Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 9

अबीमेलेक राजा हुन्छन्

अबीमेलेक यरूब्बालका छोरा थिए। अबीमेलेक शकेम शहरमा बस्ने तिनका मामाहरू कहाँ गए। तिनले आफ्ना मामाहरूलाई अनि आफ्नी आमाका समस्त घरानालाई भने, “शकेम शहरका अगुवाहरूलाई यो प्रश्न सोधः ‘यरूब्बालका सत्तरी जना छोराहरूले तिमीहरू माथि शासन गरेको राम्रो कि केवल एक व्यक्तिले शासन गरेको राम्रो? याद राख्नोस्, म तपाईंहरूको आफन्त हुँ।’”

अबीमेलेकका मामाहरूले शकेमका अगुवाहरूसित कुरा गरे अनि अगुवाहरूलाई त्यो प्रश्न सोधे। शकेमका अगुवाहरूले अबीमेलेकको अनुशरण गर्ने निर्णय गरे। अगुवाहरूले भने, “आखिर, तिनी हाम्रा भाइ हुन्।” यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सत्तरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा प्रयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे।

अबीमेलेक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलेकले आफ्ना पिता यरूब्बालका सत्तरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यरूब्बालका कान्छा छोरा अबीमेलेकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाउँ योताम थियो।

तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए।

योतामको कथा

योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलेकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिज्जीम पर्वतको टाकुरामा उभिए। योतामले कराएर मानिसहरूलाई यो कथा सुनाएः

“शकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।

“एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, ‘तिमी हामी माथि राजा बन।’

“तर भद्राक्षको रूखले भन्यो, ‘मानिसहरू अनि देवताहरूले मेरो तेलका निम्ति मेरो स्तुति गर्छन्। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले तेल बनाउन छोड्नु?’

10 “तब रूखहरूले नेभाराको रूखलाई भने, ‘आऊ, अनि हाम्रो राजा बन।’

11 “तर नेभाराको रूखले उत्तर दियो, ‘के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउँन छोड्नु?’

12 “त्यसपछि रूखहरूले अंङ्गुरको बोटलाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’

13 “तर अंङ्गुरको बोटले उत्तर दियो, ‘मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्त्पादन गर्न छोडनु?’

14 “आखिरमा सबै रूखहरूले काँढाको पोथ्रालाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’

15 “तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।’

16 “अब यदि तिमीहरू अबीमेलेकलाई राजा बनाउँन सही अनि ईमानदारी थियो भने। अनि यदि यसो गर्दा तिमीहरूले यरूब्बाल अनि उसको परिवारलाई जे उचित थियो त्यही व्यवहार गरेको ठहर्छ भने त्यो असल हो। 17 तर सोच मेरा पिताले तिमीहरूका निम्ति के गरेका छन्। मेरा पिताले तिमीहरूका निम्ति युद्ध गरे। तिनले तिमीहरूलाई मिद्यानका मानिसहरूबाट बचाउँदा आफ्नो जीवनलाई जोखिममा पारे। 18 तर अहिले तिमीहरू मेरा पिताको घराना विरूद्ध भयौ। मेरो पिताका सबै सत्तरी जना छोराहरू तिमीहरूले एउटै ढुङ्गामा मार्यौ। तिमीहरूले अबीमेलेकलाई शकेम शहरका राजा बनायौ। तिनी मेरो पिताका कमारीको एउटै छोरा हुन्। तर तिमीहरूले तिनलाई राजा बनायौ किनभने तिनी तिमीहरूका आफन्त हुन्। 19 यसकारण, यदि तिमीहरू यरूब्बाल अनि उसको घराना प्रति सही र ईमान्नदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्। 20 तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”

21 योतामले यी सबै भनिसके पछि तिनी भागे। तिनी भागेर बेर नाउँको शहरमा पुगे। योताम त्यही शहरमा बसे किनभने तिनी आफ्ना दाजू अबीमेलेकसित डराएका थिए।

