M’Cheyne Bible Reading Plan
पवित्र चीजहरूको निम्ति भेटीहरू
25 परमप्रभुले मोशालाई भन्नु भयो, 2 “इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर। 3 ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा, 4 निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला। 5 रातो रंगले रंगाएको भेंडाको छाला अनि नरम चर्म, बबुलको काठ। 6 बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला। 7 अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”
पवित्र पाल
8 परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन् अनि म तिनीहरूमाझ बस्न सक्छु। 9 त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।
करारको सन्दूक
10 “बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ। 11 यो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ। 12 सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ। 13 बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ। 14 सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक। 15 ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ।
16 “मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख। 17 त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ। 18 “अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ। 19 एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्। 20 करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेंटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।
21 “म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ। 22 जब म तिमीलाई भेट्छु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।
टेबल
23 “दुइ हात आधा लमाई, एक हात आधा चौंडाइ, र एक हात आधा उँचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ। 24 टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर। 25 तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ। 26 त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख। 27 टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर। 28 डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर। 29 शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ। 30 टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी सधैँ त्यहाँ मेरोअघि हुनु पर्छ।
सामदान
31 “त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।
32 “त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा। 33 प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ। 34 सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ। 35 सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ। 36 कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ। 37 तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्। 38 चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ। 39 एक तोडा[a] शुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ। 40 चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।
येशू एक सामरी स्त्रीसँग बोल्नुहुन्छ
4 येशूले यूहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदैछ साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने। 2 तर वास्तवमा येशू स्वयंले बप्तिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो। 3 त्यसैले येशू यहूदिया छोडेर गालील फर्कनु भयो। 4 गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो।
5 सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो। 6 याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो। 7 एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।” 8 त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
9 सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।
10 येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
11 त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन। 12 तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
13 येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। 14 तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
15 त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।”
16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
17 त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।”
येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन। 18 तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्। तिमीले जे भन्यौ साँच्चो हो।”
19 त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ। 20 हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
21 येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। 22 तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। 23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। 24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
25 त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
26 तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
27 त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू येशूलाई एक जना स्त्रीसँग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसँग किन बात गरिरहनु भएको छ?”
28 तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्, 29 “एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?” 30 तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
31 जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!”
32 तर येशूले उत्तर दिनुभयो, “मसँग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
33 तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
34 येशूले भन्नुभयो, “मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुशरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो। 35 जब तिमीहरू रोपाई गर्छौ र भन्छौ, ‘बाली काटन अझै चार महीना छ’ तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर। तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्। 36 अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाईं गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुन्छन्। 37 यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ’ यो विषय सत्य छ। 38 तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरूले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
39 त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।” 40 तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो। 41 तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।
42 मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गर् यौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझ्न थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
येशूले एकजना अधिकारीको छोरोलाई निको पार्नु भयो
(मत्ती 8:5-13; लूका 7:1-10)
43 दुइ दिन बितिसके पछि त्यो ठाँउ छाडेर येशू गालीलमा जानुभयो। 44 येशूले अघि बाटै भनिसक्नु भएको थियो कि उहाँको आफ्नो देशमा आगमवक्तालाई आदर गरिदैन। 45 यसर्थ जब येशू गालीलमा आइपुग्नु भयो तिनीहरूले उहाँलाई स्वागत गरे कारण तिनीहरूले येशूले यरूशलेमको निस्तार चाडमा गरेका सबै कुराहरू देखी सकेका थिए। तिनीहरू पनि चाडको लागि गएका थिए।
46 येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो। 47 त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको छ भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गर्यो। उसको छोरो मर्न आँटेको थियो। 48 येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
49 राजाको अधिकारीले भन्नुभयो, “महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।”
50 येशूले उत्तर दिनुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।”
येशूले भन्नु भएको कुरा त्यस मानिसले विश्वास गर्यो अनि घर फर्किआयो। 51 घरजाँदै गर्दा बाटामा उसको नोकरसँग भेट भयो। नोकरले भन्यो, “तपाईंको छोरो जाती भएको छ।”
52 त्यस मानिसले सोधे, “कुन समयबाट त्यो निको हुन थाल्यो?”
