Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 20

युद्ध सम्बन्धी नियम

20 “जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो।

“जब तिमीहरू युद्ध गर्न जान्छौ पूजाहारी गएर सैन्यहरूसित भन्नुपर्छ। पूजाहारीले भन्नुपर्छ, ‘हे इस्राएलका मानिसहरू हो! म जे भन्छु सुन। आज तिमीहरू आफ्नो शत्रुहरूसँग लडाइँ गर्न जाँदैछौ। मन दुर्बल नपार, चिन्ता नगर, नडराऊ। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँनेछ। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’

“लेवी अगुवाहरूले, सिपाहीहरूलाई भन्नेछन्, ‘यहाँ कोही यस्तो मानिस छ जसले नयाँ घर त बनायो तर उसले अझै अर्पणसम्म गरेको छैन? त्यो मानिस लडाइँमा मारिन सक्छ, यसकारण त्यो मानिस फर्केर घर जाओस्। नत्र त्यो मानिस मर्यो भने अर्को मानिसले त्यो घर अर्पण गर्न सक्छ। के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुल्न पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस्, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ। यहाँ कोही यस्तो मानिस छ जसको विवाह ठीक गरिएको थियो तर विवाह भएको छैन। यदि कोही त्यस्तो मानिस यहाँ भए घर फर्केर जाओस नत्र त्यो मानिस लडाइँमा मरेको खण्ड त्योसित विवाह गर्न ठीक गरिएकी स्त्रीको अर्को मानिससित बिवाह हुनेछ।’

“ती लेवी अगुवाहरूले सिपाहीहरूलाई भन्नुपर्छ, ‘यहाँ कोही यस्तो मानिस छ, जसले आफ्नो साहस हराएर डराइरहेछ? त्यो मानिस घर फर्केर जाओस्। त्यसो गरे उसले अरू सिपाहीहरूको साहस हराउने थिएन।’ तब अगुवाहरूले सिपाहीहरूलाई त्यति भनी सकेपछि सिपाहीहरूलाई मार्गदर्शन गर्न कप्तानहरू रोज्नु पर्छ।

10 “जब तिमीहरू शहर आक्रमण गर्न जान्छौ, त्यस समय तिमीहरूले मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नु पर्छ। 11 यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिनीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्। 12 तर यदि तिनीहरूले शान्ति प्रस्ताव अस्वीकार गर्छन र लडाइँ गर्न तैयार हुन्छन् भने तिमीहरूले शहरलाई घेर्नु पर्छ। 13 अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले त्यो शहर तिमीहरूलाई दिनु हुनेछ, त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले काटेर मार्नु पर्छ। 14 तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सक्छौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सक्छौ। 15 तिमीहरूले सबै शहरहरूसित त्यस्तै ढंङ्गले व्यवहार गर्नु पर्छ जो त्यहाँ छैनन् जहाँ तिमीहरू बस्छौ ती शहरहरू त्यो तिमीहरूदेखि टाढामा छन्।

16 “जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ। 17 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ। 18 त्यसो गरे परमप्रभु तिमीहरूका परमेश्वर विरोधी तिनीहरूले तिमीहरूलाई पाप काम गराउनमा असमर्थ हुनेछन्। तिनीहरूले आफ्नो देवताको पूजा गर्दा गरिने भयंङ्कर कार्यहरू तिमीहरूलाई सिकाउने मौका पाउँदैनन्।

19 “जब तिमीहरू कुनै शहरको विरोधमा लडाइँ गर्छौ, तिमी त्यस शहरलाई धेरै समयसम्म घेर्न सक्छौ। त्यस समयमा शहर वरिपरि भएका रूखहरूबाट फल खान सक्छौ। तर रूखहरू काटेर ढाल्नु हुँदैन। यी रूखहरू तिमीहरूका शत्रु होइनन्, यसकारण तिनीहरूसित लडाइँ नगर। 20 तर तिमीहरू ती रूखहरू काट्न सक्छौ यदि तिमी जान्दछौ तिनीहरूमा फल लाग्दैन। तिमीहरूले तिनीहरूलाई त्यस शहरको विरूद्ध लडाई गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्छौ। तिमीहरू जबसम्म प्रयोग गर्न सक्छौ तबसम्म शहर परास्त हुदैन।

भजनसंग्रह 107

पाँचौं भाग

(भजनसंग्रह 107–150)

परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ।
    उहाँको प्रेम सधैँ रहन्छ।
यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो,
प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो।
    परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो।
    उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो।

तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए।
    तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए।
    तर तिनीहरूले कुनै शहर भेट्टाएनन्।
तिनीहरू भोका र प्यासा थिए
    अनि कमजोर हुँदै गइरहेका थिए।
त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे।
    अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो।
परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो,
जहाँ तिमीहरू बस्न पाउँथे।
उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका
    आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ।
परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो।
    परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।

