M’Cheyne Bible Reading Plan
करारको सन्दूक
37 बजलेलले बबुल काठको पवित्र सन्दूक बनाए। त्यो सन्दूकको लम्बाई दुइ हात आधा, चौंडाइ र उचाइ एक हात आधाको थियो। 2 त्यसको भित्र र बाहिर उसले सुनले मोहोर्यो उसले सन्दूकको वरिपरि सबैमा सुनको घेरा बनाए। 3 सन्दूकको एकपट्टि दुइवटा मुन्द्री लगाए। 4 उसले बबुल काठका डण्डाहरू बनाए अनि तिनीहरूलाई सुनले मोहोरी दियो। 5 उसले डण्डाहरू सन्दूकको दुवै भागमा भएका मुन्द्रीहरू भित्र घुसार्यो। यी डण्डाहरू सन्दूक बोक्न प्रयोग गर्थे। 6 तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको थियो। 7 तब आवरणको प्रत्येक छेउममा बजलेलले करूब स्वर्गदूतको सुनको दुइवटा आकृतिहरू कुँदे। 8 उनले एउटा करूब स्वर्गदूतलाई आसनको एक छेउमा राखे, उनले अर्को करूब स्वर्ग दूतलाई आसनको अर्को छेउमा राख्यो, र करूब स्वर्गदूतलाई आसनसित जोडे तिनीहरू एउटै भए। 9 करूब स्वर्गदूतका पखेंटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।
विशेष टेबल
10 बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो। 11 उनले टेबललाई शुद्ध सुनले मोहोरी दिए अनि सुनको घेरा टेबलको वरिपरि बनाए। 12 उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो। 13 फेरि उनले सुनको चारवटा मुन्द्रीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए। 14 उनले फल्याकको नजिकै मुन्द्रीहरूलाई जोडे। डण्डाहरू मुन्द्रीहरूभित्र टेबल बोक्न लगाए। 15 तब उनले बबुल काठको डण्डा बनाए अनि यसलाई सुनले मोहोर्यो। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर्थे। 16 त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउनको लागी गाग्री बनाए यी सबै शुद्ध सुनबाट बनाएका थिए।
सामदान
17 त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे। 18 त्यो सामदानको एकापट्टि तीनवटा र अर्को तिर तीनवटा गरी जम्मा छ वटा शाखाहरू थिए। 19 प्रत्येक शाखामा तीनवटा फूलहरू थिए। यी फूलहरू वदामको फल जस्तै र त्यससित कोपिला र पत्रहरू पनि थिए। 20 त्यो सामदानको डण्डामा चारवटा फूलहरू थिए। तिनीहरूको आकार बदामको फूलसित कोपिला अनि पातहरू जस्ता थिए। 21 सामदानका दुइ पाटाबाट निकालिएको तीन तीनवटा गरी छ वटा शाखामा फूल, कोपिला र पत्रहरू थिए। ती फूलहरू शाखा निस्किएको ठाउँमा थिए। 22 सबै फूल सामदानका, हागाहरू शुद्ध सुनबाट बनाए। यी सबै भाग एउटै बनाउनलाई सँगै जोडिएका थिए। 23 उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए। 24 उनले एक तोडा शुद्ध सुनको सामदान अनि सबै सामग्री बनाए।
धूप जलाउँनको निम्ति वेदी
25 बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौंडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो। 26 उनले सिङहरूमाथि अनि सींङका पाटाहरू शुद्ध सुनर त्यसपछि वेदीको वरिपरि सुन पगालेर घेरा ठोके। 27 उनले सुनको दुइवटा मण्डपहरू बनाएर वेदीको दुवै पट्टि मोहोरेको भित्र जोडीदिए। यी मुन्द्रीहरू वेदी उठाएर कतै लाँदा डण्डाहरू घुसार्ने काममा प्रयोग हुन्थे। 28 उनले त्यसपछि बबुल काठको डण्डा बनाएर त्यसलाई सुनले मोहोरे।
29 त्यसपछि उनले अभिषेक गर्ने पवित्र तेल अनि सुगन्धित शुद्ध धूप बनाए। उनले सबै चीजहरू सुगन्धित अत्तर बनाउनेले झैं बनाए।
16 “मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ। 2 तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्। 3 मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्। 4 यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं।
पवित्र-आत्माका काम
“मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसँगै थिएँ। 5 अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’ 6 तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने। 7 तर म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।
8 “जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा। 9 सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्। 10 उसले मेरो धार्मिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ। 11 अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।
12 “मलाई अझ तिमीहरूसँग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ। 13 तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ। 14 सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासँग छन् ती सबै मेरा हुन्। 15 त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।
शोक खुशीयालीमा परिवर्तन
16 “केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”
17 कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नछैनौ अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौ?’ त्यसो जब भन्नुहुन्छ, ‘म पिताकहाँ जादैछु।’ त्यसको अर्थ के हो?” 18 चेलाहरूले सोधे, “‘केही बेरपछि’ भन्नुको तात्पर्य के हो? उहाँले के भनिरहनु भएको छ हामीले केही बुझेनौ।”
19 येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौ। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौ? 20 म तिमीहरूलाई साँच्चो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
21 “जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्। 22 तिमीहरूसँग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन। 23 त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँच्चो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ। 24 तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।
संसार माथि विजय
