Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 13-14

झूटा अगमवक्ताहरू

13 “कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ। उसले भने झैं चिन्ह अथवा आश्चर्यजनक काम साँच्चै हुन सक्छ, तिमीहरूले कहिल्यै नजानेको अन्य देवतालाई उसले मान्न लगाउन सक्छ। उसले भन्न सक्छ, ‘हामी यी देवताहरूलाई पूजा गरौं।’ त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला। परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुशरण गर। परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिल्यै नछोड। अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दुष्टता हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्नै पर्छ।

“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी सँग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ (यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्। ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।) त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसको कुराहरू नसुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड। 9-10 होइन, त्यसलाई ढुङ्गाले हिर्काएर मार। त्यसलाई मार्न ढुङ्गा टिप्ने मानिसहरू मध्ये तिमी पहिलो हुनु पर्छ र अरू मानिसहरूले पनि त्यस माथि ढुङ्गा फ्याँक्छन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जो मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियौ त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो। 11 तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।

12 “परमप्रभु तिमीहरूका परमेश्वरले बस्नको लागि तिमीहरूलाई शहरहरू दिनु भएको छ। कोही समय ती शहरहरू मध्ये कुनै एक शहरको विषयमा नराम्रो कुराहरू सुन्न सक्छौ। तिमीहरू थाहा पाउन सक्छौ 13 केही नराम्रा मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराम्रो काम गर्न फकाउँदैछन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊँ।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्)। 14 त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने। 15 ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ। 16 तिनीहरूका सबै बहुमूल्य चीजहरू जम्मा गर अनि तिनीहरूलाई शहरको बीचमा लैजाऊ, शहर अनि यसमा भएको प्रत्येक चीजलाई जलाई देऊ। यो परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि हुनेछ। त्यस शहरको पुर्ननिर्माण नहोस् र त्यो केवल ढुङ्गाको थुप्रो मात्र बनिरहोस्। 17 त्यस शहरमा भएको प्रत्येक चीज परमेश्वरलाई ध्वंश पार्न दिनु पर्छ जसले गर्दा त्यहाँ तिमीहरूको निम्ति केही पनि नहोस्। यदि तिमीहरूले यो आज्ञा पालन गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाउन छोड्नु हुन्छ, उहाँ तिमीहरू प्रति दयालु हुनुहुन्छ, उहाँ तिमीहरू प्रति दुःखी हुनुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिए अनुसार तिमीहरूलाई विशाल समुदाय बनिनमा सहयोग गर्नु हुनेछ। 18 यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ।

इस्राएलीहरू परमेश्वरका बिशेष मानिसहरू

14 “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हौ। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर।[a] किनभने तिमीहरू अरू मानिसहरूभन्दा भिन्दै हौ। तिमीहरू परमप्रभुको विशेष मानिसहरू हौ। परमप्रभु आफ्ना परमेश्वरले संसारका सबै मानिसहरूको माझबाट तिमीहरूलाई आफ्नो विशेष मानिस बनाउन रोज्नुभएको छ।

इस्राएलीहरूलाई खानु अनुमति दिइएका खाद्य वस्तुहरू

“परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ। तिमीहरूले यी पशुहरू खान सक्छौः गोरू, गाई, भेंडा, बाख्रा, मृग, हरिण, बराँट, जंगली बोका, पहाडी बोका, चित्तल र पहाडी भेंडाहरू। खुर दुइ भागमा चिरिएको छ र उग्राउँछ भने त्यस्ता कुनै पनि पशु खानुहुन्छ। तर ऊँठ, खरायो अथवा भीर खरायो आदि नखाऊ यद्यपि यी पशुहरू उग्राउँछन्, यिनीहरूको खुर दुइ भागमा चिरिएको छैन। यसकारण यी पशुहरू तिमीहरूकालागि खानलाई शुद्ध होइनन्। अनि तिमीहरूले सुँगुर खानु हुँदैन। तिनीहरूको खुरहरू त चिरिएका छन् तर तिनीहरू उग्राउँदैनन्। यसकारण सुँगुर तिमीहरूको निम्ति शुद्ध खाना होइन र यसको कुनै अंगको मासु नखानु। मरेको सुँगुर तिमीहरूले नछुनु।

