M’Cheyne Bible Reading Plan
परमेश्वरले यहोशूलाई इस्राएलको अगुवाई गर्नका निम्ति चुन्नुहुन्छ
1 मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, 2 “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु। 3 मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु। 4 हित्तीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ। 5 कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।
6 “यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु। 7 तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्। 8 त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्। 9 याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
यहोशूले आदेश दिन्छन्
10 यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने, 11 “छाउनी भएर जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौ।’”
12 तब यहोशू रूबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने, 13 “याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो। 14 वास्तवमा, परमप्रभुले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को यो भूमि दिइसक्नु भएकोछ। यो भूमिमा तिमीहरूका पत्नीहरू, अनि छोरा-छोरीहरू तिमीहरूका पशु प्राणीहरू समेत बस्न सक्नेछौ। तर तिमीहरूका योद्धा मानिसहरू तिमीहरूका दाज्यू-भाइहरूसित यर्दन नदी पार गरी जानुपर्छ। तिमीहरू युद्धका निम्ति तयार हुनुपर्छ अनि तिनीहरूलाई आफ्ना भूमि लिनका निम्ति सहायता गर्नुपर्छ। 15 परमप्रभुले तिमीहरूलाई विश्राम गर्नका निम्ति एक स्थान दिनु भएकोछ। अनि तिम्रा दाज्यू-भाइहरूका निम्ति पनि उहाँले त्यसै गर्नु हुनेछ। तर तिमीहरूले तिनीहरूलाई त्यस बेलासम्म सहायता गर्नु पर्छ, जबसम्म तिनीहरूले त्यो भूमि प्राप्त गर्ने छैनन्। जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई दिनु हुँदैछ। तब तिमीहरूको आफ्नै देश, यर्दन नदीको पूर्व तर्फर्को देशमा फर्की आउँन सक्छौ। परमप्रभुको दास मोशाले त्यो भूमि तिमीहरूलाई दिनु भएको छ।”
16 तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं। 17 तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौं। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौ। हामी यो याचना गर्छौ कि, परमप्रभु तपाईंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुनथ्यो त्यसरी नै तपाईंको साथ रहनुहुनेछ। 18 तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। बलियो अनि साहसी मात्र बन्नुहोस्।”
मन्दिरतर्फ गइरहेको बेलाको गीत वा भजन।
1 म सङ्कटमा थिएँ,
मैले परमप्रभुको सहायता मागें।
अनि उहाँले मलाई बचाउनु भयो!
2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस्,
जसले मेरो बारेमा झूटो बोलें।
ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
3 झूटो बोल्नेहरू, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ?
जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
4 सैनिकको तीखो बाणले
र तातो कोइलाहरूले दण्ड दिनेछ।
5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो
केदारको पालहरूभित्र बसिरहेका छौ।
6 म शान्ति घृणा गर्ने मानिसहरूसँग
धेरै समय सम्म बसें।
7 मैले भने म शान्ति चाहन्छु,
यसकारण तिनीहरूले युद्ध चाहे।
मन्दिरतर्फ जाँदा दाऊदको भजन।
1 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
तर मेरो सहायता कहाँबाट आउँछ?
2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
परमप्रभुबाट आउँछ।
3 परमेश्वरले पतनहुन दिनु हुनेछैन,
तिम्रो संरक्षक निदाई जाने होइन।
4 इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
परमेश्वर कहिल्यै निदाउनु हुन्न।
5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
6 तिमीलाई दिउँसो घामले
अनि राती जूनले हानि पुराउँदैन।
7 परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!
