Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 47

इस्राएल गोशेनमा बस्छन्

47 यूसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छाडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमीमा छन्।” फिरऊनकहाँ जान यूसुफले अरू आफ्ना पाँच दाज्यू-भाइहरूलाई रोजे।

फिरऊनले ती दाज्यू-भाइहरूलाई भने, “तिमीहरूको काम धन्धा के हो?”

तिनीहरूले फिरऊनलाई भने, “हजूर, हामीहरू भेंडा गोठालाहरू हौं। अनि हाम्रा अघिका पिता-पुर्खाहरू पनि भेंडा गोठालाहरू नै थिए।” तिनीहरूले फिरऊनलाई भने, “कनान देशमा अनिकालको घोर प्रकोप परेको छ। हाम्रा पशुहरूको निम्ति त्यहाँ कुनै भूमिमा घाँस छैन। यसर्थ हामी यस भूमिमा बस्न भनी आएका छौ र तपाईलाई अनुमतिको निम्ति बिन्ती गर्छौ।”

तब फिरऊनले यूसुफलाई भने, “तिम्रा बाबु अनि दाज्यू-भाइहरू तिमी कहाँ आएका छन्। तिनीहरूका लागि बस्ने कुनै ठाउँ मिश्रमा तिमी छान्न सक्छौ। आफ्ना बुबा र भाइहरूको लागि असल ठाउँ छानिदेऊ। गोशेनको भूमिमा तिनीहरूलाई बस्ने अनुमति देऊ। यदि तिनीहरूमध्ये कोही राम्रा गोठाला छन् भनी तिमीलाई थाहा छ भने तिनीहरूलाई मेरा पशुहरू हेर्ने जिम्मा देऊ।”

तब यूसुफले आफ्ना बाबु याकूबलाई फिरऊनसित भेट गर्न बोलाए। याकूबले फिरऊनलाई आशीर्वाद दिए।

अनि फिरऊनले उनलाई भने, “तिम्रो उमेर कति हो?”

याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस बर्ष पुगेको छु। यो मेरा पुर्खाहरूसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।”

10 याकूबले फिरऊनलाई आशीर्वाद दिए अनि उनले फिरऊनबाट विदा लिए।

11 यूसुफले फिरऊनको निर्देशन अनुसार आफ्ना बुबा र दाज्यू-भाइहरूलाई मिश्रको सबै भन्दा मलिलो भूमि रामसेसेमा राखे। 12 यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।

यूसुफ फिरऊनको निम्ति भूमि किन्छन्

13 अनिकालको समयले अझ भयंकर रूप धारण गर्यो। त्यस भूमिमा कतै खाद्य वस्तुहरू थिएन। अनिकालको समयले गर्दा मिश्र र कनानको अवस्था सोचनीय भयो। 14 त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए। 15 केही समय पछि मिश्र र कनान देशका मानिसको पैसा सकियो। तिनीहरूले आफ्नो सबै पैसा अन्न किनेरै खर्च गरे। यसर्थ मिश्रका मानिसहरूले यूसुफलाई भने, “हाम्रो पैसा सकियो हामीलाई खाने कुरा दिनुहोस्। यदि हामीले खान पाएनौ भने तपाईंको अघि नै हामी मर्नेछौं।”

16 तर यूसुफले भने, “तिमीहरूले आफ्नो गाई-वस्तुहरू मलाई देऊ तब म अन्न दिनेछु।” 17 यसर्थ मानिसहरूले आफ्नो सबै पशुहरूको बदलीमा खाद्यान्न किने। त्यस बर्ष यूसुफले मानिसहरूबाट भेंडा, बाख्रा, घोडा र गधा लिए अनि तिनीरूलाई खाद्यान्न दिए।