“पानीमा भएका प्राणीहरूमा जसको पखेंटा र कत्ला हुन्छ त्यो खानु सक्छौ। 10 तर पानीमा हुने प्राणीहरूमा जसको पखेंटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो।

11 “तिमीहरूले कुनै पनि शुद्ध पंक्षी खान सक्छौ। 12 तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध, 13 सबै प्रकारको रातो चील र कालो चील, 14 सबै प्रकारका काग 15 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्री-हाँस, सबै प्रकारको बेसारा, 16 सानो लाटोकोसेरो, ठूलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, 17 मरुभूमिको लाटोकोसेरो, माछा खाने गिद्ध, पानी-काग, 18 साँरस, सबै प्रकारको बकुल्लो, फाप्रेचरो अथवा चमेरो।

19 “पखेंटा भएका कुनै किरा नखाऊ किनभने तिनीहरू अशुद्ध हुन्छन्। 20 तर तिमीहरू सबै शुद्ध चराहरू खानु सक्छौ।

21 “यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।

“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।

दशांश दिने निर्देशन

22 “तिमीहरूले प्रत्येक बर्ष तिमीहरूको खेतको उब्जनीबाट दशांश जोगाई निर्धारित गरेर राख्नु पर्छ। 23 तब तिमीहरू परमप्रभुले आफ्नो स्थान भनी छानेको घरमा जानु पर्छ। तिमीहरूको त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसित भेट हुन जान्छौ। त्यस समय तिमीहरूले त्यो दशांश अन्न, नयाँ दाखरस तेल, आफ्नो गोठमा जन्मेको प्रथम भेंडा-बाख्राको पाठो खानेछौ। यस प्रकारले तिमीहरूले सधैँ परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नेछौ। 24 तर त्यो निर्धारित ठाउँ टाढो भए तिमीहरू आफ्नो अन्नहरूको दशांश लिएर जानु नसक्ने पनि हुन सक्छौ। यस्तो भएको खण्डमा, 25 त्यो दशांश अन्न बेच र बेचेको दाम लिएर परमप्रभुले छान्नु भएको घरमा जाऊ। 26 तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गरः जस्तै-गाई, भेंडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिम्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ। 27 तर तिमीहरूको शहरमा बस्ने लेवीहरूलाई नबिर्स। किनभने तिमीहरूको झैं तिनीहरूको भूमि छैन।

28 “प्रत्येक तीन बर्षको अन्तमा तिमीहरूको अन्न उब्जनीबाट दशांश सँग्रह गर्नु पर्छ। त्यसलाई आफ्नो शहरको भण्डारमा थुपार। 29 यो अन्न लेवीहरूको निम्ति हो कारण तिमीहरूको झैं तिनीहरूको आफ्नो भूमि छैन। यी अन्न शहरका अन्य अभाव ग्रस्त मानिसहरूको निम्ति पनि हो अनि यो विदेशीहरू, विधवाहरू र टुहुरा-टुहुरी नानीहरूको निम्ति हो। यदि तिमीहरूले यसो गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।

भजनसंग्रह 99-101

परमप्रभु नै राजा हुनुहुन्छ,
    यसैले सारा जातिहरू डरले काम्छन्।
परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ।
    यसैले सारा संसार डरले काम्दछ।
सियोनमा परमप्रभु महान् हुनुहुन्छ!
    उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।
सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्।
    परमेश्वरको नाउँ विस्मयकारक छ।
    परमेश्वर पवित्र हुनुहुन्छ।
शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ।
    परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो।
    तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।
परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर
    अनि उहाँको पवित्र पाउदानमा[a] दण्डवत गर।
मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए।
    तिनीहरू मध्ये शमूएल हुन् जसले परमेश्वरको नाम पुकारे।
तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे,
    अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
परमेश्वर अग्ला बादलबाट बोल्नु भयो।
    तिनीहरूले उहाँको विधिहरू पालन गरे
    अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो।
    तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई
    दण्ड दिनेको रूपमा दर्शाउनु भयो।
हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर।
    हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ।
    उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।

