Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 39

पूजाहारीहरूका विशेष पोशाकहरू

39 पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।

एपोद

तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए। तिनीहरूले सुनलाई पिटेर पातलो च्याप्टो पारे अनि त्यसलाई काटेर धागो बनाए। तिनीहरूले यी धागोलाई दक्षतापूर्वक मसिनो सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोहरूसित मिलाएर काम गरे। तिनीहरूले एपोदको निम्ति काँधको टुक्वाहरू बनाए अनि एपोदको दुइवटा छेऊ बाँधिदिए। एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेश्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए।

ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे। तिनीहरूले यी मणिहरू एपोदको कुमका टुक्राहरूमा जोडिदिए। यी मणिहरूले परमेश्वरलाई इस्राएलीहरूको सम्झना गराउँछन्। तिनीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

न्यायको छाती-पाता

तब तिनीहरूले न्यायको थैली बनाए। एपोद झैं यो निपुणता पूर्वक बनाए। यो सुनको धागो, मसिनो मिहीन सुती लुगा, निलो, बैजनी र रातो धागोले बनाइएको थियो। न्यायको छाती-पाता वर्गादार जेब बनाउन पट्टाएर आधा बनाइएको थियो। यो एक बित्ता लामो अनि एक बित्ता चौंडाको थियो। 10 त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो। 11 दोस्रो लहरमा नीर लाल हीरा थियो। 12 तेस्रो लहरमा धमकान्त, सूर्यकान्त र मर्तिस थियो। 13 अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए। 14 न्यायको छाती-पाता भित्र बाह्रबटा रत्नहरू थिए। त्यहाँ एउटा रत्न इस्राएलीको प्रत्येक वंशका निम्ति थियो। प्रत्येक इस्राएलीको नाउँ एउटा रत्नमाथि खोपिएको थियो।

15 न्यायको छाती-पाताको निम्ति कर्मीहरूले शुद्ध सुनका दुइवटा साङ्गली बनाए। ती साँङ्गलीहरू डोरी झैं बटारिएका थिए। 16 तिनीहरूले सुनको दुइवटा मुन्द्रीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुमामाथि एपोदको लागि टुक्राहरू) बनाए। 17 तिनीहरूले थैलीको कुनाहरूमा सुनको मुन्द्रीहरूबाट साँङ्गली हाले। 18 तिनीहरूले सुनको साँङ्गलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अघिल्लो भागमा बाँधे। 19 तिनीहरूले न्यायको छाती-पातामा अन्य दुइ कुनामा अरू दुइवटा सुनको मुन्द्रीहरू जोडे। यो एपोदको छेउमा न्यायको छाती-पाताको किनारा भित्रपट्टि थियो। 20 तिनीहरूले सुनका दुइवटा मुन्द्रीहरू एपोदको काँधको टुक्रामा लगाए। यो मुन्द्रीहरू गाँसिने ठाउँको छेउमा पेटीको अलिकतिमाथि थियो। 21 त्यसपछि तिनीहरूले न्याय थैलीमाथिको मुन्द्रीहरूदेखि एपोदमाथिको मुन्द्रीहरू बाँध्न निलो डोरी प्रयोग गरे। यसप्रकारले न्याय थैली एपोदसित बलियोसँग बाँध्न सकिन्थ्यो। तिनीहरूले प्रत्येक चीज परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार नै गरे।

पूजाहारीहरूको निम्ति अन्य पोशाकहरू

22 त्यसपछि तिनीहरूले एपोदको निम्ति लबेदा बनाए। निपुण शिल्पकारले बुनेको निलो लुगाबाट तिनीहरूले यो लबेदा बनाए। 23 लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेऊ नच्यातियोस्।

24 तिनीहरूले मसिनो गरी बाटेको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए। 25 फेरि तिनीहरूले शुद्ध सुनका घण्टीहरू बनाए अनि तिनीहरूले ती घण्टीहरूलाई लुगाको फेरोमा दारिमहरूको बीचमा झुण्डाइदिए। 26 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार नै तिनीहरूले घण्टीहरू अनि दारिमहरू एकपछि अर्को गर्दै पोशाकको फेरोमा वरिपरि झुण्ड्याईदिए।

