Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 26

पवित्र पाल

26 “दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ। हरेक पर्दा अठाईस हात लामो हुन पर्छ। चार हात चौंडाइको हुनुपर्छ अनि सबै पर्दाको नाप बराबरी हुनुपर्छ। पाँचवटा पर्दाहरूको एउटा समूह अनि अर्को पाँचवटा पर्दाहरूको अर्को एउटा समूह बनाऊ। पहिला समूह पर्दाको किनारमा निलो लुगाको एउटा सुर्काउनी बनाऊ। दोस्रो समूह पर्दाको किनारमा पनि तिमीले त्यसै गर। हरेक पर्दाको हरेक किनारमा पचासवटा सुर्काउनीहरू बनाऊ। त्यसपछि ती पर्दाहरूसँगै जोड्नका लागि पचासवटा सुनको मुन्द्रीहरू बनाऊ। दुइवटा समूहको पर्दालाईसँगै जोडेर एउटा पवित्र पाल बनाऊ।

“तब अर्को पाल पवित्र मण्डप ढाक्नका निम्ति बनाऊ। त्यो पाल बाख्राका भुत्लाले बुनेर बनाऊ। पाल एघारवटा पर्दाहरू गाँसेर बनाऊ। यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लम्बाई र चार हात चौंडाइ गरी सबै बराबर हुनुपर्छ। पहिले पाँचवटा टुक्रा जोडेर एक भाग अनि अरू छःवटा टुक्राहरू जोडेर अर्को भाग तयार पार। छः वटा पर्दालाई पालभित्र प्रवेश द्वारमाथि पट्टाएर राख। 10 एक भागको आखिरी किनारमा पचासवटा सुर्काउनी बनाऊ र अर्को भागमा पनि त्यसरी नै पचासवटा सुर्काउनी बनाऊ। यी सुर्काउनीहरूले भाग भाग पर्दाहरूलाई एउटै पाल बनाउँछन्। 11 काँसाका पचासवटा मुन्द्रीहरू बनाऊ अनि दुइ समूह पर्दाहरू एउटा एकलो पाललाई जोडनको निम्ति प्रयोग गर। 12 यो पाल पहिले बनाइएको पवित्र पाल भन्दा बढी लामो हुन्छ। यसरी यस पालको पर्दाको आधा भागको किनारा पवित्र पालको पछाडी झुण्डिनेछ। 13 यो पालको पर्दा पवित्र पालको वरिपरि अन्तिम किनारमा पनि एक हात झुण्डिएर रहनेछ। यसकारण यस पालले पवित्र पाललाई पूर्ण रूपले ढाक्नेछ। 14 बाहिरबाट ढाक्नलाई अरू दुइवटा पर्दा बनाऊ। दुइवटा पर्दामा एउटा चाँहि भेंडाको छालालाई रातो रंग लगाएर बनाऊ र अर्को चाँहि नरम छालाको बनाऊ।

15 “पवित्र पाल स्थापना गर्नको निम्ति लामो बबुलको काठको फल्याकहरू प्रयोग गर। 16 अवश्यै फल्याकहरू दश हात लामा अनि एक हात आधा चौंडा हुनै पर्छ। 17 एका अर्कोलाई समान्तर गर्नको निम्ति प्रत्येक र जोडी फल्याकहरूलाई एकै साथ जोडनको निम्ति चुकुलहरू प्रयोग गर। 18 पवित्र पालको दक्षिण पट्टि जोड्न बीसवटा फल्याकहरू बनाऊ, 19 अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ। 20 पवित्र पालको उत्तरी भागमा अझ बीसवटा फल्याकहरू बनाऊ। 21 अनि यस फल्याकहरूलाई सिधा बनाउन चालीसवटा चाँदीको आधारहरू प्रत्येक फल्याकको निम्ति दुइ-दुइवटा बनाऊ। 22 अझ छवटा फल्याकहरू बनाऊ। 23 पवित्र पालको पछिल्लो भागको कुनामा दुइवटा फल्याकहरू बनाऊ। 24 कुनाको फल्याकहरू फेदसम्म फैलिएको हुनुपर्छ। टुप्पाको मुन्द्रीहरूमा फल्याकहरूसँगै जोडिएको हुनुपर्छ अनि त्यस्तै प्रकारले फेदको कुनाहरूको निम्ति गर्नु पर्छ। 25 त्यहाँ पश्चिमी किनारका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।

26 “पवित्र पालमाथि पट्टिको पाँचवटा फल्याकको किनार बनाउनमा बबुल काठ प्रयोग गर। 27 पवित्र पालको अर्को किनारको फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। अनि पवित्र पालको पश्चिमी किनार फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। 28 माझको डण्डा हरेक फल्याकको मध्य भागबाट एक छेऊ देखि अर्को छेऊसम्म पुगेको हुनुपर्छ।

