M’Cheyne Bible Reading Plan
मोशाले मानिसहरूलाई आशीर्वाद दिन्छन्
33 परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो। 2 मोशाले भने,
“परमप्रभु सीनैबाट आउनुभयो,
परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो।
उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो।
परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो।
परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।
3 हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,
उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्।
तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुशरण गर्छन्।
4 मोशाले हामीलाई व्यवस्था दिए।
ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्।
5 त्यस समयमा, इस्राएलका मानिसहरू
र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए
अनि परमप्रभु यशूरूनका राजा हुनुभयो।
रूबेनको आशीर्वाद
6 “रूबेन जीवित रहुन्, र नमरोस्,
तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।”
यहूदाको आशीर्वाद
7 मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः
“परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ।
उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्,
उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नुहोस्।”
लेवीको आशीर्वाद
8 मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः
“लेवी तपाईंको साँच्चो चेला हो।
उसले तुम्मीम र ऊरीम राख्छ।
तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो।
मरीबाको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।
9 आमा-बाबुको विषयमा लेवीले भने,
‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’
उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन,
आफ्नो बाल-बच्चाहरू चिनेन।
तर उसले तपाईंका आज्ञाहरू पालन गरे,
तपाईंको करार माने।
10 तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्,
तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्।
तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्,
तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”
11 “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्।
उसले गरेका कुराहरू ग्रहण गर्नु होस्।
उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्।
उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”
बिन्यामीनको आशीर्वाद
12 मोशाले बिन्यामीनको विषयमा यी कुरा भने:
“बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ।
बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ।
परमप्रभुले उसलाई सधैँ रक्षा गर्नुहुन्छ।
अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”
यूसुफको आशीर्वाद
13 मोशाले यूसुफ विषयमा यसो भनेः
“परमप्रभुले उसको भूमिमा
आशिष दिऊन माथि आकाश
र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।
14 घामले उत्तम फल उसैलाई देओस्।
चन्द्रमाले दिएको उत्तम फल उसैलाई होस्।
15 पहाड प्राचीन पर्वतहरूले
उत्तम फल तिनीहरूलाई उब्जाऊन्।
16 पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्।
यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग्ग गराइएको थियो।
यसकारण पोथ्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन्।
17 यूसुफ शक्तिशाली साँढे जस्तै हो।
उसका दुइ छोराहरू साँढेका सींगहरू जस्तै छन्।
तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन्
अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्।
हो मनश्शेसित हजार मानिसहरू छन्
अनि एप्रेमसित दश हजार मानिसहरू छन्।”
जबूलून र इस्साकारको आशीर्वाद
18 जबुलूनको बिषयमा मोशाले भनेः
“ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ,
अनि इस्साकार आफ्नो घरमा पालभित्र हर्षित होऊ।
19 तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्,
त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्।
तिनीहरूले सागरबाट ऐश्वर्य
अनि सागरको किनारबाट सम्पत्ति भेट्नेछन्।”
गादको आशीर्वाद
20 गादको विषयमा मोशाले भनेः
“परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो!
गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्।
तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।
21 उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्।
उनले राजाको भाग नै लैजान्छन्।
उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्।
परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्।
उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”
दानको आशीर्वाद
22 दानको विषयमा मोशाले भनेः
“दान सिहंको छोरो हो
जुन बाशानबाट उफ्रिन्छ।”
नप्तालीको आशीर्वाद
23 नप्तालीको विषयमा मोशाले भनेः
“नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ।
परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ।
तिमीहरूले गालील झिलको भूमि भेट्ने छौ।”
आशेरको आशीर्वाद
24 मोशाले आशेरको विषयमा यसो भनेः
“छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो।
ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्।
अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।
25 तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्।
तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”
मोशा परमेश्वरको प्रशंसा गर्छन्
26 “यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन।
परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर
आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढ्नुहुन्छ।
27 परमेश्वर सधैँ बाँच्नु हुन्छ।
उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ।
परमेश्वरको क्षमता सधैँका लागि रहन्छ।
उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ।
परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ।
उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
28 यसकारण इस्राएल सुरक्षित रहनेछन्
अनि याकूबको इनार तिनीहरूको हुनेछ।
तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन्
अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।
29 हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ,
अरू कुनै जाति तिमी जस्तो छैन।
परमप्रभुले तिमीलाई जोगाउनु भयो।
परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ।
परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ।
तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन्
अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”
मोशाको मृत्यु
34 मोशा नेबो पर्वतमा चढे। मोशा मोआबमा यर्दन बेंसी भएर पस्गा पर्वतको टाकुरामा गए। यो यरीहोदेखि यर्दन नदी पारि हो। परमप्रभुले मोशालाई गिलाददेखि दानसम्मको सबै भूमि देखाउनु भयो। 2 नप्ताली, एप्रैम र मनश्शेको सबै भूमि, भूमध्य सागरसम्मको यहूदाको भूमि, 3 नेगेब दक्षिण भाग र खजूरका रूखहरू भएको शहर यरीहो मैदानबाट सोअरसम्म देखाउनु भयो। 4 तब परमप्रभुले मोशालाई भन्नुभयो, “यही भूमि हो मैले अब्राहाम, इसाहक अनि याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूको भावी सन्तानलाई दिन्छु भनेको थिएँ। तिमीलाई मैले यी भूमि आफ्नै आँखाले हेर्न दिएँ तर तिमी त्यहाँ जान पाउने छैनौ।”
