Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 31

यहोशू नयाँ नायक

31 तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने। मोशाले तिनीहरूलाई भने, “म अहिले 120 बर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्।

“परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ। ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ। शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”

तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ। मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ। परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।”

मोशाले व्यवस्था लेख्नुहुन्छ

तब मोशाले व्यवस्थाको पुस्तक लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए। 10 त्यस पछि मोशाले ती बूढा-प्रधानहरूलाई भने, “प्रत्येक सातबर्षको अवधिको अन्तमा यी शिक्षाहरू प्रत्येक आश्रयको उत्सवको दिन स्वतन्त्रताको बर्षमा पढ। 11 त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ। 12 पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिक्नेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्। 13 यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिक्नेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”

परमप्रभुले मोशा र यहोशूलाई बोलाउनु हुन्छ

14 परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए।

15 परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो। 16 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्। 17 त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आपत र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’ 18 तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु।

19 “यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्। 20 जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सक्दो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्। 21 तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।”

22 यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए।

23 तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”

इस्राएलीहरूलाई मोशा चेताउनी दिन्छन्

24 यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके, 25 तिनले लेवीहरूलाई आज्ञा दिए। (यी मानिसहरू परमप्रभुका करारको सन्दूक बोक्छन्।) मोशाले भने, 26 व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विरूद्धमा साक्षीको रूपमा हुनेछ। 27 म जान्दछु तिमीहरू अट्टेरी गर्नेछौ। 28 तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु। 29 म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुशरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।”

मोशाको स्तुति गीत

30 तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकून्जेलसम्म सुनाए।

भजनसंग्रह 119:97-120

मेम्

97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
    म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
    तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु,
    किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
100 मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु
    किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
101 मेरो प्रत्येक पाठशालाहरू
    बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
    यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
103 तपाईंका वचनहरू मेरो मुखमा
    मह भन्दा पनि मीठा छन्।
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
    यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।

नुन्

105 हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन्
    जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
106 तपाईंको नियमहरू असल छन्।
    म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
107 हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु।
    कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुन:र्जिवित पार्नु होस्!
108 हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्।
    अनि तपाईंका नियमहरू सिकाउनु होस्।
109 मेरो प्राण अनवरत विपदमा परेको छ
    तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
110 दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे।
    तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।
111 हे परमप्रभु, म सधैँ तपाईंको करार पत्र पालन गर्नेछु।
    यसले मलाई खुशी पार्दछ।
112 म मेरो जीवनको अन्त सम्म नै,
    सकेसम्म तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।

समेख्

113 हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु,
जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्।
    तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
114 मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्।
    हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।
115 हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्,
    अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
116 हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु।
    म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
117 परमप्रभु, मलाई साथ दिनुहोस र म बाँच्ने छु।
    म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
118 हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ।
    किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।
119 परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो।
    यसैले म तपाईंको करारलाई सदा-सर्वदा मान्ने नै छु।
120 हे परमप्रभु, म तपाईंबाट भयभीत छु।
    म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।

यशैया 58

मानिसहरूलाई परमेश्वरलाई पछ्याऊ भन्नु पर्छ

58 तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकन चिच्याऊ।
    तुरही बजे जस्तै चिच्याऊ।
मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ।
    याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।
तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफैं प्रत्येक दिन मलाई पूज्न आउँछन्।
    अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्।
तिनीहरू धार्मिक-विधानमा बाँचेको
    अनि परमेश्वरका असल आज्ञा अनुशरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्।
तिनीहरू मसित सही न्याय माँग्छन्।
    तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।

अब ती मानिसहरू भन्दछन्, “तपाईंलाई सम्मान गर्न हामीले उपवास बस्यौ। तर तपाईंले किन हामीलाई हेर्नुहन्न? हामीले हाम्रो शरीरहरूलाई तपाईंको सम्मान गर्नु पीडा दियौ। तपाईंले किन हामीलाई हेरचाह गर्नुहुन्न?”

तर परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले विशेष दिनमा उपवास बसेर स्वयंलाई आनन्दित पार्यौ। अनि तिमीहरूले आफ्ना दासहरूलाई दण्ड दियौ। तिमीहरू भोको छौ, तर भोजनको लागि होइन। तिमीहरू मानिसहरूलाई आफ्ना दुष्ट हातहरूले कुट्नलाई भोको छौ। जब तिमीहरूले भोजन खान छोडयौ त्यो मेरो लागि होइन। तिमीहरूले आफ्ना आवाज मेरो स्तुति गाउनँ प्रयोग गरेनौ। के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थें र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्तो चाहनु भएको हो?

“म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ। म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”

यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिँड्नेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ। त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।”

तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ। 10 तिमीहरूले भोको मानिसहरूसँग दु: ख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दु: ख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।

11 परमप्रभुले सधैँ तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुख्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको स्रोत जस्तै हुनेछौ।

12 तिमीहरूका शहरहरू धेरै बर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेंछन्।”

13 त्यस्ता कुराहरू हुनेछन् जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ। 14 त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिम्रो पुर्खा याकूबका थिए। परमप्रभु आफैंले ती कुराहरू भन्नुभयो।

मत्ती 6

येशूद्वारा दान दिने बारे शिक्षा

“होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।

“जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्। तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस्। तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।

येशूद्वारा प्रार्थना बारे शिक्षा

(लूका 11:2-4)

“जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।

“जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी। त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर:

‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
    हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
10 हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्,
    अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
11 आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।
12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।
    जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
    तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’[a]

14 यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। 15 यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।

येशूद्वारा उपवास बारे शिक्षा

16 “जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन। कपटीहरूले जस्तो आचरण नगर। आफू उपवास बसेको कुरा मानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँच्चो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्। 17 यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ। 18 तब मानिसहरूले तिमीहरू उपवास बसिरहेकाछौ भन्ने कुरा थाहा नपाऊन तर गुप्तमा भएका तिम्रा पिताले सबै कुराहरू देख्नुहुनेछ। अनि उहाँले नै इनाम दिनुहुनेछ।

धन-सम्पत्तिभन्दा परमेश्वर महान् हुनुहुन्छ

(लूका 12:33-34; 11:34-36; 16:13)

19 “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। 20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। 21 कारण जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।

22 “तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। 23 तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।

24 “कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।

परमेश्वको राज्यमा पहिले आऊ

(लूका 12:22-34)

25 “यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। 26 आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ। 27 फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन।

28 “अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैँचाको फूलहरूको विचार गर, ती कसरी बढ्छन्। तिनीहरू न ता आफ्नो लागि परिश्रम गर्दछन्, न ता वस्त्रका निम्ति धागो कात्दछन्। 29 तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जत्ति पनि सिंगारिएका थिएनन्। 30 यस प्रकार परमेश्वरले जमीनमा झारपात उमारेर सजाउँनु हुन्छ। ती आज देखिन्छ भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा पहिराइदिनु हुनेछैन र? अल्पविश्वासी हो।

31 “यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’ 32 परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। 33 तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ, 34 जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यत्ति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International