M’Cheyne Bible Reading Plan
यर्दन नदीमा अद्भुत कार्य
3 भोलिपल्ट बिहानै उठे यहोशू अनि इस्राएलका समस्त मानिसहरू अनि शित्तीम छाडेर हिँडे। तिनीहरूले यर्दन नदी तिर यात्रा गरे, अनि नदी तर्नु अघि छाउनी हालेर बसे। 2 तीन दिन पछि अगुवाहरू छाउनी भएर गए। 3 अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ। 4 तर धेरै नजिक भएर नपछ्याउनु। तिनीहरूसँग दुइ हजार हातको पछि रहनु। तिमीहरू पहिला यहाँ आएका थिएनौ। तर यदि तिमीहरूले तिनीहरूलाई पछ्यायौ भने कहाँ जानु पर्ने तिमीहरूले थाहा पाउनेछौ।”
5 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।”
6 तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।
7 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु। 8 पूजाहारीहरूले करारको सन्दूक बोक्ने छन्। पूजाहारीहरूलाई भन, ‘तिमीहरूले यर्दन नदीमा खुट्टा राख्नु पर्छ र पानीमा उभिनु पर्छ।’”
9 तब यहोशूले इस्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन। 10 यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। 11 जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ। 12 अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान। 13 पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
14 पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे। 15 (फसल कटनीको समयमा यर्दन नदी किनार माथि-माथि भएर बग्छ।) यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके। 16 अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे। 17 त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिँडेर यर्दन नदी पारी पुगे।
मन्दिरमा गइरहेको बेलाको भजन।
1 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
2 हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
“परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
3 हो, हामी अत्यन्त खुशी हुनेछौं
यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।
4 परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
5 एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
6 त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।
सुलेमानले रचेको, मन्दिरतर्फ जाँदैगर्दा गाएको भजन।
1 यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने।
घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्।
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने
प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर
राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो।
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू
मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ।
3 शिशुहरू परमप्रभुकै उपहार हुन्।
आमाको शरीरबाट पुरस्कार हो।
4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू
सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ,
त्यो अत्यन्तै खुशी हुनेछ।
त्यो मानिस कहिल्यै परास्त हुने छैन।
उसको छोराहरूले उसलाई जनसमूह समक्ष,
उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।
मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
1 परमप्रभुको सबै भक्तजनहरू खुशी छन्।
ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ।
तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
3 घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलदायक हुनेछ।
तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि,
तिमीले रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।
4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँच्चो रूपमा आशीर्वाद दिनुहुनेछ।
5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्।
तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।
6 अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मरून्जेल सम्म बाँच्नेछौ।
इस्राएल मा शान्ति कायम रहोस्।
परमप्रभुले आफ्नो मानिसको न्याय गर्नुहुन्छ
63 एदोमबाट को आइरहेछ?
ऊ बोज्राबाट आउँदछ।
अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्।
उसको तेजस्वी उसकै पोशाकहरूमा छ।
ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ।
उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ।
अनि म सत्य बोल्छु।”
2 “किन तिम्रो पोशाकहरू चहकिलो रातो छ?
तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन्,
जो दाखहरूमाथि हिंड्छन् र त्यसको दाखरस बनाउँदछन्।”
3 उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिएर हिँड्दै पिस्दैछु।
मलाई कसैले पनि सहायता गरेनन्।
म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिँडे।
मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिएर पर्यो।
यसैले मेरा लुगाहरू मैला भयो।
4 मैले मानिसहरूलाई दण्ड दिने समय रोजें।
मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।
5 मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सहाअता गर्ने देखिएनन्।
मलाई कसैले सहाअता नगरेको देखेर छक्क परें।
यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें।
मेरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।
6 म रिसाएको बेला, मानिसहरूमाथि हिँडें।
म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ।
मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”
परमप्रभु आफ्ना मानिसहरू प्रति कृपालु हुनुहुन्छ
7 मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु।
म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु।
परमप्रभुले इस्राएलका मानिसहरूलाई
धेरै राम्रो चीजहरू दिनु भयो।
परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ।
परमप्रभुले हामीलाई दया देखाउनु भयो।
8 परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्।
तिनीहरू मेरा खास मानिसहरू हुन्।”
यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।
9 मानिसहरूसँग धेरै कष्टहरू थिए,
तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्।
परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो।
अनि उनीहरू प्रति दु:खी हुनुभयो।
यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो,
उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो।
उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो,
अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
10 तर मानिसहरू परमप्रभुको विरूद्ध उठे।
तिनीहरूले पवित्र आत्मालाई दु:खित बनाए।
यसकारण उनीहरू परमप्रभुको शत्रु भए
परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।
11 तर धेरै बर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ।
उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ।
परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो।
परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो।
तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो,
अहिले कहाँ हुनुहुन्छ?
12 परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो।
मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो।
परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो
ताकि मानिसहरू समुद्रबाट हिँड्न सकुन्।
त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।
13 परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो।
मानिसहरू नडुबीकन पानीमाथि हिंडे
जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।
14 एउटा गाई खेतमा हिँड्दा सजिलै लड्दैन।
यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्।
परमप्रभुको आत्माले मानिसहरूलाई विश्रामको ठाउँमा लादैं थियो।
सब समय मानिसहरू सुरक्षित थिए।
परमप्रभु त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो
अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।
आफ्ना मानिसहरूलाई साथ दिनलाई परमेश्वरप्रति प्रार्थना
15 परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्।
ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ।
तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस।
तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहाँछ?
तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ?
तपाईंको दया म प्रति छ?
किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?
16 हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ!
अब्राहामले हामीलाई जान्दैनन्।
याकूबले हामीलाई चिन्दैन।
हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ।
तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैँ बचाउनु हुन्छ।
17 हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ?
तपाईंको अनुशरण गर्न हामीलाई किन वन्चित गराउनु भयो?
हामीकहाँ फर्केर आउनु होस् परमप्रभु।
हामी तपाईंका दासहरू हौं।
हामीकहाँ आएर हामीलाई साथ दिनुहोस्,
हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।
18 तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे।
त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।
19 केही मानिसहरू तपाईंद्वारा शासित भएनन्।
ती मानिसहरू तपाईंको नाउँ लिँदैनन्।
अनि धेरै समय पहिला,
हामी त्यस्ता खालका मानिसहरू थियौं।
येशू र बप्तिस्मा दिने यूहन्ना
(लूका 7:18-35)
11 आफ्ना बाह्रै चेलाहरूलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो।
2 बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए। 3 यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?”
4 येशूले भन्नुभयो, “यूहन्नाकहाँ जाऊ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर। 5 अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ट रोगीहरू शुद्ध हुन्छ; बहिराहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ। 6 यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।”
7 यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? 8 वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो। 9 यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्। 10 यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ:
‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु।
उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’(A)
11 “म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो। 12 बप्तिस्मा दिने यूहन्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्। 13 सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्। 14 यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्। 15 मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।
16 “आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,
17 ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं,
तर तिमीहरू नाचेनौ;
हामीहरूले दु:खका गीत गायौं,
तर तिमीहरू दुःखी भएनौ।’
18 मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ 19 मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”
येशू विश्वास नगर्नेहरूलाई सर्तक गराउनु हुन्छ
(लूका 10:13-15)
20 येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्। 21 येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए। 22 तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।
23 “तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अँहँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो। 24 तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।”
येशू आफ्ना मानिसहरूलाई विश्राम प्रदान गर्नुहुन्छ
(लूका 10:21-22)
25 त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। 26 हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।
27 “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
28 “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। 29 मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। 30 हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”
© 2004, 2010 Bible League International