M’Cheyne Bible Reading Plan
मानिसहरूका लागि स्मारक ढुङ्गाहरू
27 मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर। 2 तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ। 3 त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
4 “यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ। 5 केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर। 6 परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ। 7 तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ। 8 तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।
सरापका नियमहरू
9 “मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ। 10 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”
11 त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने, 12 “तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्। 13 अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
14 “लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्:
15 “‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’
“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
16 “लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
17 “लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
18 “लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’
“तब सबै मानिसहरूले भन्नेछन् ‘आमेन।’
19 “लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
20 “लेवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
21 “लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’
22 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
23 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सर्म्पक राख्छ।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
24 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
25 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’
“तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’
26 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
आज्ञा पालन गर्दा आशीर्वाद
28 “अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दा माथि राख्नु हुनेछ। 2 यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।
3 “शहरमा र गाउँ-बस्तीमा
परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
4 परमप्रभुले तिमीहरूका धेरै नानीहरू
होस् भनी आशिष दिनु हुनेछ।
परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ,
जसले गर्दा उब्जाऊ बेशी हुनेछ।
परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ,
र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्।
5 परमप्रभुले तिमीहरूको डालाहरू
र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ,
अनि सधैँ खाद्य पर्दाथले भर्नु हुनेछ।
6 परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा
तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ।
7 “तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।
8 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ। 9 यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुशरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ। 10 तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।
11 “तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पातीमा परमप्रभुले खुवै उन्नति गराउनु हुनेछ। 12 आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन। 13 परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैँमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। 14 आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा देब्रे फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुशरण गर्नु हुदैन।
आज्ञा पालन नगर्नेहरूलाई सराप
15 “तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
16 “परमप्रभुले शहर र खेतहरूमा
तिमीहरूलाई सराप्नु हुनेछ।
17 परमप्रभुले तिमीहरूका डालाहरू
र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ
अनि तिनीहरूमा खाद्य हुने छैन।
18 परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ
अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्।
उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ
अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ।
उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ
अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
19 परमप्रभुले तिमीहरूलाई प्रत्येक समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ,
तिमीहरूले जे गरे पनि।
अलिफ्
1 शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्।
ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
2 परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्।
तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
3 ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्,
तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
4 परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो
अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो।
5 परमप्रभु, यदि सधैँ तपाईंको
विधिहरू पालन गरें भने,
6 तब म कहिल्यै पनि लज्जित हुने छैन
जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
7 जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु
म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु।
8 परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु,
कृपया मलाई नत्याग्नु होस्!
बेथ्
9 तपाईंको विधिहरू अपनाएर
कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ?
10 म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु।
परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
11 मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें।
किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्।
मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
13 म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
14 म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा
आनन्द पाउँछु।
15 म तपाईंको विधि विषयमा चर्चा गर्नेछु।
म तपाईंको जिउने पथको अनुशरण गर्नेछु।
16 म तपाईंको नियमहरूमा रमाउने छु
म तपाईंका वचनहरू भुल्ने छैन।
गिमेल्
17 मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं
अनि तपाईंको आज्ञा पालन गर्नसकौं।
18 हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्,
ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ
अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।
19 म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ।
मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ।
परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।
20 म सारा समय तपाईंको विधिहरू
अध्ययन गर्न चाहन्छु।
21 हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो।
अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्,
किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
22 मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्।
मैले तपाईंको करार पालन गरेको छु।
23 अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे।
तर म तपाईंको दास हुँ, हे परमप्रभु!
अनि मैले तपाईंको नियमहरू पढेकोछु।
24 तपाईंको करार मेरो सल्लाहाकार हो।
यसले मलाई हितकारी परामर्श दिंदछ।
परमेश्वरले आफ्ना मानिसहरूलाई घर ल्याउनु हुन्छ
54 “ए बाँझी स्त्रीहरू हो, खुशी होऊ!
तिमीहरूका नानीहरू छैनन्,
तर तिमीहरू खुशी हुनुपर्छ।”
परमप्रभु भन्नुहुन्छ,
“त्यो स्त्री जो एक्लै छे,
लोग्ने भएका स्त्रीहरू भन्दा उसको धेरै नानीहरू हुनेछन्।”
2 “तिमीहरूका डेरालाई ठूलो बनाऊ,
तिमीहरूका ढोकाहरू फराकिलो पार।
तिमीहरूको घर बढाउन नरोक।
तिम्रा डेरा ठूलो र बलियो बनाऊ।
3 किनभने तिमीहरू एकदम बडी हाल्नेछौ।
तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्,
तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंश भएका थिए।
4 नडराऊ!
