M’Cheyne Bible Reading Plan
मनश्शे अनि एप्रैमको लागि आशीर्वाद
48 केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए। 2 जब त्यहाँ यूसुफ पुगे कसैले इस्राएललाई भने, “तिम्रो छोरो यूसुफ तपाईंलाई भेट्न आएका छन्।” इस्राएल खुबै दुर्बल भएका थिए तापनि तिनले आफ्नो ओछ्यानबाट उठेर बस्ने चेष्टा गरे।
3 तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजमा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो। 4 परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा सधैँको निम्ति अधिकार जमाउनेछन्।’ 5 अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्। 6 यसर्थ यी दुइ भाइ मेरा छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिम्रा अरू छोराहरू जन्मे, ती तिम्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्। 7 पद्दनआरामबाट यात्रा गेरपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिन् हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौ। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहेम हो)”
8 तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?”
9 यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।”
इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”
10 इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन गर्दै अङ्गालो हाले। 11 तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरू समेत मलाई भेटगराउँनु भयो।”
12 यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए। 13 यूसुफले एप्रैमलाई दाहिने तिर र मनश्शेलाई आफ्नो देब्रेतिर राखे। (यसरी एप्रैम याकूबको देब्रे र मनश्शे दाहिने पट्टी थिए।) 14 तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे। 15 अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने,
“मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे,
अनि परमेश्वरले नै मेरो जीवनभरि डोर्याउँनु भयो।
16 उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो।
अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ।
मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्।
तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
17 यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खुशी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते। 18 यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्नु होस्।”
19 तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि ऊ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”
20 यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने,
“जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिंदा,
तिमीहरूको नाउँ उच्चारण गर्नेछन्।
तिनीहरूले भन्नेछन्, ‘परमेश्वरले तिमीहरूलाई पनि
एप्रैम र मनश्शे झैं महान बनाउन्।’”
यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान् बनाए।
21 तब इस्राएलले यूसुफलाई भने, “हेर, मेरो अन्तिम समय आइसकेको छ। तर परमेश्वरले तिमीलाई सधैँ सघाउनु हुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूको पिता पुर्खाहरूको भूमिमा लैजानु हुनेछ। 22 जुन कुरो तिम्रा दाज्यू-भाइहरूलाई दिइनँ त्यो तिमीहरूलाई दिएको छु। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्नको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जितें।”
जकरिया र इलीशिबासँग मरियमको भ्रमण
39 लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गईन्। 40 तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्। 41 जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।
42 तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ। 43 यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु पर्यो? 44 जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक हर्षले उफ्रियो। 45 तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”
मरियमद्वार परमेश्वरको प्रशंसा
46 त्यसपछि मरियमले भनिन्,
47 “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ,
अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।
48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो।
अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ।
उहाँको नाउँ पवित्र होस्।
50 जसले परमेश्वरलाई उपासना गर्छ,
उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ।
उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ,
अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ,
तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ।
उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न,
हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”
56 मरियम इलीशिबासँग प्रायः तीन महीनासम्म बसिन्। त्यसपछि घर फर्किन्।
यूहन्नाको जन्म
57 इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्। 58 तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसँग खुशी थिए।
59 बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबुको नाउँ थियो। 60 तर उसकी आमाले भनिन्, “होइन, उसको नाउँ यूहन्ना हुनेछ।”
61 मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।” 62 त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?” भनिसोधे।
63 जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे। 64 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे। 65 अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले। 66 जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।
जकरियाद्वारा परमेश्वरको प्रशंसा
67 त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः
68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर।
कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो,
अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
69 परमेश्वरकै सेवक दाऊदका बंशबाट
उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
70 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ।
धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।
71 उहाले हामीलाई शत्रुहरूदेखि,
अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।
72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ।
उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
73 उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएको थियो की
74 उहाँले हामीलाई हाम्रो शत्रुहरूको पन्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ,
औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
75 जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं।
76 “ए बालक, अब तिमी, महा-महिमाको अगमवक्ता कहलाइनेछौ।
उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।
77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो बुझाउनेछौ।
78 “परमेश्वरको प्रेमपूर्ण करूणा पाएर,
हामीमा स्वर्गबाट एउटा नयाँ उज्यालो ज्योति चम्कनेछ।
79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ।
उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”
80 यसरी नै ती बालक बढ्दै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।
14 अय्यूबले भने,
“हामी सबै मानिसहरू हौं।
हाम्रो आयु छोटो अनि सङ्कटहरूले भरिएको छ।
2 मानिसको जीवन एउटा फूल जस्तो छ।
चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ।
यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो छोटो समयको लागि छ।
अनि त्यसपछि यो बिलाएर जान्छ।
3 त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ,
अनि न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ?
4 “म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस।
तर कसैले पनि त्यसो गर्न सक्तैन।
5 मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ?
तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो,
अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।
6 यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु होस्।
हामीलाई एक्लो छोडि दिनुहोस्,
ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।
7 “त्यहाँ एउटा रूखको आशा छ।
यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ।
त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।
8 यसको जराहरू भूईंमा बुढो भएर उम्रेला
अनि यसको ठुटो मैलोमा सड्नेछ।
9 तर पानीमा यो फेरि उम्रनेछ।
यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ।
10 तर जब मानिस मर्छ, ऊ लोप हुन्छ।
जव मानिस मर्छ, उसको अन्त हुन्छ।
11 नदीहरू सूख्खा नभइन्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला,
अनि मानिस अझ मृत नै हुनेछ।
12 जब कुनै मानिस मर्छ,
ऊ तल ढल्छ,
अनि ऊ उठ्दैन।
मृत मानिस उठ्न अघाडी
आकाश विलिन हुनेछ।
तर मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।
13 “म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ।
मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु।
जबसम्म तिमीहरूका रीस मर्दैन्।
तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।
14 यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ?
तब सम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला?
15 परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ
अनि म तपाईंलाई जवाफ दिनेछु।
तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न
तपाईंले इच्छा गर्नुहुनेछ।
16 तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ,
तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।
17 तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ।
मेरा अपराधहरू ढाक्नु हुनेछ।
18 “पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ।
विशाल चट्टानहरू फुस्केर टुक्रिए र झर्छन्।
19 पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ
बाढीहरूले मैदानको माटो काटिदिन्छ।
त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।
20 तपाईंले तिनीहरूलाई,
पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ।
तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ।
अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।
21 यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन।
यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
22 त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ,
अनि उ आफ्नै लागि चिच्याएर रून्छ।”
ख्रीष्ट सम्बन्धी क्रूसका सुसमाचार
2 प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ। 2 जतिन्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए। 3 जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ। 4 मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ। 5 तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
परमेश्वरको ज्ञान
6 पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन। 7 तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो। 8 यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। 9 तर, जस्तो शास्त्रमा लेखिएको छः
“कुनै आँखाले पनि नदेखेको,
कुनै कानले पनि नसुनेको,
कसैले चिन्ता सम्म नगरेको कुरा
आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”(A)
10 तर परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ।
आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ। 11 जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ। 12 अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं।
13 जब हामी यी कुराहरू गर्छौं, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौं। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौं। आत्मिक चीजहरू बताउनुलाई आत्मिक शब्दहरू नै बोल्छौं। 14 जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ। 15 तर आत्मिक मानिस सबै कुराहरू खुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः
16 “परमप्रभुको मनलाई कसले जान्न सक्छ?
परमप्रभुलाई कसले अह्राउन सक्छ?”(B)
तर हामीसँगत त ख्रीष्टको मन छ।
© 2004, 2010 Bible League International