Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 16

इस्राएलीहरूले गुनासोगरे, अनि परमप्रभुले खाना पठाउनु भयो

16 त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीनै मरुभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौं दिनमा आइपुगे। इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरुभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे। मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस् त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु। छैटौं दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गर्छन, तिनीहरूले दुइ दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।”

तब मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो। तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसँग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”

अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”

तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसँग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ सँगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’”

10 हारून इस्राएलका मनिसहरूसँग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।

11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”

13 त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो। 14 जब शीत सुक्यो भुइँमा पातलो तुसारोको पलाक जस्तो थियो। 15 इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”[a] तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो! 16 परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिसले उसलाई आवश्यक परे जत्ति भोजन जम्मा गर्नु पर्छ, तिमीहरू प्रत्येकले परिवारको एक मानिसको निम्ति एक-एक ओमेर[b] खाध्य जम्मा गर्नु पर्छ।’”

17 तब इस्राएली मानिसहरूले यसै गरे। प्रत्येक मानिसले खाध्य बटुले अनि कतिपय मानिसहरूले अरूले भन्दा वेशी खाध्य कुरा बटुले। 18 खाध्य ओजन गर्दा प्रत्येकले वेशी बटुल्ने को थियो पाइयो। तर त्यहाँ प्रशस्त चाहिं थिएन। तिमीहरूमध्ये प्रत्येकले आफू र आफ्नो पारिवारलाई खानु पुग्नें भन्दा बढी बटुलेको थिएन।

19 मोशाले तिनीहरूलाई भने, “अर्को दिनको निम्ति खाध्य नजोगाऊ।” 20 तर केही मानिसहरूले मोशाको कुरा सुनेन्। ती मानिसहरूले भोलिपल्टको निम्ति पनि खाध्य जोगाए तर खानामा किरा पर्यो र गनाउन थाल्यो। यसकारण त्यसो गर्ने मानिसहरूसँग रिसाए।

21 प्रत्येक दिन बिहान मानिसहरूले आफूलाई चाहिए जति भोजन बटुले। तर जब दिन तातिन्थ्यो हराउँथ्यो।

22 छैटौं दिनचाहिं मानिसहरूले दुइ गुणा बढी ओमेर खाध्य बटुले तिनीहरूले प्रत्येकका लागि दुइ डाला बटुले। यसर्थ अगुवाहरू आए र मोशालाई यो सबै बताए।

23 मोशाले तिनीहरूलाई भने, “परमप्रभुले भन्नु भएको जस्तै नै भयो। यसो भयो कारण भोलि परमप्रभुको सम्मानमा मनाइने विश्रामको दिन हो। तिमीहरूलाई जति आवश्यक पर्छ आज त्यति खाध्य बटुल्न सक्छौ तर भोलि बिहानको निम्ति यस खाध्यको रहल राख।”

24 तब मोशाले भने झैं मानिसहरूले अर्को दिनका निम्ति खाध्य बँचाएर राखे तर त्यो खाध्य बिग्रिएन, कुनैमा किरा परेन।

25 शनिवारको दिन मोशाले मानिसहरूलाई भने, “आज परमप्रभुलाई सम्मान गर्ने विशेष विश्रामको दिन हो। यसर्थ तिमीहरू कोही पनि बाहिर मैदानमा जाने छैनौ र हिजो बचाएको भोजन खाने छौ। 26 तिमीहरूले हप्तामा छः दिनको निम्ति खाध्य बटुल्नु पर्छ अनि सातौं दिन विश्रामको दिन हो यसकरण भूईंमा केही कुनै विशेष खाद्य हुनेछैन।”

27 केही मानिसहरू सातौं दिनमा पनि खाद्य बटुल्नु गए तर तिनीहरूले केही पनि पाएनन्। 28 तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्? 29 हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।” 30 यसर्थ मानिसहरूले सातौं दिनमा विश्राम गरे।

31 इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न”। भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पातलो रोटी जस्तै स्वादिलो थियो। 32 मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाएर राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरुभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।’”

33 अनि मोशाले हारूनलाई भने, “एउटा भाँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुकोअधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।” 34 परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारूनले गरे। हारूनले मन्नको भाँडा लगे अनि करार सामुने राखे। 35 इस्राएलीहरू 40 बर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुन्जेल मन्न खाए। 36 (प्रायः एक ओमेर अर्थात एपाको दशौं भागको भाँडोद्वारा तिनीहरूले मन्न जोखे।)

