M’Cheyne Bible Reading Plan
अन्नबलिहरू
2 “जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्। 2 तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ। 3 बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।
पकाएको अन्नबलिहरू
4 “यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्। 5 यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्। 6 त्यो मसिनो गरी पिंध अनि त्यसमा तेल खन्याऊ। त्यो अन्नबलि हो। 7 यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।
8 “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्। 9 पूजाहारीले अन्नभेटीको केही भाग छुट्याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ। 10 अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।
11 “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।) 12 तिमीहरू बर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन। 13 तिमीले प्रत्येक अन्नबलिमा नूनहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको नूनको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि नूनसँगै ल्याउँनुपर्छ।
अगौटे फलहरूबाट अन्नबलि
14 “यदि तिमीहरू बर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ। 15 तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो। 16 पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।
मेलबलि
3 “यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाहीं निष्खोट होस्। 2 अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्। 3 आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा-भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो। 4 दुइटै मृगौला र त्यस माथिको बोसो र कम्मर छेउको बोसो अनि मांसपेशीमा भएको बोसो अनि कलेजामाथिको गर्मजाल समेत झिकेर चढाओस्। 5 तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो नजलाउन्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।
6 “यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेंडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्। 7 यदि उसले थुमा बलि चढाउँदैछ भने त्यो परमप्रभुअघि ल्याउनुपर्छ। 8 तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्। 9 तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ। 10 दुइवटा मृगौला र त्यस माथिको बोसो कम्मर छेउको बोसो पनि निकाल्नु पर्छ। मृगौलासहित कलेजा छोप्ने मासु पनि निकाल्नु पर्छ। 11 तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो निकाल्नु पर्छ। यो परमप्रभुको निम्ति भोजन बलि हो।
12 “यदि उसको बलि एउटा बाख्रा हो भने उसले त्यो परमप्रभुको सामुन्ने चढाओस्। 13 तब उसले आफ्नो हात त्यसको टाउकोमाथि राखोस् अनि भेट हुने पालको अघि त्यसलाई मारीदिओस्। अनि हारूनका छोराहरू पूजाहारीले वेदीको वरीपरि त्यस बलिको रगत छर्किउन्। 14 तब उसले उसको आफ्नो बलि परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोप्ने बोसो र आन्द्रमाथिको सबै बोसो, 15 दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्। 16 अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो। 17 यो नियम तिमीहरूका सन्तानहरू रहून्जेलसम्म सधैँ रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”
येशू सातजना चेलाहरूसँग देखा पर्नू भयो
21 त्यसपछि, येशू फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नु भयो। त्यो तिबिरियास झीलको छेउमा भएको थियो। यो यसरी हुन गयो। 2 केही चेलाहरू भेला भएका थिए। तिनीहरू शिमोन पत्रुस, थोमा (दिदुमस भनिने), गालीलको कानाका नथानेल, जबदीका दुइ छोराहरू र अन्य दुइजना उहाँका अन्य चेलाहरू त्यहाँ थिए। 3 शिमोन पत्रुसले भन्यो, “म माछा पक्रन जान्छु।”
अरू चेलाहरूले भने, “हामी तिमीसितै जानेछौं।” तब सबै चेलाहरू गए र डुङ्गामा चढे। त्यसरात तिनीहरूले केही पक्रन सकेनन्।
4 अर्को मिरमिरे बिहानमा येशू किनारमा उभिनुभयो। तर चेलाहरूले येशू हुनुहुनथ्यो भनेर चिनेनन्। 5 तब येशूले तिनीहरूलाई भन्नुभयो, “साथीहरू हो! तिमीहरूले कुनै माछा पक्रियौ?”
