M’Cheyne Bible Reading Plan
मानिसहरू जो पूजामा भाग लिनु सक्छन्
23 “गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसँग परमप्रभुको पूजामा भाग लिन सक्दैनन्। 2 यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।
3 “अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्। 4 किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए। 5 तर परमप्रभु तिमीहरूका परमेश्वरले बिलामका कुरा सुन्नु भएन र तिनको सराप परमप्रभुले तिमीहरूको निम्ति आशीर्वादमा परिणत गरिदिनु भयो। कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो। 6 जबसम्म तिमीहरू बाँचिरहन्छौ तबसम्म अम्मोनी र मोआबीहरूसित कहिल्यै सन्धि स्थापित गर्नु हुँदैन तथा कदापि तिनीहरूसित मैत्री संन्धि गर्नु हुँदैन।
इस्राएलीहरूले स्वीकार्नु पर्ने मानिसहरू
7 “तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले मिश्रीहरूलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ। 8 एदोमीहरू र मिश्र देशवासीहरूका तेस्रो पुस्ताका सन्तानहरूबाट इस्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सक्छन्।
सिपाहीहरूको छाउनी सफा राख्नु
9 “जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लड्न युद्ध गर्न जान्छन प्रत्येक चीजबाट टाढामा बस्नुपर्छ जसले तिमीहरूलाई अशुद्ध बनाउँछ। 10 यदि तिमीहरूमध्ये केही स्वप्न दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ। 11 जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सक्छ।
12 “तिमीहरूले छाउनी बाहिर यस्तो ठाउँ पनि बनाउनु पर्छ जहाँ तिमीहरू दिसा गर्न सक्छौ। 13 तिमीहरूले आफ्ना अरू हतियारसँगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाडल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ। 14 किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।
अरू नियमहरू
15 “यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन। 16 आफ्नो इच्छा अनुसार उसले कहाँ मन पराउँछ, जुन शहर उसले रोज्छ, त्यहीं बस्न सक्छ। तिमीले उसलाई कष्ट दिनु हुँदैन।
17 “एक जना इस्राएली स्त्री अथवा पुरूष मन्दिरको वेश्या हुन सक्तैन। 18 त्यस पुरूष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुकोलागि उपयोग गर्नु हुँदैन।
19 “जब तिमीहरूले कुनै अर्को इस्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्। 20 तिमीहरूले आफ्नो इस्राएली भाइलाई दिएको ऋणमा ब्याज लगाउनु हुँदैन तर कुनै विदेशीलाई दिएको ऋणमा ब्याज लगाउन सक्छौ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएको भूमिमा प्रवेश गर्नु लागेको छौ अनि तिमीहरूले जे गर्छौ त्यसमा परमप्रभु तिमीहरूका परमेश्वरले आशीर्वाद दिनुहुन्छ।
21 “परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउँछु भनी जे भाकल गर्छौ त्यो चढाउनमा ढिलो नगर किनभने परमप्रभु तिमीहरूका परमेश्वरले त्यो दावी गर्नुहुन्छ र यदि आफूले गरेको भाकल पूरा गर्न नसके तिमीलाई पाप लाग्नेछ। 22 तर यदि भाकल गरेका छैनौं भने त्यो पाप लाग्ने छैन। 23 तर आफूले गर्छु भनेको कुरो पूरा गर्नै पर्छ। यदि कुनै विशेष कुरो चढाउँछु भनी विषेश भाकल गरे त्यो तिमीहरूले पूरा गर्नु नै पर्छ। परमेश्वरले तिमीहरूलाई भाकल गर्न लगाउनु भएको होइन, यसकारण आफूले गरेको भाकल पुरा गर्नै पर्छ।
24 “जब तिमी कसैको दाखबारी भएर जान्छौ तिमीले जति खान सक्छौ त्यहीं टिपेर खान सक्छौ तर आफ्नो डालोमा हालेर घर लान सक्दैनौ। 25 जब तिमी अरू मानिसको अन्नको खेत भएर कतै जान्छौ तिमीले सकेको अन्न टिपेर खान सक्छौ तर हँसियाले अन्न काटेर घर लिएर जान सक्दैनौ।
1 परमप्रभुको प्रशंसा गर!
कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।
त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ।
2 उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ।
3 त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
अनि उसको भद्रता सदा-सर्वदा रहने छ।
4 सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
5 मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो।
एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
6 त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
असल मानिसको सधैँ स्मरण गरिन्छ।
7 उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
8 त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन।
उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
9 त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ।
अनि उसको उपकार सर्वदा रही रहने छ।
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।
तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्।
तर त्यसपछि तिनीहरू अल्पिने छन्।
दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर।
2 परमप्रभुको नाउँ अहिले
र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3 परमप्रभुको नाउँको प्रशंसा
पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान
तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!
परमप्रभुको प्रशंसा गर!
तिनीहरूका पापका कारण इस्राएलले दण्ड पायो
50 परमप्रभु भन्नुहुन्छ,
“इस्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि, मैले तिमीहरूकी आमा यरूशलेमलाई त्यागिदिए।
तर कानूनी त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ?
मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएको थिएँ?
ताकि ऋण चुकाउनलाई मैले तिमीलाई बेचें? अँहँ!
तिमीहरू बेचियौ कारण तिमीहरूले पापपूर्ण कामहरू गर्यौ।
तिम्रो आमालाई टाढा पठाइयौ किनभने तिमीहरूले नराम्रा कामहरू गर्यौ।
2 म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्।
मैले घरिघरि बोलाईनै रहें।
तर के म तिमीहरूलाई बचाउँन सक्तिनँ भनेर सोच्दछौ?
तिमीहरूलाई आफ्ना सारा सङ्कटहरूबाट बचाउँन मसँग शक्ति छ।
हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने
त्यो सुख्खा हुनेछ।
माछा पानी बिना मर्ने छ,
अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
3 दु:खमा लगाउने कालो भन्दा कालो लुगा जस्तै
म आकाश अन्धकार बनाउन सक्छु।”
परमेश्वरका दास पूर्णरूपमा परमेश्वरमा नै आश्रित हुन्छ
4 परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दु:खी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाउँनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ। 5 परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन। 6 मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि, मेरो अनुहारमा थुके पनि म उनीहरूबाट अनुहार लुकाउने छैन। 7 परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले मप्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु, म जान्दछु कि म निराश हुने छैन।
8 परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ। 9 तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मद्यले तिनीहरूलाई खानेछ।
10 ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।
11 परमप्रभु भन्नुहुन्छ, “हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैंले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।”
एक हजार वर्ष
20 मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अत्तल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्गलो पनि समातेको थियो। 2 त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङ्गलोले एक हजार वर्षको निम्ति बाँधे। 3 त्यो स्वर्गदूतले त्यो सर्पलाई त्यो अत्तल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गदूतले सर्पलाई ताला लगाई दिए ताकि एक हजार वर्षसम्म राष्ट्रहरूलाई छल्न नसकोस्। एकहजार वर्षपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ।
4 तब मैले केही सिंहासनहरू जहाँ मानिसहरू बसेको देखें। यी मानिसहरू तिनीहरू थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरूको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरू येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरूले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरूले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरू फेरि जीवित भए अनि ख्रीष्टसँग एक हजार वर्ष सम्म शासन गरे। 5 एक हजार वर्ष पूरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्।
यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो। 6 ती मानिसहरू जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरू धन्य अनि पवित्र हुन्। यी मानिसहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरू परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरू हुनेछन्। तिनीहरूले एक हजार वर्षको निम्ति शासन गर्नेछन्।
शैतानको पराजय
7 जब एक हजार र्वष पूरा हुन्छ शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ। 8 शैतान पृथ्वीका समस्त राष्ट्रहरू गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरू भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड़ लाग्नेछ अनि तिनीहरू समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।
9 शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरूका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो। 10 अनि शैतान जसले मानिसहरूलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै फ्याँकिएको थियो। त्यहाँ दिन रात सदासर्वदा तिनीहरूलाई सजाय भोगाइनेछ।
संसारको मानिसहरूको न्याय
11 तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए। 12 अनि मैले ती महान अनि साधारण मानिसहरू जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरू पनि खुल्ला थिए। यी मरेका मानिसहरूलाई तिनीहरूले गरेका कर्महरूको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।
13 समुद्रले ती मृत मानिसहरूलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरूसँग भएका मृत मानिसहरू दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो। 14 अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो। 15 यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेट्टाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।
© 2004, 2010 Bible League International