लूका 19

जक्कै

19 येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो। यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे। तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए। तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्। अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे।

जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।”

त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए। सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससँग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।”

जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चाहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैलाई ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।”

येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ। 10 मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको हो।”

परमेश्वरले दिनुभएको चीजहरू प्रयोग

(मत्ती 25:14-30)

11 येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ। 12 मानिसहरूले यस्तै सोचका होलान् भनेर येशूले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयोः “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए। 13 यसकारण तिनले प्रत्येकलाई एक-एक थैलो पैसा दिए। तिनले भने, ‘म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।’ 14 तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, ‘हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।’

15 “तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ‘ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।’ 16 पहिलो नोकर आयो अनि भन्यो, ‘मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’ 17 राजाले त्यो नोकरलाई भने, ‘अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’

18 “दोस्रो नोकरले भने, ‘मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’ 19 राजाले त्यो नोकरलाई भने, ‘तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!’

20 “त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, ‘मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ। 21 मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’

22 “त्यसपछि राजाले त्यो नोकरलाई भने, ‘तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु। 23 यदि यी सबै साँच्चो हो भने मेरो पैसालाई तिमीले बैंकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।’ 24 त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, ‘रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दश थैली रुपियाँ छ त्यसलाई नै देऊ।’

25 “ती मानिसहरूले राजालाई भने, ‘तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।’

26 “राजाले भने, ‘म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ। 27 अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाहाँदैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।’”

येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भएको

(मत्ती 21:1-11; मर्कूस 11:1-11; यूहन्ना 12:12-19)

28 यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। 29 उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि 30 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। 31 कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’”

32 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए। 33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”

34 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।” 35 यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्‌याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए। 36 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।

37 येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे। 38 तिनीहरूले भने,

“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’(A)

स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”

39 भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”

40 तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”

यरूशलेमकोलागि येशूको बिलौना

41 येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो। 42 उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ। 43 एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन्। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ। 44 तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्ना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”

येशूको मन्दिरतर्फ प्रस्थान

(मत्ती 21:12-17; मर्कूस 11:15-19; यूहन्ना 2:13-22)

45 येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेदनु भयो। 46 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’(B) तर तिमीहरूले यसलाई ‘डाँकूहरको वासस्थान’ बनाएका छौ।(C)

47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए। 48 तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरूले येशूलाई कसरी मार्नु पर्ने हो जान्दैन थिए।

अय्यूब 34

34 तब एलीहूले फेरि बोल्न शुरू गर्यो। उसले भन्योः

“तिमीहरू ज्ञानी पुरूषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ।
    तिमी चतुर मानिसहरू मप्रति ध्यान देऊ।
जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ
    त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।
यसकारण यी तर्कहरूको परीक्षण गरौं,
अनि के ठीक हो त्यसको निर्णय हामी आफैं गरौं।
    हामी आफैं हाम्रा निम्ति के असल हो जानौं।
अय्यूब भन्छन्, ‘म निर्दोष छु।
    अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्न।
म निर्दोष छु तर मलाई झूटो मानिएकोछ।
    म निर्दोष छु तर म नराम्रो प्रकारले व्यथित छु।’

“के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ?
    यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।
दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ।
    अय्यूब दुष्टहरूसित रहन चाहन्छ।
म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ,
यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने,
    ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’

10 “तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन।
    परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैन।
    सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्ट्याँई गर्नु हुँदैन।
11 मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ।
    परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।
12 यो सत्य हो, परमेश्वरले गल्ती काम गर्नु हुँदैन।
    सर्वशक्तिमान परमेश्वरले न्याय कहिल्यै पनि विगार्नु हुँदैन।
13 कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन,
कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन
    परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधैँ नियन्त्रणमा रहनु भयो।
14 यदि परमेश्वरले मानिसहरूबाट आफ्नो आत्मा
    र स्वास लैजान चाहनुहुन्छ भने,
15 तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्।
    सारा मानिसहरू फेरि धूलो हुनेछन्।

16 “यदि तिमीहरू बुद्धीमानी छौ भने
    मैले भनेका कुरामा ध्यान दिएर सुन।
17 कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन।
    अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ?
    परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।
18 परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, ‘तिमीहरू महत्वहीन छौ।’
    परमेश्वरले मुखियाहरूलाई भन्नुहुन्छ ‘तिमीहरू दुष्ट हौ।’
19 परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न।
    अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न।
    किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।
20 मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन्
    अनि मरेर जान्छन्।
    कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।

