Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 8

तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन कहाँ जाऊ र भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरो मानिसहरूलाई मेरो आराधना गर्न जान दिइयोस्। यदि तिमी मेरो मानिसहरूलाई छोडन अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुत्ताहरूले भरिदिनेछु। नील नदी भ्यागुत्ताले भरिनेछ। भ्यागुत्ताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुत्ताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्। भ्यागुत्ता तपाईं, तपाईंका मानिसहरू र तपाईंका अधिकारीहरूका वरिपरि हुनेछन।’”

तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुत्ताहरू बाहिर जमीनमा निस्कनेछन्।”

यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुत्ताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।

जादूगरहरूले पनि त्यसै गरेर मिश्र देशमा भ्यागुत्ताहरू ल्याए।

फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुत्ताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अघिबलि चढाउनु छोडीदिनेछु।”

मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुत्ताहरू कहिले जावोस्। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुत्ताहरूले तपाईंहरू र तपाईंका घर छोड्ने छन् र नदीमा मात्र रहनेछन्।”

10 फिरऊनले भने, “भोलिसम्म।”

मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन, 11 भ्यागुत्ताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन्, र भ्यागुत्ताहरू नदीमा मात्र रहनेछन्।”

12 मोशा र हारून फिरऊनबाट बिदा लिएर बाहिर निस्के। मोशाले परमप्रभु परमेश्वरले फिरऊनकहाँ पठाएका भ्यागुत्ताको विषयमा चिच्याए र भने। 13 अनि मोशाले प्रार्थनामा गरेको माग परमप्रभुले पूरा गरिदिनु भयो। भ्यागुत्ताहरू घर, आँगन र खेतमा मरे। 14 मरेका भ्यागुत्ताहरू सडेर पूरा देशमा नै दुर्गन्ध चल्न शुरू भयो। 15 फिरऊनले देखे तिनीहरू भ्यागुत्ताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भन्नु भएको थियो।

जुम्राहरू

16 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भूईँको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।”

17 तिनीहरूले त्यसै गरे। हारूनले जमीनको धूलोमाथि आफ्नो लहुरोले हिर्काए अनि धूलो मिश्रको जता ततै जुम्रामा परिणत भयो। जुम्रा पशु र मानिसहरूमा सरे।

18 यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे। 19 यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।

झींगाहरू

20 परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ। 21 यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झींगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरूद्धमा पठाउनेछु। झींगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झींगाले भरिनेछन्। जमीन पनि झींगाले भरिनेछ। 22 तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु। 23 यसर्थ भोलि म अरूलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गर्छु। मेरो प्रमाण त्यही हुनेछ।’”

24 त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झींगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झींगाले भरिए अनि मिश्र देश भरी नै झींगै-झींगा भए। झींगाहरूले देश नै नष्ट पारिरहेका थिए। 25 त्यसपछि फिरऊनले मोशा र हारूनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।”

26 तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन। परमप्रभु हाम्रा परमेश्वरलाई पशु बलिदान चढाउँदा मिश्र देशका मानिसहरूले भयानक कुरा हो भनी सम्झन्छन्। यदि यहाँ हामीले बलिदान चढायौं भने मिश्रदेशका मानिसहरूले देख्नेछन् र तिनीहरूले हामीमाथि ढुङ्गा हिर्काउने छन्। 27 हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरुभूमिमा यात्रा गर्नु दिनुहोस्।”

28 यसर्थ फिरऊनले भने, “म परमप्रभु तिमीहरूका परमेश्वरलाई बलि चढाउन मरुभूमिमा जान दिनेछु। तर तिमीहरू ज्यादै टाढा जान पाउँने छैनौ अहिले जाऊ अनि मेरो निम्ति प्रार्थना गर।”

29 मोशाले भने, “म बिदा लिन्छु र भोलिनै तिमी, तिम्रा मानिसहरू र तिम्रा अधिकारीहरूका घरबाट झीगाहरू हटाइ दिनु भनी परमप्रभुसित प्रार्थना गर्नेछु। तिमीले परमप्रभुलाई बलि चढाउनमा मानिसहरूलाई बाधा दिनु हुँदैन।”

30 त्यसपछि मोशाले फिरऊनबाट बिदा लिए अनि परमप्रभुलाई प्रार्थना गरे। 31 मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झींगाहरू हटाइदिनु भयो। झींगा एउटा पनि रहेन। 32 तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।

