M’Cheyne Bible Reading Plan
होमबलिहरूको निम्ति वेदी
27 “बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौंडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ। 2 त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।
3 “वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ। 4 वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ। 5 त्यो कोरेसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ।
6 “वेदीको निम्ति डण्डाहरू बबुल काठको बनाऊ र त्यसलाई काँसाले मोहोर। 7 वेदीमा भएका कुण्डलहरूमा दुइतिरबाट यी डण्डाहरू पसाउँनु र वेदी बोक्नु पर्दामा यी डण्डाहरू प्रयोग गर्नु पर्छ। 8 वेदी बनाउँदा एउटा खाली सन्दूक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।
पवित्र पाल वरिपरिको आँगन
9 “पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसँग बुनेको सुतीको लुगाले बनाउनु पर्छ। 10 र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसले बनिएका आधारहरू प्रयोग गर। डण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ। 11 उत्तर तिर पनि एक सय हात लामो पर्दा अनि त्यो पर्दाको निम्ति पनि बीसवटा खम्बाहरूसँग बीसवटा काँसाको आधारहरू हुनुपर्छ। तिनीहरूको निम्ति अंकुशे र बन्धन चाँदीको बनाउनु पर्छ।
12 “पवित्र पालको पश्चिम तिरको आँगनमा पचास हात लामो पर्दा होस्। त्यस पर्दाको निम्ति दशवटा डण्डाहरू र दशैवटा आधारहरू लगाऊ। 13 पवित्र पालको पूर्वपट्टि आँगनमा पनि पचास हात लामो पर्दा लगाऊ। 14 एकापट्टि पन्ध्र हात लामो पर्दा हुनुपर्छ अनि त्यसमा तीनवटा खम्बा र तीनैवटा आधारहरू हुनुपर्छ। 15 यसको अर्कोपट्टि पनि पन्ध्र हात लामो पर्दा, तीनवटा डण्डा र तीनैवटा आधारहरू हुनुपर्छ।
16 “आँगनको प्रवेशद्वार ढाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुट्टा काढेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा डण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ। 17 आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहरेको हुनुपर्छ। 18 आँगन एक सय हात लामो अनि पचास हात चौंडा हुनुपर्छ। आँगन वरिपरिको पर्दाको उचाइ चाँहि पाँच हात हुनुपर्छ। पर्दा मसिनो सुती कपडाको हुनुपर्छ। डण्डा तथा खम्बाको निम्ति लगाइने आधार काँसाको हुनुपर्छ। 19 पवित्र पालमा प्रयोग गरिने सबै आँगन वरिपरिका वस्तुहरू अनि पालका चुकुलहरू अनि आँगन काँसाको हुनुपर्छ।
दियोको निम्ति तेल
20 “भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ। 21 हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”
येशूले पाँच हजार भन्दा बेसीलई खुवाउनुभयो
(मत्ती 14:13-21; मर्कूस 6:30-44; लूका 9:10-17)
6 यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो। 2 धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए। 3 येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसँग त्यहाँ बस्नु भयो। 4 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय प्रायः आइसकेको थियो।
5 येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?” 6 येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ।
7 फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”
8 त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए। 9 आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”
10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाऊ।” यो घाँसै-घाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए। 11 येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाँड्नु भयो। माछा पनि त्यसरीनै बाँड्नु भयो। येशूले मानिसहरूलाई जति चाहान्थे त्यति नै दिनु भयो।
12 जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।” 13 तब चेलाहरूले उब्रिएको रोटीको टुक्राहरू बटुले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाएर उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाचँवटा रोटीहरू र दुइवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूल-ठूला बाह्र डोकोहरूमा भरे।
14 येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।”
15 येशूले बुझ्नु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो।
येशू पानीमा हिँड्नु हुन्छ
(मत्ती 14:22-27; मर्कूस 6:45-52)
16 त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए। 17 यसबेला अन्ध्यारो भइसक्दा पनि येशू फर्कनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो। 18 हावा जोडले चलेकोले गर्दा त्यस समूद्रमा ठूलो छाल उठेर डुङ्गालाई उल्टा घचेटिरहेको थियो। 19 तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए। 20 तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराऊ, यो म नै हुँ।” 21 जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।
मानिसहरूले येशूलाई खोजे
22 अर्को दिन आई पुग्यो। कोही मानिसहरू समुद्रको अर्को किनारतिर बसेका थिए। येशू अब आफ्ना चेलाहरूसँग जानु भएन भन्ने कुरा ती मानिसहरूले थाहा पाए, तर तिनीहरू आफैं छोडीए। तिनीहरूले पनि थाहा पाए त्यहाँ एउटा मात्र डुङ्गा थियो। 23 तर तिबेरियासबाट केही डुङ्गाहरू आए। ती डुङ्गाहरू त्यही ठाँउ नजिक थामिए जहाँ परमप्रभुले परमेश्वरलाई धन्यवाद दिनु भए पछि त्यो भीडले रोटी खाएको थियो। 24 ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहुमतिर लागे। किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।
येशू जीवनको रोटी हुनुहुन्छ
25 मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?”