चेलाहरू ले भने, “अहँ।”
6 येशूले भन्नुभयो, “माछा मार्ने जाल फ्याँक तिमीहरूको डुङ्गाको दाहिनेपट्टि। तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौ।” तिनीहरूले त्यसै गरे। तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले डुङ्गातर्फ जाल तान्न पनि सकेनन्।
7 येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढ्ने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए। 8 अन्य चेलाहरू डुङ्गामा चढेर किनारमा आए। तिनीहरूले माछाले भरिएको जाल ताने। तिनीहरू किनारदेखि टाढा थिएनन्। तिनीहरू लगभग सय मिटर भित्र थिए। 9 जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको तातो कोइला देखे। त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए। 10 येशूले भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेको केही माछाहरू ल्याऊ।”
11 शिमोन पत्रुस डुङ्गातर्फ गए र किनार तिर जाल ताने। त्यो ठूला-ठूला माछाले भरिएको थियो। त्यहाँ जम्मा एक सय त्रिपन्नवटा माछाहरू थिए। माछाहरू एकदमै गह्रों थियो र पनि जाल फाटेन। 12 येशूले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि खाऊ।” कुनै पनि चेलाहरूले उहाँलाई सोध्ने आँट गरेनन्, “तपाईं को हुनुहुन्छ?” तिनीहरूलाई उहाँ प्रभु नै हुनुहुन्छ भनेर थाहा थियो। 13 येशू जानु भयो अनि रोटी लिनुभयो। उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो। येशूले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो।
14 यस्तो प्रकारले येशूले आफ्नो मृत्यूबाट पुनरूत्थान भएर चेलाहरूसित तेस्रोपल्ट देखा पर्नु भयो।
पत्रुससँग येशूको वार्तालाप
15 जब तिनीहरूले खाइसके, येशूले शिमोन पत्रुसलाई भन्नुभयो, “योआनेसको पुत्र शिमोन, यी अन्य मानिसहरूले भन्दा ज्यादा तिमी मलाई प्रेम गर्छौ?”
पत्रुसले जवाफमा भने, “ज्यू प्रभु, तपाईं जान्नु हन्छ म प्रेम गर्छु तपाईंलाई।”
त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडा़हरूलाई खुवाऊ।”
16 फेरि पत्रुसलाई भन्नुभयो, “शिमोन योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”
पत्रुसले जवाफमा भने, “ज्यू, प्रभु, तपाईं जान्नु हुन्छ म प्रेम गर्छु तपाईंलाई।”
त्यसपछि येशूले भन्नुभयो, “मेरा भेंडा़हरू[a] को हेरचाहा गर।”
17 तेस्रोपल्ट येशूले पत्रुसलाई सोध्नुभयो, “शिमोन, योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”
पत्रुस उदास भए, किनकि येशूले उसलाई तेस्रो पल्ट सोध्नुभयो, “तिमी मलाई प्रेम गर्छौं?” पत्रुसले भने, “प्रभु तपाईं सब थोक जान्नुहुन्छ। मैले तपाईंलाई प्रेम गर्छु भनेर पनि जान्नुहुन्छ।”
येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडा़हरूलाई खुवाऊ। 18 म तिमीलाई साँच्चो भन्छु। जब तिमी जवान थियौ, तिमीले आफ्नो पेटी स्वयं कस्थ्यौ र जहाँ इच्छा छ त्यहाँ जान्थ्यौ। जब तिमी बूढा हुनेछौ तिमी हात छाडनेछौ र कोही अरूले पेटी कसिदिनेछ। त्यही मानिसले तिमीलाई अगुवाई गर्नेछ जहाँ जान तिम्रो इच्छा नभएतापनि।”
19 येशूले देखाउन चाहानु हुन्थ्यो कस्तो मृत्युले पत्रुसले परमेश्वरलाई महिमा प्रदान गर्नेछ। त्यसपछि उहाँले पत्रुसलाई भन्नुभयो, “मेरो पछि लाग।”
20 पत्रुसले फर्केर हेर्दा देखे जुन चेलाहरू येशूलाई प्रेम गर्थे उहाँको पछि हिड्न थाले। त्यो त्यही चेला जो साँझको भोजमा प्रभुको छातीमा अडेसलागेर बसेका थिए र भनेका थिए, “प्रभु, त्यो को होला जसले तपाईंलाई विश्वासघात गर्नेछ?”
21 जब पत्रुसले त्यस भक्तलाई देखे, उसले येशूलाई सोध्यो, “प्रभु उसलाई के गर्ने?”