10 परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए,
    झ्यालखानाको अँध्यारो कोठाहरूमा बन्दी थिए।
11 किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए।
    तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।
12 परमेश्वरले तिनीहरूकै कु-कर्मको कारणले गर्दा
    उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो।
तिनीहरू ठेस लागेर लडे
    अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।
13 ती मानिसहरूलाई सङ्कटहरूमा फँसाइयो।
यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे
    अनि उहाँले तिनीहरूलाई सङ्कटबाट बचाउनु भयो।
14 कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो।
    तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
15 उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
16 हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो,
परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ।
    परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।

17 कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।
    उनीहरूले गरेको दुष्ट कामको निम्ति उनीहरूले कष्ट भोगे।
18 ती मानिसहरूले खान पनि रूचाउँदैनन्
    अनि तिनीहरू प्रायः मर्छन्।
19 तिनीहरू सङ्कटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे
    र उहाँले तिनीहरूलाई ती सङ्कटहरूबाट बँचाउनु भयो।
20 परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए।
    यसकारण ती मानिसहरू चिहानबाट बाँचे।
21 परमप्रभुको अनन्त प्रेम
    अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
22 उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर
    अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर।
    खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।

23 कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे।
    तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।
24 ती मानिसहरूले परमेश्वरले के गर्न सक्नु हुन्छ भन्ने कुरा देखे।
    तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भूत कामहरू देखे।
25 परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो।
    छालहरू उच्च भन्दा उच्च हुँदै गए।
26 ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए
    अनि गहिरो समुद्रमा झारिदिए।
    तूफान एकदम भयङ्कर थियो ती मानिसहरूको साहस हराएर गयो।
27 तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए,
    माझीको रूपमा तिनीहरूको कुशलता बेकार भयो।
28 तिनीहरू सङ्कटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे।
    अनि उहाँले ती सङ्कटहरूबाट तिनीहरूलाई बँचाउनु भयो।
29 परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो।
    अनि छालहरूलाई शान्त पार्नुभयो।
30 माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो।
    अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो।
31 उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
32 महासभामा परमेश्वरको प्रशंसा गर।
    बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।

33 परमेश्वरले नदीहरूलाई पनि मरुभूमिमा परिवर्त्तन गर्नुभयो।
    परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो।
34 परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो।
    किनभने ती दुष्ट मानिसहरूले गर्दा हो, जो त्यस ठाउँमा बसीरहेका थिए।
35 परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो।
    परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।
36 परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो।
    अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।
37 ती मानिसहरूले त्यस धर्तीमा बिऊ छरे,
र तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे।
    अनि तिनीहरूले असल बाली पाउन सके।
38 परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो।
तिनीहरूका सन्तानहरू बढे।
    तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।
39 घोर विपत्ति र सङ्कटहरूले गर्दा
    तिनीहरूका परिवारहरू सानो र कमजोर भए।
40 परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो।
    उहाँले तिनीहरूलाई मरुभूमिमा भडकिहिँड्ने बनाउनु भयो जहाँ कुनै बाटो छैन।
41 त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो।
    अनि तिनीहरूका परिवारहरू भेंडाका बथानहरू जस्ता विशाल हुँदै गए।
42 असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन्
    तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्।
43 यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ।
    परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।

यशैया 47

बाबेललाई परमेश्वरको सन्देश

47 “हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस।
    कल्दीहरूकी कन्ये छोरी,[a] भूईंमा बस।
तिमी अहिले शासक होइनौ।
    मानिसहरू सोच्ने छैनन् कि तिमी एकजना सुन्दरी, कोमल सुकुमारी हौ।
अब तिमीले कठिन परिश्रम गर्नुपर्छ।
    तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ,
अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ
    तिम्रो घुम्टो हटाऊ अनि तिम्रो सुन्दर पोषाकहरू खोल।
तिमीले तिम्रो देश छोड्नु पर्नेछ।
    तिम्रा फरियाहरू उठाऊ जबसम्म मानिसहरूले खुट्टाहरू देख्न सक्तैनन्,
    अनि नदीहरू[b] पार गर।
मानिसहरूले तिम्रा गुप्त अङ्गहरू हेर्नेछन्
    अनि तिम्रो लाज हेर्नेछन्।
तिमीले गरेको सबै दुष्टकर्मको बद्ला म चुकाउनेछु।
    अनि कोही पनि तिमीलाई सघाउन आउने छैनन्।

“मेरा मानिसहरू भन्छन्, ‘परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
    उहाँको नाउँ हो सेनाहरूका परमप्रभु,
    इस्राएलका परमपवित्र हुनुहुन्छ।’”

“यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ।
    कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ।
    किनभने अब तिमी ‘राज्यहरूकी रानी’ रहने छैनौ।