25 “यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु। 26 त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु। 27 किनभने पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ। 28 म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”
29 तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो बुझ्नै नसक्ने अप्ठेरो नबनाई तपाईंले भन्नु भएन। 30 हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाटै आउनु भएको हो।”
31 येशूले भन्नुभयो, “यसर्थः अब तिमीहरूले विश्वास गर्यौ? 32 ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसँग रहनु हुनेछ।
33 “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
13 एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।
2 तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैँ खराब काम मात्र गर्न चाहान्छन्।
3 एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।
4 अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।
5 धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन् तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।
6 इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।
7 यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।
8 धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन।
9 एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।
10 घमण्डले झगडा़ मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
11 यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।
12 पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखीत बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।
13 मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।
14 बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ।
15 बुद्धिमानीले दया पाउँछ तर बेईमानको बाटो तिनीहरूको नाश हो।
16 प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।
17 सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।
18 जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ।
19 यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।
20 जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु:ख पाउँछ।
21 पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।
22 ईमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।
23 गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।
24 जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।
25 एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।
बालकहरू र आमा-बाबुहरू
6 बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः 2 धर्मशास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।”(A) यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ। 3 त्यो प्रतिज्ञा होः “तब तिम्रो हरेक कुरो ठीक हुन्छ र संसारमा तिमीले लामो आयु पाउनेछौ।”(B)
4 पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।
कमाराहरू र मालिकहरू
5 कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ। 6 तिनीहरूले हेरिरहेको बेला तिनीहरूको मन जित्न तिनीहरूका सामुन्ने मात्र तिमीहरूले आज्ञा पालन गर्नु होइन तर तिमीहरूले ख्रीष्टको आज्ञा पालन गरे झैं तिनीहरूलाई मान। 7 आफ्नो कर्त्तव्य खुशीसाथ गर। प्रभुको निम्ति कर्त्तव्य गरे झैं गर औ मानिसको निम्ति गरेको जस्तो होइन। 8 याद राख, ऊ कमारा होस् कि मुक्त होस् राम्रो काम गर्ने हरेकालाई पुरस्कार दिने प्रभु नै हुनुहुन्छ।
9 अनि मालिकहरू, तिमीहरूले पनि आफ्ना कमाराहरूसित उस्तै व्यवहार गर। तिनीहरूलाई नधम्काउ। मनमा राख कि तिमीहरूका मालिक र उनीहरूका मालिक उही एक हुन्छ अनि उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँले हरेक मानिसलाई एकै प्रकारले जाँच्नु हुन्छ।
परमेश्वरको हात-हतियार धारण गर
10 मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन। 11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। 12 हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ। 13 त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।
14 यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर 15 प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ। 16 अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। 17 परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो। 18 सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।
19 मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसँग भन्नु सकुँ। 20 सुसमाचारको पक्षमा बोल्ने काम मलाई दिइएको थियो। यो म अहिले यहाँ कैदमा बसेर पनि गर्छु। प्रार्थना गर कि जब म सुसमाचारको प्रचार गर्छु, मैले बोल्नु परे जस्तै निर्भयसित बोल्न सकुँ।
अन्तिम अभिवादन
21 हाम्रा प्यारा भाइ टाइकिकसलाई तिमीहरूकहाँ पठाइएकोछ। उनी प्रभुको काममा एक विश्वासी सेवक हुन्। मेरो बारेमा उनले सबै कुरा बताउनेछन्। र म कस्तो छु, के गर्दैछु त्यो उनले बताउने छन्। 22 यसको लागि, मैले उनलाई पठाउँदै छु। हाम्रो भलाकुसारी बुझ भन्ने म चाहन्छु। तिमीहरूको उत्साहका निम्ति म उनलाई पठाउँदैछु।
23 तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्। 24 तिमीहरू जम्मै जसले हाम्रा प्रभु येशू ख्रीष्टलाई अनन्त माया गर्छौ, तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्।
© 2004, 2010 Bible League International