22 येशूले जवाफ दिनुभयो, “यदि म चाहन्छु कि जब सम्म म आँउदिन त्यो जीवित रहे तिमीलाई के भयो त? तिमी मेरो पछि लाग।”
23 यसरी यो कुरा भाइहरूमा यति सम्म फैलिन गयो कि उसको त्यो चेला मर्दैन। तर येशूले त्यो मर्दैन भनि भन्नु भएको थिएन। तर यो भन्नु भएको थियो कि, “यदि म यो चाहन्छु कि जबसम्म म आऊँदिन त्यो यहीं जीवित रहे तिमीलाई के भयो त?”
24 उही यो चेला हो जसले यस भनाईद्वारा साक्षी दिन्छ औ जसले यी लेखेका छन्। हामी जान्दछौ कि उसको गवाही सत्य छ। 25 येशूले अरू पनि धेरै कामहरू गर्नु भएकोछ। ती विषयमा एक एक गरेर सबै लेखिए भने म सोच्दछु कि जो पुस्तकहरू लेखिन्छ ती यति अधिक हुनेछ कि सारा पृथ्वीमा त्यो अटाउने छैन।
18 एक्लै बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।
2 मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ।
3 जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ।
4 मानिसका बचनहरू गहिरो पानी झैं हुन्, ज्ञानको स्रोत एउटा बेग्लै बग्ने झरना झैं हो।
5 एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो।
6 मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ, उसको मुखले थप्पड खोज्छ।
7 मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओंठहरू एउटा पासो जस्तै हो। जसले उसको आफ्नै जीवनलाई समात्छ।
8 मानिसहरू सधैँ बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।
9 यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरेर गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो।
10 परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।
11 एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।
12 मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।
13 जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।
14 जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लगेको आत्मालाई कसले सहन सक्छ?
15 एकजना विवेकशीलले मानिस सधैँ केही चीज सिक्न चाहन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ।
16 उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महा-पुरूषहरूको सामुन्ने पुग्न सक्छ।
17 आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुन्जेलसम्म सही जस्तो लाग्छ।
18 गोला हालेर झगडा़ मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्दिहरूलाई छुट्टाइन्छ।
19 यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।
20 आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ, त्यसमा ऊ सन्तुष्ट हुन्छ।
21 आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।
22 जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्यो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
23 गरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्।
24 धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै मित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्यू-भाइ भन्दा पनि विश्वासी हुन्छ।
1 ख्रीष्ट येशूको प्रेरित पावलबाट। म एक जना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनु भयो। तिमोथी ख्रीष्टमा भएका हाम्रा भाइबाट पनि।
2 कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई।
तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।
3 जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौं, परमेश्वरलाई, जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन्, सधैँ धन्यवाद चढाउँछौ। 4 हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं। 5 तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरूले आशा गरेको कुरो तिमीहरूका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरू जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ। 6 संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ। 7 परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्। 8 पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इपाफ्रासले हामीलाई बताए।
9 तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौं। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं:
परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस्, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्। 10 तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ। 11 तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ।
तब तिमीहरू खुशी हुन सक्छौ। 12 अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो। 13 अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ। 14 हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएकोछ।
जब हामी ख्रीष्टलाई हेर्दछौ, हामी उहाँमा परमेश्वर पाँउछौ
15 परमेश्वरलाई कसैले देख्न सक्दैन।
तर परमेश्वर हुबहु येशू हुनुहुन्छ।
सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।
16 उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ।
स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू,
सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू,
यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।
17 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो।
अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ।
18 ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो।
अनि उहाँ प्रभु[a] हुनुहुन्छ,
जो मृत्युबाट बौर्याइनुभएको थियो।
यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ।
19 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।
20 अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग
अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने।
क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।
21 एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ। 22 तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो। 23 तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।
मण्डलीको लागि पावलको काम
24 तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु। 25 म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो। 26 यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ। 27 त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ। 28 यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं। 29 यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संघर्ष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।
© 2004, 2010 Bible League International