“म मेरो मानिसहरूसित क्रोधित थिएँ,
    ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ,
मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियौ।
    तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ।
तिमीले बूढा-पाकहरूलाई पनि
    कठिन काम गर्न लगायौ।
तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु।
    म सधैँ नै रानी हुनेछु।’
तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ।
    तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।
यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन!
    तिमी सुरक्षित अनुभव गर र आफैंलाई भन,
‘म मात्र प्रमुख मानिस हुँ।
    म जस्तो प्रमुख अन्य कोही पनि छैन्।
म कहिल्यै पनि विधवा हुने छैन्।
    मसँग सधैँ नानीहरू हुनेछन्।’
यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्।
    पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ,
अनि त्यसपछि तिमीले आफ्नो लोग्ने गुमाउनेछौ।
    हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्।
    अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउँनेछैन।
10 तिमीले दुष्ट कर्महरू गर्यौ, तर अझ तिमी सुरक्षित अनुभव गर्छौ।
    तिमीले सोच्छौ, ‘मैले गरेको दुष्ट कामहरू कसैले पनि देख्दैन।’
तिमी सोच्छौ कि तिम्रो विवेक र बुद्धिले तिमीलाई बचाउने छ।
    तिमी आफैंलाई सोच्छौ ‘म मात्र हुँ,
    म जस्तो अरू कोही मुख्य छैन्।’

11 “तर कष्टहरू तिमीमाथि आइलाग्नेछ।
    तिमी जान्दैनौ यो कहिले घट्ने छ? तर विपत्ति आइरहेछ।
    तिमी ती कष्टहरूलाई रोक्न केही पनि गर्न सक्नेछैनौ।
12 तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई,
    तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ।
यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ।
    हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला।
    हुनसक्छ तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।
13 तिमीसँग धेरैजना सल्लाहकारहरू छन्,
    के तिमी तिनीहरूका सल्लाहरूबाट थकित भयौ?
तब तिम्रा ज्योतिषीहरू पठाऊ ताकि ताराहरू पढुन्।
    तिनीहरूले तिमीलाई महीना कहिले शुरू हुन्छ बताउन सकुन्।
    कष्टहरू कहिले आउन सक्छ भनेर बताउन सकुन्।
14 तर ती मानिसहरूले आफैंलाई सम्म बचाउँन सक्तैन।
    तिनीहरू पराल जस्तो जल्नेछन्।
तिनीहरू यति चाँडो जल्नेछन कि
    कसैलाई तातो पार्न कोइला सम्म रहने छैन।
15 त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ।
    जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाड्नेछन्।
प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन्,
    अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”

प्रकाश 17

रातो पशुमाथि बसेकी स्त्री

17 सातवटा कपहरू हुने स्वर्गदूतहरू मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महा-वेश्यालाई दिइनेछ। ऊ धेरै पानीमाथि बसेकी छे। पृथ्वीका राजाहरूले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरू उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”

तब त्यो स्वर्गदूतले मलाई बोकेर मरुभूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी स्त्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउँहरूले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउँको अनि दशवटा सीङ्गहरू थिए। त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरूमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरू अनि त्यस स्त्रीको अशुद्ध यौन-पापले भरिएको थियो। उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो:

महान बेविलोन

वेश्याहरूकी आमा

अनि पृथ्वीका दुष्ट कुराहरूको जननी।

मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरू अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरूको रगत पिएर मातेकी थिई।

जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ। तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि ऊ चढेको पशुको जसको सातवटा टाउको अनि दशवटा सींङ छ गुप्ती अर्थ बताउनेछु। त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरू, आश्चर्य चकित हुनेछन्। जब तिनीहरूले त्यो पशु देख्छन् तिनीहरू आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरू ती हुन् जसका नाउँहरू संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।

“यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरू सातवटा पहाडहरू हुन् जहाँ त्यो स्त्री बस्छे। तिनीहरू सात राजाहरू पनि हुन्। 10 पाँचजना राजाहरू मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्। 11 त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरूकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ।

12 “तिमीले देखेका दशवटा सीङ्गहरू दश राजाहरू हुन्। यी दश राजाहरूले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्। 13 यी सबै दश राजाहरूको एउटै उद्देश्य छ। अनि तिनीहरूले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्। 14 तिनीहरूले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरूलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरूका परमप्रभु अनि राजाहरूका राजा हुनुहुन्छ। उहाँले तिनीहरूलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरूद्वारा परास्त गर्नुहुनेछ।”

15 तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरू, भिन्न-भिन्न वंशहरू, राष्ट्रहरू अनि भाषाहरू, हुन्। 16 त्यो पशु अनि दश सिङ्गेहरू जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरूले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरूले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्। 17 परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरू शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरू पूर्ण नहुन्जेल सम्म तिनीहरूले शासन गर्नेछन्। 18 तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरूमाथि शासन गर्छे।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International