M’Cheyne Bible Reading Plan
दश आज्ञाहरू
5 मोशाले इस्राएलीहरू सबैलाई बोलाएर भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन। 2 परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो। 3 परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ। 4 परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो। 5 तर तिमीहरू आगोदेखि डरायौ। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिनीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,
6 ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ।
7 ‘तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मान्नु हुँदैन।
8 ‘तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन। 9 कुनै मूर्तिको सेवा तथा पूजा नगर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु। 10 तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु।
11 ‘यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन।
12 ‘विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो। 13 सातामा छ दिन आफ्नो काम गर। 14 तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन। 15 यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ।
16 ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।
17 ‘तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
18 ‘तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन।
19 ‘तिमीहरूले कुनै चीज चोर्नु हुँदैन।
20 ‘तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झूटो बोल्नु हुँदैन।
21 ‘तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।’”
मानिसहरू परमेश्वरदेखि डराए
22 मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।
23 “जब पहाड आगोले जलिरहेको थियो त्यसबेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्यौ। तब तिमीहरूका कुल प्रमुखहरू अनि बूढा-प्रधानहरू म कहाँ आए। 24 तिनीहरूले भने, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो। हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्यौ अनि थाहा पायौं परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावनाकम हुन्छ। 25 तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाँहदैनौ। 26 हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैनौं। 27 मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’
परमप्रभु मोशासँग बोल्नुहुन्छ
28 “तिमीहरूले भनेको परमप्रभुले सुन्नु भयो र उहाँले मलाई भन्नुभयो, ‘मानिसहरूले जे भने त्यो मैले सुनें, अनि त्यो उत्तम लाग्यो। 29 म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।
30 “‘जाऊ अनि मानिसहरूलाई आफ्नो-आफ्नो पालभित्र जानु भन। 31 तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’
32 “यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुशरण गर्नु नछोड। 33 यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।
प्रमुख संगीतकारलाई: पीडापूर्ण रोग बारे, एज्री हेमानको मस्किल भन्ने एउटा भजन।
1 हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ,
रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
2 मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
3 मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो!
म चाँडै मर्ने छु।
4 मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको
एकदम कमजोर मानिस जस्तो व्यवहार गर्दछन्।
5 मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्।
म चिहानमा लडिरहेको मुर्दा जस्तो छु।
तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ।
तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो।
6 तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो।
हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
7 परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो,
अनि मलाई सजाय दिनुभयो।
8 मेरो साथीहरूले मलाई छाडी गए।
सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे।
म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिन थिएँ।
