M’Cheyne Bible Reading Plan
पहिले जन्मनेहरूको मृत्यु
11 तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ। 2 तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ ‘पुरूष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसँग सुन र चाँदीले बनिएका चीजहरू माग्नु पर्छ।’” 3 परमप्रभुले मिश्रका मानिसहरूलाई तिमीहरूप्रति दयालु हुनेछ। मिश्री मानिसहरू र फिरऊनका शासकहरूले मोशालाई पहिलेदेखि महान-मानिस भनी मान्दछन्।
4 मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु, 5 अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिस्ने कमारीको पहिलो छोरोसम्म मिश्रमा मर्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्। 6 मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन। 7 तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घट्ना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन। इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोक्सान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु। 8 त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसँगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।” तब मोशा रिसाए र म फिरऊनलाई छोड्नेछु।’”
9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्रो कुरा सुनेको छैन। यसकारण म मिश्रमा आफ्नो महा-शक्ति देखाउन सकुँ।” 10 त्यसैले गर्दा मोशा र हारूनले फिरऊनअघि धेरै आश्चर्य कर्म गर्न सके। र यसैको निम्ति परमप्रभुले फिरऊनलाई अति अट्टेरी बनाउनु भयो, जसले गर्दा उसले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएन।
निस्तार
12 जब तिनीहरू मिश्रमा थिए, परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो। 2 “यो महिना नै तिमीहरूको निम्ति बर्षको पहिलो महिना हुनेछ। 3 यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ। 4 एउटा पाठो खाई सक्नलाई यदि कुनै मानिसको घरमा प्रशस्त मानिसहरू नभए उसले त्यस दिनको भोजमा भाग लिनको निम्ति छिमेकीलाई निम्त्याउनु पर्छ। प्रत्येक मानिसलाई पुग्ने पाठो हुनुपर्छ। 5 पाठो एक बर्षको र खोट रहित हुनुपर्छ। पाठो भेंडा अथवा बाख्राको भए पनि हुन्छ। 6 तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसँग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ। 7 यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन् ढोकाहरूमाथि छर्नु पर्छ।
8 “त्यो राती पाठो आगोमा पोलेर खानु पर्छ। तिमीहरूले तितो जडी-बुट्टी र खमीर बिनाको रोटी खानुपर्छ। 9 पाठो काँचो अथवा पानीमा उमालेर खानु हुँदैन। त्यो पाठो सबै आगोमाथि सेकाउनु पर्छ, त्यसको भित्र, टाउको र खुट्टाहरू शरीरबाट नछुट्टाई आगोमाथि सेकाउनु पर्छ। 10 बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।
11 “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किनभने यो परमप्रभुको निस्तार हो।
12 “आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ। 13 तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
14 “यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड़ हुनेछ। तिमीहरूका सन्तानहरूले सदा सर्वदा यो पवित्र चाड़लाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ। 15 यस चाड़मा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाड़़को पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाड़़मा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ। 16 यो पवित्र चाड़को पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ। 17 तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाड़लाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस्। 18 यसर्थ पहिलो महिनाको चौधौं दिनको साँझ देखि तिमीहरूले खमीर बिनाको रोटी खान शुरू गर्ने छौ। तिमीहरूले खमीर बिनाको रोटी पहिलो महिनाको एक्काईसौं दिनको साँझसम्म खानेछौ। 19 सात दिनसम्म तिमीहरूका घरमा कुनै खमीर रहनु हुँदैन। कुनै पनि मानिस चाहे त्यो इस्राएली होस अथवा विदेशी यदि तिनीहरूले यस समयमा खमीर खायो भने उसलाई इस्राएलीको समुदायबाटै अलग्ग गराउनु पर्छ। 20 यी पवित्र दिनहरूमा तिनीहरू जता सुकै भए पनि खमीर भएको केही पनि खानुँ हुदैन। तिमीहरूले त्यहि खमीर बिनाको रोटी खानु पर्छ।”
21 यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ र निस्तारको निम्ति थुमाहरू मार।
के विश्रामको दिनमा उपचार गर्नु उचित छ?
