Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 4

मोशाको निम्ति प्रमाण

तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट हुनुभएन?”

तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?”

मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।”

तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।”

मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए। तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।”

मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो। तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।”

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।”

यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै-दाग भएको पाए।

तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।” यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलेकै जस्तो राम्रो भयो।

तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंड्ने लहुरो प्रयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्। यी दुइ संकेतहरू देखाउँदा पनि तिनीहरूले तिमीहरूलाई आफैं विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूईंमा खन्याऊ, यसले भूईं छुने वित्तिकै त्यो रगतमा परिवर्त्तन हुनेछ।”

10 तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँच्चो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू प्रयोग गर्दिन।”

11 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ। 12 यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौ म तिमीसित हुनेछु। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।”

13 तर मोशाले भने, “हे मेरो परमप्रभु! मलाई होइन, अरू कसैलाई पठाउनु होस्।”

14 तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् र तिमीलाई देखेर तिनी खुशी हुनेछन्। 15 ऊ तिमीसँग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ। 16 तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसँग बोल्ने छन्। तिमी महान राजा जस्तै हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्। 17 यसर्थ अब तिमी जाऊ। तिमीसित तिम्रो हिँड्ने लहुरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसँगै छु।”

मोशा मिश्र फर्किन्छन्

18 तब मोशा आफ्नो ससूरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।”

यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।”

19 जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”

20 यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।

21 मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु। 22 तब तिमीले फिरऊनलाई भन्नुपर्छ। 23 परमप्रभु भन्नुहुन्छ, ‘इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।’”

मोशाको छोरालाई खतना गरिन्छ

24 मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो। 25 तर सिप्पोराले ढुङ्गाको छुरीले आफ्नो छोराको खतना गरिदिइन्। उसले छाला निकालेर मोशाको खुट्टा छुइन्। तब तिनले मोशालाई भनिन्, “तिमी मेरो रगत को साइनो भएको लोग्ने हौ।” 26 सिप्पोराले यसो भनिन् किनभने उसले आफ्नो छोराको खतना गर्नु थियो यसकारण परमप्रभुले मोशालाई क्षमा गर्नुभयो अनि उसलाई मार्नु भएन।

मोशा र हारून परमेश्वरको सम्मुख

27 परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरुभूमिमा जाऊ अनि मोशालाई भेट।” यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए। 28 मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए।

29 यसर्थ मोशा र हारून गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे। 30 त्यसपछि हारूनले मानिसहरूसँग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे। 31 मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।

लूका 7

येशूद्वारा एकजना नोकर निको

(मत्ती 8:5-13; यूहन्ना 4:43-54)

जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो। कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो। जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो। ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ। तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”

यसकारण येशू ती मानिसहरूसँग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, “हे प्रभु, तपाईं मेरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन। यसकारण म आफैं पनि तपाँईकहाँ मानसँगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ। तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”

जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”

10 येशूलाई बोलाउन गएका सबै मानिसहरू घर फर्किए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।

येशूद्वारा एकजना मानिसले जीवन पाउँदछ

11 अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ सँगै गहरहेका थिए। 12 जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासँग थिए। 13 जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।” 14 येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।” 15 त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।

16 सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”

17 उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिँजियो।

यूहन्नाद्वारा एउटा प्रश्न

(मत्ती 11:2-19)

18 यूहन्नाका चेलाहरूले यी सब घट्नाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए। 19 यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”

20 त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”

21 त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो। 22 अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्। 23 कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”

24 जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई? 25 मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्। 26 साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्। 27 उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छः

‘सुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु।
    जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।’(A)

28 तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”

29 जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए। ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो। 30 तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।

31 “यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्णन गर्नु? तिनीहरू के जस्ता छन्? 32 यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्

‘हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं,
    तर तिमीहरू नाचेनौं;
हामीले दु:खका गीत गायौं
    तर तिमीहरू रोएनौ।’

33 बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, ‘उसलाई भूत लागेको छ।’ 34 मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, ‘हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।’ 35 तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”

शमोन फरिसी

36 फरिसीहरूमध्ये एकले येशू सँगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरमा गए अनि खानु बसे।

37 त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाँडामा केही सुगन्धितबस्तु लिएर आई। 38 त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।

39 त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”

40 येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।”

शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!”