मन्दिरतर्फ गइरहेको बेला दाऊदको भजन।
1 म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने,
“परमप्रभुको मन्दिर तर्फ जाऊँ।”
2 हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
3 यो नयाँ यरूशलेम हो।
एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्।
परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्।
5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए।
तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।
6 यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर।
“जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्।
7 तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्।
म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
8 मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ,
म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
9 हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,
म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।
परमप्रभुको मुक्तिको समाचार
61 परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो। 2 परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो। 3 परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो।
4 त्यस बेला, ध्वंश भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै बर्ष अघाडि भत्किाएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्।
5 तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेंडा़को हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ। 6 तिमीहरूलाई “परमप्रभुका पूजाहारीहरू” र “हाम्रा परमेश्वरको सेवकहरू” भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर गर्वित हुनेछौ।
7 बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लज्जित पारे र सबै तिमीहरूको विरूद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढ्ता लज्जित भयौ। यसैले तिमीहरूको देशमा तिमीहरूले अरूहरू भन्दा दुइगुणा बढी पाउनेछौ। तिमीहरूले आनन्द मनाउनेछौ जुन अनन्तसम्म रहनेछ। 8 यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउँछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु। 9 सारा जातिको मेरा प्रत्येक मानिसले चिन्नेछन्। मेरा जातिका नानीहरूले प्रत्येक मानिस चिन्ने छन्। कुनै पनि मानिसले तिनीहरूलाई देख्यो भने पक्कै परमेश्वरको आशीर्वाद परेकोछ भनेर जान्नेछन्।
परमेश्वरको सेवकले मुक्ति ल्याउँछ
10 परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो।
म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु।
परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो।
ती पोषाकहरू अत्यन्तै सुन्दर छन्,
जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्।
परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो
त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
11 पृथ्वीले नै बिरूवा उर्माछ।
मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्,
अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ।
त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ।
परमप्रभुले प्रत्येक जातिबाट महिमा लिनुहुन्छ।
येशूले पक्षवातको रोगीलाई निको पार्नुभयो
(मर्कूस 2:1-12; लूका 5:17-26)
9 येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो। 2 केही मानिसहरू एकजना पक्षघाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षघातीको रोगीलाई भन्नुभयो, “सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।”
3 केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”
4 तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ? 5-6 यो पक्षाघातको रोगीलाई कुन कुरा भन्न असल छ: ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ र हिँड’ भन्नु। म तिमीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ।” तब येशूले पक्षघातको रोगीलाई भन्नुभयो, “उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।”
7 अनि त्यो मानिस उठ्यो र घरतिर लाग्यो। 8 मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।
येशूले मत्तीलाई बोलाए
(मर्कूस 2:13-17; लूका 5:27-32)
9 जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेट्नु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।
10 येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए। 11 येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, “किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?”
12 फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ। 13 म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक: ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’(A) म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।”
येशू अरू यहूदीहरू जस्तो हुनुहुन्न
(मर्कूस 2:18-22; लूका 5:33-39)
14 त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
15 येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुःख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुःखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।
16 “कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ। 17 कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”
येशूले मरेकी केटीलाई जीवित पार्नु भयो र रोगी स्त्रीहरूलाई निको पार्नु भयो
(मर्कूस 5:21-43; लूका 8:40-56)
18 येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, “मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।”
19 तुरन्तै येशू उठ्नु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।
20 बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्। 21 तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।”
22 येशू पछिल्तिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्।
23 येशू यहूदी शासकसँग हिँड्दै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नु भयो। मानिसहरूलाई शोक धुन बजाईरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई। 24 येशूले भन्नुभयो, “पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाएकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए। 25 जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी। 26 तब यस कुराको खबर सारा मुलुकभरि फिँजियो।
येशूद्वारा धेरै मानिसहरू निको भए
27 जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।”
28 जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”
29 त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, “मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।” 30 त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।” 31 तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिँजाए।
32 जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो। 33 येशूले त्यस मानिसबाट भूत भगाइदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, “इस्राएलमा यसप्रकारको घट्ना पहिले कहिल्यै घटेको थिएन।”
34 तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।”
येशू मानिसहरूको लागि दु:ख मान्नु हुन्छ
35 येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो। 36 उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेंडा़हरू जस्तै हैरान भई तितर-बितर भएका थिए। 37 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्। 38 प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनु हुनेछ।”
© 2004, 2010 Bible League International