M’Cheyne Bible Reading Plan
परमेश्वर अनि इस्राएल तिनीहरूको करार बनाउनोछन्
24 परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ। 2 तब मोशा परमप्रभु सामुन्ने आफैं आउनेछन् तर अन्य मानिसहरू परमप्रभु नजिक जाने छैनन् अनि रहल मानिसहरूले पर्वतमाथिसम्म पनि जानु हुँदैन।”
3 मोशाले मानिसहरूलाई परमप्रभुले भन्नु भएको सबै आदेश र निर्देशनहरू भने। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशनहरू हामी पालन गर्नेछौं।”
4 अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे। 5 तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।
6 मोशाले बलिको आधा रगत जोगाएर कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।
7 मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
8 तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”
9 तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे। 10 इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे। 11 इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले सँगै खाए अनि पिए।
मोशा परमेश्वरको आज्ञा लिन जान्छन्
12 परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”
13 यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे। 14 मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुन्जेल यहीं पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगड़ा भए हारून र हूर कहाँ लानु पर्छ।”
मोशा परमेश्वरसित भेंट गर्छन्
15 तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो। 16 परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासँग बादलबाट कुरा गर्नु भयो। 17 परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।
18 तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।
येशू र निकोदेमस
3 त्यहाँ निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहूदीहरूका अगुवाहरू मध्ये एकजना थिए। 2 एक-रात निकोदेमस येशूकहाँ आए। उनले भने, “रब्बी, हामी जान्दछौ तपाईं परमेश्वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।”
3 येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”
4 निकोदेमसले भने, “एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?”
5 तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। 6 मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ। 7 अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ। 8 तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।”
9 निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?”
10 येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ? 11 म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ। 12 पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससुकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने? 13 मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।
14 “मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसँग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ। 15 त्यसर्थ उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाउनेछ।”
16 हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। 17 परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो। 18 जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन। 19 मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए। 20 प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। 21 तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।
येशू र बप्तिस्मा दिने यूहन्ना
22 यसपछि, येशू र उहाँका चेलाहरू यहूदियाको इलाकातिर गए। त्यहाँ येशू आफ्ना चेलाहरूलसँग बस्नु भयो र मानिसहरूलाई बप्तिस्मा दिनु भयो। 23 यूहन्नाले पनि एनोनमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। एनोन भन्ने ठाउँ सालीमको छेउमा पर्दछ। यूहन्नाले त्यहीं बप्तिस्मा दिए किनभने त्यहाँ प्रशस्त पानी थियो। मानिसहरू बप्तिस्मा लिन त्यहाँ गइरहेका थिए। 24 यो घट्ना यूहन्ना जेलमा थुनुवा पर्नु अगाडी भयो।
25 यूहन्नाका चेलाहरू र केही यहूदीहरू माझ धार्मिक शुद्धीकरण विषय वाद-विवाद भइरहेको थियो। 26 त्यसैले चेलाहरू यूहन्ना कहाँ आए। तिनीहरूले भने, “गुरूज्यू, के तपाईं त्यो मान्छेलाई सम्झनु हुन्छ जो तपाईंसँग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईंले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्।”
27 यूहन्नाले उत्तर दिए, “मान्छेले त्यही मात्र पाउन सक्छ जो परमेश्वरले दिनुहुन्छ। 28 तिमीहरू आफैंले सुनेकाछौ कि ‘म ख्रीष्ट होइन भनेर। म एकमात्र त्यो मानिस हुँ जसलाई उहाँको निम्ति बाटो तयार पार्न परमेश्वरले पठाउनु भएको हो।’ 29 बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म सँग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ। 30 उहाँ अधिक महत्वपूर्ण हुनु पर्छ अनि म अल्प महत्वपूर्ण हुनु पर्छ।
उहाँ एकमात्र स्वर्गबाट आउनु भएको
31 “तर एक जो स्वर्गबाट आउनु हुन्छ, उहाँ सबै भन्दा महान हुनुहुन्छ। जुन मानिस पृथ्वीबाट आउँदछ ऊ पृथ्वीकै हो र उसले जे पनि पृथ्वीबाटै गर्दछ। जो एकमात्र स्वर्गबाट आउनुहुन्छ उहाँ सबै भन्दा महान हुनुहुन्छ। 32 उहाँले जे देख्नु र सुन्नु भएकोछ, त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्। 33 उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन्। 34 उहाँले जो परमेश्वरद्वारा पठाइएकोछ परमेश्वरको संदेश भन्नु हुन्छ। परमेश्वरले उहाँलाई सीमाहीन आत्मा प्रदान गर्नुभयो। 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक बस्तुमा शक्ति प्रदान गर्नु भएकोछ। 36 जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्नेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”
अय्यूबले परमेश्वरलाई जवाफ दिदँछ
42 तब अय्यूबले परमेश्वरलाई जवाफ दिए:
2 “परमप्रभु, म जान्दछु तपाईंले सब कुराहरू गर्न सक्नु हुन्छ।
तपाईंले योजनाहरू बनाउनु हुन्छ, अनि कसैले पनि परिवर्तन गर्न वा रोक्न सक्तैन।
3 परमप्रभु, तपाईंले यो प्रश्न सोध्नुभयोः ‘को अज्ञानी मानिस हो, जसले यस्ता अर्थहीन कुराहरू गर्यो?’