तिमीहरू निराश हुनेछैनौ।
मानिसहरूले तिमीहरूको विरूद्ध अनिष्ट कुराहरू गर्ने छैनन्।
जब तिमीहरू जवान थियौ,
तिमीहरू लज्जित थियो।
तर तिमीहरूले अहिले त्यो लाज बिर्सियौ।
तिमीहरूले त्यो लाज सम्झना गर्दैनौ।
तिमीहरूले व्यक्त गर्यौ जतिबेला तिमीहरूका लोग्ने मरे।
5 किनभने तेरा लोग्ने तेरा सृष्टिकर्ता हुनुहुन्छ।
उहाँको नाउँ सेनाहरूका परमप्रभु हो!
उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ।
उहाँ इस्राएलको एकजना परम-पवित्र हुनुहुन्छ।
अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
6 “तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो।
तिमी एकदमै दु:खित थियौ,
तर उहाँले तिमीलाई आफ्नो बनाउन बोलाउनु भयो।
तिमी त्यस्ती आइमाई हौ जसले सानो उमेरमा विवाह गरेकी थिई।
अनि उसको लोग्नेले परित्याग गरेको थियो।
तर परमेश्वरले तिमीलाई आफ्नो बनाउन बोलाउनु भएको थियो।”
7 परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ।
तिमीहरूलाई फेरि भेला गर्नेछु अनि धेरै दया दर्शाउनेछु।
8 म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके।
तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।”
परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
9 परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई,
जलप्रलयद्वारा दण्डित गरेको थिएँ।
तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई,
जलप्रलय द्वारा विध्वंश गर्ने छैन।
त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि,
म तिमीहरूसँग रिसाउने छैन
अनि नराम्रा कुराहरू गर्ने छैन।”
10 परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्,
अनि डाँडाहरू धूलो हुनसक्छन्,
तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन्।
म तिमीहरूसँग शान्ति कायम गर्नेछु,
अनि यसको कहिल्यै अन्त हुनेछैन्।”
परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ।
अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।
11 “तिमी गरीब शहर!
शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे।
अनि कसैले पनि सान्त्वना दिएनन्।
तर म फेरि तिमीलाई निर्माण गर्छु,
ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु।
म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
12 भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु।
मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु।
तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जड्नेछु।
13 तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्,
अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ।
तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।
14 तिमी धार्मिकतामाथि निर्माण हुनेछौ।
यसैले तिमी सुरक्षित हुनेछौ।
केहीले पनि तिमीलाई चोट पुर्याउने छैन्।
तिमी डराई रहनु पर्नेछैन्।
15 मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन।
यदि कुनै सैनिकले आक्रमण गर्यो भने तिमीले त्यस सैन्यलाई पराजित गर्नेछौ।
16 “हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।
17 “मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफैं दोषी रहेको प्रमाणित गर्नेछन्।”
परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट क्षमा पाउँनेछन्।
ज्योतिषिहरू येशूलाई भेट्न आउँछन्
2 यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए। 2 ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, “यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौ जसले उहाँ जन्मेको सकेत दिएको छ। हामीले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ। हामी उहाँको आराधना गर्न आएका छौ।”
3 जब राजा हेरोदले यहूदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घट्नाबाट चिन्तित भए। यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो। 4 हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुनेहो?” 5 तिनीहरूले जवाफ दिए, “यहूदियाको बेतलेहेम शहरमा, अगमवक्तद्वारा यस विषयमा लेखिएको छ:
6 ‘ए बेतलेहेम, यहूदाको मुलुक,
तँ यहूदाका शासकहरूका माझ महान छस्।
हो, तँबाट एकजना शासक आउनेछन्,
जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।’”(A)
7 त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए। 8 त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए। हेरोदले तिनीहरूलाई भने “जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ। जब त्यो बालकलाई भेट्टाउनेछौ, तब मलाई खबर गर, र म पनि गएर तिनको आराधना गर्नेछु।”
9 राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो। 10 तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए।
11 तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसँग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी चढ़ाए। 12 तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए।
मातापितासँग येशू मिश्रदेशमा
13 ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्नु।”
14 अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले रातीनै घर छोडे। 15 हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”(B)
बेतलेहेममा हेरोदद्वारा स-साना बालकहरूको हत्या
16 ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ वर्षको अवधि बितेको थियो। अनि हेरोदले दुइ वर्षर त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए। 17 तब यर्मिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो:
18 “रामामा एउटा स्वर सुनियो,
रूवाबासी र आलाप-विलापको।
राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन,
शान्त बन्न तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू अब जीवित थिएनन्।”(C)
यूसुफ र मरियम मिश्रदेशबाट फर्कन्छन्
19 हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घट्ना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए। 20 स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”
21 त्यसपछि यूसुफ उठे, बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए। 22 तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए। 23 यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी[a] भनिनेछ।”
© 2004, 2010 Bible League International