M’Cheyne Bible Reading Plan
होमबलिको निम्ति वेदी
38 त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौंडा अनि तीन हात अग्लो थियो। 2 उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे। 3 त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, करूबहरू, काँटा र तावाहरू सबै काँसाको बनाए। 4 त्यसपछि उनले वेदीको निम्ति एउटा जाली बनाए अनि यसको मनि उसले किनारा राख्यो। यो वेदीको आधा भागसम्म पुगेको थियो। 5 त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए। 6 उसले वेदी बोक्ने डण्डा बबुल काठका बनाएर त्यसलाई काँसाले मोहरे। 7 वेदी बोक्न मुन्द्रीहरूमा डण्डा हाले। वेदी रित्तो सन्दूक झैं खोक्रो फल्याकले बनिएको थियो।
8 उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।
पवित्र पाल वरिपरिको आँगन
9 उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लुगाको बनाए। 10 बीसवटा खम्बाहरूले दक्षिण तिरको पर्दाहरूलाई सहारा दिएको थिए। ती खम्बाहरू बीसवटा काँसाका आधारहरूमाथि थिए। खम्बाहरू र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए। 11 आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अड्याउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।
12 आँगनको पश्चिम तिर पचास हात लामा पर्दाहरूको बार थियो। त्यहाँ दशवटा खम्बाहरू र दशवटा आधारहरू थिए। खम्बाहरू र पर्दाको लागि अंकुसहरू चाँदीका बनाएको थिए
13 आँगनको पूर्व पट्टिको लम्बाई पचास हात थियो। आँगनको प्रवेशद्वार यही दिशामा थियो। 14 प्रवेशद्वारको एकापट्टि भएको पर्दाको पर्खालको लम्बाई पन्ध्र हात थियो। त्यता पट्टि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए। 15 प्रवेशद्वारको अर्को तिरको पर्खालको लमाई पनि पन्ध्र नै थियो। त्यहाँ पनि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए। 16 आँगन वरिपरि लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएका थिए। 17 खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए।
18 आँगनको मूलद्वारमा लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएको र रातो, बैजनी र निलो धागोले बुटा भरेका थिए। पर्दाहरूमा बुट्टा बनाइएको थियो। आँगन वरिपरिका पर्दा बीस हात लामो र पाँच हात अग्ला थिए। 19 यो पर्दालाई काँसाको आधारमा उभ्याइएका चारवटा खम्बाहरूमा अंकुसेहरू थियो। खम्बाहरूसित लगाइएको अङकुसेहरू चाँदीका थिए। पर्दाका डण्डाहरू र खम्बाका शिरमा चाँदीले मोहोरिएका थिए। 20 पवित्र पालको र आँगन वरिपरि लगाइएका पर्दाका कीलाहरू काँसाले बनिएका थिए।
21 पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।
22 यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए। 23 दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुट्टा बुन्न निपुण थिए।
24 पवित्र स्थान निर्माण गर्न उनन्तीस तोडा र सात सय तीस शेकेलभन्दा ज्यादा सुन परमप्रभुलाई बलिदानको रूपमा भेटी चढाए। (यो ओजन मन्दिरका अधिकारी अनुसार थियो।)
25 सबै गन्ती गरिएका मानिसहरूले लगभग एक सय तोडा अझै एक हजार सात सय पचत्तर शेकेल चाँदीहरू चढाए। (अधिकारीहरू द्वारा गरिएको ओजन) 26 त्यहाँ छ लाख तीन हजार पाँच सय पचास जना मानिसहरू (बीस बर्ष अथवा त्यो भन्दा ज्यादा उमेर मानिसहरूको गन्ती गरिएको थियो।) प्रत्येक मानिसले अधिकारीले प्रयोग गरेको ओजन अनुसार आधा शेकेल चाँदी तिर्नु पर्थ्यो। 27 परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे। 28 थोरैभन्दा थोरै सत्र सय पचहत्तर शेकेल चाँदी पर्दाको निम्ति अंकुसेहरू बनाउन र खाम्बाहरू मोहोर्न प्रयोग गरे।
29 अनि सत्तर तोडा अनि दुइ हज्जार चार सय शेकेल काँसा भन्दा वेशी परमप्रभुका निम्ति चढाईयो। 30 त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीत्तलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए। 31 काँसा आँगन वरिपरि र प्रवेश द्वारको पर्दाहरूको निम्ति आधारहरू बनाउन पनि प्रयोग गरे। अनि पवित्र पालको कीलाहरू र आँगन वरिपरिका पर्दाको कीलाहरू बनाउँदा पनि प्रयोग गरे।
आफ्ना चेलाहरूका लागि येशू प्रार्थना गर्नुहुन्छ
17 यति कुराहरू भनिसके पछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्। 2 तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ। 3 यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँच्चो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो। 4 जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ। 5 अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसँग। मलाई त्यो महिमा दिनु होस् तपाईंको जो मसँग संसार बनिनु पहिल्यै थियो।
6 “तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे। 7 अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन्। 8 मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो। 9 तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईंले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईंकै हुन्। 10 जे ममा छ त्यो सबै तपाईंकै हो, अनि जे जति तपाईंकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउँछन्।
11 “अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु होस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु होस् (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक। 12 जब सम्म म तिनीहरूसँग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफैं छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।
13 “म तपाईं कहाँ आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु। 14 मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएँ र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।
15 “मैले तपाईंसँग तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु। 16 तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन। 17 तपाईंको सत्यद्वारा तिनीहरूलाई आफ्नो सेवामा राख्न तयार पार्नुहोस्। तपाईंको वचन सत्य हो। 18 जसरी तपाईंले मलाई संसारभित्र पठाउनु भयो त्यसरी नै मैले तिनीहरूलाई संसारभित्र पठाएकोछु। 19 अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँच्चो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन्।
20 “म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। 21 हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो। 22 तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन्, जसरी तपाईं र म एक हौं। 23 जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।
