Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 28:20-68

20 “यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुन्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्‌यौ। 21 जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंश हुदैनौ, परमप्रभुले तिमीहरूमाथि भयंङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ। 22 परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्। 23 आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ। 24 परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिन्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।

25 “तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन् त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्। 26 तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन।

27 “परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई खटिराहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ। 28 परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ। 29 तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।

30 “स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ। 31 मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेंडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।

32 “तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउन्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।

33 “तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्। 34 तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ। 35 परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ।

36 “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ। 37 देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।

असफलताको सराप

38 “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किनकि अन्न सलहले खाइदिनेछ। 39 तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ। 40 तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्। 41 तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्। 42 तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ। 43 तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्। 44 विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।

45 “जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ। 46 अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।

47 “कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ। 48 यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुन्जेल सम्म हटाउन सक्नेछैनौ।

शत्रु राष्ट्रको सराप

49 “परमप्रभुले तिमीहरूसित लडाँईं गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछन् तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ। 50 तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन् अनि स-साना नानीहरूप्रति दया देखाउँदैनन्। 51 तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुन्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।

52 “तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्। 53 तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।

54 “त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्। 55 यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौ अनि कसैसित बाँड्ने छैनौ जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन अनि तिमीहरूलाई कष्ट दिन्छन् यी सबै नरम्रा घटनाहरू हुनेछन्।

56 “अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे। 57 त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्।

58 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ। 59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ। 60 तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ। 61 परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुन्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ। 62 आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सक्छन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एक्दमै थोरै संख्यामा रहने छौ।

63 “तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेट्नेछन्। 64 पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरूका थाहा नपाइएका देवताहरू पूज्ने छौ।

65 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ। 66 तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैँ डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ। 67 बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो’ बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो।’ किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ। 68 परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, ‘तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।’ मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।”

भजनसंग्रह 119:25-48

दालथ्

25 म चाँडै मर्नेछु, हे परमप्रभु!
    तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्।
26 मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ।
अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो।
    अब, तपाईंका नियमहरू सिकाउनु होस्।
27 हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्।
    तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।
28 म दुःखीत र थकित छु।
    आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्।
29 हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्।
    तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।
30 हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौं भनेर रोजेको छु।
    मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु।
31 म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु।
    मलाई असन्तुष्ट नबनाउनु होस्।
32 म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु।
    परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।

हेथ्

33 हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्,
    अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु।
34 मलाई बुझ्न सहायता गर्नु होस्
    अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।
35 हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्।
    म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु।
36 मलाई धनाढ्य हुनुको सट्टामा
    तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।
37 परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्।
    तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
38 त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो
    ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्।
39 हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु
    त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
40 हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु।
    तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।

वाव्

41 हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले देखाउनु होस्,
    अनि तपाईंले प्रतिज्ञा दिए झैं, मलाई बचाउनु होस्।
42 जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु।
    म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।
43 हे परमप्रभु! म सधैँ तपाईंको साँच्चो उपदेशहरू बोल्न पाऊँ।
    म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।
44 हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुशरण गर्नेछु।
45 यसकारण म स्वतन्त्र हुने छु।
    किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें।
46 म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु,
    अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
47 म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु।
    परमप्रभु म ती आज्ञाहरू मन पराउँछु।
48 हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु।
    म तिनीहरूलाई मन पराउँछु अनि म तिनीहरूलाई अध्ययन गर्छु।

यशैया 55

परमेश्वरले तृप्त गराउने “भोजन” दिनुहुन्छ

55 “हे सबै, तिर्खाएका मानिसहरू, आऊ!
    तिम्रोलागी पानी यहाँछ, आएर पिऊ!
पैसा छैन भनेर सुर्ता नगर।
    आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ!
तिमीहरूलाई पैसा चाहिन्दैन,
    खान र पिऊनुको ज्याला लाग्दैन।
किन तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन?
    किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन?
एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ।
    तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।
मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्।
    मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्।
मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ।
यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ।
    मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ।
    अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ।
    मैले दाऊदलाई वचन दिएँ कि ऊ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”

ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ,
    तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ।
ती जातिहरूले तिमीहरूलाई जान्दैनन्
    तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्।
यस्तो घट्ना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ।
    इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।
यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ
    एकदमै ढिलो हुनु अघि नै।
तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ
    उहाँ नजिक भएको बेला।
दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ।
    तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ।
तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ।
    तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ।
ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ,
    किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।

मानिसहरूले परमेश्वरलाई बुझ्न सक्तैनन्

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्।
    तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्।
आकाश पृथ्वी भन्दा अल्गो छ।
    त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन्
    अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।”

10 “पानी र हिँऊ आकाशबाट बर्षिन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्।
    जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्।
तब धर्तीले बिऊमा टुसा उमार्छ।
ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन्
    अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।
11 यस्तै प्रकारले मेरा वचनहरूले जब मेरो मुख छाड्दछ,
    अनि ती वचनहरूले केही नगरून्जेल सम्म फर्की आउँदैन्।
मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु।
    मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।

12 “तिमी खुशी साथ बाहिर जानेछौ
    अनि शान्त रहनेछौ।
पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्।
    खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
13 जहाँ पोथ्राहरू छन् त्यहाँ विशाल सल्लाका रूखहरू उम्रनेछन्।
    वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्।
ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ।
ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ।
    यो चिन्ह कहिल्यै नाश हुने छैन्।”

मत्ती 3

बप्तिस्मा दिने यूहन्नाको कार्य

(मर्कूस 1:1-8; लूका 3:1-9,15-17; यूहन्ना 1:19-28)

त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले। तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए,

“मरुभूमिमा एकजना कराइरहेछन्:
‘परमप्रभुको बाटो तयार पार।
    उहाँका मार्गहरू सोझोबनाऊ।’”(A)

यूहन्नाको लुगा ऊँटको रौको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो। यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए। आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।

धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ। 10 अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढालिनेछ अनि आगोमा फालिनेछ।

11 “म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिस्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। 12 उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहूँ संग्रह गरी आफ्नो गहूँको भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”

यूहन्नाद्वारा येशूको बप्तिस्मा

(मर्कूस 1:9-11; लूका 3:21-22)

13 त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो। 14 तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन्-भन्ने कोशिश गरे उनले सोधे, “तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैंले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।”

15 येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।

16 त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो। 17 तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, “यिनी मेरो प्यारो पुत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International