लूका 11

येशूद्वारा प्रार्थना बिषय-शिक्षा

(मत्ती 6:9-15)

11 एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ भनि सिकाए। हे प्रभु हामीले पनि कसरी प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।”

येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर,

‘हे पिता, हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
    हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आओस्।
दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्।
हाम्रा पापहरू क्षमा गरीदिनुहोस्,
    जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं।
अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’”

लगातार प्रश्न

(मत्ती 7:7-11)

5-6 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला, ‘मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’ घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ। म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ। फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। 10 किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ। 11 तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी सर्प दिन्छौ अँहँ! तिमी उसलाई माछा नै दिन्छै। 12 अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अँहँ! 13 तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।”

परमेश्वरबाट येशूले शक्ति पाउनु भएको

(मत्ती 12:22-30; मर्कूस 3:20-27)

14 कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे। 15 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”

16 अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए। 17 तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशूले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफैं नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ। 18 यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ। 19 यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन् 20 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।

21 “जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ। 22 तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।

23 “यदि कुनै मानिस मसँग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसँग काम गर्दैन ऊ मेरो विरोधमा छ।

रित्तो मानिस

(मत्ती 12:43-45)

24 “जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिंड्छ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, ‘म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं फर्कन्छु।’ 25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ। 26 तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट-आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”

मानिसहरू साँच्चो रूपमा खुशी थिए

27 जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन्! अनि तपाईंलाई स्तन पान गराइन्!”

28 तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”

हामीलाई प्रमाण दिनुहोस्

(मत्ती 12:38-42; मर्कूस 8:12)

29 मानिसहरूको भीड बिस्तारै बढ्दै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ। 30 योना निनवेका वासिन्दाहरूको लागि चिन्ह हुनेछन्। त्यसरी नै यस पुस्ताको लागि मानिसका पुत्र पनि चिन्ह हुनेछन्।

31 “न्यायको दिन दक्षिण देशकी रानी यो पुस्ताका मानिसहरू विरूद्ध उठ्नेछिन् अनि तिनीहरू दोषी हुन् भनी प्रमाण दिनेछिन्। किन्? किनभने सुलेमानको ज्ञानमय शिक्षा सुन्नु तिनी धेरै टाडोबाट आएकी थिइन्। अनि म भन्दछु कि सुलेमान भन्दा म महान हुँ।

32 “न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हुँ।

संसारका निम्ति ज्योति बन

(मत्ती 5:15; 6:22-23)

33 “कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छ। 34 तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरू ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ। 35 यसैले होशियार होऊ। तिमीमा भएको उज्यालो अँध्यारोमा परिणत नहोस्। 36 अतः यदि तिम्रो शरीर पूर्ण उज्यालोले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।”

येशूद्वारा फरिसीहरूको चर्चा

(मत्ती 23:1-36; मर्कूस 12:38-40; लूका 20:45-47)

37 येशू बोली सक्नु भएपछि, एकजना फरिसीले सँगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो। 38 तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे। 39 यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ। 40 तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन? 41 तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।

42 “धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याय र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।

43 “धिक्कार तिमी फरिसीहरूलाई तिमी सभा-घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ। 44 धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहुने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिँड्नेछन्।”

45 व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरुज्यू जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।”

46 येशूले उत्तर दिनुभयो, “धिक्कार तिमी व्यवस्थाका शास्त्रीहरूलाई तिमीहरू मानिसहरूलाई यी नियम पालन गर्नु वाध्य गराउँछौ। तर तिमीहरू आफैं भने ती नियमहरू पालन गर्ने चेष्टा समेत गर्दैनौ। 47 धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए। 48 यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिम्रा पुर्खाहरूले गरेका कर्महरूमा सहमत भइरहेकाछौ। तिनीहरूले अगमवक्तहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। 49 यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।

50 “त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ। 51 हाबिल देखि जकरिया सम्म जसलाई वेदी र मन्दिर माझ मारिएको थियो तिनीहरू सबैको मृत्युका निम्ति हो। म तिमीहरूलाई भन्छु, आज जति पनि तिमी मानिसहरू बाँचिरहेकाछौ ती काण्डको लागि सबै दण्डित हुनेछौ।

52 “धिक्कार तिमी व्यसथाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैंले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्यौ।”

53 जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे। 54 उहाँले केही भन्नु हुन्थ्यो कि भनेर तिनीहरूले जालमा फसाँउने चेष्टा गरे।