धन्यवादको भजन।

हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
परमप्रभुको सेवामा खुशी हौ!
    खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
    उहाँले हामीलाई बनाउनु भयो।
    हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
    उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
    उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
परमप्रभु, भलो हुनुहुन्छ।
    उहाँको प्रेम अनन्त छ।
    हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

दाऊदको भजन।

म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु।
    परमप्रभु, म तपाईंको निम्ति गाउने छु।
म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु।
    म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु।
    परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?
म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन,
    म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ।
    म त्यस्तो घृणित कामहरू गर्नेछैन!
म ईमान्दार हुनेछु।
    म दुष्टपूर्ण कामहरू गर्नेछैन।
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने,
    म त्यस मानिसलाई रोक्छु।
आफूलाई घमण्ड गर्ने र अरू भन्दा म श्रेष्ठ छु भनेर सोंच्नेहरूलाई
    म अनुमति दिनेछैन।

म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ
    अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु।
    खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जीवन जिउँछ।
म मेरो घरमा झूटाहरू बस्न दिने छैन।
    म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन।
यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सधैँ नाश गर्नेछु।
    परमेश्वरको शहरबाट जानलाई म ती सब दुष्टहरूलाई बाध्य पार्नेछु।

यशैया 41

परमप्रभु अमर सृष्टिकर्ता हुनुहुन्छ

41 परमप्रभुले भन्नुहुन्छ,
“टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ।
    जातिहरू बालवान होऊ।
मकहाँ आऊ र बोल।
    हामी साथ-साथै भेट्नेछौं,
    अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।
जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो?
    उसले धार्मिकतालाई उसँग हिँड्न बोलाउँछ।
उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ।
    तिनीहरू धूलो जस्ता हुन्छन्।
उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ
    अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।
उसले सैन्यहरूको खेदो गर्दछ र कहिल्यै घाइते हुँदैन्।
    ऊ कहिल्यै नपुगेका ठाउँहरू पुग्दछ।
कसले यी कुराहरू हुने गरायो, कसले यो गर्यो?
    कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो?
म, परमप्रभुले, यी कुराहरू गरें।
    म, परमप्रभु नै प्रथम मानिस हुँ,
    अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।
तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ।
    तिमीहरू सबै सुदूर ठाउँहरू,
पृथ्वीमाथि डरले कम्पित हौ।
    यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्‌।”
    अनि तिनीहरू आए।

“कर्मीहरू एकार्कामा सहयोग गर्छन् आपस साथ निभाउँदछन्। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्। एकजना कर्मीले मूर्ति बनाउनलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, ‘यो काम असल हो, धातु आउने छैन।’ त्यसपछि भूईँमा नखसोस् भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउँदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै नहल्लियोस्।”

परमप्रभुले मात्र हामीलाई बचाउन सक्नु हुन्छ

परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ,
    याकूब मैले तिमीलाई रोजें।
    तिमी आब्राहाम परिवारका हौ।
    अनि म आब्राहामलाई प्रेम गर्दछु।
तिमी टाढा देशमा थियौ,
    तर म तिमीकहाँ पुगें,
मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ।
    मैले भने, ‘तिमी मेरो दास हौ।’
तिमीलाई रोजें।
    अनि मैले तिमीलाई रद्ध गरिनँ।
10 सुर्ता नगर, म तिमीसितै छु।
    नडराऊ, म तिम्रै परमेश्वर हुँ।
म तिमीलाई बलियो बनाउनेछु।
म तिमीलाई सहायता दिनेछु,
    म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
11 हेर, कतिपय मानिसहरू तिमीसँग रिसिएका छन्।
    तर तिनीहरू लज्जित हुनेछन्।
    तिम्रा शत्रुहरू हराउनेछन् र विलाई जानेछन्।
12 तिमीले ती मानिसहरूलाई खोज्नेछौ जो तिम्रो विरोधीहरू थिए,
    तर तिमीले तिनीहरूलाई भेट्टाउनँ सक्ने छैनौ।
ती मानिसहरू जो तिम्रो विरूद्ध लडे
    तिनीहरू पूर्ण रूपमा बिलाई जानेछन्।
13 म परमप्रभु तिम्रो परमेश्वर हुँ।
    मैले तिम्रो दाहिने हात समाति रहेकोछु।
अनि म तिमीलाई भन्दछु नडराऊ।
    म तिम्रो साथमा हुनेछु।
14 हे बहुमूल्य यहूदा, नडराऊ!
    मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ,
    म साँच्चि नै तिमीहरूलाई सघाउने छु।”

परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो।

“इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए,
    उहाँले ती कुराहरू भन्नुभयो।
15 हेर, म तिमीलाई एक झाँट्ने उपकरण बनाउनेछु।
त्यो उपकरण धेरै तीखा दाँतहरू भएका हुनेछन्,
    कृषकहरूले यो अन्न कुट्नलाई चलाउने छन्,
    यसकारण तिनीहरूले अन्न देखि खोस्टा अलग्गै पार्नेछन्।
    तिमी पर्वतहरूमाथि कुल्चिँदै हिँड्नेछौ र तिनीहरूलाई धूलोपीठो पार्नेछौ।
16 तिमीले तिनीहरूलाई बतासमा फ्याँकी दिनेछौ,
    अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ।
तब तिमी परमप्रभुमा रमाहट हुनेछौ।
    तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।

17 “गरीब र दीन-दु:खी मानिसहरूले पानी खोज्नेछन्,
    तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्।
    तिनीहरूको जिब्राहरू सुख्खा छन्।
म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु।
    म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।
18 म सुख्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु।
    म झर्नाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु।
म पानीले भरिपूर्ण पार्नेछु, मरुभूमिलाई तलाउमा परिर्वतन गर्नेछु।
    त्यहाँ सुख्खा भूमिहरूमा झर्नाको पानी हुनेछ।
19 देवदारूहरू मरुभूमिमा उम्रिनेछन्,
    त्यहाँ बबुलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्।
20 मानिसहरूले ती कुराहरू हेर्नेछन्।
    अनि उनीहरूले बुझ्ने छन् कि यी सबै परमप्रभुकै शक्तिले भएका हुन्।
मानिसहरूले यी कुराहरू देख्नेछन्
    अनि तिनीहरूले बुझ्न थाल्नेछन कि,
    इस्राएलका पवित्र परमप्रभुले यी कुराहरू गरेका हुन्।”

परमप्रभुले झूटा देवताहरूलाई चुनौती दिनुभयो

21 परमप्रभु, याकूबका राजाले भन्नहुन्छ, “आऊ मलाई तिमीहरूका वाद-विवादहरू बताऊ। मलाई तिमीहरूका प्रमाणहरू देखाऊ, अनि हामी ती कुराहरू ठीक रहेछन् भनेर निर्णय गर्नेछौ। 22 तिमीहरूका झूटा देवताहरू आउनु पर्छ अनि के भइरहेछ बताउनु पर्छ। आदिमा के भयो? हामीलाई बताऊ। भविष्यमा के हुने हो? हामीलाई बताऊ। हामी एकदम ध्यान दिएर सुन्नेछौं। तब मात्र हामीहरू जान्नेछौ कि अर्को पल्ट के हुने हो। 23 हामीलाई ती कुराहरू बताऊ जुन के हुने होला हामीले जान्नै पर्छ। तब तिमीहरू वास्तवमा देवताहरू नै हौ भनेर हामी विश्वास गर्ने छौ। केही त गर! जे पनि गर राम्रो वा नराम्रो। तब तिमी जीउँदो नै हौ भनेर हामी देख्नेछौ। अनि हामी तिमीलाई पछ्याउने छौं।

24 “हेर, झूटा देवताहरू, तिमीहरू वास्तवमा केही पनि होइनौ। तिमीहरू केही गर्न सक्तैनौ। केवल मूर्ख मानिसहरूले मात्र तिमीहरूलाई पुज्ने छन्।”

परमप्रभुले प्रमाणित गर्नुहुन्छ कि उहाँ मात्र एक परमेश्वर हुनुहुन्छ

25 “मैले उत्तरबाट एकजना मानिसलाई माथि उठाउएको छु।
    ऊ पूर्वबाट आइरहेकोछ जहाँबाट सूर्य उदाउँछ।
    उसले मेरो आराधना गर्छ।
एकजना कुमाले जसले भाँडा बनाउँछ, हिलो माटोमा हिँड्छ।
    त्यस्तै प्रकारले त्यो मानिस राजाहरूलाई मिचेर हिँड्छ।

