Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 11

परमप्रभुको सम्झना गर

11 “यसकारण तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्नु पर्छ। तिमीहरूले उहाँले भन्नु भएको कुराहरू गर्नुपर्छ अनि सधैँ उहाँले दिनु भएको हुकुम, नियम, विधिहरू अनि आदेशहरू अनुशरण गर्नुपर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ। तिमीहरूका बाल-बच्चाले होइन तर उहाँले देखाउनु भएको चिन्ह र कार्यहरू तिमीहरूले देख्यौ, तिमीहरूले मिश्र देशका राजा फिरऊन र पूरा मिश्रदेशमा के गर्नु भयो देख्यौ। मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्‌दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो। तिमीहरू यस भूमिमा आई नपुगुन्जेल मरुभूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति के-के गर्नुभयो त्यो तिमीहरूका बाल-बच्चाले होइन, तर तिमीहरूले देख्यौ। रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्। तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।

“यसकारण यदि आज मैले दिएका आज्ञा तिमीहरूले सम्पूर्ण रूपले मान्यौ भने तिमीहरू शक्तिशाली बनिने छौ र यर्दन नदी पार गरी जुन भूमिमा प्रवेश गर्दैछौ त्यस भूमिलाई आफ्नो दखलमा राख्न योग्य बनिनेछौ। जुन भूमि धेरै असल-असल चीजहरूले भरिएको छ र जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू र तिनीहरूका सबै सन्तानहरूलाई दिन शपथ खानु भएको थियो। त्यस भूमिमा तिमीहरू दीर्घायू जीवन जिउन सक्नेछौ। 10 जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो। 11 तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पस्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ। 12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि बर्षको शुरूदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।

13 “परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर। 14 यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ। 15 अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’

16 “मूर्ख नबन, सधैँ सावधान भएर बस। अरू देव-देवताहरूलाई पूजा नगर। 17 यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडै नै मर्नेछौ।

18 “मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्। 19 यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैँ सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ। 20 यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख। 21 तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।

22 “मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन। 23 तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ। 24 तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरुभूमिसम्म हुनेछ। 25 परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन।

इस्राएलको चाहना, आशीर्वाद अथवा सराप

26 “आज म तिमीहरूलाई केही रोज्ने मौका दिंदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ। 27 आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ। 28 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दैनौ।

29 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ। 30 यी पर्वतहरू मोरेका बजराँट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्। 31 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ 32 तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।

भजनसंग्रह 95-96

विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।

आऊ, परमप्रभुको गुण-गान गरौं।
    चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बचाउँनु भयो।
परमप्रभु प्रति धन्यवादको गीत गाऊ।
    उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ!
    अन्य सारा “देवताहरू” लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।
गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,
    परमेश्वरले आफ्नै हातले सुख्खा जमीनहरू बनाउनु भयो।
आऊ, निहुँरिएर, उहाँको उपसना गरौं।
    जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ
    अनि हामी उहाँका सन्तानहरू हौं।
    यदि हामीले उहाँको आवाज सुन्यौं भने,

आज हामी उहाँका भेंडाहरू हौं।
    परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले “मरीबामाको” जंङ्गलमा हुँदा झैं,
    अनि “मस्साको” मरुभूमिमा गरे झैं जिद्दी नगर।
तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे,
    तर तिनीहरूले म के गर्न सक्थें भन्ने कुरा देखे।
10 चालीस बर्षसम्म मैले ती मानिसहरूको गन-गन सहेर बसें।
    अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्।
    तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
11 यसैले मेरो रीसमा तिनीहरू
    ‘मेरो विश्रामको भूमिमा पस्ने छैनन’ भनी मैले प्रतिज्ञा गरें।”

परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ,
    सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर!
    सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
“परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ” भनेर मानिसहरूलाई भन,
परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन।
    सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ।
    उहाँ अन्य सबै “देवताहरू” को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्।
    तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ।
    परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा
    र महिमाको गीत गाऔं।
परमप्रभुको नाउँको प्रशंसा गर
    आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
    पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर।
पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
10     जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्,
ताकि संसार नष्ट नहोस्।
    परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन!
    यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन।
    जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
13 जव तिनीहरूले परमप्रभु आईरहेको देख्नेछन्,
    परमप्रभु संसारमा राजगर्न आउँदै हुनुहुन्छ,
परमप्रभुले संसारमा भएका राज्यहरूमा
    पक्षपात नगरी न्याय र राज्य गर्नुहुनेछ।

यशैया 39

बाबेलबाट सन्देशवाहकहरू

39 त्यसबेला बलदानको छोरो मरोदक बलदान बाबेलका राजा थिए। मरोदकले चिट्ठी र एक उपहार हिजकियाहलाई पठाए। मरोदकले त्यसो गरे किनभने हिजकियाह बिमार भएको सुनेका थिए। ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र मूल्यवान अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।

त्यसपछि अगमवक्ता यशैया राजा हिजकियाहकहाँ गए र उनलाई सोधे, “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?”

हिजकियाहले भने, “तिनीहरू सुदूर देशबाट मलाई हेर्न भनी आएका थिए। तिनीहरू बाबेलबाट आएका हुन्।”

यसैले यशैयाले उनलाई सोधे, “तिनीहरूले तिम्रो घरमा के देखे?”

हिजकियाहले भने, “तिनीहरूले मेरो राजमहलका सम्पूर्ण चीजहरू हेरे। मैले तिनीहरूलाई जम्मै सम्पत्तिहरू देखाएँ।”

त्यसपछि यशैयाले हिजकियाहलाई यसो भने, “सेनाहरूका परमप्रभुबाट आएको यी शब्दहरू ध्यान लगाएर सुन। ‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ यी कुराहरू सेनाहरूका परमप्रभुले भन्नुभयो। बेबिलोनिहरूले तिम्रो आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिम्रो छोराहरू बाबेलका राजाका महलमा कारिन्दाहरू हुनेछन्।”

हिजकियाहले यशैयालाई भने, “परमप्रभुबाट आएको यो सन्देश राम्रो हो।” (हिजकियाहले यसो भनेको कारण थियो, “त्यहाँ खास शान्ति र सुरक्षा हुनेछ जब म राजा हुन्छु।”)

प्रकाश 9

पाँचौं तुरही बज्छ

पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ। अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।

तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो। ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।

ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो। ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ।

ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो। तिनीहरूको केश स्त्रीहरूको केश जस्तै थियो। तिनीहरूका दाँत सिंहका जस्तै थिए। तिनीहरूका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरूको पखेंटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरूले उत्पन्न गरोका आवाज जस्तै थिए। 10 ती सलहहरूको पुच्छर विच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो। 11 ती सलहहरूका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिड्डोन[a] थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।

12 पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरू आउनेछ।

छैठौं तुरही बज्यो

13 छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सींङबाट आएको स्वर मैले सुनें। 14 त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरूलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।” 15 यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए। 16 मैले सुनें तिनीहरूको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।

17 मेरो दिव्य दृष्टिमा मैले घोडाहरू अनि घोड-सवाहरूलाई देखेँ। तिनीहरू यस्ता देखिन्थे तिनीहरूका कवचहरू आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरू सिंहका शिरहरू जस्तै देखिन्थे। घोडाहरूको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो। 18 पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवाँ अनि गन्धकद्वारा मारिए। 19 ती घोडाहरूका शक्ति तिनीहरूको मुख अनि पुच्छरमा थियो। तिनीहरूको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरूले मानिसहरूलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।

20 पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्। 21 यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरू मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International