अय्यूब 25-26

बिल्ददले अय्यूबलाई जवाफ दिंदछ

25 तब शुहबाट आएका बिल्ददले जवाफ दिएः

“परमेश्वर शासक हुनु हुन्छ।
    उहाँले मानिसहरूलाई त्रासित पार्नुहुन्छ र तिनीहरूले उहाँलाई आदर गर्छन्।
    उहाँले माथि आफ्नो स्वर्गिय राज्यमा शान्ति कायम राख्नु हुन्छ।
परमेश्वरले सबै मानिसहरूको निम्ति सूर्य उदय गराउनु हुन्छ।
    कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिँदैन।
    कुनै पनि मानिस कहिल्यै साँच्चो शिद्ध हुन सक्तैन।
परमेश्वरको दृष्टिमा, जुन पनि शुद्ध र चम्किलो छैन,
    अनि ताराहरू पनि शुद्ध छैनन्।
मानिसहरू कम्ती नै शुद्ध हुन्छन्,
मानिसहरू कीराहरू जस्ता हुन,
    मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”

अय्यूबले बिल्ददलाई जवाफ दिंदछ

26 तब अय्यूबले जवाफ दिएः

“बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ।
    के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई,
    जसको बहुबलमा केही शक्ति छोडिएको छैन त्यसलाई बचाएका छौ?
तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन।
    के तिमीले धेरै अर्न्तज्ञान हासिल गरेकाछौ भनी सोच्छौ?
कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो?
    कसको आत्माले तिमीलाई उत्साह प्रदान गर्यो?

“मरेकाहरूका आत्माहरू
    डरले पृथ्वी मुनि पनि काम्दछ।
तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ।
    मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन।
परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो।
    परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो।
परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ।
    तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न।
परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ।
    उहाँले आफ्नो बादलहरू त्यसतर्फ फैलाउनु हुन्छ अनि त्यस माथि लुकाउनु हुन्छ।
10 जहाँ अँध्यारो र उज्यालोको सङ्गम हुन्छ
    त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो।
11 आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ
    जब परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ।
12 परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ।
    परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।
13 परमेश्वरको स्वासले आकाश सफा हुन्छ।
    परमेश्वरको हातले भाग्न तयार भएका सर्पलाई नाश गरिदिनु हुन्छ।
14 यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन।
हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छौं।
    परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर,
    कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”

1 कोरिन्थी 12

पवित्र आत्माको उपहारहरू

12 दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान। तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ। म तिमीहरूलाई भन्छु कसैले परमेश्वरको आत्मा विना “येशू श्रापित होऊन” भन्ने छैन अनि कसैले पनि पवित्र आत्माको सहायता बिना “येशू प्रभु हुन” भन्न सक्दैन।

आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ। सेवा गर्ने विभिन्न तरिकाहरू छन्। सबै ती उपायहरू एउटै उही प्रभुबाट हो। अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।

प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ। आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ। त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ। 10 त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ। 11 एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ।

ख्रीष्टको शरीर

12 मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः 13 हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।

14 मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्। 15 खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्तैन यो शरीरको एक अंग होइन। 16 कानले भन्नु सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिंदैन, कान शरीरको होइन। 17 यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो? 18-19 यदि शरीरको प्रत्येक अंग एउटै मात्र हुँदो हो त त्यहाँ शरीरै हुने थिएन। तर साँच्चै परमेश्वरले शरीरमा आफूले चाहे जस्तै गरी ती अंगहरूलाई राखिदिनु भयो। उहाँले प्रत्येक अंगलाई आफ्नो ठाँउमा राख्नु भयो। 20 अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ।

21 आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन। 22 होइन। शरीरका ती अङ्गहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्। 23 अनि शरीरका तुच्छ ठानिएका ती अङ्गहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अङ्गहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं। 24 हाम्रा शरीरका अझ सुन्दर अङ्गहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ। 25 हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ। 26 शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।

27 तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ। 28 अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ। 29 सबै मानिस प्रेरितहरू होइनन्। सबै अगमवक्ताहरू होइनन्, सबै शिक्षकहरू होइनन्। आश्चर्यकर्म सबैले गर्न सक्दैनन्। 30 रोग निको पार्ने वरदान सबैले पाएका छैनन्। सबैले विभिन्न थरिको भाषा बोल्न सक्तैनन्। सबैले ती भाषाहरू को अर्थ खुलाउन सकदैनन्। 31 तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International