उसको नोकरले उत्तर दियो, “हिजो दिउँसो एक बजेदेखि तपाईंको छोरोको ज्वरो हट्यो।”
53 त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ।” यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।
54 यहूदियाबाट गालीलमा आए पछि यो दोस्रो चमत्कारपूर्ण कार्य येशूले गर्नुभएको हो।
प्रस्तावना
1 यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए। 2 मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन्। 3 यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्। 4 यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। 5 बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्। 6 तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।
7 परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले[a] अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।
उसको छोरोलाई सुलेमानको उपदेश
8 हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर। 9 तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।
10 हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्। 11 त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं। 12 आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निल्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शुन्य पार्नेछौं। 13 हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं। 14 यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।”
15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख। 16 किनभने तिनीहरू पाप कर्म गर्न सधैँ अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्।
17 बेकारछ जाल थाप्नु जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्। 18 यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ। 19 जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ।
असल स्त्रीको बुद्धि
20 सुन! ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छे। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे। 21 ज्ञानले भीड गल्लीहरूमा बोलाइरहेकी हुन्छे। ज्ञान नगरको फाटकमा बसेर मानिसहरूलाई बोलाई रहन्छे।
22 ज्ञानले भन्छे, “अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ। 23 यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भनें, म जे जान्दछु तिमीहरूलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु।
24 “मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ। 25 र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ। 26 यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु। 27 जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ, जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।
28 “तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ। 29 म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ। 30 तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस बेला तिमीहरूले मलाई ध्यानै दिएनौ। 31 तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।
32 “अनुभवहीन मानिसहरू बरालिन्छन् अनि मर्छन्, मुर्खहरू कुनै विषयमा चिन्तित हुदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्नेछ। 33 तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैँ सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।”
अन्तिम चेतावनी र शुभकामना
13 म तिमीहरूकहाँ फेरि आउने छु। त्यो तेस्रो पटक हुनेछ। अनि यादगर, “हरेक विवरणको लागि दुइ अथवा तीन जना सम्म मानिसहरूले प्रमाण गर्नु पर्छ।” 2 जब म तिमीहरूसित दोस्रो पल्ट थिएँ, जसले पापहरू गरेका थिए तिनीहरूलाई मैले चेताउनी दिएको थिएँ। अहिले म तिमीहरूदेखि टाढा छु, तिनीहरूलाई र अरू रहेकाहरूलाई म चेतावनी दिन्छु। जब म फेरि तिमीहरूकहाँ आउँछु तिमीहरूको पापको लागि म दण्ड दिनेछु। 3 ख्रीष्ट मबाट बोल्दैछन् भन्ने प्रमाण चाहन्छौ भने मेरो प्रमाण छ कि ख्रीष्ट तिमीहरूलाई दण्ड दिन दुर्वल हुनुहुन्छ। वास्तवमा उहाँ तिमीहरूको बीचमा बलियो हुनुहुन्छ 4 यो साँच्चो हो कि ख्रीष्ट दुर्बल हुनु हुन्थ्यो। जति बेला क्रूसमा टाँगिए। तर यस घड़ी उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँच्चो हो कि हामी ख्रीष्टमा दुर्बल छौं। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौं।
5 तिमी आफैंलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न। 6 तर म आशा गर्छु, तिमीहरूले जान्ने छौ कि हामी यस जाँचमा विफल बनेका छैनौं। 7 परमेश्वरलाई हाम्रो प्रार्थना छ, तिमीहरूले कुनै नराम्रो काम गर्ने छैनौ। हामी जाँचमा सफल बनेको अरू मानिसहरूले देखुन् भन्ने कुरो हाम्रा होइन। तर ठूलो कुरो त यो छ कि यदि परीक्षमा हामी आफैं असफल भएको मानिसहरूले सोचे पनि जुन असल हो तिमीहरू त्यही काम गर। 8 सत्यको विरूद्ध हामी केही गर्न सक्दैनौं। हामी सत्यका निम्ति जे छ त्यो गर्न मात्र सक्छौं। 9 तिमीहरू दरिलो बन्यौ भने हामी दुर्वल हुनुमा खुशी छौं। हाम्रो प्रर्थाना छ तिमीहरू दिरिलो बन्दै जानेछौ। 10 तिमीहरूसित नहुँदा म यी कुराहरू लेख्दैछु जसमा कि आउँदा खेरि मैले मेरो अधिकार कड़ासँग प्रयोग गर्न नपरोस्। तिमीहरूलाई विनाश गर्ने होइन तर बलियो बनाउने त्यो शक्ति प्रभुले मलाई दिनुभयो।
11 दाज्यू-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
12 एक अर्काको अभिवादन पवित्र चुम्बनले गर। परमेश्वरका सबै पवित्र जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
13 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहभागिता तिमीहरूमा सधैँ होस्।
© 2004, 2010 Bible League International