26 “यस्तो हुन भन्दा अघि हामीलाई कसले भन्यो?
    हामीले उनलाई परमेश्वर भनेर घोषणा गर्नुपर्छ।
के तिमीहरूको एउटै मूर्तिले यी कुराहरूको विषय भन्यो र? अँहँ।
    ती कुनै पनि मूर्तिहरूले हामीलाई केही पनि भनेनन्।
ती मूर्तिहरूले एउटा शब्द पनि भनेनन्
    अनि ती झूटा देवताहरूले तिमीले भनेका शब्दहरू सुन्न सक्तैनन्।
27 सियोनका बारेमा ती कुराहरू भन्ने म, परमप्रभु, नै प्रथम ब्याक्ती थिएँ।
    मैले यो समाचार सहित यरूशलेममा सन्देशवाहकहरू पठाएँ
    ‘हेर, तिम्रा मानिसहरू फर्केर आइरहेछन्।’”

28 मैले ती झूटा देवताहरूमा हेरें।
    तिनीहरू केही भन्नलाई कोही पनि
    बुद्धिमानी थिएनन्।
मैले तिनीहरूलाई प्रश्नहरू गरें
    तर तिनीहरूले एउटा शब्द पनि भनेनन्।
29 ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्।
    ती मूर्तिहरू पूर्णत महत्वहीन छन्।
    तिनीहरूले केही गर्न सक्तैनन्।

प्रकाश 11

दुइ साक्षीहरू

11 त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर। तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्। अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुइसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भूत्लाको वस्त्र पहिरेका हुनेछन्।”

यी दुइ साक्षीहरू दुइ भद्राक्षका बृक्षहरू हुन् अनि दुइ दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खड़ा छन्। यदि कुनै मानिसले ती साक्षीहरूलाई घात गर्ने प्रयास गरे ती साक्षीहरूका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरूलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ। यी साक्षीहरूसित, तिनीहरूले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरूसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरूसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरूले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।

जब ती दुइ साक्षीहरूले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरूको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरू सबैलाई जित्नेछ अनि तिनीहरूलाई मार्नेछ। ती दुइ साक्षीहरूको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरूमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो। हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म ती दुइ साक्षीहरूको शवलाई देख्नेछन्। तिनीहरूलाई गाढ्न मानिसहरूले अस्वीकार गर्नेछन्। 10 किनभने यी दुइ मरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहरू भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुइ अगमवक्ताहरूले पृथ्वीमा बस्ने मानिसहरूमा अनेक यातना दिए।

11 तर साँढे तीन दिनपछि परमेश्वरले ती दुइ अगमवक्ताहरूमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरू आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहरूलाई देखे खुबै डराए। 12 तब ती अगमवक्ताहरूले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुइ अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई माथि गएको देखे।

13 त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरू त्यस भूँईचालोमा मरे। मानिसहरू जो मरेनन् तिनीहरू अत्यन्त भयभीत थिए। तिनीहरूले स्वर्गका परमेश्वरलाई महिमा गरे।

14 दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।

सातौं तुरही बज्यो

15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहरूले भने,

“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ।
    अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।”

16 तब ती चौबीस धर्म-गुरुहरूले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरुहरू हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्। 17 ती अग्रजहरूले भने,

“प्रभु परमेश्वर, जो सर्व-शक्तिमान हुनुहुन्छ, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौ।
    तपाईं नै एक हुनुहुन्छ, जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो।
हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान-शक्ति लिनुभयो
    अनि शासन गर्नु शुरु गर्नुभयो।
18 संसारका राष्ट्रहरू क्रोधित थिए,
    तर अब तपाईंको क्रोधित हुने समय हो।
अब, मृत मानिसहरूको न्याय गर्ने समय हो।
    अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहरूलाई पुरस्कृत गर्ने समय हो,
अनि तपाईंको पवित्र मानिसहरूलाई पुरस्कृत गर्ने समय हो,
    ती ठूला अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्।
यो ती मानिसहरूलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”

19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरूलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International