27 निपुण शिल्पकारहरूले हारून र तिनका छोराहरूको निम्ति कमेजहरू बुने। यी कमेजहरू मसिनो सुती कपडाबाट बनिएका थिए। 28 ती शिल्पीहरूले मसिनो सुती लुगाले फेटाहरू पनि बनाए। टोपी अनि भित्री लुगाहरू पनि तिनीहरूले मिहीन सुती लुगाबाट बनाए। 29 जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुट्टा भरेको पेटी बनाए।

30 तब तिनीहरूले शुद्ध सुनबाट पवित्र मुकुटमा लगाउने पातो बनाए त्यस पातोमाथि यी शब्दहरू खोपे: परमप्रभुको निम्ति पवित्र 31 तिनीहरूले पातोलाई निलो डोरीले बाँधे, तब तिनीहरूले निलो डोरीले फेटामा बाँधे परमप्रभुले मोशालाई आज्ञा दिए जस्तै गरे।

मोशा पवित्र पाल निरीक्षण गर्छन्

32 परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेटहुने पाल निर्माण समाप्त गरे। 33 तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेंडाको छालाले बनाएको ढकनी देखाए। 34 तिनीहरूले मोशालाई बाख्राको सुकेको रातो छालाले बनिएको पाल छोप्ने सील छालाबाट बनाइएको पर्दा देखाए। अनि तिनीहरूले अति पवित्र स्थानको प्रवेशद्वार ढाक्ने पर्दा पनि मोशालाई देखाए।

35 तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए। 36 तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा-वर्तनहरू र विशेष रोटी पनि देखाए। 37 तिनीहरूले मोशालाई शुद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बत्तीहरू बाल्नको निम्ति तेल देखाए। 38 तिनीहरूले मोशालाई सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप पालमा जाने द्वार र ढाक्ने पर्दा पनि देखाए। 39 तिनीहरूले उनलाई काँसाको वेदी, काँसाको कोरेसो अनि (वेदी बोक्न प्रयोग हुने) डण्डाहरू देखाए। तिनीहरूले उनलाई वेदीमा प्रयोग गरिने प्रत्येक चीजहरू देखाए तिनीहरूले उसलाई हात खुट्टा धुने कचौरा अनि यसको आधार देखाए।

40 तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।

41 त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हारून र उसका छोराहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।

42 इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे। 43 जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।

यूहन्ना 18

येशू पक्राउपर्नु भयो

(मत्ती 26:47-56; मर्कूस 14:43-50; लूका 22:47-53)

18 जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किद्रोन खोल्सा पारि ऊ बेंसी गए। अर्कोपट्टि त्यहाँ जैतुन रूखहरूको बगैंचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए।

यहूदा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसँग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो। यहूदाले एकदल सेनाहरू लगेर त्यसै बगैंचातिर गयो। यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए।

येशू यी सबै घट्नाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”

ती मानिसहरूले भने, “नासरतको येशूलाई।”

येशूले भन्नुभयो, “म येशू हुँ।” यहूदा जो येशूका विश्वाघातक त्यहीं उभिरहेको थियो। जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे।

येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ?”

मानिसहरूले भने, “नासरतको येशूलाई।”

येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हुँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हौ भने, यी अरू मानिसहरूलाई जानदेऊ।” उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”

10 शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो। 11 येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”

अन्नास्‌को अगाडि येशूलाई लगियो

(मत्ती 26:57-58; मर्कूस 14:53-54; लूका 22:54)