5 तब परमप्रभुले भन्नु भए जस्तै परमप्रभुका दास मोशा मोआब देशमा मरे। 6 परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन। 7 मोशा 120 बर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए। 8 इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुन्जेलसम्म बसे।
यहोशू नयाँ अगुवा हुन्छन्
9 मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।
10 इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखा-मुख चिन्नु भएको थियो। 11 मोशालाई परमप्रभुले मिश्रको भूमिमा आश्चर्य चिन्ह र महान् कार्यहरू गर्नु पठाउनु भएको थियो। फिरऊन तिनका अगुवाहरू र मिश्र देशका सबै मानिसहरूले ती अचम्मका कामहरू देखे। 12 अरू कुनै अगमवक्ताले मोशाले झैं महान् भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे।
कोफ
145 हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु।
मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
146 हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्!
अनि म तपाईंको करार पालन गर्नेछु।
147 तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु।
म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
148 तपाईंका वचनहरू मनन गर्न
म रातमा अबेर सम्म बस्छु।
149 आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्।
हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।
150 मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्।
ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्।
151 परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ।
अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।
152 धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें
कि तपाईंको उपदेशहरू अनन्त रहने छन्।
रेश्
153 हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्।
मैले तपाईंको उपदेशहरू भुलेको छैन।
154 हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्।
तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्।
155 दुष्ट मानिसहरूले जित्ने छैन
किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
156 हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ।
तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्।
157 मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन्
तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ।
158 म ती विश्वास घातीहरूलाई देख्छु,
तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्,
र म तिनीहरूलाई घृणा गर्छु।
159 हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें।
हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्।
160 हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो।
अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।
शीन्
161 प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे।
तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।
162 परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो,
धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।
163 म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु।
तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
164 दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु।
किनकि तपाईँका नियमहरू असलछन्।
165 मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्,
तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्।
केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
166 हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु।
मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
167 मैले तपाईंको करार-वचनलाई अनुशरण गरें।
हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु।
168 मैले तपाईंको करार र आज्ञाहरू पालन गरे।
हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ।
ताव्
169 हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्।
तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्।
170 परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्।
171 म प्रशंसाको गीत गाँउछु।
किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।
172 तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्।
परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्।
173 मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें।
यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्।
174 हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्।
तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
175 मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्,
परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्।
176 म हराएको भेंडा सरह भड्किरहें।
हे परमप्रभु, आएर मलाई खोज्नु होस्।
म तपाईंको दास हुँ,
अनि मैले तपाईंको भरोसा भुलेको छैन।
परमेश्वर आउनु हुँदैछ
60 “मेरो प्रकाश, यरूशलेम उठ!
तेरो प्रकाश आइरहेछ!
परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
2 अब अन्धकारले पृथ्वी ढाक्छ,
अनि मानिसहरू अन्धकारमा पर्नेछन्।
तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ
अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ।
3 तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ,
राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।
4 आफ्नो वरिपरि हेर!
देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ।
ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्।
अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।
5 “यो भविष्यमा पूरा हुनेछ।
अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ।
अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्।
पहिला तिमीहरू डराउनेछौ तर पछि तिमीहरू खुशीले उत्तेजित हुनेछौ।
समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन्,
जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।
6 मिद्यान र एपाबाट आएका ऊँटहरूले
तिमीहरूका धर्ती पार गर्ने छन्।
शेबाबाट आएका ऊँटहरूका लस्करले सुन
र सुगन्धित वस्तु लिएर आउनेछन्।
मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
7 केदारबाट आएका सारा भेंडा, मानिसहरूले जम्मा गर्नेछन,
अनि तिमीहरूकहाँ ल्याइदिनेछन्,
नबायोतका भेंडा़हरूले तिम्रो सेवा गर्नेछन्।
तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ।
अनि म ती सबै ग्रहण गर्नेछु।
म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।
8 मानिसहरूलाई हेर!
बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन्
मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्।
9 टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ।
समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्।
ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्।
तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परम-पवित्र हुनुहुन्छ,
श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्।
परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।
10 अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्।
तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्।
“जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु।
तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु
यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।
11 तिमीहरूका प्रवेशद्वारहरू सधैँ खोलिनेछन्।
ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन
जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ।
12 कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन्
तर तिनीहरू नाश हुनेछन्।
13 लबानोनका सबै महत्वपूर्ण कुराहरू
तिमीहरूलाई दिइनेछ।
मानिसहरूले देवदारू, धूपी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्।
ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ,
यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ।
अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु।
14 विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए,
ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्।
विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे
ती मानिसहरू तिम्रा खुट्टामा निहुरिनेछन्।
ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’
‘इस्राएलको परम-पवित्र “सियोन” भन्ने छन्।’
15 “तिमीहरू फेरि एक्लै छाडिनेछैनौ।
तिमीहरू फेरि हेला हुनेछैनौ।
तिमीहरू फेरि रित्तो हुनेछैनौ।
म तिमीहरूलाई सदा-सर्वदा महान् बनाउँनेछु।
तिमी सदा-सर्वदा खुशी हुनेछौ।
16 जाति-जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्।
यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ।
तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ।
तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ।
तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।
17 “तिमीमा अहिले काँसा छ,
म सुन ल्याई दिनेछु।
तिमीसँग अहिले फलाम छ,
म तिमीलाई चाँदी ल्याई दिनेछु।
म तिम्रो काठलाई काँसा बनाई दिनेछु।
म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु।
जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ
तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।
18 त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्।
मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्।
तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ।
तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।
19 “घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्।
चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्।
किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ।
तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।
20 तिम्रो सूर्य कहिल्यै अस्ताउने छैन,
फेरि तिम्रो चन्द्रमा कहिल्यै अन्ध्यारो हुनेछैन
किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ।
अनि तिम्रो शोकका दिन अन्त हुनेछ।
21 “तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्।
ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्।
मैले ती मानिसहरू सृजना गरें।
तिनीहरू अद्भूत बिरूवा हुन्,
त्यो मैले आफ्नै हातले बनाएको हुँ।
22 स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्।
स-साना परिवार एक दरिलो जाति हुनेछ।
जब समय अनुकूल हुन्छ,
म परमप्रभु चाँडै आउनेछु।
म ती कुराहरू घटित गर्नेछु।”
येशूले कुष्टरोगीलाई निको पार्नुभयो
(मर्कूस 1:40-45; लूका 5:12-16)
8 येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए। 2 त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”
3 येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो। 4 तब येशूले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफैं जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।”
येशूले अधिकारीको नोकरलाई निको पार्नुभयो
(लूका 7:1-10; यूहन्ना 4:43-54)
5 येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। 6 अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।”
7 येशूले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।”
8 अधिकारीले जवाफ दिए, “हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्। 9 म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसँग पनि यस्तो शक्ति छ।”
10 जब येशूले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ। 11 धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको राज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्। 12 तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”
13 तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, “तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।” अनि ठीक त्यसैबला उसको नोकर निको भयो।
येशूद्वारा धेरै मानिसहरू निको पारिएका
(मर्कूस 1:29-34; लूका 4:38-41)
14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कड़ा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो। 15 तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।
16 त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए। 17 यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो:
“उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो,
अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”(A)
येशूका चेलाहरू
(लूका 9:57-62)
18 येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो। 19 त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।”
20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।”
21 अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।”
22 तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।”
येशूले आँधीलाई शान्त गराउनु हुन्छ
(मर्कूस 4:35-41; लूका 8:22-25)
23 येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे। 24 जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो। 25 चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।”
26 येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।
27 सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।”
येशूले भूत लागेको दुइजना मानिसहरूलाई चंगाई गर्नु भयो
(मर्कूस 5:1-20; लूका 8:26-39)
28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे। 29 ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?”
30 छेउको क्षेत्रमा सुँगुरहरूको बथान चरिरहेको थियो। 31 भूतहरूले येशूलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सुँगुरहरूको बथानमा पस्न दिनुहोस्।”
32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे। 33 ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले। 34 तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।
© 2004, 2010 Bible League International