M’Cheyne Bible Reading Plan
यहूदा र तामार
38 त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस्न गए। हीरा अद्दुलाम शहरको थियो। 2 यहूदाले त्यहीं कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो। 3 त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी। 4 पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी। 5 पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।
6 यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो। 7 तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसँग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो। 8 त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।”
9 ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन। 10 यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो। 11 त्यसपछि आफ्नी बुहारी तामारलाई यहूदाले भन्यो, “तँ आफ्नो बाबुको घर फर्केर जा, त्यही बस अनि तबसम्म विवाह नगर्नु जबसम्म मेरो छोरा शेलह ठूलो हुँदैन।” यहूदालाई डर थियो कतै शेलह पनि उसको दाज्यूहरू झैं मारिन्छ। तामार आफ्नो बाबुको घरमा फर्केर गइन्।
12 पछि शूआकी छोरी यहूदाकी पत्नी मरी। यहूदाको शोक समय बितेपछि, त्यो अद्दुलामबाट आफ्नो साथी हीरासित तिम्ना गए। भेंडाबाट काटिएको ऊन लिन यहूदा तिम्ना गए। 13 उसको ससुरा यहूदा भेंडाको ऊन लिन तिम्ना गएको कुरा तामारले चाल पाई। 14 तामारले सधैँ विधवाले लगाउने लुगा लाउने गर्द थिइ। यसर्थ उनले भिन्दै केही लुगा लगाई अनि आफ्नो अनुहार पर्दाले छोपी। त्यसपछि तिम्ना शहरको नजिक एनैम जाने बाटोको मुन्तिर बसी। तामारले थाहा पाई यहूदाको छोरो शेलह अब ठूलो भइसकेको छ। तर यहूदाले ऊसित विवाह गर्ने कुनै योजना बनाउने छैन।
15 यहूदा त्यही बाटो हिंडेर गए। उनले तामारलाई देख्यो तर त्यो वेश्या हो भनेर सोच्यो। उनले आफ्नो अनुहार वेश्याहरूले जस्तै पर्दाले ढाकेकी थिई। 16 यसर्थ यहूदा तिनी भएको ठाउँमा गए अनि भन्यो, “तँसित शारीरिक सम्बन्ध गर्नदे।” यहूदाले थाहा पाएन ऊ आफ्नी बुहारी तामार थिई।
उनले भनी, “तिमीले मलाई के दिन्छौ?”
17 यहूदाले उत्तर दियो, “म मेरो भेंडाको हुलबाट एउटा भेंडा पठाइ दिनेछु।”
उनले उत्तर दिई, “यसमा म राजी छु। तर तिमीले मलाई भेंडा नपठाउन्जेलसम्म राख्नलाई केही दिनु पर्छ।”
18 यहूदाले सोध्यो, “मैले भेंडा नपठाउन्जेलसम्म के बन्धक राख्न चाहन्छौ?”
तामारले उत्तर दिई, “तिमीले आफ्नो चिट्ठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लट्ठी पनी देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्। 19 तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्।
20 त्यसपछि यहूदाले वेश्यासित प्रतिज्ञा गरे अनुसार हीरालाई एउटा सानो बाख्रा दिएर एनैम पठाए। यहूदाले उसलाई आफ्नो मोहर र लट्ठी फर्काएर ल्याउनुँ भन्यो। तर हीराले तामारलाई भेट्न सकेन। 21 हीराले एनैम शहरका केही मानिसहरूलाई सोध्यो, “बाटोको छेऊमा बस्ने वेश्या कहाँ छे?”
मानिसहरूले जवाफ दिए, “यहाँ कोही वेश्या थिइन।”
22 यसर्थ यहूदाको साथी तिनीकहाँ गए र भने, “मैले आइमाईलाई भेट्न सकिन। जब मैले त्यस ठाउँका मानिसहरूलाई सोधें, तिनीहरूले मलाई बताए त्यस ठाउँमा कोही वेश्या थिइन।”
23 यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”
तामार गर्भवती भई
24 प्रायः तीन महीनापछि कसैले यहूदालाई भने, “तिम्रो बुहारीले वेश्याले जस्तै काम गरी। अनि अहिले ऊ वेश्यावृतिले गर्दा गर्भवती छे।”
तब यूहदाले भन्यो, “उसलाई बाहिर निकाल, उसलाई मार अनि उसको शरीर जलाई दे।”
25 यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्ने लट्ठी हो?”
26 यहूदाले ती चीजहरू चिन्यो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइनँ।” अनि यहूदा फेरि तिनीसित सुतेनन्।
27 तामारको सुत्केरी हुने समय आइपुग्यो अनि उनले थाहा पाई जुम्लयाह नानीहरू हुनेछन्। 28 जुन समयमा उनले नानी जन्माँउदै थिई एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।” 29 तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी। 30 त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि।
येशूद्वारा चार हजार भन्दा अधिक मानिसलाई भोजन
(मत्ती 15:32-39)
8 अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसँग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो। 2 येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसँग छन्। अनि अहिलेसम्म तिनीहरूसँग खानेकुरा केही छैन। 3 म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरूछन्।”
4 येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”
5 तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन्?”
