M’Cheyne Bible Reading Plan
23 “कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूटो बोलेर दुष्ट मानिसहरूलाई सघाउनमा सहमत नहोऊ।
2 “गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।
3 “मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।
4 “यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।
5 “यदि तिमीले देख्यौ तिम्रो शत्रुको गधा गह्रौं भारीको कारणले लड्यो तिमीले त्यसलाई उठाएर सहायता गर्नुपर्छ।
6 “गरीब मानिससति न्यायालयमा अन्याय नगर।
7 “कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।
8 “घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।
9 “विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।
विशेष छुट्टीहरू
10 “छ बर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट। 11 तर सातौं बर्षमा त्यो जमीन उपयोग नगर। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।
12 “छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।
13 “मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।
14 “प्रत्येक बर्षको तीन पल्ट तिमीहरूले मेरो निम्ति विशेष चाड़ आयोजना गर्नु पर्छ। 15 जब तिमीहरूले अखमिरे रोटीको चाड़ मनाउँछौ तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नु पर्छ। त्यस समयमा तिमीहरूले अखमिरे रोटी खानेछौ। यो सात दिनसम्म यस्तै चलिरहन्छ। तिमीहरूले यसो आबीब महीनामा[a] गर्नेछौ किनभने त्यही समयमा जब तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। त्यो समयमा तिमीहरूले मेरो निम्ति एउटा भेटी ल्याउनु नै पर्छ।
16 “जब प्रत्येक बर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौ।
“तिमीहरूले अन्न भित्र्याउने चाढ मनाउनु पर्छ अनि बर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउँछौ त्यस समय छाप्रोवासको चाड़ मनाउनु पर्छ।
17 “यसर्थ एक बर्ष भित्र सबै मानिसहरूले परमप्रभु तिमीहरूका मालिक कहाँ तीन पल्ट आउनु पर्छ।
18 “जब तिमीले पशु मारेर त्यसको रगत बलि चढाउँछौ खमीर मिसाएको रोटी चढाउनु हुँदैन। अनि त्यो बलि चढाएको पशुको मासु खान्छौ भने त्यो एकै दिनमा खाई सक्नु पर्छ। अर्को दिनको निम्ति मासु नराख।
19 “जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जनी परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ।
“तिमीहरूले त्यस्कै माऊको दूधमा उमालेको पाठोको मासु नखानु।”
परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनुमा सहायता गर्नु हुन्छ
20 परमेश्वरले भन्नुभयो, “म तिम्रोअघि एकजना स्वर्गदूत पठाउँदैछु। त्यस स्वर्गदूतले तिमीहरूलाई मैले तयार पारेको ठाउँमा पुग्नमा मद्दत गर्नेछ। 21 त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससँग छ। 22 उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु।
23 “मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्बी र यबूसीहरूको विरोद्धमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु।
24 “तिनीहरूका देवताहरूलाई पूजा अथवा ढोग नगर, तिमीहरूले उनीहरूको जीवन शैली ग्रहण नगर। तिमीहरूले तिनीहरूका मूर्तिहरू अनि अ-पवित्र खाम्बाहरू चूर पारिदेऊ। 25 तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु। 26 तिमीहरू कसैको पत्नीहरू बाँझी अथवा गर्भपात हुने छैन, अनि म तिमीहरूलाई लामो जीवन दिनेछु।
27 “म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मद्दत गर्नेछु। 28 म तिमीहरूको अघि ठूलो सङ्कट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ। 29 तर ती मानिसहरूलाई म तिम्रो भूमि एकै बर्षमा छोड्न बाध्य गराउने छैन नत्र त्यो भूमि खाली हुनेछ अनि त्यहाँ जंगली जनावरहरू बढेर तिमीहरूलाई नोक्सानमा पार्नेछन्। 30 जबसम्म तिमीहरूको जनसंख्या प्रचूर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु।
31 “म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरुभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ।
32 “तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन। 33 तिनीहरूलाई तिम्रो भूमिमा बस्नै नदेऊ। यदि तिमीले तिनीहरूलाई त्यहाँ बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई जालोभारी गरी मेरो विरोधमा पाप गर्न लगाउने छन। अनि तिमीहरू तिनीहरूका देवी-देवताहरू पूज्न लाग्नेछौ।”