12 त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे। 13 तिनीहरूले येशूलाई बाँधे अनि पहिले उहाँलाई अन्नासको अगाडि लगे। अन्नास प्रधान पूजाहारी कैयाफाका ससुरा थिए जो यस वर्षको निम्ति प्रधान पूजाहारी थिए। 14 कैयाफा तिनी हुन् जसले यहूदीहरूलाई भनेका थिए कि जम्मै मानिसहरूका निम्ति एउटा मान्छे मर्नु उचित छ।

पत्रुसले झूटो बोले येशूको बारेमा

(मत्ती 26:69-70; मर्कूस 14:66-68; लूका 22:55-57)

15 शिमोन पत्रुस र येशूका अर्को चेला उहाँसँगै गए। ती चेलाले प्रधान पूजाहारीलाई चिनेका थिए। यसर्थ उनी येशूसँग प्रधान पूजाहारीको घरको प्रांगणभित्र गए। 16 तर पत्रुस बाहिरै ढोका नजिक बस्यो। ती चेला जसले प्रधान पूजाहारीलाई चिन्यो र बाहिर आयो। उनी त्यस केटीसँग बोले जसले मानिसहरूलाई ढोका खोलिदिई। तब उसले पत्रुसलाई भित्र ल्याए। 17 द्वारपाल केटीले पत्रुसलाई भनी, “तिमी पनि त्यस मानिसको चेलाहरू मध्ये एक हौ?”

पत्रुसले जवाफ दियो, “अँहँ, म होइनँ।”

18 जाडोको दिन थियो। यसैले नोकहररू र द्वारापालहरूले आगोको भुङ्ग्रो बनाए। तिनीहरू आगोको वरिपरि उभिँदै आफूलाई न्यानो पारिरहेका थिए। पुत्रस पनि तिनीहरूसँगै उभिइरहेका थिए।

प्रधान पूजाहारीले येशूलाई प्रश्नहरू गरे

(मत्ती 26:59-66; मर्कूस 14:55-64; लूका 22:66-71)

19 प्रधान पूजाहारीले येशूलाई उनका चेलाहरू र उनको शिक्षाको विषयमा सोधे। 20 येशूले उत्तर दिनुभयो, “म सधैँ सबै मानिसहरूसँग खुल्लम-खुल्ला बोलेको छु। मैले सधैँ सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ। 21 यसर्थ किन प्रश्न गर्नुहुन्छ? जस जसले मेरो शिक्षा सुनेकाछन् ती मानिसहरूलाई सोध्नु होस्। मैले के भने तिनीहरू निश्चय जान्दछन्।”

22 जब येशूले त्यसो भन्नुभयो, एकजना द्वारपालले, जो नजिकै उभिइरहेको थियो उहाँलाई हिर्कायो। त्यस द्वारपालले भन्यो, “तैंले प्रधान पुजाहारीसँग त्यसरी बात गर्ने होइन।”

23 येशूले उत्तरमा भन्नुभयो, “यदि मैले केही गल्ती भनेको भए, यहाँ जो मानिसहरू छन् तिनीहरूको सामुन्ने प्रमाण गर के भूल छ। यदि मैले सही कुराहरू गरे भने, मलाई तिमी किन हिर्काउँछौ?”

24 तब अनासले येशूलाई कैयाफा प्रधान पूजाहारीकहाँ पठाए। त्यसबेला सम्म येशू बाँधिएकै हुनुहुन्थ्यो।

पत्रुसले फेरि झूट बोल्यो

(मत्ती 26:71-75; मर्कूस 14:69-72; लूका 22:58-62)

25 शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?”

तर पत्रुसेल अस्वीकार गर्दै भन्यो, “अँहँ, म होइन।”

26 प्रधान पूजाहारीको एकजना नोकर त्यहाँ थियो। त्यो नोकर त्यस मान्छेको आफन्त थियो जसको कान पत्रुसले काटेको थियो। नोकरले भन्यो, “तिमीलाई उसँग मैले बगैंचामा देखेको होइन?”

