M’Cheyne Bible Reading Plan
हत्या गरिएको एकजना मानिस भेट्टाइए
21 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए। 2 तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ। 3 जब तिमीहरूले जान्ने छौ कुन चाँही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ। 4 शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ। 5 पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।) 6 मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ। 7 यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं। 8 हे परमप्रभु! तपाईंले इस्राएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौ, अब हामीलाई शुद्ध पार्नुहोस्। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस्।’ यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्। 9 यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।
युद्धमा पक्राऊ परेका स्त्रीहरू
10 “तिमीहरूले आफ्नो शत्रुहरू विरूद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ। 11 ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ। 12 तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ। 13 उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिम्रो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सक्छौ अनि तिनी तिम्री पत्नी हुन सक्छिन्। 14 यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच्न भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ।
जेठो छोरो
15 “कुनै मानिसको दुइ जना पत्नी हुन सक्छन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सक्छ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सक्छ। 16 जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन। 17 उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्नै पर्छ र त्यो नानीले दुइ गुणा अंश पाउनै पर्छ। किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।
अट्टेरी नानीहरू
18 “कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सक्छ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ। 19 तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ। 20 माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’ 21 तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।
अपराधीहरू मारिन्छन् अनि रूखमा झुण्डाइन्छन्
22 “कुनै एकजना मानिस पापको दोषी हुन सक्छ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सक्छन्। 23 त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाड्नु पर्छ। किनभने त्यो मानिस जसलाई रूखमा झुण्ड्याइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।
दाऊदको एउटा स्तुतिगीत।
1 हे परमेश्वर, म आत्मा र हृदय सहित
स्तुति-गीतहरू गाउँन तयार छु।
हे मेरो आत्मा, तँ उठ!
2 साङ्गीतहरू वीणाहरू उठ!
अनि अरूहरूलाई उठाऊ!
3 हे परमेश्वर, हामी तपाईंलाई
जातिहरू माझ गुण-गान गर्नेछौ।
4 परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ।
तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ।
5 हे परमेश्वर, आकाशभन्दा पनि माथि उठ्नुहोस्!
सारा संसारले तपाईंको महिमालाई देखोस्।
6 हे परमेश्वर, आफ्ना मित्रहरू बँचाउनलाई मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस।
अनि तपाईंको महान् शक्ति बँचाउनलाई प्रयोग गर्नुहोस्।
7 परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयोः
“म युद्ध जित्ने छु अनि विजयी भएर प्रफुल्लित हुनेछु!
म यो धर्ती आफ्ना मानिसहरूको माझमा भाग गरेर बाँडिदिने छु।
शेकेम तिनीहरूलाई दिनेछु।
म तिनीहरूलाई सुक्कोत बेंसी दिनेछु।
8 गिलाद र मनस्से मेरो हुनेछ।
एप्रैम मेरो शिरकवज हुनेछ,
यहूदा मेरो राजदण्ड हुनेछ।
9 मोआब मेरो खुट्टा धुने ठूलो गर्दुवा हुनेछ,
एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ,
म पलिस्तिलाई परास्त गर्ने छु अनि विजय भएको खुसीमा कराउने छु।”
10-11 तर तपाईंले हामीलाई त्यागेर जानु भयो!
तपाईं हाम्रा सेनाहरूसँग जानु भएन!
कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो?
कसले मलाई एदोमको विरूद्ध लडाइँ गर्न लैजाने हो?
12 हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्।
मानिसहरूले हामीलाई सघाउन सक्दैनन्!
13 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु!
मेरो प्रार्थनाहरूको लागि कान नथुन्नु होला!
2 दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्।
तिनीहरूले भनेका कुराहरू सत्य होइनन्।
3 मानिसहरूले मेरो बारेमा उपेक्षामूलक कुराहरू गर्दछन्।
मानिसहरूले विनाकारण ममाथि आक्रमण गर्दछन्।
4 मैले तिनीहरूलाई प्रेम गरें तर तिनीहरूले मलाई घृणा गरें।
यसैले अब म तपाईंलाई प्रार्थना गरिरहेछु।
5 मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरें।
तर तिनीहरूले मप्रति अनुचित कामहरू गरें।
म तिनीहरूलाई प्रेम गर्छु
तर तिनीहरूले मलाई घृणा गर्छन्।
6 मेरो शत्रुलाई उसको कु-कार्यका लागि दण्ड दिनुहोस्।
उनीहरू गल्ती हुन् भनी प्रमाणित गर्ने मानिस खोज्नु होस्।
7 न्यायकर्त्ताले मेरो शत्रु गल्लीमा छन् भनेर निर्णय दिओस्,
अनि उसलाई दोषी प्रमाण गरोस्।
मेरो शत्रुले भनेका सबै कुराहरू उनीहरूमाथि नै परोस्।
8 मेरो शत्रु चाँडै मरोस्।
अर्को कसैले उसको स्थान पाओस्।
9 मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन्,
र तिनका पत्नी विधवा होऊन्।
10 तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस्
र तिनीहरू भिखारी भई जाऊन्।
11 मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्।
परदेशीहरूले उसले गर्ने सबै कामहरू लैजाऊन्।
12 भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्।
भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दर्शाउँदैनन्।
13 मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्।
अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।
14 भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ।
अनि भरोसा छ उसकी आमाले गरेका पापहरू कहिल्यै मेटिन्दैन्।
15 भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन।
अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।
16 किनभने त्यस दुष्ट मानिसले कहिल्यै राम्रो काम गरेन।
त्यसले कसैलाई प्रेम गरेन,
त्यसले दीन-दुःखीको जीवन कठिन र असहाय बनाई दियो।
17 त्यस दुष्ट मानिसले अरूकोलागि
नराम्रो होस् भन्ने इच्छा गर्यो अनि सराप्यो।
त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन।
यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।
18 सराप नै उसले लाउने लुगाहरू होस्।
सराप नै त्यसको पिउने पानी बनियोस्।
त्यो दुष्ट मानिसले शरीरमा लगाउने तेल नै
सराप होस्।
19 सराप नै उसले कम्मरमा बाध्ने पटुका होस्।
सराप नै उसको कम्मरमा बाँधिने पेटी होस्।
20 भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ।
भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू,
जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ।
21 हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस्,
जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु।
तपाईंसँग त्यस्तो महान् प्रेम छ, यसैले मलाई बचाउनु होस्।
22 म खाली गरीब, असहाय मानिस हुँ।
म वास्तवमा उदास छु, मेरो हृदय टुक्रा-टुक्रा भएको छ।
23 म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो,
दिनको अन्तिम प्रहारको लामो छाँयाँ जस्तो।
म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ।
24 मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु।
मैले आफ्नो ओजन हराइसकें अनि दुब्लो भईरहेछु।
25 दुष्ट मानिसहरूले मलाई अपमान गरे।
तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए।
26 हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्!
तपाईंको स्नेहपूर्ण करूणा दर्शाएर मलाई बँचाउनु होस्!
27 तब ती मानिसहरूले बुझ्नेछन् कि तपाईंले मलाई सहयोग गर्नुभयो।
तब तिनीहरूले जान्नेछन् कि यो मलाई सहायता गर्ने शक्ति तपाईंको हो।
28 ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ।
तिनीहरूले मलाई आक्रमण गरे, यसकारण तिनीहरूलाई हराइयोस्।
तब, तपाईं को दास, म खुशी हुनेछु।
29 मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्!
तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।
30 म परमप्रभुलाई धन्यवाद दिन्छु।
म उहाँलाई धेरै मानिसहरूको समक्ष प्रशंसा गर्छु।
31 परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ,
परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ,
जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।
परमेश्वरले आफ्नो संसारमा शासन गर्नुहुन्छ
48 परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्।
तिमीहरू आफैंले आफूलाई इस्राएल भन्यौ।
तिमीहरू यहूदाको वंशहरू हौं।
तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ,
तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ।
तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।
2 “हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्।
तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्।
उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।
3 “जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ।
मैले ती कुराहरूको बारेमा भनेको थिएँ।
अनि मैले तिनीहरूलाई अचानक हुने बनाएँ।
4 मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदमै अट्टेरी थियौ।
तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ।
तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।
5 यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ।
मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिनीहरूको बारेमा भनेको थिएँ।
मैले यो गरें ताकि तिमीले भन्नु नपरोस्,
‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’
मैले यस्तो गरें भनी तिमीले भन्नु नपरोस,
‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन् भन्ने कुरा बतायो।’”
परमेश्वरले इस्राएललाई शुद्ध पार्नलाई दण्ड दिनु हुन्छ
6 “तिमीले के भयो भनेर ती घट्नाहरू देख्यौ र सुन्यौ।
यसैले तिमीले अन्य मानिसहरूलाई यी खबरहरू भन्नु पर्नेछ।
अब म तिमीलाई नयाँ समाचारहरू बारे बताउनेछु
ती कुराहरू अझ सम्म तिमी जान्दैनौ।
7 यी कुराहरू ती होइनन् जो अघिनै घटिसकेका थिए।
यी ती कुराहरू हुन जुन अहिले भइरहेकाछन्।
आज भन्दा पहिले तिमीले ती कुराहरू जानेको थिएनौ
यसैकारण तिमीले भन्न सक्तैनौ, ‘हामीले पहिल्यै जानेका थियौं भनेर।’
8 तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ।
तिमीले केही पनि सिकेनौ।
मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ।
म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरूद्ध उठ्नेछौ।
तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरूद्धमा आन्दोलन गर्यौ।
9 “तर, म धैर्यवान हुनेछु।
म यो आफ्नैलागि गर्नेछु।
तैपनि मलाई नरिसाएको देखेर मानिसहरूले मेरो प्रशंसा गर्नेछन्।
किनभने मैले तिमीलाई नाश गरिनँ।
10 “हेर, म तिमीलाई शुद्ध पार्नेछु।
मानिसहरूले शुद्ध चाँदी बनाउनु तातो आगो प्रयोग गर्दछन्।
तर म तिमीलाई कष्टहरू दिएर शुद्ध पार्नेछु।
11 यो म स्वयंकोलागि गर्नेछु।
तिमीले मलाई त्यस्तो व्यवहार गर्नेछैनौ, मानौ म मुख्य होइन,
म मेरो महिमा र प्रशंसा कुनै झूटा देवताहरूलाई लैजान दिने होइन्।
12 “हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्।
इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु।
यसैले मलाई ध्यान दिएर सुन्।
म नै आदि हुँ,
र म नै अन्त हुँ।
13 मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ।
मेरो दाहिने हातले आकाश बनाएँ,
अनि यदि मैले तिनीहरूलाई बोलाएँ भने,
तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्।
14 “तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन।
के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अँहँ।
त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ,
उसले जे मन पर्छ त्यही गर्छ।”
15 परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, ‘म उसलाई बोलाउनेछु
अनि म उसलाई ल्याउँनेछु।
म उसलाई सफल तुल्याउनेछु।’