चेलाहरूले जवाफ दिए, “हामीहरूसँग सातवटा रोटीहरू छन्।”
6 येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुक्रा पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढ्न दिनुभयो चेलाहरूले त्यसै गरे। 7 चेलाहरूसँग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढ्नु भन्नु भयो।
8 सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे। 9 प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो। 10 त्यसपछि उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।
फरिसीहरूले येशूको परीक्षा लिने प्रयास गरे
(मत्ती 16:1-4; लूका 11:16,29)
11 फरिसीहरू येशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने। 12 येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँच्चो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।” 13 तब येशूले तिनीहरूलाई छोड्नुभयो र डुङ्गामा चढ़नु भयो अनि समुद्रको अर्को तिर जानुभयो।
येशूद्वारा यहूदी प्रमुखहरूलाई चेतावनी
(मत्ती 16:5-12)
14 डुङ्गामा भएको बेला चेलाहरूसँग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए। 15 येशूले तिनीहरूलाई सर्तक गराउनु भयो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
16 चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसँग रोटी छैन भन्नु भएको हो।”
17 चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू बुझ्न सक्तैनौ? 18 के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैनन् के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहुँदा मैले के गरें। 19 मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडेको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। कति टोकरी उब्रेका रोटीहरू बटुल्यौ?”
चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी रोटीका टुक्राहरू बटुल्यौं।”
20 “अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?”
चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।”
21 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझ्न् सकेका छैनौ?”
बेत्सैदामा अंन्धो मानिस निको भएको
22 येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे। 23 अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानु भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अंन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
24 उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।”
25 फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो। 26 येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”
पत्रुस अनुसार येशू नै ख्रीष्ट हुन्
(मत्ती 16:13-20; लूका 9:18-21)
27 येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?”
28 चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”
29 त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?”
पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
30 येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।”
येशू भन्नुहुन्छ उहाँ मर्नु पर्छ
(मत्ती 16:21-28; लूका 9:22-27)
31 त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्। 32 येशूले पछि घट्ने प्रत्येक घट्नाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन।
पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे। 33 तर येशू फनक्क फर्के र चेलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”
34 तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ। 35 जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ। 36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो? 37 किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन। 38 अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।”
एलीपजका भाषण
4 तब तेमानीका एलीपज बोले:
2 “यदि मैले केही भने के तिमी रिसाउँदैनौ?
जुन नभनी म रहन सक्तिनँ।
3 अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ।
तिमीले कमजोर हातहरूलाई बलवान बनायौ।
4 तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए।
तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए।
5 तर अहिले तिमीमाथि कष्टहरू आए
अनि तिमी हतास भयौ।
कष्टले तिमीलाई छुन्छ
अनि तिमी हतास हुन्छौ।
6 तिमीले परमेश्वरलाई आराधना गर्छौ।
तिमीले उहाँमाथि भरोसा गर्दछौ।
तिमी एकजना असल मानिस हौ।
यसकारण ती तिम्रा आशा बनोस्।
7 अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्।
असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।
8 मैले कतिपय सङ्कटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ।
तर तिनीहरू नै सधैँ दण्डित हुन्छन्।
9 परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ।
परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।
10 दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र झर्किन्छन्।
तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।
11 हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन जसले शिकार मार्नलाई भेट्दैनन्।
तिनीहरू मर्छन अनि तिनीहरूका डम्मरूहरू छरपष्ट हुन्छन्।
12 “गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो।
मेरो कानहरूले त्यसका कानेखुसी पक्रिए।
13 मेरो रातको सपनाहरू बीचमा
मानिसहरू निद्रामा हुन्छन्,
14 म त्रासित भएँ, अनि कामें।
मेरो सबै हाडहरू कामे।
15 एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो।
मेरा शरीरको रौं ठाडो भए।
16 त्यो आत्मा त्यहाँ उभियो,
तर त्यो के थियो मैले देख्न सकिनँ।
एउटा आकार मेरो आँखाको सामने उभियो,
अनि त्यहाँ चकमन्न भयो,
तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें:
17 ‘एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।
मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन।
18 हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न।
परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।
19 यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्।
मानिसहरू माटाको घरमा बस्दछन।
ती माटाका घरहरूको जग फोहरमा हुन्छ।
कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।
20 मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन।
तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।
21 यदि तिनीहरूको पालको डोरी तानियो भने
मर्ने कारण थाहा नपाई तिनीहरू मर्ने छैनन् र?’”
आत्मा र जीवन
8 यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। 2 किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। 3 व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो। 4 परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।
5 जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। 6 यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। 7 यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। 8 ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।
9 तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन। 10 किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। 11 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।
12 यसकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। 13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।
14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। 15 जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “हे अब्बा हे पिता।” 16 अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। 17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।
हामीले भविष्यमा महिमा पाउने छौ
18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। 19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। 20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः 21 परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।
22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। 24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। 25 तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं।
26 आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। 27 परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।
28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो। 29 यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो। अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो। 30 परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।
येशू ख्रीष्टमा परमेश्वरको प्रेम
31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? 32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र? 33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। 34 परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ। 35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। 36 धर्मशास्त्रले भन्छ,
“तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं।
मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।”(A)
37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। 38-39 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।
© 2004, 2010 Bible League International