अबीमेलेक शकेम विरूद्ध लडाँईं गर्छन्

22 अबीमेलेकले इस्राएलका मानिसहरू माथि तीन बर्षसम्म शासन गरे। 23-24 अबीमेलेकले यरूब्बालका सत्तरी जना छोराहरूलाई मारे अनि तिनीहरू अबीमेलेकका आफ्नै भाइहरू थिए। शकेमका अगुवाहरूले यो नराम्रो काम गर्नमा तिनलाई सहयोग गरेका थिए। यसकारण यरूब्बालका सत्तरी जना छोराहरू मारेको बद्ला लिनलाई परमप्रभुले अबीमेलेक अनि शकेमको अगुवाहरूको विषयमा झगड़ा उत्पन्न गराइ दिनुभयो। 25 शकेमका अगुवाहरूले अबीमेलेकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्रमण गर्न अनि लुट्नका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलेकले ती आक्रमणहरूको बारेमा थाहा पाए।

26 गाल नाउँ गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शकेम शहरमा बसाँईं सरे। शकेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुशरण गर्ने निर्णय गरे।

27 एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंगुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।

28 तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुशरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।) 29 यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।’”

30 जबूल शकेम शहरका राज्यपाल थिए। जबूलले सुने जो एबेदका छोरा गालले भने अनि जबूल अत्यन्त क्रोधित भए। 31 जबूलले अरूमाह शहरमा अबीमेलेक कहाँ समाचार वाहकहरू पठाए। सन्देश यो होः

“एबेदका छोरा गाल अनि उसका भाइहरू शकेम शहरमा आएका छन्। तिनीहरूले तिम्रा निम्ति कष्ट उब्जाउँदैछन्। गालले सम्पूर्ण शहरलाई तिम्रो विरूद्ध फर्काइरहेछ। 32 यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ। 33 त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्रमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लड्नका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लड्नका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।”

34 यसर्थ अबीमेलेक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शकेम शहरको छेउमा लुके। 35 एबेदका छोरा गाल बाहिर गए अनि शकेम शहरको द्वारको प्रवेश स्थानमा उभिएका थिए। गाल त्यहाँ उभिरहेको बेला अबीमेलेक अनि उसका सैनिकहरू आफ्ना लुकेका ठाउँबाट निस्किए।

36 गालले सैनिकहरूलाई देखे। गालले जबूललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।”

तर जबूलले भने, “तिमीले मात्र पर्वतका छायाँ देख्दै छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।”

37 तर गालले फेरि भने, “हेर, त्यहाँ केही मानिसहरू नावेलको भूमिबाट ओरालो आइरहेका छन्। अनि त्यहाँ कसैको शिर मैले तंन्त्र-मंन्त्र गर्ने रूखमा देखें।” 38 जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं’ भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।”

39 यसर्थ गाल शकेमका अगुवाहरू लिएर अबीमेलेकसित युद्ध गर्न गए। 40 अबीमेलेक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शकेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए।

41 तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोड्न वाध्य तुल्याए।

42 भोलिपल्ट शकेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलेकले त्यस बारे थाहा पाए। 43 यसर्थ अबीमेलेकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्याए। तिनीले शकेमका मानिसहरूलाई अचानक आक्रमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उसले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्रमण गरे। 44 अबीमेलेक अनि उसका समूह शकेमको फाटक नजिकको स्थान तिर दगुरे। अन्य दुइ समूहहरू खेतमा भएका मानिसहरू तिर दगुरे अनि तिनीहरूलाई मारिदिए। 45 अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए।

46 त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घट्ना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए।

47 अबीमेलेकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भन्ने कुरा सुने। 48 यसर्थ अबीमेलेक अनि तिनका मानिसहरू सल्मोन डाँडा सम्म गए। अबीमेलेकले एउटा बन्चरो लिए अनि केही हाँगाहरू काटे। उसले ती हाँगाहरू आफ्ना काँधमा बोके। तब, अबीमेलेकले आफूसित भएका मानिसहरूलाई भने, “छिट्टो! मैले जे गरेकोछु त्यसै गर।” 49 यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुशरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः 1,000 पुरूष अनि स्त्रीहरूको मृत्यु भयो।

अबीमेलेकको मृत्यु

50 त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए। 51 तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरूष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे। 52 अबीमेलेक अनि उसका मानिसहरू आक्रमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे। 53 तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन। 54 अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैंले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मारिन् भनेर।’” मानिसहरूले भन्लान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो। 55 इस्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए।