29 “फल्याकहरू र डण्डाहरू सुनले मोहोरी देऊ अनि सुनको मुन्द्रीहरू बनाऊ। 30 मैले तिमीलाई पर्वतमा देखाए बमोजिम नै पवित्र पाल बनाऊ।

पवित्र पालको भित्री भाग

31 “निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार। 32 बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशेहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ। 33 करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ। 34 महापवित्र स्थानभित्र करारको सन्दूकमाथि ढकनी लगाऊ।

35 “पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।

पवित्र पालको ढोका

36 “निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ। 37 यस पर्दामा सुनले बनिएको अंकुसेहरू लगाऊ। अनि बबुलको काठको पाँचवटा खम्बाहरू सुनले बेरेर बनाऊ। यी पाँचवटा खम्बाको निम्ति काँसाका आधारहरू बनाऊ।

यूहन्ना 5

जल-कुण्डको छेउमा भएको मानिसलाई येशूले निको पार्नुभयो

त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो। यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहूदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेंडा़-ढोकाको नजीकमा छ। धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।[a] [b] त्यहाँ अठ्तीस वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”

त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।”

तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड” तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिँड्न थाल्यो।

त्यस्तो घट्ना भएको दिन विश्रामको दिन[c] थियो। 10 तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”

11 तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिँड।’”

12 यहूदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?”

13 तर त्यो मानिसले जसद्वारा आफू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो।

14 केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमीमाथि अझ खराब घट्नाहरू नघटोस्।”

15 तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।

16 येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले। 17 तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिँदिन।”

18 येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”

येशूमा परमेश्वरको अधिकार छ

19 तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। 20 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। 21 पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।

22 “अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ। 23 परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।

24 “म तिमीहरूलाई साँच्चो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्। 25 म तिमीहरूलाई साँच्चो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्। 26 जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ। 27 अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ।

28 “यसमा अचम्म नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्। 29 तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।

30 “म एक्लै केही गर्दिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किनभने म आफैंलाइ खुशी पार्ने कोशिश गर्दिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।

येशूले यहूदीहरूसँग लगातार वार्तालाप गरिरहनु भयो

31 “यदि मैले आफ्नो साक्षी आफैंले दिन्छु तब मेरो साक्षी समर्थित हुँदैन। 32 तर त्यहाँ अन्य मानिस छ जसले मेरो विषयमा मानिसहरूलाई बताउँदछ। अनि म जान्दछु, उनले जे भन्छन् ती सबै कुराहरू सत्य हुन्।

33 “तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने। 34 मलाई मेरो विषयमा भन्नलाई मान्छेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ। 35 यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।

36 “तर मसँग मेरै विषयमा जुन साक्षी छ त्यो यूहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नलाई दिनु भयो। 37 पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ। 38 पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्वास गर्दैनौ। 39 तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ। 40 तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ।

41 “म मानिसहरूबाट प्रशंसा चाहन्न। 42 तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन। 43 म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आँउछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ। 44 तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ? 45 नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरूध्य बोल्छन्। अनि उनै एक हुन जसमाथि तिमीहरूले बचाऊको आशा गर्यौ। 46 यदि तिमीहरूले साँच्ची नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्नु भएकोछ। 47 तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?”

हितोपदेश 2

ज्ञानका कुराहरू सुन

मेरो छोरा, म जे भन्छु ग्रहण गर! मेरा आदेशहरू स्मरण गर! ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ। ज्ञानलाई बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ। चाँदी खोजे झैं ज्ञान खोज, गाड़-धन खोजे झैं ज्ञान खोज। यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो? सो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।

परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्। उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ। उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरूप्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहारा दिनु हुन्छ।

यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ। 10 बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।

11 ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ। 12 ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ। 13 यस्ता मानिसहरू ईमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्। 14 तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्। 15 तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिनीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग राख्छ।

16 बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ। 17 जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली। 18 अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ र उसको पछि लाग्ने मर्नेछ। 19 जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।

20 ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ। 21 ईमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्। 22 तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

गलाती 1

पावल, प्रेरितबाट प्रणाम। प्रेरित[a] हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो। मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा[b] भएका मण्डलीहरूलाई प्रणाम।

परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन। परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैंलाई हाम्रा पापहरूका निम्ति बलि दिए। उनको सदा सर्वदा महिमा होस्। आमिन।

साँच्चो सुसमाचार एउटै मात्र छ

केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुशरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ। वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।

10 अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सम्झन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।

पावलको अधिकार परमेश्वरबाट हो

11 दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन। 12 मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैंले मलाई यो प्रकट गर्नु भएको हो।

13 मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं। 14 म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।

15 तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए। 16 परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ। 17 न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।

18 तीन वर्षपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थें। पत्रुससित म पन्ध्र दिन बसे। 19 मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्। 20 परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्। 21 तब म सिरिया र सिलिसिया गएँ।

22 यहूदियामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्। 23 मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई ऊ नष्ट गर्ने प्रयास गर्थ्यो।” 24 यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International