Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 17

चट्टानबाट पानी

17 सीनैको मरुभूमिबाट सबै इस्राएली दलसँगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन। यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”

मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”

तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून् भनी लिएर आएका हौ?”

अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसँगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ। म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”

मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे। मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।

अमालेकी मानिसहरूसँग युद्ध

रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे। यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीहरूलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्री रहनेछु।”

10 यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए। 11 केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।

12 केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउन्जेलसम्म माथि उठाई राखे। 13 यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।

14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”

15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।” 16 मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैँ गर्नु हुन्छ।”

लूका 20

यहूदी प्रमुखहरूद्वारा येशूलाई प्रश्न

(मत्ती 21:23-27; मर्कूस 11:27-33)

20 एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए। तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?”

येशूले उत्तर दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन: जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट कीमानिसबाट पाएका थिए?”

तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो,’ तब उनले भन्नेछन्, ‘त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’ तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो’, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।” अनि तिनीहरूले भने, “यो कहाँबाट आयो हामी जान्दैनौं।”

यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दैछु, भन्दिन।”

परमेश्वरले पुत्रलाई पठाउँछन्

(मत्ती 21:33-46; मर्कूस 12:1-12)

त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए। 10 त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो। 11 फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए। 12 उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए।

13 “त्यो खेतको मालिकले भन्यो, ‘अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।’ 14 जब खेतीवालाहरूले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, ‘यो हाम्र मालिकको छोरो हो।’ 15 त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे।

“यो खेतको मालिकले अब के गर्नेछ? 16 तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।”

मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अँहँ! यस्तो कहिल्यै नहोस्।” 17 तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः

‘डकर्मीहरूले नचाहेको त्यही ढुङ्गा चाहीं,
    कुनाको शिर ढुङ्गा बन्यो’?(A)

18 प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पुग्छ चक्नाचूर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पार्नेछ!”

19 येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसँग डराए।

यहूदी प्रमुखहरूद्वारा येशूको परिक्षा लिने चेष्टा

(मत्ती 22:15-22; मर्कूस 12:13-17)

20 यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चाहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो। 21 अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्यू हामी बुझ्छौ कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैँ नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ। 22 हामीलाई भन्नुहोस्, के हामीले कैसरलाई कर तिर्नु उचित छ वा छैन?”

23 तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो, 24 “एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?”

तिनीहरूले भने, “कैसरको।”

25 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।”

26 उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चूपचाप बसे।

कोही सदूकीहरूद्वारा येशूको परिक्षा लिने चेष्टा

(मत्ती 22:23-33; मर्कूस 12:18-27)

27 कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने, 28 “गुरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाइले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्यूको लागि सन्तान जन्माउनु पर्छ। 29 कुनै एक समयमा सातजना दाज्यू-भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन। 30 अनि दोस्रो भाइले त्यो विधवालाई विवाह गरे, अनि ऊ पनि मरिहाले। 31 तब तेस्रो भाइले उसलाई विवाह गर्यो अनि उपनि मर्यो। त्यस्तै घट्ना अरू भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे। 32 अन्तमा त्यो स्त्री पनि मरी। 33 तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?”

34 येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्। 35 तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। 36 त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्। 37 मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले ‘अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’ 38 परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”

39 कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।” 40 उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।

के ख्रीष्टनै दाऊका पुत्र हुन्?

(मत्ती 22:41-46; मर्कूस 12:35-37)

41 त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्? 42 भजनको पुस्तकमा, दाऊद आफैं भन्छन्,

‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ:
तिमी मेरो दाहिने हातपट्टि बस,
43     जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा शक्तिको वशमा पार्नेछैन।’(B)

44 दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्। तब कसरी ख्रीष्ट दाऊदको छोरो हुन सक्छन्?”

नियमका शास्त्रीहरू विरूद्ध चेतावनी

(मत्ती 23:1-36; मर्कूस 12:38-40; लूका 11:37-54)

45 जव सबै मानिसहरूले सुनिरहेका थिए येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 46 “व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लाम-लामा बस्त्र लगाएर वरिपरि घुम्न चाहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य-मुख्य आसन ओगट्न चाहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्। 47 तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामा-लामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कड़ा दण्ड दिनुहुनेछ।”

अय्यूब 35

35 एलीहू लगातर बोलीरहे र उसले भन्योः

“अय्यूब, तिमीले यस्तो भन्नु राम्रो होइन,
    ‘म परमेश्वर भन्दा अझ सही छु।’
अनि अय्यूब, तिमी परमेश्वरलाई सोध
    ‘यदि उसले परमेश्वरलाई खुशी पार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ?
    यदि मैले पाप गरिनँ भने मलाई के लाभ हुनेछ?’

“अय्यूब, म तिमीलाई जवाफ दिन चाहन्छु अनि तिम्रा साथीहरू पनि तिमीसँग यहाँ छन्।
अय्यूब, आकाशमाथि हेर, माथि बादलाई हेर,
    त्यो तिमी भन्दा माथि छन्।
अय्यूब, यदि तिमीले पाप गर्यौ भने यसले परमेश्वरलाई घात पार्दैन।
    यदि तिमीले अपराधहरू गर्यौ भने त्यसले परमेश्वरलाई केही असर पार्दैन।
अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्।
    परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।
अय्यूब, तिमीले सु-कर्म अथवा कु-कर्म जे गर्छौ
त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ।
    तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।

“यदि दुष्ट मानिसहरूलाई नोक्सान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन।
    तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।
10 तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गुहार्दैनन्।
तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो?
    परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।’
11 परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो।
    यसकारण उहाँ कहाँ हुनुहुन्छ?

12 “अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने,
परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन।
    किनभने तिनीहरू साह्रै घमण्डी छन्।
    अझ पनि तिनीहरू नै महत्वपूर्ण हौं भनेर सोच्दछन्।
13 यो सत्य हो, परमेश्वरले तिनीहरूका महत्वहीन विन्ती सुन्नु हुने छैन।
    सर्वशक्तिमान परमेश्वरले तिनीहरू प्रति ध्यानै दिनुहुने छैन।
14 यसकारण अय्यूब, परमेश्वरले तिमीलाई ध्यान दिनुहुन्न
    जब तिमी भन्दछौ कि उहाँलाई देखिनँ।
तिमी परमेश्वरको आगमनको आशा गरिरहेका छौ ताकि
    तिमी आफैं निर्दोष प्रमाण गर्न सक्छौ।

15 “अय्यूब, सोच कि परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु भएन,
    उसले सोच्दछ कि परमेश्वरले पापमाथि ध्यानै दिनु भएन।
16 यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे।
    अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफैं जान्दैन भनी बुझ्न सजिलै छ।”

2 कोरिन्थी 5

हामी जान्दछौं, यस धर्तीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ। हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ। त्यो हामीलाई पहिर्याई दिइनेछ र हामी नाङ्गो हुने छैनौं। जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ। परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।

यसैकारण हामी सधैँ भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं। हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन। त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं। हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं। 10 न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।

मद्दतकारी मानिस परमेश्वरका मित्र बन्छन्

11 परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ। 12 हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नैं बारेमा भन्दैछौं। हाम्रा बारेमा किन गर्वित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्। 13 यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो। 14 ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो। 15 ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बौर्याइनु भयो, यसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नु पर्छ।

16 अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँच्चो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झँदैनौं। 17 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। 18 यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। 19 मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। 20 यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। 21 ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International