41 येशूले भन्नुभयो, “त्यहाँ दुइजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए। 42 तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”

43 शिमोनले भन्यो, “मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।”

येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।” 44 त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई। 45 तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई। 46 तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई। 47 यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”

48 त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, “तिम्रो पापहरू क्षमा भएको छ।”

49 खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैंलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”

50 येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गर्यो। अब तिमी शान्तिसाथ जाऊ।”

अय्यूब 21

अय्यूबले जवाफ दिन्छन्

21 तब अय्यूबले जवाफ दिएः

“म के भन्छु सुन,
    मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।
जब म बोल्दछु, धैर्य राख्नु
    मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।

“म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन,
    त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिनँ।
म प्रति हेर अनि शोकले आघात बन
    तिम्रो हात मेरो मुखमा राख,
    अनि शोकले आघात भएको आँखाले मलाई हेर।
जब मलाई के भएको थियो भनी सोच्छु
    मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।
किन पापीहरू दीर्धायु हुन्छ?
    किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?
दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन
    र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।
तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्।
    परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।
10 तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्।
    तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्।
11 दुष्टहरूले आफ्नो नानीहरूलाई भेंडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन।
    तिनीहरूका नानीहरू वरिपरि नाँच्छन्।
12 तिनीहरू वीणा र बासुरीको धुनमा गाउँछन र नाँच्छन्।
13 दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्।
    त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।
14 तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्।
    हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।’
15 अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो?
    हामीलाई उसको सेवा गर्ने खाँचो छैन।
    उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’

16 “यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफैं बनाउँदैनन्,
    म तिनीहरूको परार्मशको पछि लाग्दिन।
17 तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ?
    प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ?
    कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?
18 हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै
    के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ?
19 तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति
परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’
    परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन्
    तब तिनीहरू तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्।
20 दुष्टहरूले आफ्नै सजाय देखुन्।
    सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैंले देखुन।
21 जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ,
    उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।

22 “कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन।
    परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।
23 एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ।
    ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।
24 उसको शरीरका हड्डीहरू बलिया थिए
    कारण उसले भोजन प्रशस्त पाएको थियो।
25 तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ।
    उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन।
26 अन्तमा, ती दुवै मानिसहरू सँग-सँगै फोहोरमा ढल्नेछन्।
    ती दुबैलाई कीराहरूले पुर्नेछन्।

27 “तर, म जान्दछु तिमीहरू के सोची रहेछौ
    अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।
28 तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ।
    अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।’

29 “तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ
    अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।
30 जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू सधैँ जोगिन्छन्।
    जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।
31 कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन।
    कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन।
32 जब दुष्ट मानिसलाई चिहानमा लगन्छि
    उसको चिहानको छेउमा चौकिदार उभिन्छ।
33 यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ।
    अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।

34 “त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ,
    तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”

1 कोरिन्थी 8

मूर्तिमा चढ़ाइएका खाना

अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ। जसले केही जान्दछु भन्ने सन्झन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन। तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।

यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ। धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन्, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई “देवताहरू” र “मालिकहरू” मान्छन्। तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटनै प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशूको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ।

तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफैं निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैंलाई दोषी सम्झन्छन्। तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखाँदैमा कुनै हानी छैन र खाँदैमा कुनै लाभ छैन।

तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्। 10 तिमीसित बुद्धि छ यसर्थ मूर्तिको मन्दिरमा बस्नु अनि खानु तिमीलाई स्वतन्त्र लाग्छ। दुर्वल विश्वास भएका कुनै मानिसले तिमीलाई त्यहाँ खाँदै गरेको देख्न सक्छ, यसर्थ उसलाई मूर्तिमा चढाएका मासु खानु उत्साह हुन्छ, यद्यपि वास्तवमा उसले भूल काम सम्झन्छ। 11 यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ। 12 जब तिमी तिम्रो ख्रीष्टमा भएका दाज्यू-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ। 13 यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International