Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 21

अरू नियम अनि आज्ञाहरू

21 त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;

“यदि तिमीहरूले हिब्रू कमारा-कमारी किन्यौ भने त्यसले तिमीहरूको छ बर्षसम्म मात्र सेवा गर्नेछन्। छः बर्षपछि ती स्वतन्त्र हुनेछन्। ती कमाराले तिमीलाई केही पनि तिर्नु पर्नेछैन। यदि त्यो मानिस, तिम्रो कमारा हुनअघि विवाह नगरेको भए पत्नी बिनै स्वतन्त्र हुनेछ। तर यदि त्यो मानिस कमारा हुनुअघि नै विवाह गरेको भए उसले आफू स्वतन्त्र हुँदा पत्नीलाई पनि साथै लिएर जानेछ। यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।

“तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पराउँदिन।’ यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।

“कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्न चाहन्छ भने कमारा स्वतन्त्र हुने नियम उसलाई लागू हुँदैन। यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खुशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेच्नु हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ। यदि त्यस मालिकले आफ्नी कमारी छोरोसित विवाह गरिदिने वचन दिए उसले त्यस केटीलाई कमारीलाई जस्तो व्यवहार गर्नु हुदैन तर आफ्नो छोरीलाई जस्तो व्यवहार गर्नुपर्छ।

10 “यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लुगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ। 11 मालिकले त्यस आइमाईको निम्ति यी तीन प्रकारको कार्यहरू गर्नै पर्छ। यदि उसले त्यसो नगरे त्यो आइमाईले स्वतन्त्रता पाउनु पर्छ अनि आफ्नो स्वतन्त्रताको निम्ति केही तिर्नु पर्दैन।

12 “यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ। 13 तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिनै मार्छ भने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोज्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्। 14 तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।

15 “कुनै मानिसले आफ्नो बाबु अथवा आमालाई चोट पुर्यउँछ भने त्यस मानिसलाई मार्नै पर्छ।

16 “यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।

17 “यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराप्छ भने त्यसलाई मार्नै पर्छ।

18 “मानिलेऊ त्यहाँ दुइजना मानिसहरू झगडा़ गरिरहेका छन्, अनि एउटाले अर्कोलाई मुड्की र ढुङ्गाले हिर्कायो। अथवा त्यो चोट लागेको मानिस मरेन, तर ओछ्यान लाग्यो। 19 यदि चोट लागेको मानिस उठेर लहुरोको भरमा यता उता हिंडछ भने हिर्काउनेले चोट लाग्ने मानिसलाई क्षतिपूर्ति दिनुपर्छ अनि स्वस्थ हुने समयसम्म सहायता गर्नुपर्छ।

20 “कोही मालिकले आफ्नो कमारा-कमारीलाई लट्ठीले कुट्छ अनि यस्तो हिकाईले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनैपर्छ। 21 तर यदि कमारा-कमारी मरेन अनि एकदुइ दिनमा राम्रो भई हाल्यो भने हिर्काउने मानिसलाई सजाय हुँदैन। किनभने कमारा-कमारीको निम्ति उसले दाम तिरेको छ र कमारा कमारी उसका सम्पत्ति हुन्।

22 “दुइ जना मानिस झगडा़ गर्न सक्छन् अनि यसरी झगडा़ गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुर्याउन सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्तारूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्। 23 तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ। 24 तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँत, हातको सट्टामा हात, खुट्टाको सट्टामा खुट्टा। 25 डामको ठाउँमा डाम, खोस्रेको सट्टामा खोस्रिनु नै अनि चोटको ठाउँमा चोट नै लिनु पर्छ।

26 “यदि कसैले आफ्नो कमाराको आँखो फुटाउँछ र ऊ आन्धो हुन्छ भने त्यो कमारा केही नतिरी स्वतन्त्र हुन सक्छ। उसको आँखो नै उसले पाउने स्वतन्त्रता दाम हुन्छ। कमारा-कमारी दुवैको निम्ति एउटै नियम लागू हुन्छ। 27 यदि कुनै मालिकले कमारालाई मुखमा हिर्काएर दाँत फुकाली दिन्छ भने त्यस कमाराले कुनै पैसा नतिरी त्यो स्वतन्त्र भएर जान सक्छ। उसको दाँत नै उसले तिर्नु पर्ने दाम हुन्छ। यस्तो परिस्थितिमा पनि कमारा तथा कमारीको निम्ति त्यही नियम लागू हुन्छ।