56 त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो। अबीमेलेकले आफ्ना सत्तरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा पाप गरे। 57 परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।)

प्रेरित 13

बर्णाबास र शावलले खास काम प्रदान गरे

13 एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए। ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”

तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए।

साइप्रसमा बर्णाबास र शावल

बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे। तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसँगै थिए।

तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए। बारयेशू सधैँ नै सर्गियस पौलस प्रशासकसित बस्दथे। सर्गियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे। तर जादूगर इलुमास, बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे। तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे। 10 अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस्। तँमा शैतानी छक्कापन्जा मात्र छ। के तैले सधैँ प्रभुको सत्यहरूलाई झूटहरूमा परिणत गर्न छोडदैनस्! 11 अब प्रभुले तँलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस्। केही समय तँ केही देख्न सक्ने छैनस् यहाँ सम्म कि घामको किरण पनि देख्दैनस्।”

तुरन्तै इलुमासमाथि धुम्म अनि अन्धार झर्यो। ऊ वरिपरि घुम्यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो। 12 जब प्रशासक सर्गियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।

पावल र बर्णाबासले साइप्रस छाडे

13 पावल र उनीसँग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यूहन्ना मर्कूसले तिनीहरूलाई छाडे, उनी यरूशलेम फर्के। 14 तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे। 15 मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूरले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियोः “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!”

16 पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यू-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँच्चो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ! 17 इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो। 18 अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस वर्ष सम्म सहनु भयो। 19 परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो। 20 यी सम्पूर्ण घट्नाहरू लगभग् 450 वर्षको अवधि सम्म थियो।

“त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो। 21 तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस वर्षसम्म राजा भएर राज गरे। 22 शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।’

23 “परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ। 24 येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ 25 यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’

26 “मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ। 27 यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो। 28 तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।

29 “यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले। 30 तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो! 31 यस घट्ना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसँग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।

32 “हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ। 33 हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ़छौं:

‘तिमीहरू मेरा पुत्र हौ।
    आज म तिमिहरूका पुर्खा भएँ।’(A)

34 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो,

‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’(B)

35 तर अर्को ठाउँमा भजनसंग्रहले भन्छ,

‘तिम्रो एकजनाको पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’(C)

36 “दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसँग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो। 37 तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन। 38-39 दाज्यू-भाइहरू तिमीहरूले यो बुझ्नु पर्छः उहाँको मार्फत तिमीहरूको पापहरूका निम्ति क्षमा प्रदान गरिएको छ। अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन। 40 अगमवक्ताहरूले केही घट्ना घट्नेछ भनेर भने, होशियार! सावधन! यस्तो घट्ना आफूमा घट्न नदेऊ। अगमवक्ताले भनेः

41 ‘जसले शंका गर्छौ, सुन्!
    तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर;
किनभने तिमीहरूको अवधिमा,
    म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ।
यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!’”(D)

42 पावल र बर्णाबासले सभाघर छोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे। 43 सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधना गर्दै थिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए।

44 अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए। 45 जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसँग तर्क-वितर्क गरे। 46 तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैंले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ फर्कनेछौं। 47 यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः

‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु,
    ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।’”(E)

48 जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए।

49 अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो। 50 तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले। 51 यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे। 52 तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।

यर्मिया 22

दुष्ट राजाहरू विरूद्ध न्याय

22 परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहूदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर ‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहूदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू। परमप्रभु भन्नुहुन्छ निष्पक्ष र धार्मिक हौ। अत्याचारमा पारेकाहरूलाई अत्याचारीबाट रक्षा गर। विदेशमा जन्मेका नागरिकहरू टुहुरा-टुहुरी अथवा विधवाहरूमाथि नराम्रो नगर। निर्दोष मानिसहरूलाई नमार। यदि तिमीहरूले आज्ञा पालन गर्यौ भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बस्नेछन्। यदि तिमीहरूले ती आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ म आफ्नै नाउँमा शपथ लिन्छु म यो राजमहल नष्ट पार्नेछु।’”

