M’Cheyne Bible Reading Plan
मोशालाई उनका ससुराबाट सल्लाह
18 मोशाका ससुरा यित्रो मिद्यानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धैरे प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने। 2 यसर्थ यित्रो मोशा कहाँ गए, यित्रोले मोशाकी पत्नी सिप्पोराहलाई पनि सँगै ल्याए (मोशाले सिप्पोरालाई तिनको घरमा पठाएका थिए) किनभने मोशाले उसलाई घर पठाएका थिए। 3 यित्रोले मोशाका दुइ छोराहरूलाई पनि सँगै ल्याए। जेठो छोरोको नाउँ गेर्शोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहें।” 4 अर्को छोरोको नाउँ एलीएजेर राखियो, किनभने जब ऊ जन्मियो तब मोशाले भने, “मेरो पिता-पुर्खाहरू परमेश्वरले मलाई सहायता गर्नु भयो अनि फिरऊनको तरवारबाट मलाई बचाउनु भयो।” 5 यित्रो मोशा कहाँ गए जब मोशाले परमेश्वरको पर्वतमाथि मरुभूमिमा छाउनी बनाएका थिए। यित्रोसित मोशाकी पत्नी र दुइजना छोराहरू थिए।
6 यित्रोले मोशाकहाँ समाचार पठाए। यित्रोले भने, “म तिम्रा ससुरा यित्रो हुँ। म तिमी कहाँ तिम्री पत्नी र दुवै छोराहरूलाई लिएर आउँदैछु।”
7 यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअघि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपुछ गरे। तिनीहरू मोशाको पालमा गए। 8 मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई सङ्कट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।
9 परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएका असल कुराहरू सुनेर यित्रो खुशी भए। मिश्र देशीहरूबाट इस्राएलका मानिसहरूलाई परमप्रभुले मुक्त गर्नु भएकोलागि यित्रो आनन्दित थिए। 10 यित्रोले भने,
“परमप्रभुको स्तुति होस!
उहाँले तिमीहरूलाई मिश्रका मानिसहरूबाट स्वतन्त्र गराउनु भयो।
परमप्रभुले तिमीहरूलाई फिरऊनबाट बचाउनु भयो।
11 अब म जान्दछु परमप्रभु सबै देवताहरूभन्दा महान् हुनुहुन्छ।
तिनीहरूले सोचे तिनीहरू नियन्त्रणमा थिए,
तर परमप्रभुले के गर्नु भयो?”
12 तब यित्रोले परमेश्वरलाई बलिहरू र भेटी चढाए। तब हारून र इस्राएलका सबै बूढा-प्रधानहरू मोशाका ससुरा यित्रोसित परमेश्वरसँगै भोजन गरे।
13 अर्को दिन मोशाको मानिसहरूको न्याय गर्ने काम थियो। मानिसहरू दिनभरी नै मोशाकहाँ आए।
14 मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एक्लै किन गरिरहेका छौ? तिमी एक्लै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?”
