Add parallel Print Page Options

येशूले भूत लागेको दुइजना मानिसहरूलाई चंगाई गर्नु भयो

(मर्कूस 5:1-20; लूका 8:26-39)

28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे। 29 ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?”

30 छेउको क्षेत्रमा सुँगुरहरूको बथान चरिरहेको थियो। 31 भूतहरूले येशूलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सुँगुरहरूको बथानमा पस्न दिनुहोस्।”

32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे। 33 ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले। 34 तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।

Read full chapter