14 एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए। 2 एकजना जलोदर रोगीलाई येशूको अघि ल्याइएको थियो। 3 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?” 4 तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो। 5 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?” 6 ती फरिसीहरू र शास्त्रीहरूले येशूले भन्नु भएको कुरामा केही भन्न सकेनन्।
आफ्नै प्रशंसा नगर
7 तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुर्सीहरू रोजिरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयोः 8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्त्याउँछ, मुख्य आसन नखोज। ती मानिसले तिमीहरूभन्दा पनि मुख्य मानिस निम्त्याएको हुन सक्छ। 9 अनि यदि तिमी आसनमा बसिरहेकाछौ भने निम्त्याउने मानिसले तिमीलाई भन्नेछ, यो मानिसलाई तिम्रो आसन देऊ। तब अन्तिम आसनमा गएर तिमीले बस्नु पर्नेछ।
10 “यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ‘ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।’ 11 किनभने जसले आफैंलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।”
तिमीहरूलाई इनाम मिल्नेछ
12 त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यू-भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरूले पनि तिमीहरूलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ। 13 यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ। 14 त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”
महाभोजको एउटा दृष्टान्त
(मत्ती 22:1-10)
15 येशूसँग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”
16 येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो। 17 जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, ‘आउनुहोस् प्रत्येक चीज तयारी छ।’ 18 तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, ‘मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।’ 19 अर्को मानिसले भन्यो, ‘मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरूलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्।’ 20 तेस्रो मानिसले भन्यो, ‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ।’
21 “त्यसपछि त्यो नोकर फर्कियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, ‘चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।’
22 “तब त्यस नोकरले मालिकलाई भन्यो, ‘मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।’ 23 मालिकले नोकरलाई भने, ‘मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु, 24 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसँग भोज खान पाउने छैन।’”
तिमी पहिला योजना बनाऊ
(मत्ती 10:37-38)
25 धरै मानिसहरूले येशूसँग यात्रा गरिरहेका थिए। उहाँ तिनीहरूपट्टि फर्कनु भयो अनि भन्नुयो, 26 “यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यू-भाइ तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ। 27 यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन।
28 “यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ। 29 यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्। 30 तिनीहरूले भन्ने छन्, ‘यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’
31 “यदि कुनै राज अर्को राजासँग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन। 32 यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।
33 “त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।
आफ्नो प्रभाव नहराऊ
(मत्ती 5:13; मर्कूस 9:50)
34 “नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामे हुन्छ। त्यलाई फेरि नूनिलो बनाउन सकिदैन। 35 त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फ्याँकिदिनेछन्।
“जसले मेरो कुरा सुनिरहेका छौ सुन।”
अय्यूबले क्रमशः आफ्नो कुरा भन्दछन्
29 अय्यूबले क्रमशः आफ्नो कुराहरू भनिरहेछः
2 “केही महीना अघि वितेको जीवन म चाहन्छु।
त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।
3 त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें।
परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
4 म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो।
ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।
5 म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो
अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।
6 जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो।
म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।
7 “त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें
अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।
8 सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे।
आफ्नो श्रद्धा म प्रति प्रर्दशन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।
9 जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे
अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।
10 प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे।
हो, मानौ तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।
11 मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे।
मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।
12 किनभने जब गरीब मानिसले गुहार्थ्यो, म सहायता गर्थें।
अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
13 मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे
दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
14 धार्मिकता मेरो लागि पोषाक थियो,
निष्पक्षता मेरो लुगा र फेटा थियो।
15 म अन्धा मानिसहरूको लागि आँखा थिएँ,
तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोर्याउँथे।
म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ,
तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।
16 म गरीबहरूको लागि पिता समान थिएँ।
यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए,
मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।
17 म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें
अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो,
त्यो फर्काउन लगाउथें।
18 “मेरै परिवार भित्र बुढो हुँदै म
धेरै लामो बाँचुला भनेर सधैँ सोच्दथें,
19 म सोच्थें म स्वास्थ्य र शक्तिशाली हुँ,
स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै,