15 तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्। 16 यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।”
17 तर मोशाका ससुराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन। 18 एक्लो मानिसको निम्ति यो वेशी काम हो। तिमी एक्लै यी सबै कार्यहरू गर्न सक्तैनौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्। 19 अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसँग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ। 20 तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ। 21 तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ।
“जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ। 22 यी अगुवाहरूले मानिसहरूलाई न्याय गरून्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य-भारहरू हल्का हुन्छ। 23 यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”
24 यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे। 25 उनले इस्राएलीहरूबाट योग्य मानिसहरू छाने। उनले तिनीहरूलाई अरू मानिसहरूमाझ नायक बनाए। उनले मानिसहरूलाई हजार, एक सय, पचास अनि दसको समूहको शासक बनाए। 26 यी अगुवाहरूका लागि मानिसहरूको न्यायधीश थिए। मानिसहरू यी अगुवाहरू कहाँ सधैँ आफ्नो कुराहरू लिएर आउँथे।
27 केही समय पछि मोशाले आफ्नो ससुरा यित्रोलाई विदा दिए र यित्रो फर्केर आफ्नो घर गए।
साँच्चो दान
(मर्कूस 12:41-44)
21 येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो। 2 त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो। 3 येशूले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई। 4 किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”
मन्दिरको ध्वंस
(मत्ती 24:1-14; मर्कूस 12:1-13)
5 केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो। परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”
6 तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुङ्गा नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।”
7 ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घट्ना हुनेछ? यी घट्नाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”
8 येशूले भन्नुभयो, “सतर्क बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ,’ अनि, ‘सही समय आएको छ!’ तर तिनीहरूलाई नपछ्याउनु। 9 जब तिमीहरूले लडाईं र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”
10 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू माझ लडाईं चल्नेछ। राज्य-राज्यहरू माझ झगड़ा चल्नेछ। 11 ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घट्नाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ।
12 “तर यी घट्नाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झ्यालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ। 13 तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ। 14 तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन। 15 म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन। 16 तिमीहरूको बाबु-आमा, दाज्ययू-भाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्। 17 सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्। 18 तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन। 19 तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।
यरूशलेमको ध्वंस
(मत्ती 24:15-21; मर्कूस 13:14-19)
20 “तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ। 21 त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्। 22 त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ। 23 त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ। 24 कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुन्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।
नडराऊ
(मत्ती 24:29-31; मर्कूस 13:24-27)
25 “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घट्नाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङ्कटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन्। 26 मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङ्कित हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्। 27 तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ। 28 जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।”
मेरा वचनहरू अनन्तसम्म रहनेछ
(मत्ती 24:32-35; मर्कूस 13:28-31)
29 त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो। 30 जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो। 31 त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ।
32 “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घट्नाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्। 33 आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।
हर समय तयार बस
34 “होशियार बस! आफ्नो समय महा-भोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ। 35 पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ। 36 यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
37 येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाड़मा बिताउनु भयो। 38 प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।
36 एलीहू लगातार बोलिरह्यो। उसले भन्योः
2 “मसँग केही बेर धैर्यधारण गरी बस
परमेश्वरसँग केही कुराहरू छन् जुन मसँग गर्न चाहनुहुन्छ।
3 म मेरो ज्ञान सबैजनासँग बाँड्छु।
अनि म प्रमाण गर्छु कि मलाई बनाउनुहुने परमेश्वर धर्मी हुनुहुन्छ।
4 अय्यूब म सत्य कुरा भनिरहेछु।
म के विषयमा भनिरहेछु त्यो म जान्दछु।
5 “परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ,
तर उहाँले मानिसहरूलाई घृणा गर्नु हुन्न।
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ
तर उहाँ अत्यन्त ज्ञानी पनि हुनुहुन्छ।
6 परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्न।
परमेश्वरले सधैँ दीन-दुःखी मानिसहरूलाई समान व्यवहार गर्नुहुन्छ।
7 परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन।
उहाँले राजाहरूलाई सिंहासनमा चीरकालको लागि राख्नु हुन्छ
अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।
8 यसैले मानिसहरू दण्डित भए भने,
यदि तिनीहरू साङ्गलो र डोरीहरूले बाँधिए भने,
अनि तिनीहरूले गरेका कर्महरूको विषयमा परमेश्वरले भन्नु हुनेछ।
9 परमेश्वरले तिनीहरूलाई भन्नु हुनेछ तिनीहरूले के गल्ती गरेका छन्,
अनि तिनीहरूले अपराधहरूमा गर्व गर्छन।
10 परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेताउनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ।
उहाँले तिनीहरूलाई गल्ती कर्महरू गर्न बन्द गर भन्नुहुनेछ।
11 यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिए,
र उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ,
अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।
12 तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन् भने तिनीहरू ध्वंश हुने छन्।
तिनीहरू मूर्खहरू जस्तै मर्नेछन्।
13 “मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैँ रीस गर्छन्।
परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।
14 अपमानित जीवनदेखि थोकेकाहरू जस्तै
तिनीहरू आफ्ना जवानीपन मै मर्छन्।
15 तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ।
उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।
16 “अय्यूब, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ,
परमेश्वरले तिमीलाई सङ्कटहरूदेखि छुटकारा दिनुहुनेछ
परमेश्वरले तिमीलाई जीवन सजिलो दिनुहुनेछ।
परमेश्वरले तिम्रो टेबलमा प्रशस्त भोजनहरू राखिदिनु हुनेछ।
17 तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ।
तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।
18 तिम्रो रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ।
सही बाटोबाट महा-प्रलोभनले तिमीलाई खिंच्न नदेऊ।
19 के तिम्रो चित्कारले अथवा तिम्रो अथक चेष्टाहरूले
तिमीलाई कष्टबाट बाहिर निकाल्छ?