21 “मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ।
    मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।
22 अनिष्ट कर्म गर्ने मानिसहरूले
    परमेश्वरबाट लुक्ने अँध्यारो पाउँदैनन।
23 न्यायको लागि परमेश्वरको सामुन्ने जान
    मानिसले समय निर्धारण गर्दैन, (त्यो अधिकार परमेश्वरको हो)।
24 यदि शक्तिशाली मानिसहरूले पनि अनिष्ट कामहरू गरे भने
    परमेश्वरले तिनीहरूलाई प्रश्न गर्ने आवश्यकै छैन।
परमेश्वरले तिनीहरूलाई सामान्य रूपले नष्ट गर्नु हुनेछ
    अनि अन्य मानिसहरूलाई मुखिया चुन्नु हुनेछ।
25 यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ।
    यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।
26 परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु हुन्छ किनभने तिनीहरूले अनिष्ट कामहरू गरेका हुन्छन।
    अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु हुनेछ कारण अन्य मानिसहरूले पनि त्यस्तो घटना देख्न सक्छन्।
27 किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे।
    अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दुष्ट मानिसहरूले पर्वाह गर्न छाडे।
28 ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन्,
अनि परमेश्वरलाई गुहार्नका लागि बाध्य गराउँछन्।
    परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।
29 तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने,
कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन।
    यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने
तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन।
    परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।
30 अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने
    तब उसलाई आफ्नो शक्तिबाट बंन्चित गराई दिनु हुन्छ।

31 “त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन्
    ‘म दोषी हुँ, अबोप्रान्त म पाप गर्ने छैन।
32 परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँच्नलाई ठीक शिक्षा दिनु होस्।
    यदि मैले गल्ती काम गरेको रहेछु भनें म फेरि त्यस्तो गर्ने छैन।’
33 अय्यूब, तिमी चाहन्छौ कि परमेश्वरले तिमीलाई पुरस्कार दिउन्।
    तर तिमी परिवर्तन हुन अस्वीकार गर्छौ।
अय्यूब, यो तिम्रो निर्णय हो, मेरो होइन।
    मलाई बताऊ तिमी के सोच्छौ।
34 एक ज्ञानी मानिसले मेरो कुरा ध्यानले सुन्ने छ
    ज्ञानी मानिसले भन्नेछ,
35 ‘अय्यूबले मूर्ख मानिसले जस्तो बोल्दैछ।
    अय्यूबले भनेका कुराहरूमा कुनै सार्थक नै छैन।’
36 मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो।
    किनभने अय्यूबले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।
37 अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो।
    अय्यूबले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”

2 कोरिन्थी 4

माटाको भाँडामा आत्मिक धन

परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं। तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अँहँ! ठ्याम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्। हामीले प्रचार गरेको सुसमाचार लुकेको होला तर यो तिनीहरूकै लागि लुकेको हो जो अल्मलिएका छन्। यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्तै हुनुहुन्छ। हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं। परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्किने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।

परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बुझाउँछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन। हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं। हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोड्नु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं। 10 येशूको मृत्यु हाम्रै शरीरमा छ। हामी यो प्रत्येक ठाउँ मृत्यु लिई हिंड्छौं जसमा कि येशूको जीवन हाम्रा शरीरमा पनि देख्न सकियोस्। 11 हामी जीवित छौं तर येशूको निम्ति हामी सधैँ मृत्युको खतरामा छौं। हामीमा यस्तै हुन्छ जसमा कि हाम्रो मरण्शील शरीरमा येशूको जीवन पनि झल्कन सकोस्। 12 यसैले मृत्युले हामीमा काम गर्दैछ, अनि जीवनले तिमीहरूमा काम गर्दैछ।

13 धर्मशास्त्रमा यो लेखिएको छ, “मैले विश्वास गरें, यसकारण म बोलें।” हाम्रो विश्वास पनि त्यस्तै नै छ। हामी विश्वास गर्छौं र हामी बोल्छौं। 14 परमेश्वरले प्रभु येशूलाई मृत्युबाट जीवन दिनुभयो। अनि हामी जान्दछौं परमेश्वरले हामीलाई पनि येशूसित बौराउनु हुन्छ। परमेश्वरले हामीलाई तिमीहरूसितै ल्याउनु हुनेछ अनि हामी उनका अघि उभिने छौं। 15 यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिमा धेरै मानिसहरूमा बाँढिदैछ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ।

विश्वासमा जिउनु

16 त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदैछ। 17 यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ। 18 त्यसैले हामीले देख्न नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सधैँको लागि हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International