यसैले परमप्रभु यहूदाको राजाको राजमहलको विषयमा भन्नुहुन्छ:

“तँ ता मेरो निम्ति गिलादको जङ्गल
    र लबानोनको पहाड जस्तै छस्।
तर म तँलाई मरुभूमिमा परिणत गरिदिन्छु।
    कोही बसो-बास गर्ने नभएको शहर झैं तँलाई म उजाड बनाइदिन्छु।
म राजदरबार नष्ट गर्नलाई
    हतियार सहित मानिस पठाउने छु।
ती नष्टगर्ने हरूले तेरा देवदारको रूखहरू काट्नेछन्
    र आगोमा फ्याँकनेछन्।

“धेरै राज्यका मानिसहरू यही शहर भएर जानेछन्। तिनीहरूले एकार्कामा सोध्नेछन्, ‘किन परमप्रभुले त्यस्तो डरलाग्दो कुरा यरूशलेम प्रति गर्नुभयो? यरूशलेम त्यस्तो महान शहर थियो।’ त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम नष्ट पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित गरेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।’”

राजा यहोआहाजको विरूद्ध न्याय

10 मरेको राजाको लागि नरूनु।
    उसको लागि विलाप नगर्नु,
बरू त्यो राजाको लागि रूनु
    जसले यो ठाउँ नै छोड्न बाध्य भएको छ।
उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन्।
    ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन।

11 यही कुरा शल्लूम (यहोआहाज) योशियाहको छोराको विषयमा परमप्रभु भन्नुहुन्छ। शल्लूम योशियाह राजाको मृत्यु पछि यहूदाका राजा भए। “यहोआहाज यरूशलेमबाट निस्की टाढा गए। उनी यरूशलेम फेरि कहिल्यै फर्की आउँदैनन्। 12 यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ मिश्रावासीले उनलाई लगेर गए। उनले यो देश फेरि देख्ने छैनन्।”

यहोयाकीम राजाको विरूद्ध न्याय

13 “हाय! त्यसलाई जसले आफ्नो मानिसहरूलाई
    तिनीहरूको श्रमको ज्याला नदिई
बे-ईमान्दरीले महल बनायो,
    अझ ठगेर तला थप्यो।

14 “उसले भन्छ,
    ‘आफ्नो लागि म एउटा ठूलो महल बनाउनेछु।
मेरो माथिल्लो तलामा ठूल-ठूला कोठाहरू हुनेछन्।’
    उसले देवदारूका पल्लाले झ्यालहरू बनाउँछ रातो रंग लाउँछ।

15 “देवदारूले बनाएको तिम्रो विशाल महलले
    तिमीलाई महान राजा बनाउदैन।
तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए।
    उनले के ठीक र निष्पक्ष थियो त्यही गरे।
    यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।
16 तिनले गरीब
    र असाहय मानिसहरूलाई मद्दत गरे।
यसकारण प्रत्येक कुरा
    तिनको लागि राम्रै भयो।
‘मलाई चिन्नु नै यसको अर्थ हो।’
    परमप्रभुले भन्नुभयो।

17 “तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ।
तिमी निर्दोष मानिसहरूलाई मार्न,
    मानिसहरूलाई चोट पुर्याउन र चक्नाचूर पार्न मात्र बिचार गर्छौ।”

18 यसर्थ परमप्रभुले योशियाहका छोरो,
    राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु,
“यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन्,
    ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी!
म यहोयाकीमको लागि अत्यन्तै दु:खीतछु भनी,
    तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्।
यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्।
    तिनीहरूले उनको विषयमा भन्ने छैनन्,
    ‘हाय मेरा मालिक! हाय, मेरा महाराज!
    तिम्रो मृत्युमा म अत्यन्तै दु:खी छु।’
19 यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफ्नाउनेछन्।
    तिमीहरूले उसको टाउको र शरीर तान्नेछन्,
    अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।

20 “यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ।
    बाशान क्षेत्रमा जोडले कराऊ।
अबारीमको पर्वतहरूमा चिच्याऊ,
    किनभने तिम्रो ‘प्रेमीहरूलाई’ नष्ट पारिनेछ।