24 “पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसँग नै होऊन। म यो इच्छा गर्छु तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो। 25 हे धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्। 26 मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”
14 बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे।
2 जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।
3 मूर्खको कुराले उसकै ढाडमा लट्ठी बज्राउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ।
4 जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ।
5 एकजना साँच्चो गवाहीले साँच्चो बोल्छ, तर झूटो गवाहीले सधैँ झूटो नै बोलिरहन्छ।
6 एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ।
7 मूर्खको संगतबाट तिमी सधैँ टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ।
8 ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ।
9 पाप निवारण गर्ने विचारमा मूर्ख मानिस हाँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सद्भाव पाइन्छ।
10 यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ।
11 एक दुष्ट मानिसको घर ध्वंश हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ।
12 त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ।
13 कुनै मानिस यदि उसको मनमा पीर भए पनि हाँसिरहनु सक्छ, तर हाँसी सक्दा पनि उसको पीर रहिरहन्छ।
14 एकजना दुष्ट मानिस उसले गरेको खराब कार्यको फल भोग्छ अनि त्यसै गरी एउटा असल मानिसले गरेको असल कार्यको फल उसले पाउँछ।
15 एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।
16 एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढ्छ।
17 चाँडो रिसाउने मानिसले मूर्खतापूर्ण कामहरू गर्छ अनि एकजना कुबाटोमा लाग्ने मानिस घृणित हुन्छ।
18 अज्ञानीले मूर्खता प्राप्त गर्नेछ, तर विवेकी मानिसहरूलाई ज्ञानको मुकुट लगाई दिइनेछ।
19 नराम्रा मानिसहरू असल मानिसहरूको अघि झुक्नु पर्छ अनि दुष्ट मानिसहरू धर्मी मानिसहरूको दैलोमा झुक्नुपर्छ।
20 गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन् तर धनीका त धेरै मित्रहरू हुन्छन्।
21 जसले आफ्नो छिमेकिलाई हेला गर्छ उसले पाप गर्छ, तर जसले गरीब माथि दया गर्छ त्यो धन्यको हुन्छ।
22 जुन मानिसले षड्यन्त्र मात्र रचिरहन्छ त्यो बरालिन्छ नै, तर जुन मानिसले राम्रो राम्रो योजनाहरू बनाउँछ उसले प्रेम र विश्वास पाउँछ।
23 यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
24 ज्ञानी मानिसले पुरस्कार धन पाउँछ, तर मूर्ख मानिसले मूर्खता नै पाउँछ।
25 साँच्चो गवाहीले जीवनको रक्षा गर्छ, तर झूटो गवाहीले झूटो बोल्छ।
26 परमप्रभु प्रतिको सम्मान एउटा बलियो किल्ला हो, यो उसका छोरा-छोरीहरूको लागि सुरक्षित स्थान हुनेछ।
27 परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ।
28 यदि धेरै मानिसहरू माथि राजाले शासन चलाउँछ भने त्यो महान हो, तर प्रजा बिनाको राजा तुच्छ हो।
29 धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसा उँछ, उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।
30 शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले शरीरको हड्डी सम्म मक्काउँछ।
31 जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ उसले गरीबलाई दया देखाउँछ।
32 एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।
33 ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।
34 धार्मिकताले राष्ट्रलाई महान तुल्याँउछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो।
35 ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ।
1 ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम।
ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई।
2 पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्।
पावलको प्रार्थना
3 जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। 4 प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। 5 मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। 6 परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
7 तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ। 8 म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।
9 तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः
बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्। 10 म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ। 11 म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ।
पावलको कष्ट परमेश्वरको काममा सहायक
12 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो। 13 म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुझेकाछन्। 14 म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्।
15 कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्। 16 यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। 17 तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्। 18 तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्।
अनि म खुशी नै भइरहन्छु। 19 तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ। 20 मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु। 21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो।[a]
22 यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ। 23 जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो। 24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। 25 जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु। 26 जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ।
27 होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढ़दैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु। 28 अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्। 29 परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन्। तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ। 30 जब म तिमीहरूसित थिएँ मैले गरेको सङ्घर्ष तिमीहरू जान्दछौ अनि अहिले मैले गर्दै गरेको सङ्घर्ष बारे पनि सुन्दैछौ। तिमीहरूको पनि त्यस्तै संघर्ष छ।
© 2004, 2010 Bible League International