28 “यदि कसैको गोरूले कुनै पुरूष अथवा स्त्रीहरूलाई मार्छ भने त्यस गोरूलाई पनि ढुङ्गाले हिर्काएर मार्नु पर्छ। तिमीहरूले त्यो गोरूको मासु खानु हुँदैन तर त्यस गोरूको मालिक निर्दोष हुन्छ। 29 त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। 30 तर यदि गोरूले हानेर मारिएको मानिसको परिवारले क्षतिपूर्ती लिन्छ भने त्यो गोरूको मालिकलाई मार्नु हुँदैन। तर उसले क्षतिपूर्ती अवश्यै गर्नु पर्छ।

31 “कुनै मानिसको छोरा अथवा छोरी त्यसरी मारिए पनि त्यही नियम लागू हुन्छ। 32 तर यदि गोरूले कुनै कमारा अथवा कमारीलाई मारे गोरूको मालिकले कमारा-कमारीको मालिकलाई तीस शेकेल चाँदी तिर्नु पर्छ अनि गोरूलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।

33 “कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा साँढे अथवा गधा खस्न सक्छ। 34 इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।

35 “यदि कुनै मानिसको गोरूले अर्का मानिसको गोरू मार्छ भने तिनीहरूले जिउँदो गोरूलाई बेच्नु पर्छ तब तिनीहरूले बेचेको मूल्य र मृत गोरू बराबरी बाँढ्नु पर्छ। 36 तर यदि कुनै मानिसको गोरूले अरू पशुहरूलाई हान्छ भने यसको मालिकले यसलाई नियंत्रण गर्दैन भने उसको गोरूले हानेको पशुको बदलामा पशु दिनु पर्छ।

लूका 24

येशू मृत्युबाट बौरी उठे

(मत्ती 28:1-10; मर्कूस 16:1-8; यूहन्ना 20:1-10)

24 हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए। चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए। तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्। जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए। ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ? येशू यहाँ छैनन्। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ? उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।” तब ती स्त्रीहरूले येशूले के भन्नु भएको थियो सम्झना गरे।

ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घट्नाहरू बारे तिनीहरूले भने। 10 ती स्त्रीहरू मरियम मग्दलिनी, यूहन्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घट्नाहरू सुनाए। 11 तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोस्रा सम्झेर पत्याएनन्। 12 तर पत्रुस जुरूक्कै उठ्‌यो अनि चिहान तिर दगुर्यो। त्यो निहुरियो अनि हेर्यो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो।

इम्माउसको बाटोमा

(मर्कूस 16:12-13)

13 त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय: साढे तीन कोश टाढा पर्थ्यो। 14 तिनीहरूले घटेका ती सब घट्नाहरू बारे कुरा गरिरहेका थिए। 15 जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफैं तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसँगै हिँड्नु भयो। 16 तर ती दुइ जनालाई येशूले चिन्नु दिनु भएको थिएन। 17 त्यसपछि येशूले भन्नुभयो, “तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?”

ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो। 18 तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घट्नाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?”

19 येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घट्नाहरू?”

तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो। उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो। 20 तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए। 21 हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घट्नाहरू घटे।

“यी सब घट्ना घटेको आज तेस्रो दिन हो। 22 तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए। 23 तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदूतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ! 24 त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।”

25 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गर्यौ। 26 ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।” 27 त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।

28 जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ। 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!” तब उहाँ तिनीहरूसँग बस्नु राजी हुनु भयो।

30 येशू जब मेचमा उनीहरूसँग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो। 31 त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो। 32 ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसँग बात गर्नु हुँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाञ्चित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँच्चो अर्थ खोलिरहनु भएको थियो।”

33 तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर फर्किए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसँग भएका अरू मानिसहरूले भने, 34 “प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”

35 त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।

येशू चेलाहरू सामु देखा पर्नु भयो

(मत्ती 28:16-20; मर्कूस 16:14-18; यूहन्ना 20:19-23; प्रेरित 1:6-8)

36 जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफैं चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”

37 तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे। 38 तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शङ्काका गर्छो? 39 मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैनन्।”

40 तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो। 41 तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्मित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?” 42 तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए। 43 त्यो लिनु भयो अनि तिनीहरूको अघि खानु भयो।

44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”

45 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझ्ने मन खोली दिनु भयो। 46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ। 47-48 तिमीहरूले यी सबै घट्ना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ। 49 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपाउरून्जेल यहाँ यरूशलेममा नै पर्खिरहो।”

येशूको स्वर्गरोहण

(मर्कूस 16:19-20; प्रेरित 1:9-11)

50 येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो। 51 उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो। 52 चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम फर्किए। तिनीहरू अत्यन्तै खुशी थिए। 53 सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे।

अय्यूब 39

39 “अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्?
    के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?
के तिमी जान्दछौ कति महिनासम्म घोरलले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिँड्नु पर्छ?
    के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?
जब तिनीहरूलाई प्रसव वेदना हुन्छ
    तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।
ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्।
    त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाड्दछन अनि कहिले फर्केर आउँदैनन्।

“अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो?
    कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?
मैले ती जङ्गली गधाहरूलाई मरुभूमिमा घर भए झैं छोडिदिएँ।
    मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँमा छोडिदिएँ।
जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ
    अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।
जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन्
    त्यो तिनीहरूको चौउर नै हो
    जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।

“अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ?
    के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?
10 के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ
    ताकि तिमीले खेत जोत्न सक्छौ?
11 एउटा जङ्गली साँढे अति बलियो हुन्छ।
    तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?
12 के खलाबाट धन उठाई ढुकुटीमा लान
    त्यो आउँछ भन्ने भरोसा गर्न सक्छौ?

13 “शतुरमुर्गा उत्तेजित भई आफ्ना पखेंटाहरू फरफराउँछ तर शतुरमुर्गा उड्न सक्तैन।
    यसको पखेंटाहरू र प्वाँखहरू साँरसको जस्तो हुँदैन।
14 शतुरमुर्गाले भूइँमा अण्डाहरू पार्दछ
    अनि बालुवामा न्यानो होस् भनि तिनीहरूलाई छोडिराख्छ।
15 शतुरमूर्गले कोही त्यसको फुलहरूमाथि हिँड्छ
    अथवा कुनै पशु त्यसमाथि हिडेर फुटाई देला भनि कुनै पर्वाह नै गर्दैन।
16 शतुरमूर्गले आफ्ना चल्लाहरूलाई
    आफ्नो होइन भने झैं त्याग्छे।
    त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।
17 किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइनँ।
    शतुरमुर्गा लठेप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।
18 तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ,
    किनभने ऊ कुनै पनि घोडा भन्दा छिटो दर्गुछ।

19 “अय्यूब के तिमीले घोडालाई बल दियौ?
    के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?
20 के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ?
    घोडा जोडले हिन्‌हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।
21 घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ।
    त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।
22 घोडाले डरको हाँसो उडाउँछ, त्यो डराउँदैन्।
    त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।
23 काँडको तरकस त्यसको छेउमा धर्रर आवाज गर्छ
    र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन्।
24 घोडा एकदम उत्तेजित हुन्छ त्यो मैदानमा चाँडो दर्गुछ।
    जब त्यसले बिगुल बजेको सुन्दछ त्यो रोकिन सक्तैन।
25 जब बिगुलको आवाज गुन्जिन्छ घोडा कराउँछ,
    छिटो-छिटो उसले टाडैबाट युद्ध सुँध्ने गर्छ।
    उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।

26 “अय्यूब, के तिमीले बाजलाई पखेंटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?
27 के तिमीले गिद्धलाई आकाश माथि उड्न सिकायौ।
    के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?
28 गिद्ध पर्वत र शिखरमा बस्दछ।
    चट्टान नै गिद्धको किल्ला हो।
29 गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ।
    गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।
30 जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन।
    अनि बच्चाहरूले रगत चुस्दछ।”

2 कोरिन्थी 9

ख्रीष्टियन साथीहरूलाई सहायता गर

परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन। म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरदेखि नै दान दिनु तयार थियौ भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धेरै अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्। तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदैछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौ यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस। यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौ। त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।

याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ। हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ। धर्म शास्त्रमा यो लेखिएको छः

“उसले उद्धारता पूर्वक गरीबहरूलाई दिंदछ,
    उसको दयाभाव सदा-सर्वदा रहिरहन्छ।”(A)

10 परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिऊ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ। 11 परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैँ मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।

12 तिमीहरूले यस सेवालाई दिइरहेको दानले परमेश्वरका मानिसहरूको खाँचो टार्छ। तर तिम्रो दयाभावले यति नै मात्र गर्दैन, यसले परमेश्वर प्रति धन्यवादका भावना उर्लेर आउछन्। 13 यो सेवा जुन तिमी गरिरहेकाछौ त्यो तिम्रो विश्वाशको प्रमाण हो। यसकै कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछ। तिमीहरूले परमेश्वरको प्रशंसा गर्छन् किन कि तिमीहरू ख्रीष्टको सुसमाचारलाई मान्छौ-जुन समाचारलाई तिमीहरू विश्वास गर्छौं भन्छौ। मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन् किन कि तिमीहरू मुक्तभावले तिनीहरूसित र सबैसित मिल्दछौ। 14 अनि जब तिनीहरू तिमीहरूकोलागि प्रार्थना गर्दछन् तिनीहरू तिमीहरूलाई दिनु भएको असीम अनुग्रहले तिनीहरूलाई यस्तो लाग्छ। 15 उनको वयान गर्न नसक्ने दानको लागि परमेश्वरलाई धन्यवाद देऊ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International