M’Cheyne Bible Reading Plan
निस्तार-चाड
16 “आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो। 2 परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ। 3 यो बलिमा खमीर भएको रोटी खानु हुँदैन। तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानु पर्छ। यस रोटीलाई ‘कष्टको रोटी’ भनिन्छ। मिश्र देशमा तिमीहरू कति कष्टमा थियौ यसले त्यो सम्झना गर्नमा सहायता गर्छ। सम्झना गर कति चाँढै तिमीहरूले त्यो भूमि छाड्नु पर्यौ! तिमीहरूले मिश्र छोडेको त्यो दिनलाई सम्झना गर्नुपर्छ जब तिमीहरू बाँचेका छौ। 4 यस देशका मानिसहरूको कसैको घरमा पनि सात दिनसम्म खमीर रहनु हुँदैन। पहिलो दिनको साँझमा चढाएको बलिको मासु पनि अर्को दिन बिहान भन्दा अघि नै खाई सक्नुपर्छ।
5 “परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन। 6 तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति वेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ। 7 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा निस्तार बलिको मासु पकाउनु पर्छ अनि खानु पर्छ। तब बिहान तिमीहरू घर जान सक्छौ। 8 तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौं दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ।
साताहरूको चाड (पेन्टकोस्ट)
9 “बाली काट्न शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ। 10 तब परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति साताहरूको चाड मनाउनुपर्छ। तिमीले उपहार चढाउँन चाहेको कुनै विशेष उपहार चढाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले कति धेरै आशीर्वाद दिनु भएको छ त्यही परिमाणले उपहार चढाऊ। 11 परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधवाहरूलाई पनि लैजाऊ। 12 सम्झना गर मिश्र देशमा तिमीहरू पनि कमारा-कमारीहरू थियौ। यसकारण होशियारीसित विधिहरू पालन गर।
छाप्रो-बासको चाड
13 “खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ। 14 आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ। 15 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ।
16 “परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा बर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ। 17 परमप्रभुले उसलाई कति धेरै आशीर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सक्छ उसले बलि दिनुपर्छ।
मानिसहरूका लागि न्यायकर्त्ता तथा अगुवाहरू
18 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ। 19 जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्। 20 उद्धारता अनि न्याय! तिमीहरूले सधैँ असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।
परमेश्वर मूर्तिहरू घृणा गर्नुहुन्छ
21 “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्तिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन। 22 परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोसो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।
दाऊदको भजन।
1 मेरो आत्मा, परमप्रभुको प्रशंसा गर!
प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
2 हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर
अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
3 परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ।
उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
4 परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ
अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
5 परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ।
उहाँले हाम्रो जवानीलाई
गरूड़ जस्तो नयाँ तुल्याउनुहुन्छा।
6 परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ,
जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
7 परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो।
परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।
8 परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ।
परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
9 परमप्रभुले सधैँ आलोचना गर्नु हुन्न
परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नु हुन्न।
10 हामीले परमेश्वरको विरूद्ध पाप गर्यौं।
तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन,
जसको लागि हामी योग्य थियौं।
11 परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा
पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ।
12 अनि परमेश्वरले हाम्रो पापहरू
पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
13 परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ,
जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
14 परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ,
हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।
15 हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ।
हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।
16 परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं।
जुन फूलहरू छिट्टै हुर्किन्छन्,।
त्यसपछि तातो बतासको झोका आएर मर्छन।
झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो।
17 तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ माया गर्नुभयो
अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ।
परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।
18 परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ,
जसले उहाँको करार पालन गर्छ।
परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ,
जसले उहाँको आदेश पालन गर्छन्।
19 परमेश्वरको सिंहासन स्वर्गमा छ।
अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ।
20 हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर।
तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्।
तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
21 हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर।
तिमीहरू उहाँको दासहरू हौ।
जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ।
22 परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो।
परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ,
अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ!
हे मेरो प्राण परमप्रभुको गुण-गान गर!