18 तर अर्को बर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन। 19 अब हामी तपाईंको नजरको सामुन्ने मर्नेछौं। तर यदि तपाईंले हामीलाई अन्न दिनु भयो भने हामी फिरऊनलाई जमीन दिनेछौ र उनको कमारा कमारी हुनेछौं। हामीलाई अन्नको बीउ दिनोस् त्यसलाई छरेर हामी अन्न उब्जाउन सक्छौं। त्यसो भए हामी मर्दैनौ र बाँच्छौ अनि हाम्रो निम्ति भूमिले फसल फेरि उब्जाउनेछ।”

20 यसर्थ यूसुफले फिरऊनको निम्ति मिश्र देशको सबै भूमि किने। सबै मानिसहरूले यूसुफलाई भूमि बेचे। अनिकाल लागेको हुनाले तिनीहरूले त्यसो गरे। 21 जहाँ सम्म साधारण मानिसहरूको कुरा छ, उनले तिनीरूलाई सम्पूर्ण मिश्रका शहरहरूमा घुमफिर गर्ने अनुमति दिए। 22 पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।

23 यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ।

24 “फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौ हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौ। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौ।”

25 मानिसहरूले भने, “हामी फिरऊनको कमारा हुन खुशी छौं। कारण तपाईंले हामीलाई हाम्रो जीवन दान दिनु भयो।”

26 यसर्थ यूसुफले त्यस समयमा एउटा नियम बनाए जुन आजसम्म चलिरहेको छ। त्यस नियमले यसो भन्छ “भूमिबाट उब्जेको प्रत्येक चीजको पाँच भागमा एक भाग चाहि फिरऊनको हो। पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”

“मिश्र देशमा मलाई नगाड”

27 इस्राएल मिश्र देशको गोशेन भूमिमा बसे। तिनका परिवारहरू बढेर अति विशाल भयो। तिनीहरूले मिश्रमा भूमि पाए अनि राम्रो जीवन बिताए।

28 याकूब मिश्र देशमा सत्र बर्षसम्म बसे। यसर्थ तिनी एक सय सैंतालीस बर्षका भए। 29 इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई साँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तँ साँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड। 30 मलाई त्यही जग्गामा गाड्नु जहाँ मेरा पिता-पुर्खाहरू गाडिएका छन्। मलाई मिश्रबाट बाहिर लगेर हाम्रा परिवारको चिहान घारीमा गाड्नु।”

यूसुफले भने, “तपाईंले जे भन्नु हुन्छ म त्यही गर्छु म वचन दिन्छु।”

31 तब याकूबले भने, “कसम खाऊ।” तब यूसुफले कसम खाए अनि भने उनले त्यही गर्नेछन् जे उनले गर्नु भनि कसम खाए। तब इस्राएल आफ्नो पलङ्गमाथि[a] अडेसिएर शिर निहुराए।

लूका 1:1-38

येशूको जीवन बारेमा लूका लेख्छन्

प्रिय थियोफिलस:

किनभने धेरै मानिसहरूले हाम्रा बीचमा घटेका घट्नाहरूको बिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्। तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्। हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।

जकरिया अनि इलीशिबा

यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो। ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए। तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।

जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। पूजाहारीहरूले सधैँ एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो। 10 त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।

11 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। 12 जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए। 13 ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछिन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु। 14 तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ। 15 परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैनन्। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।

16 “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने माध्यम हुनेछन्। 17 तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”

18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँच्चो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?”

19 ती स्वर्गदूतले जवाफ दिए, “म गाब्रिएल हुँ। म परमेश्वरको अघि खड़ा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरागर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो। 20 अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।”

21 बाहिरपट्टि, मानिसहरूले जकरियालाई पर्खिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए। 22 त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे। 23 जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे।

24 केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्, 25 “हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”

कन्या मरियम

26-27 इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। 28 ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”

29 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”

30 ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ। 31 सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु। 32 उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। 33 उहाँले याकूबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”

34 मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?”