20 जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्।
तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सक्छन्।
21 अय्यूब, तिमीले धेरै कष्ट भोग्यौ।
गल्ती नगर्नुको लागि होशियार बन, खराब कर्म नगर।
22 “हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो।
परमेश्वर नै महान गुरू हुनुहुन्छ।
23 कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन।
कसैले पनि परमेश्वरलाई ‘तपाईंले खराब काम गर्नु भयो’ भनी भन्न सक्तैन।
24 उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल।
मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।
25 परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्।
धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।
26 हो, परमेश्वर महान् हुनुहुन्छ तर हामी उहाँको महानता बुझ्न सक्तैनौं।
हामी जान्दैनौं कि परमेश्वर कहिले देखि हुनुहुन्छ।
27 “परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ
अनि यसलाई तुषारो र बर्षामा परिवर्तन गर्नुहुन्छ।
28 यसकारण बादलले पानी बर्षाउँछ
अनि धेरै पानी मानिसहरूमाथि पर्छ।
29 परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ
अथवा मेघ कसरी गर्जाउनु हुन्छ, कसैले पनि बुझ्न सक्तैन।
30 हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो
समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।
31 मानिसहरूमाथि नियन्त्रण राख्न
अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।
32 परमेश्वरले उज्यालो आफ्नो हातमा अँठ्याउनु हुन्छ,
र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ टाँसिने आदेश गर्नु हुन्छ।
33 आकाशको गर्जनले आँधी कहाँ आउदैछ सो बताउँछ।
यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी-बेहरी कहाँ आउँदैछ।
6 परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ। 2 परमेश्वर भन्नु हुन्छः
“ठीक समयमा मैले तिमीलाई सुनें,
अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।”(A)
तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।
3 मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरू मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं। 4 तर दुःखमा, अफ्ठ्यारोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैंलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं 5 हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौं, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन 6 हामी हाम्र समझदारीले, धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफैं देखाँउछौं। 7 हामी पवित्र आत्माबाट, साँच्चो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्र्छौं।
8 कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं। 9 कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं। 10 हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।
11 कोरिन्थीवासी, तिमीहरूलाई हामीले खुल्ला साथ भनेका छौं। तिमीहरूसीत हामीले हाम्रा हृदय खोलेका छौं। 12 तिमीहरू प्रति हाम्रो प्रेमको स्रोतमा रोकावट परेको छैन। तर हामीप्रति तिमीहरूको प्रेमभाव रोकिएको छ। 13 तिमीहरू मेरा नानीहरू जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुल्ला राख।
अन्यजातिहरूसँग जीउन वारे चेताउनी
14 अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन। 15 ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ? 16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ,
“म तिनीहरूसित बस्छु,
तिनीहरूसितै हिँड्छु,
म तिनीहरूका परमेश्वर हुनेछु,
अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”(B)
17 “यसैले ती मानिसहरूबाट निस्केर आऊ,
आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ,
केही असुद्ध कुराहरू नछोऊ,
र म तिमीरूलाई स्वीकार गर्नेछु।”(C)
18 “म तिमीहरूका पिता बन्नेछु,
अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,
सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”(D)
© 2004, 2010 Bible League International