M’Cheyne Bible Reading Plan
24 “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सक्छ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ। 2 जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे। 3 तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्रो लोग्नेको मृत्यु भएको खण्डमा, 4 पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।
5 “जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक बर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक बर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।
6 “तिमीले कसैलाई ऋण दिन्छौ धितोको रूपमा जाँतो अथवा त्यसको कुनै भाग पनि लिनु हुँदैन किनभने त्यो गर्दा उसको भोजन नै लिए जस्तै हुनेछ।
7 “यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ।
8 “यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ। 9 परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर।
10 “जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन। 11 तिमी बाहिर पर्खिनु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ। 12 यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन। 13 साँझमा नै तिमीले फर्काउनु पर्छ। तब उसले सुत्नको लागि तातो लुगा पाउँछ र तिमीलाई आशीर्वाद दिनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई राम्रो कार्य र सही जीवन ठान्नु हुनेछ।
14 “तिमीहरूले ज्यालामा ल्याएको नोकर जो गरीब र संकष्टमा छ, उसलाई ठग्नु हुँदैन। त्यो नोकर इस्राएली होस् अथवा तिमीहरूकै कुनै शहरमा बस्ने एक विदेशी, एक जना यसमा कुनै फरक पर्दैन। 15 घाम अस्ताउनु अघि प्रत्येक दिन उसको ज्याला देऊ किनभने त्यो गरीब छ अनि त्यही पैसामाथि निर्भर गर्छ। यदि तिमीले पैसा दिएनौ भने उसले तिम्रो विरूद्ध परमप्रभुलाई आरोप गर्नेछ र तिमी पापको दोषी बनिनेछौ।
16 “केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।
17 “तिमीहरूले विदेशीहरू र टुहुरा-टुहुरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन। 18 सम्झना गर तिमीहरू मिश्रदेशमा कमारा कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यस ठाउँबाट निकाली स्वतन्त्र पार्नु भयो। यसकारण गरीबहरूको निम्ति यसो गर्नु भनी म बताउँछु।
19 “जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिर्सेर एक बिटा अन्न त्यहाँ छोड्यौ भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ। 20 जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षेको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। 21 त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फर्किएर नजाऊ, ती फलहरू विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। 22 सम्झना राख तिमीहरू मिश्रदेशमा गरीब कमारा-कमारीहरू थियौ। यसकारण म तिमीहरूलाई गरीबहरूको लागि यस्तो गर भनी बताउँछु।
1 इस्राएल ले मिश्र त्यागेर गए।
याकूबले त्यो विदेशलाई त्यागेर गए।
2 यहूदा परमेश्वरको खास मानिस भए।
इस्राएल उसको राज्य हुन गयो।
3 लाल समुद्रले यो देखेर भाग्यो,
यर्दन नदी उल्टा बग्न थाल्यो।
4 पर्वतहरू भेंडाहरूझै वरिपरि नाच्न थाले।
पहाडहरू भेंडाका पाठाहरू जस्तै उफ्रन थाले।
5 लाल समुद्र, तिमी किन भागेर गयौं?
यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
6 हे पर्वतहरू! तिमीहरू भेंडाहरू झैं किन खुशीले उफ्रियौ?
अनि पहाडहरू! तिमीहरू किन भेंडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ?
7 हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर
स्वामीको सामने थरहरी होऊ।
8 परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।
परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।
1 हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
तपाईंको प्रेम र विश्वासले गर्दा
सम्मान तपाईंको मात्र हो।
2 किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्।
3 परमप्रभु स्वर्गमा हुनुहुन्छ।
अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
4 ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्।
तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
5 ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्।
तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
6 तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्।
तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
7 तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन्
तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन्
अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
8 ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्,
तिनीहरू त्यस्तै हुन्छन्!
9 हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्।
15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
तिमीहरूलाई आशीर्वाद दिऊन्!
16 स्वर्ग परमप्रभुको अधिकारमा छ।
तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।
परमप्रभुको प्रशंसा गर!
इस्राएल अब्राहाम जस्तो हुनु पर्दछ
51 “तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ। 2 अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”
3 यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दु:ख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरुभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरुभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।
4 “मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन।
मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्।
5 म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु।
म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु
सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्।
तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।
6 माथि आकाशमा हेर!