27 तर फेरि पत्रुसले भन्यो, “अँहँ! म उनीसँग थिइनँ।” अनि त्यहीबेला भाले बास्यो।

पिलातसको समक्ष येशूलाई ल्याइयो

(मत्ती 27:1-2,11-31; मर्कूस 15:1-20; लूका 23:1-25)

28 त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो। 29 यसर्थ पिलातस बाहिर निस्केर यहूदीहरूलाई सोधे, “यस मानिसको विरुद्धमा तिमीहरूले के आरोप लगाएकोछौ?”

30 यहूदीहरूले भने, “यो अपराधी हो, यसकारण तपाईंको समक्ष ल्याएका छौं।”

31 पितालसले यहूदीहरूलाई भने, “तिमीहरू यिनलाई आफैं लैजाऊ अनि तिमीहरूकै व्यवस्था अनुसार न्याय गर।”

यहूदीहरूले भने, “तर तपाईंको कानुनले कुनै मानिसलाई मृत्यु दण्ड दिन हामीलाई अनुमति दिंदैन।” 32 (यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सक्थ्यो।)

33 त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहूदीहरूका राजा हौ?”

34 येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरूले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?”

35 पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”

36 येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाईँ गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”

37 पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?”

येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”

38 पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहूदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइन। 39 तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुपर्छ। तिमीहरू यस ‘यहूदीहरूको राजालाई’ मुक्ति दिइयोस् भन्ने चाहन्छौ?”

40 यहूदीहरूले फेरि चिच्याउँदै भने, “अँहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाँकू थियो।)

हितोपदेश 15

15 नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दित बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।

परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।

जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।

मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ।

धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्त्याउँछ।

बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।

एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र ईमान्दारी हुन प्रयास गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।

10 जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।

11 परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ।

12 मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।

13 एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।

14 विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ।

15 गरीब मानिसहरूको समय सधैँ दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ।

16 धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।

17 घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।

18 एउटा क्रोधित मानिसले झगडा़ मच्चाउँछ तर सहनशील मानिसले झगडा़लाई शान्त गराउँछ।

19 एकजना अल्छे मानिसको मार्ग, काँढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।

20 एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।

21 मूर्खलाई दुष्ट कामले खुशी तुल्याउँछ तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ।

22 चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।

23 सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।

24 बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ।

25 अहङ्कारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ।

26 दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचारसँग खुशी हुनु हुन्छ।

27 लोभी मानिसले आफ्नै घरमा आपत बोलाउँछ, तर घूसलाई घृणा गर्ने मानिस बाँची रहन्छ।

28 एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै बोल्छ तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।

29 परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ।

30 एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ-समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।

31 जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ।

32 जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ, उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।

33 परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउनु भन्दा अघि नम्रता आउँछ।

फिलिप्पी 2

एकतामा रहौ र एक-अर्कोलाई ध्यान देऊ

मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ? यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मेल मिलापसँग एउटै लक्ष्य लिएर बाँच। जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान। आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर।

निस्वार्थ बन्न ख्रीष्टबाट सिक

आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।

ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो।
    उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो।
    तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।
परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो,
    र मानव हुन जन्मनु भयो।
अनि सेवक हुनु भयो।
    जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो।
    अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो।
ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो,
यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो।
    परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।
10 उहाँले यसो गर्नुभयो,
    ता कि स्वर्गमा, पृथ्वीमा औ पातालमा भएका हरेकले येशूको नाउँमा घुँडा टेकुन्।
11 “येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरून्।
    जब यसले पिता परमेश्वरको महिमा ल्याउँछ।

परमेश्वरले चाहे जस्तै मानिस बन

12 मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर। 13 परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

14 कुनै गनगन वा बहस नगरी सबै काम गर। 15 तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। 16 जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।

17 तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु। 18 त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।

तिमोथी र इपाफ्रोडाइटसको खबर

19 तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु। 20 तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। 21 अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। 22 तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ। 23 म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु। 24 म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।

25 इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु। 26 म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए। 27 हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन। 28 यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन। 29 प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ। 30 ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै सङ्कटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International