Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 35

विश्राम-दिनको विषयमा नियमहरू

35 मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।

“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ। विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”

पवित्र पालको निम्ति सामग्री

इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो। परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा, निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला, तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ। दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला। गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुँदाउने अरू रत्नहरू ल्याऊ।

10 “तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुशरण गरेर सब चीजहरू बनाउनु पर्छ। 11 पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू, 12 पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ। 13 टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ। 14 बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ। 15 धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा, 16 होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार, 17 आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो। 18 चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अड्याउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ। 19 पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”

मानिसहरूबाट महा-उपहारहरू

20 तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए। 21 तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो। 22 सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

23 प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए। 24 प्रत्येक जोसँग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसँग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए। 25 प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए। 26 ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए।

27 नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए। 28 मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।

29 इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

बजलेल र ओहोलीआब

30 तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।) 31 परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ। 32 उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ। 33 उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ। 34 परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन्। (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो।) 35 परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।

यूहन्ना 14

येशूले आफ्ना चेलाहरूलाई ढाडस दिनुहुन्छ

14 येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर। त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ। म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।”

थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?”

येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।”

फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस्। त्यही हामीलाई पर्याप्त हुनेछ।”

येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ 10 के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफैं गर्नुहुन्छ। 11 मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।

12 “म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। 13 अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। 14 यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु।

पवित्र आत्माको प्रतिज्ञा

15 “यदि तिमीहरूले मलाई प्रेम गर्यौ भने, तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ। 16 म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक[a] दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैँ रहने सहायक दिनुहुनेछ। 17 सहायक सत्यको आत्मा[b] हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसँग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।

18 “म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाड्नेछैन। म तिमीहरूकहाँ फर्की आउने छु। 19 केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु। 20 त्यस दिनमा तिमीहरूले जान्नेछौं कि म पितामा छु। तिमाहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु। 21 यदि कसैले मेरो आज्ञाहरू ग्रहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछन्। जसले मलाई प्रेम गर्दछ। अनि म त्यस मानिसलाई प्रेम गर्छु। म उमाथि प्रकट हुनेछु।”

22 तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?”

23 येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसँगै बस्नेछौं। 24 तर जसले मलाई प्रेम गर्दैन उसेल मेरो शिक्षाहरू पालन गर्दैन। यो शिक्षाहरू जुन तिमीले सुन्दैछौ वस्तवमा मेरो होइन। यो पिताबाट आएको हो जसले मलाई पठाउनु भयो।

25 “मैले यी सबै कुराहारू भनिसकेकोछु तिमीहरूसँग रहँदा नै। 26 तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ।

27 “म तिमीहरूलाई मेरो शान्ति छोड्दछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ। 28 म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किनभने पिता म भन्दा महान हुनुहुन्छ। 29 यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ।

30 “तिमीहरूसँग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ। तर ममाथि उसको अधिकार चल्दैन। 31 तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु, जुन उहाँले मलाई गर्नु भन्नु भयो।

“आऊ अब, हामी यस ठाऊँलाई छोडी जाऊँ।”

हितोपदेश 11

11 केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।

अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।

ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।

धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।

निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ।

सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषाद्वारा नै ध्वंश हुन्छन्।

जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन।

धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।

अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञानद्वारा बचाइन्छन्।

10 जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्।

11 ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ।

12 असल समझ नभएकाहरूले आफ्ना छिमेकीहरूको विषयमा विरोधी कुरा गर्छन्, तर समझदार मानिसहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्छन्।

13 अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिँडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।

14 मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ।

15 नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ।

16 एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ।

17 दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ।

18 दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ।

19 साँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन् अनि मर्छन्।

20 कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सँग उहाँ खुशी हुनुहुन्छ।

21 यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको सन्तानहरूलाई मुक्त पार्नेछन्

22 एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो।

23 तर धर्मी मानिसहरूले तिनीहरूले इच्छा गरेको चीजहरू पाँउछन्, यसले असल चीजहरूमा डोर्याउँछ तर जब दुष्ट मानिसहरूले चाहेको चीजहरू तिनीहरूले पाँउछन् त्यसले कष्ट मात्र गराउँछ।

24 त्यहाँ एकजना मानिस छ जसले उदार हातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिनु पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति-कम्ति हुँदै जान्छ।

25 उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ।

26 एकजना मानिस जसले अन्न बेच्न अस्वीकार गर्छ[a] उसले श्राप पाउँछ। तर जसले इच्छा र ईमान्दारी पूर्वक बेच्छ उसले आशीर्वाद पाउँछ।

27 एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ।

28 जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढ्छ।

29 यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ।

30 धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।

31 एकजना धर्मी मानिसलाई अफुले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।

एफिसी 4

शरीरमा एकता

म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।

ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। त्यसैले शास्त्रमा यस्तो भनिएको छ,

“उहाँ माथि आकाशमा जानुभयो,
    आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो,
    अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”(A)

“उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। 10 येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो। 11 अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। 12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। 13 हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ।

14 तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्। 15 तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं। 16 सम्पूर्ण शरीर ख्रीष्टद्वारा गाँसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।

बाँच्ने तरिका

17 म यो भन्छु र प्रभुको सम्बन्धमा चेतावनी दिन्छुः परमेश्वरलाई नचिन्नेहरू जस्तो भएर नबस। तिनीहरूका विचार निकम्मा हुन्छन्। 18 ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन। 19 लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन्। हर प्रकारको नीच काम गर्न ती सधैँ तम्सन्छन्। 20 तर तिमीहरूले सिकेको ख्रीष्टको कुरा त्यस्तो होइन। 21 म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्। 22 तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोड्न सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ। 23 तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। 24 तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।

25 यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैँ साँच्चो बोल।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं। 26 “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस। 27 शैतानलाई जित्ने मौका नदेऊ। 28 यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।

29 बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउँछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्। 30 पवित्र आत्मालाई दुःखीत नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो। 31 तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर। 32 आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International