M’Cheyne Bible Reading Plan
यूसुफ भन्छ ऊ को हो
45 यूसूफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्नु सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन् भने। 2 यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने। 3 यूसुफले उनका दाज्यू-भाइहरूलाई भने, “म तिमीहरूका भाइ यूसुफ हुँ। के मेरा बाबु कुशल हुनुहुन्छ?” तर दाज्यू भाइहरूले तिनलाई उत्तर दिएनन्। तिनीहरू अलमल्ल परे अनि घबराएका थिए।
4 यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ। 5 अहिले चिन्ता नगर। तिमीहरू आफैंसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु। 6 यस भयंकर अनिकाल दुइ बर्षसम्म चल्यो अनि अझै पाँच बर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ। 7 यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो। 8 यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।”
मिश्रमा इस्राएललाई निम्तो
9 यूसुफले भने, “चाँडो गर अनि मेरा बाबुकहाँ जाऊ। उनलाई भन उनका छोरो यूसुफले यो समाचार पठाएको छ।” परमेश्वरले मलाई मिश्रदेशको शासक बनाउनु भएको छ। यसर्थ मकहाँ आउनु। अबेर नगरी। अहिले नै आउनु। 10 तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ। 11 म आउँदो पाँच बर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ।
12 यूसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यूसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यूसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु। 13 यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।” 14 त्यसपछि तिनको भाइ बिन्यामीनसित यूसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रून शुरू गरे। 15 त्यसपछि यूसुफले आफ्ना सबै दाज्यू-भाइहरूलाई म्वाइँ खाए अनि तिनीहरूको निम्ति रोए। त्यसपछि उनका दाज्यू-भाइहरू उनीसँग कुरा गर्न थाले।
16 फिरऊनले थाहा पाए यूसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए। 17 यसकारण फिरऊनले यूसुफलाई भने, “तिम्रो दाज्यू-भाइहरूलाई भन तिनीहरूलाई जति अन्न चाहिन्छ लिएर कनान देशमा जाऊन। 18 आफ्ना दाज्यू भाइहरूलाई भन तिनीहरू आफ्नो बाबु र परिवारहरू लिएर यहाँ मकहाँ आउन्। जीवन निर्वाहको निम्ति म तिनीलाई यहाँको सब भन्दा असल भूमि दिनेछु अनि तिनीहरूले सबभन्दा असल भोजन गर्ने छन्।” 19 त्यसपछि फिरऊनले भने, “तिम्रा दाज्यू-भाइहरूलाई यहाँ भएका गाडीहरू मध्ये सबभन्दा असल चाँहि दिनु। तिनीहरूलाई भन ती गाडीहरूमा तिनीहरू कनान गएर आफ्ना बाबु र जहान, छोरा-छोरीहरू लिएर आउनु। 20 आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसँगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।”
21 यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए। 22 यूसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए। 23 यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए। 24 त्यसपछि यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यूसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाइँ नगर्नु।”
25 यसर्थ ती दाज्यू-भाइहरू मिश्र देश छोडी तिनीहरूका पिता भएका देश कनानमा गए। 26 दाज्यू-भाइहरूले उनलाई भने, “बाबु, यूसुफ अझसम्म जीवित छ। अनि त्यो समस्त मिश्र देशको शासक छ।”
तिनीहरूका बाबुले के सोच्नु पर्ने केही जानेन। प्रथम त, तिनले आफ्ना छोराहरूको कुरामा विश्वास गरेनन्। 27 तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए। 28 इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यूसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेट्न जानेछु।”
पिलातस हाकीमद्वारा येशूप्रति प्रश्नहरू
(मत्ती 27:1-2,11-14; लूका 23:1-5; यूहन्ना 18:28-38)
15 एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गलोले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
2 पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”
येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।”
3 मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए। 4 यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”
5 तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे।
पिलातसद्वारा येशूलाई मुक्त गर्ने चेष्टा निष्फल
(मत्ती 27:15-31; लूका 23:13-25; यूहन्ना 18:39–19:16)
6 प्रत्येक वर्ष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ। 7 त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।
8 मानिसहरू कहाँ आए अनि उहाँले सधैँ गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे। 9 पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?” 10 पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे। 11 तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।
12 पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”
13 मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।”
14 पिलातसले तिनीहरूलाई भने, “किन उसले के त्यस्तो अपराध गरेको छ?”