तल पृथ्वी वरिपरि हेर!
आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ।
पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ।
पृथ्वीमा भएका मानिसहरू मर्नेछन्
तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ।
मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।
7 तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ।
तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ।
दुष्ट मानिसहरूबाट नडराऊ।
तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।
8 किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्।
माऊ कीराहरूले तिनीहरूलाई खानेछन्।
तिनीहरू ऊन जस्तो हुन् कीराहरूले तिनीहरूलाई खानेछन
तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ।
मेरो उद्धार सदा-सर्वदा लगातार चलिरहनेछ।”
परमेश्वरको शक्तिले आफ्ना मानिसहरूलाई बचाउँनेछ
9 जाग! जाग!
हे परमप्रभुको बाहु, बलवान बन्।
आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ।
जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ।
तिमीहरूसँग राहाबलाई पराजित गरेको त्यो शक्ति छ।
तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
10 तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ।
तिमीहरूले अति गहिरोबाट पानी सुकायौ।
तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ।
तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ।
तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्।
तिनीहरू अत्यन्त खुशी हुनेछन्।
तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ।
तिनीहरूले खुशीसँग गाउनेछन्
सबै दु:खद अवस्थाहरू टाढा हटेर जानेछ।
12 परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने।
यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ?
तिनीहरू मानिसहरू मात्र हुन् जो घाँस जस्तै मर्दछन्।”
13 परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो।
उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो।
अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो।
तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ।
यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ,
जसले तिमीहरूलाई चोट पुर्याउँछ।
ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए
तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्।
14 कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्।
ती मानिसहरू झ्यालखानमा मर्ने अथवा सड्ने छैनन्।
ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।
15 “किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ।
म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।”
(सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)
16 “मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।’”
परमेश्वरले इस्राएललाई दण्ड दिनुभयो
17 जाग जाग!
यरूशलेम, उठ!
परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो।
यसैकारण तिमीहरू दण्डित भयौ।
यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो,
अनि तिमीहरूले यसलाई पियौ।
18 यरूशलेमसँग धेरै मानिसहरू थिए, तर तिनीहरू मध्ये कोही पनि यरूशलेमको अगुवा हुन सकेन्। तिनले उठाएका कुनै पनि छोरा छोरीहरूले उनलाई डोर्याएनन्। 19 कष्टहरू दुइ वर्गमा यरूशलेममा देखापरे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध।
तिमीहरू दु:खमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्। 20 तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए।
21 मलाई ध्यान देऊ, दु:खी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।
22 तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ। 23 म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंड्नेछन्। तिमीहरू तिनीहरू हिंड्ने एक बाटो जस्तो हुनेछौ।”
नयाँ यरुशलेम
21 तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन। 2 अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
3 मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरूसँग छ। उनी तिनीहरूसँग रहनेछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्। 4 परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।”
5 उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।”
6 उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सित्तैमा दिनेछु। 7 कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ। 8 तर मानिसहरू जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरू छन् तिनीहरूले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।”
9 सात स्वर्गदूतहरू मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरू मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरूले भरिएका सात कचौराहरू थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरूलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।” 10 ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।
11 यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्वल थियो। 12 त्यो नगरमा बाह्र ढोकाहरूसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरू थिए। प्रत्येक ढोकामा इस्राएलीहरूका बाह्र वंशहरू मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो। 13 पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरू थिए। 14 नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरूमा भेंडा़को पाठाको बाह्र-प्रेरितहरूको नाउँ लेखिएको थियो।
15 त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरू नाप्नको लागि थियो। 16 त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्वाई र चौंडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो। 17 स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरूको नपाई हो जो स्वर्गदूतले चलाए। 18 पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।
19 त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम, 20 तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरू थिए। 21 बाह्र ढोकाहरू बाह्र मोतीहरू थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।
22 मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो। 23 नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंड़ाको पाठा नगरको बत्ती हो।
24 संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्। 25 नगरको ढोकाहरू कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन। 26 राष्ट्रहरूका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ। 27 नगरमा अस्वच्छ वस्तुहरू कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नाउँ भेंडा़का पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।
© 2004, 2010 Bible League International