35 ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ। 36 यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइएता पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्। 37 किनभने परमेश्वरमा जे कुरा पनि सम्भव छ।”

38 मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि हुनदिनुहोस्।” त्यसपछि दूत उनीबाट विदा भए।

अय्यूब 13

13 अय्यूबले भन्यो,

“यी सबै मैले पहिल्यै देखेको छु।
    तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु।
    म ती सबै कुराहरू बुझ्छु।
तिमीले जाने जति म पनि जान्दछु।
    म तिमी जतिकै तेज छु।
तर म तिमीसँग तर्क गर्न चाहन्न।
    म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु।
    म परमेश्वरसँग आफ्ना सङ्कट विषयमा बहश गर्न चाहन्छु।
तर तिमीले हाम्रो बातचीतलाई झूटो कुराले कलंकित पार्छौ।
    तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।
म चाहन्छु तिमीहरू चूपचाप बस।
    त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।

“अब, मेरो तर्कमा ध्यान देऊ।
    म के भन्छु त्यसमा ध्यानदेऊ।
के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ?
    के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झूटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ?
    के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा मामलामा बहश गर्ने चेष्टा गरिरहेका छौ?
    तिमीहरूले निष्पक्ष भएका छैनौ।
यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने,
    के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ?
जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के
    परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?
10 यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने
    तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।
11 परमेश्वरको महा-महिमाले तिमीहरूलाई भयभीत पार्नेछ।
    तिमीहरू उहाँदेखि डराउँछौ।
12 तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्।
    तिमीहरूका बहशहरू बेकामे छन्।

13 “चूपचाप बस र मलाई बोल्न देऊ।
    जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।
14 म स्वयंलाई सङ्कटमा राख्ने छु,
    अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछु।
15 हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छ,
तै पनि म उहाँलाई विश्वास गरिरहनेछु।
    म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु।
    तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
16 अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए,
त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो।
    कुनै पनि दुष्ट मानिसले परमेश्वरको समक्ष सामना गर्न सक्तैन।
17 मैले भनेको कुरा ध्यान दिएर सुन।
    मलाई व्याख्या गर्न देऊ।
18 म आफैं मेरो मामिलामा बचाऊ गर्न तत्पर छु।
    म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु।
    म जान्दछु म उचित नै ठहरिनेछु।
19 यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने,
    तब म तुरन्तै चुप लाग्नेछु।

20 “हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस्
    अनि म तपाईंबाट लुक्ने छैन।
21 मलाई दण्डदिन रोकिनु होस्
    अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।
22 तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु।
    अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।
23 मैले कति पाप कामहरू गरेको छु?
    मैले के गल्ती कामहरू गरें?
    मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।
24 हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ?
    अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?
25 के तपाईंले मलाई भयभीत पार्नु हुन्छ?
    म हावामा उड्ने पत्कर झैं हुँ।
    तपाईंले परालको एउटा सानो टुक्रालाई आक्रमण गरिरहनु भएको छ।
26 हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो।
    तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।
27 तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो,
    मेरो प्रत्येक पाइला याद गर्नु भयो।
    तपाईंले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।
28 यसैले म कमजोर भन्दा कमजोर भई रहेछु
    सड्दै गएको काठको टुक्रा जस्तो,
    माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।

1 कोरिन्थी 1

पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशूको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि।

कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्

परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ। ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ। यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन पर्खिरहुन्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन। येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन। परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित सँगती गर्नु बोलाउनु भएकोछ।

कोरिन्थीको मण्डलीमा फाटो

10 हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।

11 मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगड़ा छ। 12 मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मान्छु,” कसैले “म अपोल्लोसलाई मान्छु,” कसैले “म केफासलाई मान्छु,” अनि कसैले, “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे। 13 ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ! 14 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन। 15 म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन। 16 हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन। 17 ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।

परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान

18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। 19 शास्त्रमा लेखिएको छः

“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु,
    बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”(A)

20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। 21 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।

22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। 23 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। 24 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। 25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।

26 भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। 27 तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ। 28 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। 29 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो। 30 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं। 31 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”(B)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International