21 “हे यहूदा, तिमीले आफैं सुरक्षित विचार गर्यौ।
    तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ।
तर तिमीले भन्यौ, ‘म ध्यान दिँदिन।’
    तिमीले त्यही जीवन शैली अप्नायौ,
जुन तिम्रो युवावस्थालमा थियो।
    तिम्रो युवावस्थालम देखिनै तिमीले मलाई मान्न अस्वीकार गर्यौ।
22 हे यहूदा! तिम्रा भेंडा़ गोठालाहरूलाई बतासले उडाई लानेछ।
    तिम्रा प्रेमीहरू कैदी बनिनेछन्।
तिमीलाई अपमान गरिनेछ र पक्कै पनि तिम्रा दोषपूर्ण कर्महरूले,
    तिमीलाई लज्जित पार्नेछ।

23 “हे लबानोनका बासिन्दा
    जो देवदारूहरूको माझमा बास गर्छन्,
जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ।
    प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडीबुडी गर्नेछौ।”

यहोयाकीन राजाको विरूद्ध न्याय

24 “जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ। 25 यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ। 26 म तिमी र तिम्रो आमालाई अर्को देशमा फ्याँकिदिने छु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ। 27 तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।”

28 के कोन्याह[a] कसैको आफलको फुटेको भाँडा जस्तो हो?
    जसलाई कसैले मन पराउँदैन।
किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए?
    किन तिनीहरू नजानेको देशमा फ्याँकिए?
29 ए देश, ए देश!
    परमप्रभुको सन्देश ध्यान दिएर सुन्।
30 परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख,
    ‘ऊ एकजना मानिस हो जसको कुनै नानीहरू छैन।
यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन।
    अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन।
    कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।’”

मर्कूस 8

येशूद्वारा चार हजार भन्दा अधिक मानिसलाई भोजन

(मत्ती 15:32-39)

अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसँग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो। येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसँग छन्। अनि अहिलेसम्म तिनीहरूसँग खानेकुरा केही छैन। म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरूछन्।”

येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”

तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन्?”

चेलाहरूले जवाफ दिए, “हामीहरूसँग सातवटा रोटीहरू छन्।”

येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुक्रा पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढ्न दिनुभयो चेलाहरूले त्यसै गरे। चेलाहरूसँग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढ्नु भन्नु भयो।

सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे। प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो। 10 त्यसपछि उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।

फरिसीहरूले येशूको परीक्षा लिने प्रयास गरे

(मत्ती 16:1-4; लूका 11:16,29)

11 फरिसीहरू येशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने। 12 येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँच्चो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।” 13 तब येशूले तिनीहरूलाई छोड्नुभयो र डुङ्गामा चढ़नु भयो अनि समुद्रको अर्को तिर जानुभयो।

येशूद्वारा यहूदी प्रमुखहरूलाई चेतावनी

(मत्ती 16:5-12)

14 डुङ्गामा भएको बेला चेलाहरूसँग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए। 15 येशूले तिनीहरूलाई सर्तक गराउनु भयो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”

16 चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसँग रोटी छैन भन्नु भएको हो।”

17 चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू बुझ्न सक्तैनौ? 18 के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैनन् के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहुँदा मैले के गरें। 19 मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडेको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। कति टोकरी उब्रेका रोटीहरू बटुल्यौ?”

चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी रोटीका टुक्राहरू बटुल्यौं।”

20 “अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?”

चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।”

21 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझ्न् सकेका छैनौ?”

बेत्सैदामा अंन्धो मानिस निको भएको

22 येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे। 23 अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानु भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अंन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”

24 उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।”

25 फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो। 26 येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”

पत्रुस अनुसार येशू नै ख्रीष्ट हुन्

(मत्ती 16:13-20; लूका 9:18-21)

27 येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?”

28 चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”

29 त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?”

पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”

30 येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।”

येशू भन्नुहुन्छ उहाँ मर्नु पर्छ

(मत्ती 16:21-28; लूका 9:22-27)

31 त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्। 32 येशूले पछि घट्ने प्रत्येक घट्नाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन।

पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे। 33 तर येशू फनक्क फर्के र चेलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”

34 तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ। 35 जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ। 36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो? 37 किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन। 38 अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International