परमेश्वर सधैँ आफ्ना मानिसहरूसँग हुनुहुन्छ
43 याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ। 2 जब तिमीमाथि कष्टहरू पर्छन्, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेट्ने छैन्। 3 किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परम-पवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ। 4 तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।
5 “यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु। 6 म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा-टाढा छन्, मलाई देऊ। 7 ती सबै मानिसहरू देऊ जो मेरा हुन् मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।”
8 परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्। 9 सबै मानिसहरू र जाति-जातिहरू राष्ट्र एकैसाथ भेला हुनुपर्छ। हुन सक्छ तिनीहरूका झूटा देवताहरू मध्ये एकजनाले प्रारम्भमा के भएको थियो बताउन चाहन्छ। तिनीहरूले आफ्ना कुरालाई प्रमाणित पार्नलाई साक्षीहरू पनि ल्याउनु पर्छ। साक्षीहरूले साँच्चो कुरा बोल्नु पर्छ। तब तिनीहरू ठीक रहेछन् भन्ने साबित हुनेछ।”
10 परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन। 11 म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन। 12 म एकजना हुँ जसले तिनीहरूसित बोल्यो। मैले तिमीलाई बचाएँ, मैले ती कुराहरू भनें। त्यो तिमीसित जो थियो नयाँ वस्तु होइन। तिमी म साक्षी हौ अनि मेरो तिम्रो परमेश्वर हुँ।” परमप्रभु आफैंले यी कुरा भन्नुभयो, 13 “म सधैँ नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्लिन सक्तैनँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउनँ सक्तैन।”
14 परमप्रभु, इस्राएलका परम-पवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। (कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।) 15 म परमप्रभु तिमीहरूका परम-पवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”
परमेश्वरले आफ्ना मानिसहरूलाई पुन: बचाउनु हुन्छ
16 परमप्रभुले समुद्रमा बाटोहरू बनाउनु हुनेछ। उहाँले धमिलो पानीबाट पनि आफ्ना मानिसहरूको लागि बाटो बनाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, 17 “मानिसहरू ज-जसले मेरो विरूद्ध तिनीहरूको रथहरू, घोडाहरू, र सेनाहरू सहित लड्ने छन तिनीहरू पराजित हुनेछन्। तिनीहरू फेरि उठ्न सक्ने छैनन तिनीहरू नष्ट हुनेछन्। तिनीहरू मैनबत्ती जस्तो थामिने छन्। 18 यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै बर्ष अगडी जे भइसकेको छ त्यसलाई नसोच। 19 किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरुभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुख्खा जग्गाहरूमा नदीहरू बगाउनेछु। 20 यसले गर्दा जङ्गली पशुहरू सम्मले मलाई धन्यवाद प्रकट गर्नेछन्। विशाल पशुहरू र चराहरूले पनि मप्रति धन्यवाद प्रकट गर्नेछ। तिनीहरूले मलाई सम्मान गर्नेछन् जब म मरुभूमिमा पानी पार्नेछु। म यसो गर्नेछु मेरा मानिसहरूलाई पानी दिनलाई-जसलाई मैले रोजे। 21 ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।
22 “याकूब, तिमीले मेरो पुकारा गरेनौ। किनभने तिमी इस्राएलीहरू मसँग थकित भएकाछौ। 23 तिमीहरूले मेरो लागि होमबलि चढाउनलाई आफ्नो भेंडा़ ल्याएनौ। तिमीहरूले मेरो सम्मान गरेनौ। तिमीहरूले मेरोलागि बलि चढाएनौ। मैले बलिहरू चढाऊ भनेर जबरजस्ती गरिनँ। मैले धूपहरू सत्काउनु भनेर कर लगाइन जब सम्म तिमीहरू थकित भयौ। 24 यसर्थ मेरो सम्मानकोलागि तिमीहरूले आफ्नो पैसाले केही पनि किनेनौ, तर तिमीहरूले मलाई आफ्नो पापको भारी बोकायौ। तिमीहरूले त्यतिन्जेल पाप गर्यौ जब सम्म म तिमीहरूका नराम्रा कुराहरूले अत्यन्त कमजोर भईन्।
25 “म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्। 26 तर तिमीहरूले मलाई सम्झनु पर्छ। हामी एकै साथ भेला हुनुपर्छ अनि निर्णय लिनुपर्छ जसले गर्दा तिमीहरू आफ्नो स्थिति प्रस्तुत गर्न सक्छौ अनि हामी के सही हो निर्णय लिनु सक्छौं। 27 तिमीहरूका पहिले पिता-पुर्खा पापी थिए। अनि तिमीहरूका वकीलहरूले मेरो विरूद्ध कुराहरू गरे। 28 यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराम्रा घटनाहरू इस्राएलमा हुनेछन्।”
समुद्र बाटकोपशु
13 त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो। 2 यो पशु भालूको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिँहको जस्तो मुख थियो। त्यो विशाल सर्पले त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।
3 त्यस पशुको एउटा टाउको चोट लागेको अनि मारिएको जस्तो देखिन्थ्यो। तर त्यो मृत्यु-घाउ निको भएको थियो। संसारका समस्त मानिसहरू आश्चर्य चकित भए अनि सबैले त्यस पशुलाई पछ्याए। 4 मानिसहरूले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरूले त्यस पशुको पनि उपासना गरे। तिनीहरूले सोंचे, “त्यो पशु जस्तो शक्तिशाली को छ? को त्यसको विरुद्धमा लडाईं गर्न सक्छ?”
5 त्यस पशुलाई अहङ्कारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो। 6 त्यो पशुले परमेश्वरको पक्षमा नराम्रा कुरा भन्नलाई मुख उघार्यो। त्यो पशुले परमेश्वरको नाउँको विरुद्ध, त्यो स्थानको विरुद्ध जहाँ परमेश्वर बस्नु हुन्छ अनि ती सबै, जो स्वर्गमा बस्छन् उनीहरूको विरुद्ध कुरा गर्यो। 7 त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरूको विरुद्ध युद्ध गर्ने अनि उनीहरूलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो। 8 समस्त मानिसहरू जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
9 यदि कुनै मानिसको कान छ भने त्यसले सुनोस्:
10 कुनै मानिस यदि कैदी हुनु छ भने,
तब त्यो मानिस कैदी हुने नैं छ।
कुनै मानिस तरवारले मारिनु पर्छ भने,
त्यो मानिस तरवारले नै मारिनेछ।
यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरूसँग धैर्य र विश्वास हुनुपर्छ।
पृथ्वी बाटको पशु
11 त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडा़को पाठाको जस्तो दुइवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो। 12 यो पशु पहिलेको पशु अघि उभिन्छ। अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरूलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो। 13 यो दोस्रो पशुले महान् चमत्कारहरू गर्छ। मानिसहरूको आँखा अघि स्वर्गबाट आगो पृथ्वीमा झर्र्न लाग्यो।
14 त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरूलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरू पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरूलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन। 15 त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो। 16 त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो। 17 यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।
18 कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।
© 2004, 2010 Bible League International