अनि शीतले भिजेका हाँगाहरू जस्तो हुँ।
20 प्रत्येक नयाँ दिन उज्जवल,
नयाँ उत्तेजनापूर्ण सम्भावनाहरू हुने होलान भनी म सोच्थें।
21 “बितेका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे।
तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे।
बोलिसके पछि मेरो कुरा सुन्नेहरूमा कसैको केही बोल्न रहँदैनथ्यो।
22 मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे तिनीहरू अरू केही भन्ने थिएनन्।
मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।
23 मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले बर्षालाई पर्खिरहेछन्।
तिनीहरूले मेरो शब्दहरू बसन्तको बेलामा बर्षाको पानी पिए झौं पिउँथे।
24 जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्।
मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।
25 म तिनीहरूकै मुखिया भए तापनि म ती मानिसहरूसँग रहन चाहन्थें।
दुःखी मानिसहरूलाई सान्तवना दिंदै म तिनीहरूका छाउनीका समूहमा राजा झैं थिएँ।
ख्रीष्टको बारेमा सुसमाचार
15 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको सम्झना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ। 2 सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।
3 मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः 4 कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ; 5 अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो। 6 त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्यू-भाइहरू आज सम्म जीवित छन् त कोही मरिसके। 7 अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। 8 सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।
9 जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन। 10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो। 11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।
हामी मृत्युबाट बौराइन्छौं
12 ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन? 13 यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन। 14 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ। 15 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन। 16 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन। 17 अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ। 18 अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए। 19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।
20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ। 21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो। 22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं। 23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ। 24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।
25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ। 26 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ। 27 जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।”(A) जब धर्मशास्त्रमा भनिन्छ कि “प्रत्येक” बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो। 28 जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफैं पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।
29 एक पल्ट मरिसकेका मानिसहरूलाई बौराइँदैन भने मरेकाहरूका निम्ति बप्तिस्मा लिनहरूले के गर्छन्? यदि मरेकाहरू फेरि बौरँदैनन् भने तिनीहरूको निम्ति बप्तिस्मा किन लिइन्छ?
30 अनि हाम्रो चाँहि के हुन्छ त? हामी आफूले आफैंलाई किन प्रत्येक घण्टा आपतमा पार्दछौं? 31 म हरेक दिन मर्छु। यो साँच्चो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँच्चो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु। 32 यदि खाली मानवताको कारणले मैले एफिससमा जङ्गली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।”(B)
33 भ्रममा नपरः “खराब सँगतले असल बानी नष्ट गर्छ।” 34 उचित बिचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरममा पार्नु म यसो भन्छु।
हाम्रो कस्तो किसिमको शरीर हुनेछ?
35 तर कसैले सोध्न सक्छन् “मरेकाहरू कसरी बौरन्छन्? तिनीहरूको शरीर कस्तो हुन्छ?” 36 यी सबै मूर्ख प्रश्नहरू हुन्। जब तिमी केही रोप्छौ, भने बाँच्न र बढन अघि त्यो बीऊ माटोमा मर्छ। 37 जब तिमीले केही रोप्छौ त्यस्को त्यही “रूप” हुँदैन, जस्तो पछि हुन्छ। जब तिमीले छरेका थियौ त्यो वीऊ मात्र थियो चाहे गहुँ होस् अथवा अन्य कुनै। तर परमेश्वरले जे योजना गर्नु भएको छ त्यसले त्यही शरिर पाउँछ। 38 परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ। 39 सबै शरीरको मासु एकै हुँदैनः मानिसहरूको मासु एक प्रकारको हुन्छ, औ पशूहरूको मासु अर्को प्रकारको हुन्छ, पंछीहरूको भिन्दै हुन्छ, अनि माछाहरूको अर्कै प्रकारको मासु हुन्छ। 40 स्वर्गीय शरीरहरू र पार्थिव शरीरहरू छन्। तर स्वर्गीय शरीरहरूको शोभा एक किसिमको हुन्छ। पार्थिव शरीरहरूको शोभा भिन्दै किसिमको हुन्छ। 41 सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।
42 जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन। 43 अनादरमा त्यो “गाडिन्छ,” महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो “गाडिन्छ,” शक्तिमा त्यो जीवित हुन्छ। 44 शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ।
भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ। 45 धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।” (C) 46 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो। 47 पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो। 48 मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्। 49 जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ।
50 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन। 51 तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। 52 यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं। 53 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ। 54 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः
“मृत्यु विजयमा निलिएको छ।”(D)
55 “हे मृत्यु! तेरो विजय कहाँ छ?
चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”(E)
56 मृत्युको बिषदन्त नै पाप हो, अनि पापको शक्ति नियम हो। 57 तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।
58 यसैकारण मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।
© 2004, 2010 Bible League International