कानामा विवाह-समारोह
2 दुइदिन पश्चात् गालीलको काना भन्ने शहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थयो। 2 येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्त्याईएको थियो। 3 विवाह समारोहमा प्रशस्त दाखरस थिएन। दाखरस जति सकिसके पछि येशूकी आमाले उहाँलाई भनिन् “तिनीहरूसँग अरू दाखरस छैन।”
4 येशूले उत्तर दिनुभयो, “प्रिय नारी, मैले के गर्नु पर्छ, मलाई नभन मेरो समय अझ आई सकेको छैन।”
5 येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”
6 त्यहाँ ढुंगाका ठूल-ठूला छ वटा पानीका घ्याम्पाहरू थिए। यहूदीहरूले आफ्ना शुद्धी धर्मानुष्ठानमा ती पानीका घ्याम्पाहरू चलाउने गर्दथे। प्रत्येक घ्याम्पाहरू बीस अथवा तीस गेलेन परिमाणको थियो।
7 येशूले नोकरहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तब नोकरहरूले मुखसम्मै घ्याम्पाहरूमा पानी भरिदिए।
8 तब येशूले नोकरहरूलाई भन्नुभयो, “अब केही पानी घ्याम्पाबाट निकाल र लगेर समारोहका अध्यक्षक कहाँ पुर्याऊ।”
तिनीहरूले त्यसै गरे। 9 विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र 10 उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस सधैँ बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँड्न थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”
11 येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12 त्यसपछि येशू कफर्नहुम शहर तर्फ जानु भयो। उहाँकी आमा, भाइहरू अनि चेलाहरू उहाँसँगै गए। तिनहरू केही दिनको लागि मात्र कफर्नहुममा बास बसे।
येशूको मन्दिरतर्फ प्रस्थान
(मत्ती 21:12-13; मर्कूस 11:15-17; लूका 19:45-46)
13 यहूदीहरूको निस्तार चाड़[a] अति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो। 14 यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा़ अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए। 15 येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा़ र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो। 16 येशूले ती ढुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
17 यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः
“तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।”[b]
18 यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”
19 येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
20 यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस वर्ष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
21 वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसँग थियो। 22 मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
23 यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले। 24 तर यशूले तिनीहरूमाथि भरोसा राख्नु भएन। किन त्यसो गर्नु भयो? किनभने ती मानिसहरूले उहाँप्रति के सोचिरहेका हुन्थे, 25 कसैले मानिसहरूको विषयमा उहाँलाई भन्नु पर्ने आवश्यक थिएन किनभने उहाँले मानिसको हृदयमा के छ जान्नु हुन्थ्यो।
41 “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ?
त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
2 त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ?
अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
3 के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ?
के ऊ तिमीसँग नम्र भाषामा बोल्ने छ?
4 के लेबीयथानले ‘तिम्रो सेवा सधैँ गर्छु’ भनेर
समझौता र वाचा खाएको छ?
5 के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ?
के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
6 के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ?
के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूलाई बेच्छन्?
7 के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
8 “अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ।
अब हुने युद्धको बारेमा बिचार गर।
9 के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ?