परमप्रभु, मैले ती कुराहरूको बारे बोलें जुन मैले बुझिनँ।
मैले ती कुराहरू भनें जुन मेरो लागि बुझ्नु अति अचम्मित थियो।
4 “परमप्रभु, तपाईंले मलाई भन्नुभयो, ‘सुन अय्यूब, म भन्ने छु।
म तिमीलाई प्रश्नहरू सोध्ने छु अनि तिमीले मलाई जवाफ दिनेछौ।’
5 परमप्रभु, बितेका दिनहरूमा, मैले तपाईं बारे सुनेको थिएँ
तर अहिले तपाईंलाई मेरै आँखाले देखें।
6 अनि परमप्रभु, म स्वयं नै लज्जित भएँ।
परमप्रभु, म अत्यन्त दुःखी छु।
मैले जे गरें त्यसको पश्चातापका निम्ति
मैले आफैंलाई धूलो र खरानीले पुर्दैछु।”
परमप्रभुले अय्यूबका सम्पत्ति फिर्ता दिनुभयो।
7 अय्यूब सँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ। 8 यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेंडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”
9 यसकारण तेमान बासिन्दा एलीपज अनि शुहबाट आएका बिल्दद साथै नामाहबाट आएका सोपरले परमप्रभुको आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले अय्यूबको प्रार्थनाको जवाफ दिनुभयो।
10 अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो। 11 तब अय्यूबका सारा दाज्यू-भाइ र दिदी-बहिनीहरू साथै अय्यूबलाई चिन्ने जान्ने सबै मानिसहरू उसको घरमा आए। तिनीहरूले अय्यूबसँग ठूलो भोज खाए तिनीहरूले अय्यूबलाई सान्त्वना दिए कारण परमप्रभुले अय्यूबलाई धेरै कष्ट दिनु भएको थियो। प्रत्येक मानिसले अय्यूबलाई चाँदीको टुक्रा र सुनका औंठी उपहार दिए।
12 परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशीर्वाद दिनुभयो। अय्यूबले 14,000 भेंडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए। 13 अय्यूबले सात भाइ छोराहरू र तीन बहिनी छोरीहरू पनि पाए। 14 अय्यूबले जेठी छोरीको नाउँ यमीमा माइली छोरीको नाउँ कसीआ र कन्छी छोरीको नाउँ केरेन-हप्पूक राखे। 15 अय्यूबका छोरीहरू त्यस ठाँउका अन्य स्त्रीहरू भन्दा सुन्दरी थिए। अनि अय्यूबले आफ्ना सम्पत्तिका केही अंश आफ्नी छोरीहरूलाई दिए। प्रत्येकले आफ्ना दाज्यू-भाइहरूले जस्तै बराबरीको रूपमा सम्पत्तिहरू पाए।
16 यसकारण अय्यूब अझ एक सय चालीस बर्षसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातिनीहरू, खनाति-खनातिनीहरू सबै हेर्न पाए। 17 अय्यूब अत्यन्त पूरा बूढेसकाल सम्म दीर्धायु भएर मरे।
पावलको जीवनमा विशेष आशिष
12 अब मैले गर्व गर्नै पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु। 2 म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौध र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ। 3-4 म यति नै जान्दछु त्यस मानिसलाई स्वर्गमा लगियो शरीरसितै अथवा शरीर बिना, म जान्दिनँ। तर उसले त्यहाँ जुन कुरा सुन्यो त्यो शब्दमा वर्णन गर्न सकिँदैन। उसले जे सुन्यो त्यो बताउनु कुनै मनुष्यलाई अनुमति छैन। 5 म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व गर्दिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु।
6 यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सक्तैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व गर्दिनँ। किनकि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस्।
7 मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म गर्वित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो। 8 यस समस्याबाट बाँच्नलाई मैले प्रभुसित तीन पटक बिन्ती गरें। 9 तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ। 10 यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्वलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अप्ठेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्वल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु।
कोरिन्थिका ख्रीष्टयन प्रति पावलको प्रेम
11 म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्। 12 जब म तिमीहरूसित थिएँ मैले त्यस्तो कार्य गरें जसबाट प्रमाण भयो कि म एक प्रेरित थिएँ। मैले चिन्हहरू, आश्चर्यकर्महरू र अलौकि कार्यहरू देखाएँ। एकदमै धैर्यसित मैले ती कार्यहरू सम्पन्न गरें। 13 कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफैं तिमीहरूकोलागि भार भइनँ। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।
14 तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटा-केटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ। 15 यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैंलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ?
16 यो प्रष्ट छ कि म तिमीहरूको भार भइदिएको छैन। तर तिमीहरू भन्न सक्छौ कि म यति चलाख कि तिमीहरूलाई फँसाउन मैले धूर्त्यंईं प्रयोग गरें। 17 तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरें? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन। 18 मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाएनन्। उनले उठाए? अँहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं।
19 के यतिन्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं। 20 म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ तर्क, डाह, रिस, झगड़ा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला 21 मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लन्जित पार्नु हुनेछ। धेरै जना ज-जसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजमर्दो कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।
© 2004, 2010 Bible League International