26 उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अँहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ। 27 जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र सँग छन्।”
28 मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”
29 येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”
30 तब मानिसहरूले सोधे, “तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौं भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ? 31 मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, ‘परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।’”
32 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँच्चो रोटी दिनुहुन्छ। 33 परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।”
34 मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैँ दिनुहोस्।”
35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन। 36 तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ। 37 जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन। 38 परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन। 39 मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो। 40 प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”
41 यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।” 42 यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। ऊ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’”
43 तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर। 44 पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिनीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्तैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ। 45 अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्। 46 मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्।
47 “म तिमीहरूलाई साँच्चो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ। 48 म रोटी हुँ जसले जीवन प्रदान गर्दछ। 49 तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे। 50 म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन। 51 म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”
52 तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”
53 येशूले भन्नुभयो, “म साँच्चो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ। 54 तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु। 55 मेरो शरीर साँच्चो भोजन हो। मेरो रगत साँच्चो पिउने कुरा हो। 56 जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ।
57 “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ। 58 म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”
59 येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।
धेरै चेलाहरूले येशूलाई छाडे
60 धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”
61 येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ? 62 तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ? 63 त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ। 64 तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।) 65 येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’”
66 जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे।
67 येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?”
68 शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ। 69 हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”
70 तब येशूले उत्तर दिनुभयो, “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।” 71 येशूले यहूदाको विषयमा भनिरहनु भएको थियो। यहूदा शिमोन इस्कारियोतको छोरो थिए। यहूदा ती बाह्र चेलाहरू मध्येका एकजना थिए। किनभने उसले उहाँलाई धोका दिनेवाला थियो।
सही जीवन जीउनाले तिम्रो आयु थपिन्छ
3 हे मेरो छोरा, मेरा शिक्षाहरूलाई नभुल्। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर। 2 मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउँन सिकाउँछ।
3 प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथे र गलामा लगाई राख। 4 तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।
5 तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। 6 तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ। 7 आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराऊ अनि दुष्कर्मबाट टाडो बस। 8 यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।
9 तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। 10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।
11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। 12 किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।
13 धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो। 14 ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। 15 ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मुल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।
16 ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ। 17 ज्ञानका मार्गहरू आनन्द दायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ। 18 ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलियो गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ सधैँ धन्य रहन्छन्।
19 परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो। 20 उहाँको ज्ञानद्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।
21 हे मेरो छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझेलमा नपार। विजयहरूमा नियालेर सोंच अनि होशियारीसित योजनाहरू बनाऊ। 22 ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ। 23 त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्ने छौ कतै पल्टने छैनौ। 24 जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ। 25 तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु। 26 किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।
27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। 28 जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।
29 तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छ अनि तिमीमाथि भरोसा गर्छन्।
30 कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याऊ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।
31 उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। 32 किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ ईमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।
33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि ईमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।
34 यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउँछन् भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।
35 ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।
अरू प्रेरितहरूले पावललाई माने
2 चौध वर्ष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें। 2 म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।
3 तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्। 4 हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए। 5 तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झुकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।
6 तर ठूला-बड़ा मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्। 7 तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो 8 परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो। 9 याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।” 10 तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।
पत्रुस भूलमा थिए भन्ने पावलले औंल्याउँछन्
11 जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए। 12 यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित सँगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे। 13 त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे। 14 मैले यी यहूदीहरूको मन विचारें। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाउँछौ?”
15 हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी “पापीहरू” जस्ता होइनौं। 16 हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।
17 धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गर्यौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाउँछन्? पक्कै होइन। 18 यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें। 19 व्यवस्थामा बाँच्न मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ। 20 यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैंलाई अर्पण गर्नु भयो। 21 परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।
© 2004, 2010 Bible League International