ठीकै छ यसलाई भूल! त्यहाँ आशा छैन।
खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
10 कुनै मानिस पनि त्यस्तो वीर छैन्, जसले त्यसलाई उठाउँछ।
र त्यसलाई रिस उठाउँछ।
“ठिक, त्यसरी नै मेरो विरूद्ध पनि कुनै मानिस उठ्न सक्तैन।
11 म कोहीसँग पनि ऋणी छैन।
स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
12 “अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु,
उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
13 कसैले पनि उसको छाला छेड्न सक्तैन।
उसको छाला ढाल बराबर छ।
14 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन।
उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँछ।
15 त्यसको ढाड बलियो गरी जोडिएका
ढालहरू झैं बलियो छ।
16 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन्
कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
17 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समेटिएका छन्
कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
18 जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ।
उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
19 आगोको अगुल्टोहरू बलेको जस्तै
ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
20 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो
लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
21 अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ
लेबीयथानको सासले कोईला जलाउँदछ।
22 लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ,
विपदहरू त्यो देखि डराएर भाग्दछन्।
23 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन
त्यो फलाम जस्तो कडा हुन्छ।
24 लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ।
त्यससँग डर भनेको रत्तिभर हुँदैन।
यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
25 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्।
जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
26 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ
तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
27 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ।
त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
28 काँडले लेबीयथानलाई भगाउन सक्तैन।
ढुङ्गाहरू पनि उसका निम्ति पराल झैं हुन्छन्।
29 जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ
त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँछन्।
30 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन।
उसले हलोले झैं जमीन फुटाउँछ।
31 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ।
त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँछ।
32 जब लेबीयथान पौडिन्छ त्यसले आफू पछाडि बाटो छाड्दछ।
त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फींज छोड्छ।
33 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन
त्यो भयरहित बनाइएको प्राणी हो।
34 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ।
त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो।
अनि म, परमेश्वरले, लेबीयथान सृष्टी गरें।”
पावल र झूटा प्रेरितहरू
11 जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौ। तर तिमीहरूमलाई सहिरहेका पनि छौ। 2 मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु। 3 तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो। 4 यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।
5 तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्। 6 साँच्चो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं।
7 सित्तैमा तिमीहरूलाई मैले परमेश्वको सुसमाचार सुनाएँ। तिमीहरूलाई माथि उठाउनु मैले आफूलाई तल झारें। त्यो भूल भयो र? 8 मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ। तिमीहरूको सेवा गर्न सकुँ भनेर मैले तिनीहरूबाट पैसा लिएँ। 9 जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिएँ। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइनँ। अनि कहिल्यै भार बन्ने छैन पनि। 10 यस विषयमा गर्व गर्नु मलाई अखैयामा कसैले रोक्ने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु। 11 अनि किन म भार थिइनँ? मैले तिमीहरूलाई प्रेम गरेको छैन भनेर? होइन। परमेश्वर जान्नु हुन्छ म तिमीहरूलाई प्रेम गर्छु।
12 अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्। 13 तिनीहरू झूटा प्रेरितहरू हुन्। तिनीहरू धोकावाजहरू हुन्। मानिसहरूलाई छक्कायाउन ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिँड्नेहरू मात्र हुन्। 14 त्यसमा कुनै अचम्म छैन। किनकि शैतानले पनि मानिसलाई छक्याउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ। 15 यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।
पावल आफ्ना कष्टहरू सुनाउँछन्
16 म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै सम्झन्छौ भने एउटा मूर्खालाई जसरी व्यवहार गर्छौ मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ। 17 म गर्व गर्छु किनकि म आफूमा विश्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दैछु। 18 धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु। 19 तिमीहरू ज्ञानी छौ यसैले मूर्खको कुराहरू पनि सहन्छौ। 20 यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफैं घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ। 21 तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं।
तर यदि कसैले गर्व गर्ने साहस गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु। 22 के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हुँ। 23 तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै-झण्डै मरेको हुँ।
24 मैले पाँच पल्ट यहूदीहरूबाट उनन्चालिस कोर्रा खाएको छु। 25 तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ। 26 मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ।
27 मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो। 28 अनि अरू धेरै समस्याहरू थिए। यी सब बाहेक पनि मण्डलीहरूको लागि मैले हेरचाह गर्नु पर्थ्यो। प्रत्येक दिन तिनीहरूको विषयमा चिन्ता गर्छु। 29 कसैलाई कमजोर देख्दा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अघि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो।
30 यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्। 31 परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ। 32 जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे। 33 तर केही शाथीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको दूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुत्कें।
© 2004, 2010 Bible League International