर्ण रूपले नष्ट पारी दिए। के तिमीहरू सुरक्षित हुनेछौ? अँहँ। 12 के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? अँहँ। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई नष्ट पारे। 13 हमातका राजा कहाँ छन्? अर्पादका राजाकहाँ छन्? सपर्वेमका राजा कहाँ छन्? हेना र इब्बाका राजाहरू कहाँ छन्? तिनीहरू सबैलाई ध्वंश पारियो।’”
हिजकियाहले परमेश्वरसँग प्रार्थना गरे
14 हिजकियाहले दूतहरूका हातबाट चिट्ठी लिए अनि पढे। त्यसपछि हिजकियाह परमप्रभुको मन्दिरमा गए। हिजकियाहले चिट्ठी खोले र परमप्रभुको समक्ष राखिदिए। 15 हिजकियाहले परमप्रभुसित प्रार्थना गर्दै भने, 16 “हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं राजा सरह करूब दूतहरूमाथि बस्नु हुन्छ। तपाईं, अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा भएका सारा राज्यहरूमाथि शासन गर्नु हुन्छ। तपाईंले स्वर्गहरू र पृथ्वी बनाउनु भयो। 17 हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आखाँहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस। हे जीवित परमेश्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्। 18 हे परमप्रभु! यो सत्य हो, अश्शूरका राजाहरूले जम्मै जातिहरू नाश गरे। 19 अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके। 20 तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”
परमेश्वरको हिजकियाहलाई जवाफ
21 तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’
22 “सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो:
‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ।
उसले तिमीलाई खिसी गर्छे।
यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।
र तिम्रो पछि तिम्रै खिल्ली उडाउँछे।
23 तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ?
तिमीहरूले कसको विरोधमा आवाज उठायौ?
तिमीहरू इस्राएलका परम-पवित्रको विरूद्ध थियौ।
तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।
24 तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु,
मेरा मालिकलाई अपमान गर्न पठायौ।
तिमीले भन्यौ, “म अत्यन्त शक्तिशाली छु।
मसँग धेरै-धेरै रथहरू छन्।
म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु।
म लबानोनको उच्चतम पर्वतहरूमा चढें।
मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढालें।
म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।
25 मैले इनारहरू खनें र नयाँ ठाउँहरूबाट पानी पिएँ।
मैले मिश्रका नदीहरू सुक्खा पारी दिएँ
अनि त्यस देशमाथि कुल्चेर हिडें।”
26 ‘त्यही त तिमीले भनेको हो तर तिमीले मैले के भनें सुनेनौ।
मैले धेरै अघि योजना बनाएको थिएँ।
मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ
अनि अहिले मैले यसलाई गराएँ।
मैले तिमीलाई शक्तिशाली शहरहरू ढाल्ने
अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।
27 त्यस शहरहरूमा शक्ति थिएन
तिनीहरू भयभीत र अन्योलमा थिए।
तिनीहरू खेतमा भएका घाँस
र पालुवाहरू जस्ता काटिन लागेका थिए।
तिनीहरू हुर्किनु भन्दा अघिनै ओइलाई जाने
घरका छानाहरूमा उम्रिएका घाँसहरू सरह भए।
28 म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु।
तिमीले कहिले आराम गर्यौ त्यो म जान्दछु,
तिमी कहिले युद्ध तर्फ गयौ त्यो म जान्दछु
तिमी कहिले युद्धबाट घरमा फर्कियौ म जान्दछु।
म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयौ।
29 हो, तिमी मसित खिन्न थियौ।
मैले तिम्रो अंहकारी अपमानहरू सुनें
यसैले मैले तिम्रो नाकमा अंकुसे राखी दिएँ।
अनि मैले तिम्रो मुखमा लगाम लगाई दिएँ।
त्यस पछि मैले तिमीलाई फनक्क घुमाएँ
र जहाँबाट आएका थियौ त्यतै डोर्याएँ।’”
हिजकियाहलाई परमप्रभुको सन्देश
30 त्यसपछि परमप्रभुले हिजकियाहलाई भन्नुभयो, “म तिमीलाई यी शब्दहरू सत्य हुन भनी देखाउने एउटा यस्तो संकेत दिने छु। तिमी बिऊ छर्न अयोग्य थियौ। यसैले यो बर्ष तिमी बिऊ नछरी उम्रिएको नै खानेछौ। तर तीन बर्षमा तिमी आफैंले रोपेको अन्न खानेछौ। तिमीहरू ती अन्नहरू उमार्नेछौ अनि तिमीसित खानलाई प्रचूर अन्न हुनेछ। तिमी अङ्गुरका विरूवा रोप्नेछौ अनि त्यसको फल खानेछौ।