9 मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो।
हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु,
मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
10 हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ?
के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
11 चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्।
मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
12 मृत मानिसहरू अन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्।
मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।
13 हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु।
प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
14 हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो?
किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
15 युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ।
मैले तपाईंको क्रोध सहें, म असहाय छु।
16 हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ,
अनि सजायले मलाई मार्दै छ।
17 दुःखाई र पीडाहरू सधैँ मसँग छन्,
म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
18 हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्न मलाई बाध्य गराउनु भयो।
खाली अन्धकार मात्र मसँग रहेको छ।
दुष्टले दुष्टता मात्र उत्पन्न गर्छ
33 हेर, तिमीहरू युद्ध गर्छौ र मानिसहरूका चीजबीजहरू लुटपीट पार्छौ, तर ती मानिसहरूले तिमीहरूबाट केही पनि लुट्दैनन्। तिमीहरू मानिसहरूको विरूद्ध जानेछौ, तर ती मानिसहरू तिमीहरूका विरूद्ध कहिल्यै उभिने छैनन्। यसर्थ तिमीहरूले जब चोर्न छोड्नेछौ, अरू मानिसहरूले चोरी गर्न थाल्नेछन्। जब तिमीहरू मानिसहरूको विरूद्ध उभिन छोड्नेछौ अरू मानिसहरू तिमीहरूका विरूद्ध उभिन थाल्नेछन्।
2 हे परमप्रभु, हामीमा अनुग्रह गर्नुहोस्।
हामी तपाईंको सहायतकोलागि पर्खिरहेका छौं।
परमप्रभु, हामीलाई प्रत्येक बिहान शक्ति प्रदान गर्नुहोस,
कष्टमा हाम्रो उद्धार हुनुहोस।
3 तपाईंको प्रभावपूर्ण सोरले मानिसहरूलाई भयभीत पार्दछ।
अनि तिनीहरू तपाईंदेखि भाग्नेछन् तपाईंको महानताले जातिहरूलाई भगाउँछ।
4 तिमीहरूले युद्धमा चोरेका चीजबीजहरू तिमीहरूबाट खोसिनेछन्। धेरै-धेरै मानिसहरू आउनेछन् र तिमीहरूको धन सम्पत्ति लुटेर लानेछन्। यो त्यस्तो समय हुनेछ जब सलहहरू आएर तिमीहरूका सबै अन्नहरू खानेछन्।
5 परमप्रभु महान हुनुहुन्छ। उहाँ एकदम उच्च ठाउँमा बस्नुहुन्छ। परमप्रभुले सियोनलाई न्याय अनि धार्मिकताले भरिपूर्ण पार्नुहुनेछ।
6 यरूशलेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।
7 तर ध्यान दिएर सुन्। वीर मानिसहरू बाहिर रोइरहेकाछन्। ती सन्देशवाहकहरू जसले शान्ति ल्याउँछन् तिनीहरू डाको छोडेर रोइरहेकाछन्। 8 बाटोहरू नष्ट भएका छन्। कोही पनि गल्लीहरूमा हिँडेका छैनन्। मानिसहरूले जुन सन्धि गरेका थिए त्यसलाई भङ्ग गरिदिएकाछन्। मानिसहरूले गवाहीहरूले दिएको प्रमाण अस्वीकार गरेकाछन्। कसैले पनि अरूलाई आदर गर्दैनन्। 9 यो भूमि रोगी भएको छ। लबानोन शर्ममा परेर ओइलायो र शारोन खाडी सुक्खा र रित्तो भएको छ। बाशान र कर्मेलले एकपल्ट सुन्दर पातहरू उब्जाउने थियो तर अहिले ती पातहरू उब्जन बन्द भएका छन्।
10 परमप्रभु, भन्नुहुन्छ, “अब म उभिनेछु र मेरो महानता देखाउँछु। अब म मानिसहरूकालागि महत्वपूर्ण हुनेछु। 11 तिमीहरूले अनुचित कामहरू गर्यौ। ती कुराहरू पराल जस्ता हुन्। तिनीहरू केही काम लाग्ने छैनन्। मेरो आत्मा आगो जस्तो हुनेछ अनि यसले तिमीलाई जलाउनेछ। 12 मानिसहरू त्यतिबेला सम्म जल्नेछन् जब सम्म उनीहरूका हड्डीहरू जलेर सेतो चूना जस्तो हुँदैन्। मानिसहरू चाँडै काँढाहरू र सुख्खा घाँसहरू जस्तै बालिनेछन्।
13 “टाढा देशहरूमा हुने मानिसहरू, मैले गरेका ती कुराहरू सुन्। मानिसहरू जो मेरा नजिकमा छौ मेरो शक्तिको बारेमा बुझ।”
14 सियोनमा भएका पापीहरू त्रासित छन्। ती मानिसहरू जसले नराम्रा कामहरू गर्छ उनीहरू डरले काम्दछ। तिनीहरूले भने, “के हामी मध्ये कोही यस आगोबाट छिर्न सक्छौं जसले खरानी बनाउँछ? यस आगोको छेउमा बस्न सक्छौ जसले पोल्दछ?”