16 यहाँ आऊ र मलाई ध्यान दिएर सुन्।
म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो
अनि आदिदेखि नै मैले स्पष्ट रूपले बोले,
यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।”
त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ, 17 ‘परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ,
“‘म तिम्रो परमप्रभु परमेश्वर हुँ।
म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ।
म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ।
18 यदि तिमीले मेरो कुरा मानेको भए,
तिमीहरूकहाँ पूर्ण रूपमा
बगीरहेको पानी सरह शान्ति आउने थियो।
असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह,
तिमीहरूकहाँ आउने थियो।
19 यदि तिमीहरूले मेरो कुराहरू मानेको भए,
तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियौ।
तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए।
यदि तिमीले मेरा आज्ञा पालन गरेको भए,
तिमीहरू नाश हुने नै थिएनौ। तिमीहरू लगातार मसँग नै हुने थियौ।’”
20 मेरा मानिसहरू बाबेल त्याग।
मेरा मानिसहरू, कल्दीहरूबाट भाग।
आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन।
यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ।
मानिसहरूलाई भन,
“परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।”
21 परमप्रभुले मरुभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो,
तर तिनीहरू कहिल्यै तिर्खाएनन्।
किनभने आफ्ना मानिसहरूका निम्ति
चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो।
उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।
22 तर परमप्रभुले फेरि भन्नुभयो,
“त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”
बेबीलोन ध्वंशभयो
18 तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो। 2 त्यो स्वर्गदूत जोडले करायो,
“उसको संहार भयो!
बेबिलोन महानगर संहार भयो!
ऊ अशुद्ध आत्माको बासस्थान बनियो।
ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो।
ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो।
ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो।
3 पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको
अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्।
पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्।
अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”
4 त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने,
“मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क,
जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ।
तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्।
5 त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ।
त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।
6 उसले जस्तो गरेकी थिई, ठीक त्यही गर,
यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ।
उसले अरूलाई जस्तो दाखरस तयार पारेकी थिई,
त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।
7 त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई।
उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ।
ऊ आफैंले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ,
म विधवा होइन,
मैले कहिल्यै दु:ख अनुभव गरिनँ।’
8 यसर्थ यी कष्टहरू उमाथि आउनेछन्,
मृत्यु, शोक, अनि अनिकाल,
किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ,
जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।”
9 “पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्। 10 ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्,
‘हे! शक्तिशाली नगर बेबिलोन!
दु:खै-दु:ख होस्! तिमीलाई
एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’
11 “पृथ्वीका व्यापरीहरू रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन। 12 तिनीहरू सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्। 13 ती व्यापारीहरू दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा़, घोडा, रथ, कमारा अनि कमारीहरू मानव-आत्माहरू पनि बेच्छन्। तिनीहरू विलाप गर्नेछन् अनि भन्नेछन्,
14 ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिमीलाई त्यागे,
तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए।
तिमीले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’
15 “ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू रुनेछन् अनि शोक गर्नेछन्। 16 तिनीहरूले भन्नेछन्:
‘कष्ट! कष्ट महानगरलाई,
ऊ मिहीन मलमल, बैजनी,
अनि रातो बस्त्रको पहिरनमा थिई।
ऊ सुन, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई!
17 यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’
“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे। 18 तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!’ 19 तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने,
‘कष्ट! महानगरको निम्ति कति कष्ट!
सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए!
तर घण्टा भरमा त्यसको ध्वंस भयो।
20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ!
खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू।
किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’”
21 त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने:
“महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ।
अनि फेरि कहिल्यै पाइनेछैन।
22 वीणा अनि अरू वाद्य यन्त्र जस्तै बाँसुरी
अनि तुरहीहरूबाट कहिल्यै मानव सँगीत सुनिनेछैनन्।
तेरोमा फेरि कुनै व्यवसायको
कर्मी पाइने छैन।
तेरोमा कहिल्यै जाँतोको
आवाज सुनिने छैन।
23 तेरोमा बत्तीको ज्योति
फेरि कहिल्यै चम्कने छैन।
वेहुला-वेहुलीको स्वर
तेरोमा सुनिने छैन।
तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए,
समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए।
24 अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्,
तिनीहरूको रगतको दोषी छ बेबिलोन।”
© 2004, 2010 Bible League International