31 “यहूदाका कुलबाट आएका सन्तानहरू जो भागेको थिए र जीउँदै छाडिएका थिए ती बढ़न थाल्नेछन्। ती मानिसहरू पालुवाहरू जस्ता हुन जसले आफ्ना जराहरू गहिरो प्रकारले भूईंमा गाडिएका छन् र भूईँमाथि फल फलाउँदछन्। 32 केही मानिसहरू मात्र जिउँदो रहनेछन् अनि यरूशलेम बाहिर जानेछन्। केही बाँचेकाहरू सियोन पर्वतबाट आउनेछन्।” यस्तो सेनाहरूका परमप्रभुको जोश प्रेम कै कारण हुनेछ।
33 यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा भन्नुहुन्छ:
“उनी यस शहर भित्र आउने छैनन्,
उनले यस शहरमा काँड हान्ने छैनन्।
उनले आफ्नो ढालहरू यो शहरको लागि ल्याउने छैनन्
उनले यो शहरका पर्खालहरूमा धावा बोल्नलाई कुनै प्रकारको गढ बनाउने छैनन्।
34 उनी जुन बाटो आएका थिए,
त्यही बाटो फर्केर जान्छन्।
उनी यस शहरभित्र आउने छैनन, भनेर परमप्रभु भन्नुहुन्छ।
35 म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु,
यो म मेरै निम्ति र मेरो दास दाऊदको लागि गर्नेछु।”
36 त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे। 37 यसैले अश्शूरका राजा, सनहेरीब, निनवेमा गए अनि त्यहाँ बसे।
38 एकदिन सनहेरीब आफ्नो देवता निस्रोकको मन्दिरमा उसको पूजा गरिरहेका थिए। त्यस बेला उनका दुइजना छोरा अद्रमेलेक र शरेसेरले तिनलाई तरवारले मारे। त्यसपछि छोराहरू अरातर तिर भागे। यसैले सनहेरीबको छोरो एसर्हददोन अश्शूरका नयाँ राजा भए।
इस्राएलका एकलाख चवालीस हजार मानिसहरू
7 यो घट्ना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए। 2 त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरूलाई बोलाए। ती चार स्वर्गदूतहरू ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलाई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरूलाई भने, 3 “भूमि वा समुद्र वा बृक्षहरूलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरूको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट नपुर्याऊ।”
4 तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए:
5 यहूदाको कुल समूहबाट | 12,000 |
रुबेनको कुल समूहबाट | 12,000 |
गादको कुल समूहबाट | 12,000 |
6 आशेरको कुल समूहबाट | 12,000 |
नप्तालीको कुल समूहबाट | 12,000 |
मनश्शेको कुल समूहबाट | 12,000 |
7 शिमियोनको कुल समूहबाट | 12,000 |
लेवीको कुल समूहबाट | 12,000 |
इस्साखारको कुल समूहबाट | 12,000 |
8 जबूलूनको कुल समूहबाट | 12,000 |
यूसुफको कुल समूहबाट | 12,000 |
बेन्यामीनको कुल समूहबाट | 12,000 |
विशाल भीड
9 त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरू थिए। तिनीहरू पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरू थिए। तिनीहरू सिंहासन अनि भेंडा़को पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरू सबै सेतो पोशाकमा थिए अनि तिनीहरूका हातमा खजूरका हाँगा थिए। 10 तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडा़को पाठाको जय होस्।”
11 अग्रजहरू अनि ती चार सजीव वस्तुहरू त्यहाँ थिए। सबै स्वर्गदूतहरू तिनीहरूको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरूले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे। 12 तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
13 तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँवाट आएका हुन्?”
14 मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नुहुन्छ।”
अनि अग्रजले भने, “यी ती मानिसहरू हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरूले भेंडा़को रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरू शुद्ध अनि सेता भएका छन्। 15 यसर्थ अहिले यी मानिसहरू परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरू दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरूलाई रक्षा गर्नेछन्। 16 तिनीहरूले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरू फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरूलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरूलाई गर्मिले पोल्ने छैन। 17 सिंहासनको माझमा भएको भेंडा़को पाठा तिनीहरूको गोठालो हुनुहुनेछ। उनले तिनीहरूलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरूका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
© 2004, 2010 Bible League International