तर मानिसहरू झन् जोर-जोरसँग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्!”
15 पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकूम दिए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।
16 पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे। 17 सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए। 18 त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!” 19 तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे। 20 उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए।
येशूलाई क्रूसमा झुण्डायाएर मारियो
(मत्ती 27:32-44; लूका 23:26-39; यूहन्ना 19:17-19)
21 कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे। 22 तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) 23 गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। 24 तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।
25 तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। 26 येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” 27 तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए। 28 [a]
29 ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? 30 अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैंलाई बचाउनु होस्।”
31 यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन। 32 यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।
येशूको मृत्यु
(मत्ती 27:45-56; लूका 23:44-49; यूहन्ना 19:28-30)
33 मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो। 34 ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”
35 त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”
36 तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पन्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”
37 तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।
38 जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफैं च्यातियो। 39 सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”
40 केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो) 41 ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसँगै यरूशलेममा आएका थिए।
येशू गाडिनु भयो
(मत्ती 27:57-61; लूका 23:50-56; यूहन्ना 19:38-42)
42 यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो। 43 अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे। यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।
44 येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे। 45 अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।
46 यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए। 47 मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।
सोपर अय्यूबसित बोल्दछ
11 तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,
2 “यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ।
के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।
3 अय्यूब के तिमी सम्झन्छौ
कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्?
जब तिमी परमेश्वरलाई खिसी गर्छौ,
तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?
4 अय्यूब तिमीले परमेश्वरलाई भन्छौ,
‘मेरो तर्कहरू यथार्थ छन्
अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’
5 अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ
अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।
6 परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो।
उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्।
अय्यूब, मेरो कुरा सुन।
तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।
7 “अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं?
तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
8 माथि स्वर्गमा के छ?
त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ
मृत्युलोकको बारेमा तिमीले
केही पनि जान्दैनौ।
9 परमेश्वर पृथ्वी भन्दा महान
अनि सागर भन्दा विशाल हुनुहुन्छ।
10 “यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने,
कसैले उहाँलाई रोक्न सक्तैन।
11 साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ।
जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
12 जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन्
एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।
13 तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख
अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।
14 तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ।
तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।
15 तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ।
तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।
16 तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ।
तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।
17 जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ,
जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।
18 तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ
अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।
19 तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन।
अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।
20 नराम्रा मानिसहरूले सहयोग खोज्लान,
तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्,
तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”
15 हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन। 2 तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ। 3 ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”(A) 4 बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं। 5 धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्। 6 त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ। 7 ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ। 8 म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो। 9 ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः
“यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु,
म तिमीहरूको नामको स्तुति गाउनेछु।”(B)
10 धर्मशास्त्रले यसो पनि भन्छ,
“तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।”(C)
11 अनि फेरि त्यसले भन्छः
“तिमीहरू सबै गैर-यहूदीहरू! परमप्रभूको प्रशंसा गर।
सबैले उहाँको प्रशंसा गर्नुपर्छ।”(D)
12 अनि यशैयाले भनेका छन्,
“एकजना मानिस यस्सीका परिवारबाट आउने छन्।
ती मानिसले अ-यहूदीहरूमाथि राज गर्नेछन्,
अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।”(E)
13 तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
पावल आफ्नो कार्यबारे भन्दछन्
14 मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ। 15 मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ। 16 गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।
17 यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें। 18 गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु। 19 अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ। 20 जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ। 21 तर धर्मशास्त्रमा लेखिएको छः
“मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्,
मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।”(F)
पावलको रोम भ्रमण गर्ने इच्छा
22 यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।
23 अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै वर्षदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ। 24 यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ।
25 अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु। 26 यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्। 27 म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउनु पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन प्रयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्। 28 मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ।
यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु। 29 जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु।
30 दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु। 31 प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकुँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सहर्ष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ। 32 त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु। 33 परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।
© 2004, 2010 Bible League International