15 असल, धार्मिक मानिसहरू जसले पैसाको लागि अरूलाई चोट पुर्याउन चाहँदैनन्, तिनीहरू यस आगोबाट छिरेर पनि बाँच्न सक्छन्। तिनीहरूले घुसहरू लिन स्वीकार गर्दैनन तिनीहरू अरूलाई हत्या गर्ने योजनाहरू फर्केर पनि हेर्दैनन्। 16 ती मानिसहरू उच्च ठाउँहरूमा सुरक्षित बस्ने छन्। तिनीहरूले सधैँ भोजन र पानी पाउनेछन्। तिनीहरू उच्च चट्टाने किल्लाहरूमा सुरक्षित बस्नेछन्।
17 तिमीहरूले आफ्ना आँखाहरूले राजालाई उहाँको आफ्नो सुन्दरतामा देख्नेछौ। तिमीहरूले महान देश देख्नेछौ। 18-19 तिमीहरूले पहिलेका दु:ख र यातनाहरूको बारेमा सोच्नेछौ। तिमीहरूले सोच्नेछौ, “कहाँ छन् ती अन्य देशहरूबाट आएका मानिसहरू? तिनीहरूले बोलेको भाषा हामी बुझ्न सक्दैनौ। अरू जग्गाबाट आएका ती अधिकारीहरू र कर उठाउनेहरू कहाँ गएका छन्? जसले हाम्रा सतर्कता संरक्षण गरे ती गुप्तचर कहाँ छन? तिनीहरू सबै गए। तिमीहरूले फेरि तिनीहरूलाई देख्ने छैनौं।”
परमेश्वरले यरूशलेमको रक्षा गर्नु हुनेछ
20 सियोनमा हेर, हाम्रा धार्मिक चाडहरूको शहर। यरूशलेममा हेर-त्यो विश्रामको सुन्दर ठाँउ यरूशलेम एउटा पाल लगाइएको ठाउँ जस्तै हो जुन कहिल्यै उखेलिने छैन्। खाँबाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिल्यैमाथि तानिने छैन्। उसका कीलाहरू कहिल्यै चुँडिने छैन्। 21-23 किनभने सेनाहरूका परमप्रभु त्यहाँ हुनुहुन्छ। त्यो जग्गा खोला र फैलिएको नदीहरूको ठाउँ हो। तर त्यहाँ कुनै पनि शत्रुहरूका नाँउहरू र शक्तिशाली जहाजहरू छैनन्। तिमीहरू जो त्यस नाँउहरूमा काम गरिरहेछौ तिमीहरू डोरीहरू सहित ती कामबाट भाग्न सक्छौ। तिमीहरू एकदम दरिलो खम्बा बनाउनँ सक्दैनौ। तिमीहरू पालहरू खोल्न सक्ने हुँदैनौ। किनभने परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ। परमप्रभुले हामीलाई व्यवस्था गरिदिनु हुन्छ। परमप्रभु नै हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनु हुन्छ। यसैले परमप्रभुले हामीलाई प्रशस्त धन सम्पत्ति दिनु हुन्छ। लङ्गडा मानिसहरूले पनि युद्धमा ठूलो सम्पत्ति जित्नेछ। 24 त्यहाँ बस्नेहरू कसैले पनि भन्ने छैन, “म बिरामी छु।” त्यहाँ बस्ने मानिसहरू ती मानिसहरू हुन् जसका पापहरू क्षमा गरिएको छ।
सार्डिसको मण्डलीलाई येशूको पत्र
3 “सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“उहाँ जसकोमा सात आत्माहरू अनि सात ताराहरू छन् तिमीहरूलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरूले गर्दै गरेका कुरा मलाई थाहा छ:
“मानिसहरूले भन्दछन् कि तिमीहरू जीवित छौ। तर वास्तवमा तिमीहरू मृत हौ। 2 उठ! जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्। 3 यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यूँझ र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं।
4 “तर सार्डिसको तिमीहरूसित तिमीहरूको समूहमा कोही मानिसहरू छन् जसले तिनीहरू स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरू मसित हिँड्नेछन्। तिनीहरूले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरू त्यसका योग्य छन्। 5 हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरूले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरूको समक्ष भन्नेछु। 6 हरेक मानिस जसले यी कुराहरू सुन्छ आत्माले मण्डलीहरूलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ।
फिलाडेल्फियाको मण्डलीलाई येशूको पत्र
7 “फिलाडेल्फियाको मण्डलीलाइ यो लेख:
“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।
8 “मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ। 9 सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ। 10 तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ।
11 “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन। 12 मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु। 13 त्यो मानिस जसले यी कुराहरू सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ।
लाउडिसियको मण्डलीलाई येशूको पत्र
14 “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“आमिन[a] एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँच्चो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ
15 “तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ। 16 तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु। 17 तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ। 18 म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ।
19 “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। 20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।
21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें। 22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”
© 2004, 2010 Bible League International